कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

बौद्धिक मध्यमवर्गको विडम्बना

बौद्धिक मध्यमवर्गको चरित्र कस्तो हुँदो रहेछ भने उसले आफूलाई औसत मान्छेभन्दा फरक बनाउन खोज्छ । त्यसैले यो वर्गका मान्छेहरु परिस्थितिजन्य हिसाबमा, युवा अवस्थामा, एउटा वा अर्को राजनीतिक आन्दोलनतिर जोडिएका हुँदा रहेछन् ।
कहिलेकाहीँ यथास्थिति पट्यारलाग्दो भयो भने केही मानिस पछाडि फर्कन खोज्छन् । पछाडि फर्काउन खोज्नेहरू सक्रिय हुन्छन् । तर अन्त नगई नेपालकै इतिहास हेरे हुन्छ, अगाडि बढ्ने झिल्का नै दुई–चार वर्षमा फेरि विस्तारित भइहाल्छ । 
विष्णु सापकोटा

इतिहासको प्रत्येक कालखण्डले आफ्नो समयको समस्यालाई ठूलो देख्नु स्वाभाविक होला तर परिवर्तनका निम्ति भनेर राजनीतिक संगठन बन्न थालेको आठ दशकको नेपाली इतिहासमा यसअघि सबै दल एकैचोटि उत्तिकै दिशाहीन कहिल्यै भएका थिएनन् ।

बौद्धिक मध्यमवर्गको विडम्बना

वर्तमानमा यिनीहरूको आम निकम्मापन, सर्वाङ्ग दलाल पुँजीपतीकरण र अन्य भ्रष्टीकरण मात्र भए पनि भविष्य हेरेर केही आस गर्न हुन्थ्यो । अहिले चौतर्फी कब्जा गरिरहेको नेतृत्वको तप्का जुन छ, त्योभन्दा उनीहरू दिवंगत भएपछि उत्तराधिकारी हुन पाउँला भनेर पालो कुरेर बसेको पुस्ता अझै निकम्मा हुनेछ भनेर ती आफैंले लक्षण मात्र हैन, सार्वजनिक प्रमाण नै दिइरहेका छन् । अपवाद त जहाँ पनि हुन सक्छ तर त्यसैमा आधारित भएर तर्क गर्नु काँचो हुन्छ ।

किन यस्तो भएको होला भनेर हेर्ने थेसिस एक नभई अनेक त हुन सक्ने नै भए । तीमध्ये प्रमुख चाहिँ नेपालको बौद्धिक मध्यमवर्गको चरित्र हो जसले यी संस्थालाइ गतिशील हुनबाट रोकेको छ । गतिशील हुन रोकेको मात्र होइन, त्यो बौद्धिक मध्यमवर्गले यिनीहरूलाई यिनका आफ्नै विगतभन्दा बढी अनुदार र अप्रगतिशील बनाउँदै लगेको छ । ती को हुन् र त्यस्तो कसरी भइरहेको छ भनेर बुझ्नका लागि तीन वटा संगठनलाई उदाहरण बनाइनेछ ः एमाले, कांग्रेस र ‘नागरिक समाज’ । त्यहाँ पुग्नुभन्दा पहिले ‘बौद्धिक मध्यमवर्ग’ पदावलीलाई परिभाषित गर्नु जरुरी छ ।

समाज विज्ञानमा मध्यमवर्गको विशेषतालाई व्यंग्यात्मक रूपमा तर उत्सुकतासाथ प्रयोग गरिन्छ । कुनै जोखिम नलिने, सामाजिक परिवर्तनभन्दा निजी र पारिवारिक सुरक्षा रोज्ने, सिर्जनशीलता नभएका, जीविकोपार्जनवादी, तसर्थ यथास्थितिमा रमाउने जस्ता विशेषता प्रयोग गरेर स्वादले तिनीहरूको आलोचना गरिन्छ । तर ‘बौद्धिक’ मध्यमवर्ग, यस स्तम्भको परिभाषामा, ठ्याक्कै सामान्य आर्थिक–सामाजिक मध्यमवर्गभन्दा फरक हुन्छ । केही विशेषता मिल्छन्, तर केही विशिष्ट हुन्छन् । बौद्धिक मध्यमवर्गमा आर्थिक उच्च वर्गका मानिस पनि पर्न सक्छन्, निम्नका पनि । भर्खर आर्थिक रूपमा वर्गच्युत भएका पनि हुन सक्छन् या बाउबाजे धनी थिए भनेर आफ्नो वर्तमानको गरिबी नस्विकार्ने पनि । यस मानेमा, यहाँ ‘बौद्धिकता’ शब्दले उदार रूपमा, आफूलाई जान्नेसुन्ने ठान्ने, ‘कुरो/चिज मलाई पनि थाहा छ’ भनेर सोच्ने सबैलाई समेट्छ ।

