कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मनसुनपछि बाढी र हाम्रो चूक

सरकार एवं जलवायु परिवर्तन, जोखिम न्युनीकरण र अनुकूलनका क्षेत्रमा काम गर्ने निकायहरूले सुचनाको सही संश्लेषण यथासमय नगर्ने हो भने भविष्यमा कृषि क्षेत्रमा विपत् झन् बढ्दै जाने निश्चित छ ।
जीवनमणि पौडेल

नेपाल सरकारको आधिकारिक संस्था जल तथा मौसम विज्ञान विभागले गएको असोज २३ मा गत वर्षभन्दा आठ दिन ढिलो गरी पश्चिम नेपालबाट मनसुन बाहिरिएको सूचना सार्वजनिक गर्‍यो । त्यसको दुई दिनपछि विभागले नेपालको पूर्वी भागबाट पनि यस वर्षको मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ भन्ने सूचना निकाल्यो ।

मनसुनपछि बाढी र हाम्रो चूक

सामाजिक सञ्जालमा एक मित्रले बाढीले पुर्‍याएको क्षतिको अंकगणितीय प्रस्तुतिसहित अब नेपालबाट यस वर्षका लागि जोखिम सकिएको भन्दै आगामी वर्षका लागि नयाँ रणनीति तयार पार्नुपर्ने सुझाव दिए । तर विभागको भविष्यवाणी एक हप्ता पनि टिकेन । गिनिज बुकको रेकर्ड तोडिएझैं भयो, नेपालबाट मनसुनी वर्षा बाहिरिन नपाउँदै भित्रियो ।

फेरि भित्रिएको मनसुनले केही दिनयता नेपालभरि वर्षा गराइरहेको छ । पूर्वभन्दा पश्चिममा वर्षा र क्षति बढी भएका सूचनाहरू आइरहेका छन् । नदीहरूमा बहाव बढेका, बस्तीहरू डुबानमा परेका, मानिसहरू बाढीमा फसेका, भौतिक सम्पत्तिहरू क्षति भएका, धानका पाँजाहरू पानीमाथि तैरिएका, नकाटेको धान बाली जलमग्न भएका फोटाहरू छ्यापछ्याप्ती छन् । बालीे बिमा गर्ने, खेतमा जमेको पानीलाई निकास दिने, खेतमा खाल्डो खन्ने, धानलाई सुक्खा ठाउँमा राख्ने जस्ता जोखिम न्यूनीकरणका पुँजीवादी बजारमुखी र रैथाने उपायहरू पनि सामाजिक सञ्जालमा आएका छन् । प्राय: किनारमा पर्ने किसान अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालको केन्द्रमा छन् । बेलैमा सही सूचना नदिएकामा सरकारप्रति जनता आक्रोशित छन्, सरकारलाई गालीको वर्षा गर्न थालेका छन् । तर यो आक्रोश र गालीले मस्त निदाएको बहाना गरिरहने सरकारको माखो मर्नेवाला छैन ।

सुदूर पश्चिममा अहिले भैरहेको वर्षा धेरै स्थानमा खतराको तहमाथि छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक हेर्दा पछिल्लो चौबीस घण्टामा डडेलधुराको साउँखर्क जलाधारमा ३४६.२ मिलिमिटर वर्षा मापन गरिएको छ, पश्चिम नेपालका विभिन्न जलाधार क्षेत्रमा २११ मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको छ । वर्षा अझै केही दिन नरोकिने भविष्यवाणी विभागले गरिसकेको छ । तर हाम्रो जल तथा मौसम विज्ञानको भविष्यवाणी किन फेल हुँदै छ ? राज्य संयन्त्र कहाँ चुक्दै छ ? जोखिम न्यूनीकरणको पुँजीवादी बजारमुखी उपाय वनपछि फेरि कृषिमा कसरी घुस्तै छ ? यसबारे सोच्नैपर्ने भएको छ ।

पहिलो त, मनसुनसम्बन्धी सूचनाको संश्लेषणमा सरकार चुक्यो । सरकारले एक हप्तापछिको जल तथा मौसम भविष्यवाणी गर्ने संयन्त्र निर्माण गरेन । भएका प्रविधिलाई पनि राम्ररी व्यवस्थापन गर्न जानेन वा चाहेन । प्रविधिको अव्यवस्थापन कतिसम्म छ भने गत असारमा मनाङमा आएको बाढी कति मिलिमिटर वर्षाले ल्याएको हो भन्दा सरकारसँग अभिलेखित अंकगणितीय तथ्यांक छैन । स्थानीय बासिन्दाले दिने सूचनालाई फेरि जल तथा मौसम विभाग र त्यसका विज्ञहरू तथ्यांक मान्न तयार छैनन् । आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने क्या गजबको शैली छ हाम्रो †

