भोकाहरूको भोट

अंकला बराम

म सानो छँदा, गोरखामा पर्ने मेरो गाउँमा तीन महिना पनि भात खान पाइँदैन थियो । कोदो र मकैको ढिँडो खानुपर्थ्यो, कहिले त त्यही पनि पाइन्न थियो । त्यो बेला मेरो सानो भाइ भात नभए भागै बस्दैनथ्यो । चामल खोज्न सम्भव थिएन । ‘बाबु, भरै भात पकाउने; अहिले यही ढिँडो खाऊ ल’ भनेपछि फकिन्थ्यो । बेलुका आमाले सेतो मकै पिसेर दिनुहुन्थ्यो, भाइले कपाकप खान्थ्यो । पछि केको भात बाबु भनेर सोध्दा, ‘चामलको’ भन्थ्यो । 

भोकाहरूको भोट

कोरोनाको दोस्रो लहर चलिरहेका बेला म आफ्नै गाउँमा स्वास्थ्यकर्मी भएर गएकी थिएँ । त्यस बेलाको एकमहिने बसाइमा मैले संक्रमितको हेरचाह सँगसँगै त्यहाँको जीवनयापनलाई पनि अनुभव गर्न पाएँ, जुन काठमाडौंमा बसेर सोचेको भन्दा धेरै फरक थियो । संक्रमितहरू बिस्तारै निको हुने क्रममा थिए । कोरोना संक्रमित हुँदा सन्तुलित भोजन आवश्यक पर्ने भएकाले त्यसको अवस्थाबारे बुझ्न एक दिन म गाउँ डुल्न निस्किएँ ।

बाटैमा भेटिएकी छिमेकी आमा (जो भर्खरै संक्रमणबाट तंग्रिँदै हुनुहुन्थ्यो) लाई मैले भनें, ‘यो पटकको ज्वरोले अलि गलाउँछ, यतै पाउने हरियो सागसब्जी, निउरो, गाभा मजाले पकाएर खानु है । खान छोड्नु हुन्न नि !’ उहाँले घोसे मुन्टो लगाउँदै जवाफ फर्काउनुभयो, ‘भात कसरी खानु भन्ने लागिरहेको छ, नानी ! पानी परेको हप्तौं भयो, अलिअलि भएको धान पनि सुकाउन पाइएन । त्यही कुट्न पाएको भए साग त हुन्थ्यो नि !’ म केही बोलिनँ, गाउँलाई सन्तुलित आहारको पाठ पढाउन निस्केकी मलाई यस्तो जवाफले अचम्ममा पार्‍यो ।

अर्को दिन गाउँकै बजूलाई सोधें, ‘खाजा खानुभो ? अलि सन्चो हुनुभयो नि ?’ उहाँले भन्नुभयो, ‘अलि ठीक भएँ । खै र, यो बेला माछा, मासु, घ्यु–भात खान खप्परमा लेखेको छैन रैछ; केको खाजा खाने, भात नै के खाने भन्ने छ ! बिहान पैंचो चामल ल्याएर खाएँ, बेलुका के पकाउने, अलिअलि भएको कोदो पनि पिस्न पाइएन, छाक त कसरी टार्ने भनेको बेलामा खाजा के खानु !’

यस्तै गफगाफ सकेर म फर्कंदै थिएँ, बाटैमा फुपूसँग भेट भयो । पछिपछि लागेर उहाँको घर गएँ । केटाकेटी थुप्रै थिए, तिनीहरू भारभरि भिजेका कपडा सुकाउँदै, आमाबाबुसँग भुतभुताउँदै थिए, ‘सितीभरको छोराछोरी पायो, एउटा लुगा किन्दिन पनि सक्दैन, बिहान पानीमा घाँस काट्यो, त्यही चिसो लुगा लगाएर मेलामा जानुपर्छ ।’ फुपूले तत्काल जवाफ दिनुभयो, ‘भात कसरी खाने भन्ने बेलामा तिमारलाई लुगा ?’ गाउँमा आफैंले हेरेका कोरोना संक्रमितहरू निको हुँदा हर्षित त थिएँ, तर बजू, फुपू र आमाहरूको यथार्थले खिन्न बनाइरह्यो ।