औपनिवेशिक समयमा स्वतन्त्रताका लागि लडेका हस्तीहरू आफू सत्तामा आएपछि कसरी बिग्रेका छन् भन्ने उदाहरण संसारभर छन् । नेपाल अपवाद भइदिएको भए त हुन्थ्यो तर लोकतन्त्र र अरू ‘क्रान्ति’ का लागि त्यत्रो लडेर आएकाहरू किन यस्ता भए भनेर विलाप गर्नु एक हिसाबको नादानी हो । ठाउँ पाएपछि प्रायः पूर्वक्रान्तिकारीहरू ‘फर्म’ मा आइहाल्छन् । शक्ति पायो भने मान्छेको भ्रष्टीकरण जहिले पनि भएकै छ । तर सानोतिनो र क्षणिक पद पाएको वा त्यसको आस बोकेको बाहेक सत्तामा नपुगेका, सधैं केवल समर्थक वा सदस्यकै हैसियतमा रहेका हजारौं व्यक्तिको आधारभूत जीवनमूल्य नै कसरी पछाडि फर्किंदो रहेछ भन्ने हेर्नका लागि यो बौद्धिक मध्यमवर्गको ‘फ्रेमवर्क’ उपयोगी छ । त्यसैले सत्ताको स्वाद चाखेका केपी ओलीले सत्ता नछोड्न वा त्यहाँ फर्किनका लागि सक्नेजति गर्छन् भन्ने कुरा नौलो होइन । तर २०४० को दशकमा त्यतिबेलै माले आन्दोलनमा समर्पित व्यक्तिलाई भेटेका, तिनका कुरा सुनेका मान्छेले अहिले तिनैमध्येको ठूलो पंक्ति ओलीले ‘कम्युनिस्ट’ राजनीतिमा खुलेआम धर्म मिसाउने प्रयत्न गर्दा कि समर्थन गर्नु कि चुपचाप सुनेर बस्नु सामजिक आन्दोलनको मनोविज्ञानको इतिहासमा सानो घटना होइन ।

राजनीतिमा आएकै बीपी कोइरालाका यस्तायस्ता कुरा सुनेर हो भन्ने व्यक्तिहरूकै ठूलो पंक्तिलाई अहिले शशांक कोइरालाले कांग्रेसलाई उद्धार गर्छन् भनेर हिँडेको देख्न पाउनु पनि कम रोचक होइन । बीपी त यिनका लागि अहिले टाढाका भए । गिरिजाप्रसाद कोइराला गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा अडिँदासम्म यो पंक्तिलाई ती अजेन्डा ग्राह्य थिए । तर त्यो वृत्त आखिर बौद्धिक मध्यमवर्ग नै पर्‍यो, जसले आफ्ना लागि आफैं सोच्न सक्दैन । सोचिदिने एउटा मान्छे चाहिन्छ । चलेको ‘ट्रेन्ड’ जहाँ उसले बौद्धिक सुरक्षा भेट्छ, त्यो ठाउँ भर्न कहिले नायक नै आउँछन् त कहिले प्रतिनायक । बीपीको व्यक्तित्वको विराटता यस्तो थियो, उनका सबै कुरा अनुसरण गर्न तिनीहरूलाई संकोच लाग्दैनथ्यो ।