दोस्रो, हाम्रो जल तथा मौसमको चक्रलाई देशको सीमाले तय गर्दैन, दक्षिण एसियाको मौसमी परिघटनाले निर्माण गर्छ । मौसमविज्ञहरूले मनसुनपछि यो वर्षा हुनुको कारण पनि बंगालको खाडीमा आएको आकस्मिक फेरबदललाई मानेका छन् । त्यसैले मौसमका विषयमा पनि हामीले छिमेकी देशहरूसँग सम्पर्क र समन्वय गर्नुपर्छ । भारत प्रविधिको हिसाबले हामीभन्दा माथि छ । ऊ जल तथा मौसम विज्ञानमा हामीभन्दा बलियो, राम्रो र विकसित प्रविधिहरूले युक्त छ । हाम्रो जल तथा मौसम विज्ञानको भविष्यवाणी हेर्दा भारतीय प्रविधिद्वारा उत्पादित सूचनासँग जोडिन नेपाल सरकार चुकेकै देखिन्छ । यसले हामीलाई अन्तरदेशीय जल तथा मौसम विज्ञानको संयन्त्र र सूचना आदानप्रदानको आवश्यकता छ भन्ने देखाउँछ । यस्तो हुन सके जल तथा मौसममा स्वाभाविक र आकस्मिक रूपमा हुने परिवर्तनबाट आइपर्ने जोखिम न्यूनीकरण गर्न पक्कै सहयोग पुग्नेछ ।

तेस्रो, हामी संघीयतामा गयौं भन्छौं तर शासकीय संरचना र मानसिकता अझै एकात्मक छ । केन्द्रीय सरकार र केन्द्रीय सरकारी निकायहरू हावी छन् । केन्द्र आफ्नो अधिकार प्रत्यायोजन गर्न चाहँदैन । स्थानीय सरकार कर संकलन र ढुंगा–बालुवाको बिक्रीमा चासो राख्छ तर जल तथा मौसमका विषयलाई वास्ता गर्दैन; केन्द्रबाट सूचना लिनमा कान र जनतालाई सूचना दिनमा मुख बन्द गर्छ । अहिलेको वर्षाले जन्माएको क्षति जल तथा मौसमविज्ञ वा जलवायुविज्ञले भनेझैं मनसुनपछि आकस्मिक रूपमा उपस्थित भएको होइन, यो त राज्य संयन्त्रको लापरबाही र गैरजिम्मेवारी पनि हो ।

चौथो पक्ष हो— जलवायु परिवर्तन र त्यसको असर । विश्वमा अहिले बढी उठ्ने गरेको र न्यूनीकरणका लागि कम चासो राखिएको विषय जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको कारक कार्बन उत्सर्जनमा नेपाल जस्ता अतिकम विकसित देशहरूको खासै भूमिका नभए पनि भौगोलिक बनावट, आर्थिक अवस्था, जीविकोपार्जनको शैली आदिका कारण हाम्रो देश अति नै जोखिममा छ । मनसुन बाहिरियो भनेको हप्ता दिन बित्न नपाउँदै हात्तीसुँढे पानी पर्नुमा जलवायु परिवर्तनका कारण मौसमको चक्रमा आएको परिवर्तन नै जिम्मेवार छ । विज्ञान मात्र होइन रैथाने ज्ञान पनि, प्रविधि मात्र होइन रैनाथे सूचकहरू पनि मौसमको भविष्यवाणी गर्ने सवालमा जलवायु परिवर्तनसँग पराजित हुन थालेका छन् ।

अन्त्यमा, सरकार एवं जलवायु परिवर्तन, जोखिम न्यूनीकरण र अनुकूलनका क्षेत्रमा काम गर्ने निकायहरूले सूचनाको सही संश्लेषण यथासमय नगर्ने हो भने भविष्यमा कृषि क्षेत्रमा विपत् झन् बढ्दै र त्यसले नेपाली समाजमा जोखिम झन् बढाउँदै लैजाने निश्चित छ । अहिलेको जलवायु परिवर्तन, भइरहेका प्रविधि र संयन्त्रलाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा र संघीयताको मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा यस्ता अप्ठ्याराहरू झन्झ्न चुलिँदै जानेछन् । त्यसैले सरकारले मौसम भविष्यवाणी गर्ने प्रविधि र ज्ञानको पहिचानसँगै त्यसको सही व्यवस्थापन गर्न जरुरी छ । केन्द्रमा भएको मौसम भविष्यवाणी गर्ने संयन्त्रलाई प्रदेश र स्थानीय तहसँग जोड्न आवश्यक छ । यसका लागि अन्तरदेशीय जल तथा मौसम विज्ञानको

संयन्त्रको मात्र आवश्यकता छैन, सूचना आदानप्रदानको पनि खाँचो छ । यसतर्फ राज्य संयन्त्र बेलैमा चनाखो हुनुपर्छ । त्यस्तै, अहिलेको बाढीलाई पाठका रूपमालिएर जलवायु परिवर्तनसम्बन्धी अध्ययन र अनुसन्धानलाई मानिसका धारणा बुझ्ने, ज्ञान हासिल गर्ने र स्थानीय तहका अनुकूलनका विषयवस्तुभन्दा बाहिर निस्किएर विपत्लाई पनि जलवायु परिवर्तनको बहससँग जोड्नु जरुरी छ ।

प्रकाशित : कार्तिक ३, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?