मास्क, सेनिटाइजर बोकेर हिँडेकी मलाई अर्को घरकी आमाले त मुखुन्जे भन्नुभयो, ‘यो मास्क ल्याउनुभन्दा त एक बोरा चामल दिएको भए मेरा छोराछोरी पेटभरि खाएर मेला जान्थे नि !’ यति सुनेपछि मलाई उकुसमुकुस भयो । गाउँमा खाद्यान्न संकट रहेछ; मास्क बोकें, जुन पकाएर खान मिलेन कस्तो अप्ठयारोमा परें म । सुनेको हो हुम्ला, जुम्ला, डोल्पा जस्ता भेगमा खाद्यान्न संकट पर्छ भनेर, तर आज आफ्नै गाउँमा पनि ? झट्ट केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको भाषणको याद आयो, उनले भनेका थिए, ‘अब कोही खान नपाएर मर्नेछैनन् ।’ भाषणले पेट त भरिँदैन नै, तर तीन तहका सरकार हुँदा पनि नागरिक भोको हुँदा, कोही पनि उपस्थित नभएको देख्दा लाग्यो, यो आपत्विपत्मा नआएको सरकार अरू बेला किन चाहियो ? चुनावमा भोट हाल्न र कर तिर्न मात्रै हो र नागरिक ?

बराम अति सीमान्तकृत जाति हो । यो जाति ९० प्रतिशत गोरखामा बसोबास गर्छन् । खेतीपातीमा मात्रै भर पर्नुपर्ने, समयमा पानी नपर्ने, धेरै पानी पर्ने, जलवायु परिवर्तनको असर, स्वास्थ्य र शिक्षाको सुविधाबाट वञ्चितलगायतका चुनौती सामना गरिरहेको छ यस समुदायले । ९७ वर्षीया हजुरआमा भन्नुहुन्छ, ‘हाम्रा लागि कुनै सरकार आएन । थुप्रै पटक भोट दिएर जिताएका नेताहरू प्रधानमन्त्री पनि भए; तिनले जिते, हाम्ले हार्‍यौं ।’

ती हजुरआमाका छोराछोरीले न पढ्न पाए, न त जागिर नै खाए । तिनका नातिनातिनाले पनि जागिर पाएका छैनन् । आजसम्म पिछडिएका जातिलाई लक्षित न समान शिक्षानीति आयो, न कुनै रोजगारीको कार्यक्रम, न कुनै स्वास्थ्य शिक्षा, न त कुनै राहतको कार्यक्रम नै आयो । हुन पनि, सदियौंदेखि हेपिएका, चेपिएका, पछाडि पारिएका हामी बराम जातिलाई न प्रजातन्त्र आयो, न गणतन्त्र, न संघीय लोकतान्त्रिक गणतन्त्र नै । आयो त केवल यस्तै महामारी, भूकम्प र भोकमरी । आज पनि मैले ‘म बराम जातिकी हुँ’ भन्दा धेरैले अचम्म मान्छन्, ‘बराम पनि जाति हुन्छ र ?’ भन्छन् । यस्तो सुन्दा पनि दुःखी हुन्नँ म । राज्यले नै सदियौंदेखि विभेद गरिरहेको छ; यस्तोमा पहिचान नहुनु, नचिन्नु खासै ठूलो कुरा पनि भएन ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा आयोजित खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल्ली सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले खाद्य सुरक्षामा निम्त्याएको चुनौती सामना गर्न, गरिबी र भोकमारीबाट जनतालाई जोगाउन नेपालसँग गरिबमुखी नीति छ भनेका थिए । तर, यहाँ बस्नेहरूलाई त्यो कस्तो नीति रहेछ, कहिले कार्यान्वयन हुने रहेछ, पत्तो छैन ।

सदियौंदेखिको असमान नीति कहिलेसम्म ? एक जातिले राज्य सञ्चालन कहिलेसम्म गर्ने ? कहिले हामीले आफ्नो पहिचान, अधिकारसहित नागरिक भएको अनुभूति गर्न पाउने ? कहिलेसम्म भोको पेट कसेर बस्ने ? अझै कति वर्षसम्म हामी भोटका लागि मात्र तयार भएर बसिदिनुपर्ने ? कहिलेसम्म सामाजिक–आर्थिक–राजनीतिक अधिकारबाट वञ्चित हुनुपर्ने ? कहिलेसम्म तिम्रा समावेशी समानताको खोक्रो भाषण सुनिरहनुपर्ने ?

झन्डै दुई दशक बित्यो, मेरो भाइलाई चामल भात भनेर सेतो मकै भात खुवाएर भुलाएको । मलाई लाग्थ्यो— अहिले गाउँगाउँमा सरकार पुगेको छ, आज त्यस्तो अवस्था छैन होला । तर, विकास र समृद्धिले गाउँ ढाक्यो भनी सोच्नु दिवास्वप्न रहेछ । बराम समुदाय आज पनि उस्तै अवस्थामा रहनुले म दुःखी त छु, सँगै यसले मलाई एकलजातीय, नश्लीय राज्यविरुद्ध बोल्ने साहस पनि दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?