बीपीको सट्टा तिनै उपन्यास, त्यही मनोविज्ञान अरू कसैले लेखेका भए तिनलाई आआफ्ना ठाउँमा आफूलाई बौद्धिक भन्नेहरूले सोझै खारेज गर्ने थिए, सनातन मान्यतालाई खलबल्याउने कुरा भनेर । नरहरि आचार्य र गगन थापाको प्रयास त थियो तर गिरिजाप्रसादले गणतन्त्र नभनेका भए गणतन्त्र आएपछि ‘सेलिब्रेट’ गर्न सडकमा आएको ठूलो कांग्रेस वृत्त गैरगणतान्त्रिक नै रहने थियो । किनकि उसको आफ्नो भन्ने मान्यता हुँदैन । परिवर्तनमा लाग्नुपर्छ, समाजका लागि केही गर्नुपर्छ भन्ने मनोविज्ञानको जार्गनबाट प्रभावित भएर यो वृत्त कुनै आन्दोलनमा लागेको त हुन्छ तर कुनै सुविचारित रूपमा आत्मसात् गरेको मूल्यका आधारमा होइन । यतिसम्म भन्न सकिन्छ, उनीहरूमध्ये धेरैको जेलसम्मको यात्रा पनि यस्तै ‘ह्वीम’ मा भएको थियो । त्यो मौलिक रूपमा सुविचारित थिएन भन्ने प्रमाण उनीहरू आफैंले दिइरहेका छन् । त्यसैले कोही मान्छे फलानो सिद्धान्तका लागि जेलसम्म बसेको थियो भनेर कसैको इतिहासप्रति ıवीभूत हुनु जरुरी छैन ।

२०५० को दशकमा मानव अधिकारकर्मी, नागरिक समाज भनेर चिनिएकाहरूको ठूलो पंक्ति अहिले पनि वरिपरि नै छ, आआफ्ना माउ पार्टीको विचलनको बचाउमा बदनाम हुँदै । उनीहरूलाई त्यति बेला नचिन्ने कोही नवयुवालाई, जसले उनीहरूको अहिलेको दृष्टिकोण सुनेको छ, उनीहरू पनि एक जमानामा ख्यातनाम परिवर्तनकामी थिए भन्यो भने उसले पत्याउला ? उदाहरणमा प्रयोग गरिएको युवा–नवयुवा शब्द समाजका सचेत युवाहरूका लागि हो । त्यही मध्यमवर्गीय दलीय ‘अचेत’ वृत्तलाई होइन जसले आफ्ना ‘नेतृत्व’ का दक्षिणपन्थी, अनुदार मान्यतालाई चुनौती दिनुपर्छ भन्ने चेतना बोक्दैन । र, नागरिक आन्दोलनको वर्तमान परिदृश्य राजनीतिक दलको जस्तो निराशाजनक छैन । स्वतःस्फूर्त रूपमा, मुद्दाविशेषमा आधारित भएर, नागरिक खबरदारीका साना झिल्काहरू जो देखिइरहेका छन्, तिनमा शक्ति छ किनकि त्यहाँ वैधता छ । मीडिया, साहित्य, प्राज्ञिक क्षेत्र र केही अझै वैधता बाँकी भएका मानव अधिकारकर्मीहरूको आह्वानमा सडकमा आउनेको संख्या सानो होला तर तिनीहरूको सन्देशले ठूलो वृत्तलाई झकझक्याउने काम गरी नै रहेको छ । नागरिक आन्दोलन भनेकै यही हो, जुन मुद्दाका आधारमा स्वतःस्फूर्त उठ्छ, सेलाउँछ । त्यहाँ त्यस्ता मान्छे हुन्छन् जसले ‘पेसा के हो’ भनेर सोध्दा ‘नागरिक समाज’ भन्ने आवश्यकता हुँदैन ।

एमाले र कांग्रेसका महाधिवेशन आउँदै छन् । ती पार्टीका कार्यकर्ताको यस्ता घटनावरिपरिको उत्साह बुझेर नसकिने खालको छ । कांग्रेसले फेरि शेरबहादुर देउवालाई सभापति बनाएर देशले के पाउँछ ? कांग्रेसले के पाउँछ ? के उद्देश्य, कुन आदर्श हासिल गर्न उनी सभापतिमा उठ्न लागेका हुन् र कार्यकर्ता त्यसैमा दंग छन् ? देउवाको सम्भावित विकल्प भनिएका शशांक कोइरालाको यही दैनिकमा दसैंअघि छापिएको अन्तर्वार्तामा तपाईं किन उठ्ने सभापतिमा भन्ने आशयको प्रश्न गरिएको थियो । उनको उत्तर थियो— देउवालाई हराउन सक्ने उनै मात्र हुन्, त्यसैले । देउवा त स्वयं आफैंले आफैंलाई आदर्शमा सधैं हराएकै मान्छे हुन् । उनलाई किन हराउने भनेर बताउनुपर्दैन ? त्योभन्दा बढी शशांकले कुनै राष्ट्रिय मुद्दामा दुई वाक्य प्रस्ट बोल्न सके भने त्यो देशलाई धर्मको राजनीतिमा धकेल्ने र गणतन्त्रलाई कमजोर बनाउने मुद्दा मात्र हो । तैपनि कांग्रेसका धेरैले त्यही कुरा मन पराउन सक्छन् । ल हेर्नुस्, यी तिनै कांग्रेस हुन् जो तत्कालीन समयमा ‘र्‍याडिकल’ लाग्ने बीपीका कुरा सुनेर त्यतै लागेका थिए; गिरिजाप्रसादले गणतन्त्र, धर्मनिरपेक्षता भन्दा त्यता पनि यिनै हेलिएका थिए र अहिले शशांकले ती सबै कुरा उल्टाउने प्रस्ताव गर्दा उनका पछि लाग्ने पनि तिनै हुन् । किनकि तिनको आफ्नो भन्ने केही छैन ।

बौद्धिक मध्यमवर्गको चरित्र कस्तो हुँदो रहेछ भने उसले आफूलाई औसत मान्छेभन्दा फरक बनाउन खोज्छ । त्यसैले यो वर्गका मान्छेहरू परिस्थितिजन्य हिसाबमा, युवा अवस्थामा, एउटा वा अर्को राजनीतिक आन्दोलनतिर जोडिएका हुँदा रहेछन् । सुविचारित आदर्शलाई आत्मसात् गरी त्यता लागेर आफ्नो मान्यतामा पछिसम्म टिक्नेहरू थोरै हुँदा रहेछन् । विचारमा जडसूत्रवादी हुनुपर्छ, फेरिनै हुँदैन भनेको होइन तर विचार फेरिँदा त यथास्थितिबाट प्रगतिशीलतातर्फ पो फेरिनुपर्ने हो । साँघुरोबाट फराकिलोतर्फ हुनुपर्ने । अनुदारबाट उदारतर्फ । तर तत्कालीन मालेको राजनीतिमा समर्पित व्यक्तिहरू अहिले ओलीको प्रस्ट परिभाषित दक्षिणपन्थी प्रवचन सुन्दा प्रश्न गर्ने सामर्थ्य देखाउनु त परको कुरा, त्यही अजेन्डाको रक्षा गर्न तम्सेको देख्दा लाग्ने फेरि पनि त्यही नै हो— यिनीहरूको आफ्नो भन्ने कुनै आदर्श छैन ।

यो वर्गको चरित्र केलाउँदा परिदृश्य निराशाजनक देखिन सक्छ । तर सकारात्मक निष्कर्ष के हो भने यो वर्गले राष्ट्रिय मुद्दालाई डोर्‍याउने हैसियत राख्दैन । यसले प्रगतिशील, समावेशी, उदार अजेन्डालाई ढिलो गराउन सक्छ तर रोक्न सक्दैन । कहिलेकाहीँ यथास्थिति पट्यारलाग्दो भयो भने केही मानिस पछाडि फर्कन खोज्छन् । पछाडि फर्काउन खोज्नेहरू सक्रिय हुन्छन् । तर अन्त नगई नेपालकै इतिहास हेरे हुन्छ, अगाडि बढ्ने झिल्का नै दुई–चार वर्षमा फेरि विस्तारित भइहाल्छ । राजनीतिक दलहरू आफू असान्दर्भिक हुने डरले फेरि लुरुलुरु फर्किन बाध्य हुन्छन्, २०६२–६३ मा जसरी । र, त्यति बेला नारा लगाउन आउने फेरि तिनै हुनेछन् जो अहिले अनुदार, असमावेशी नेताका पिछलग्गु भएका छन् । किन आउनेछन् भने तिनीहरूको त्यति बेला पनि आफ्नो केही हुनेवाला छैन । तिनीहरूका लागि सोचिदिन त्यति बेला अर्को कोही नयाँ आएको हुनेछ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?