सम्भव छ एमालेको पुनरुदय ?

व्यक्तिवादले आलोचनात्मक चेतको अवसान गराउँछ । आलोचनात्मक चेतबिनाका नेता वा कार्यकर्ता यथार्थमा कम्युनिस्ट हुन लायक हुँदैनन् । एमालेले तीव्र गतिमा विकास भइरहेको व्यक्तिवादलाई परास्त गर्न सक्छ कि सक्दैन ? उसको भविष्य निर्धारणको अर्को मानक यही हुनेछ ।
टीकाराम भट्टराई

एमाले र कांग्रेस जस्ता ठूला राजनीतिक दलमा हुने विभाजन वा एकताले मुलुकको राजनीतिक कोर्स नै परिवर्तन हुन्छ । यो तथ्यमा सायद थप व्याख्याको गुन्जायस छैन । आज जुन संविधान र राजनीतिक व्यवस्थाले मुलुकलाई शासित गरिरहेको छ, त्यो व्यवस्था र संविधानको प्राप्तिका आधारभूत शक्तिहरू मूलतः एमाले, कांग्रेस र माओवादी नै हुन् ।

सम्भव छ एमालेको पुनरुदय ?

यो व्यवस्था र संविधानका जन्मदाता र स्वामित्व लिने शक्तिहरूको क्षयीकरणले उत्पन्न गर्ने असन्तुलनले भविष्यको संसदीय र संवैधानिक अभ्यासमै गम्भीर अवरोध सिर्जना हुने र संविधानको भविष्य नै जोखिममा पर्ने निश्चित छ । तर आजको विषय केवल एमालेको पुनरुदयको सम्भावनासँग मात्र सम्बन्धित छ ।

एमालेको भविष्यले मुलुकको भविष्य निर्धारणमै निर्णायक भूमिका खेल्छ । राजनीतिक शक्ति सन्तुलन, ठहराव र विभाजनमा जुनजुन शक्तिको निर्णायक भूमिका रहेको हुन्छ, त्यस्ता शक्तिहरूको उत्थान, पतन र विभाजनले मुलुकको भविष्य निर्धारणको मार्ग नै परिवर्तन गर्ने क्षमता राख्छ । एमाले केवल नाम होइन, यो एउटा आन्दोलन शक्ति, सामर्थ्य र संघीय लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ पनि हो । तर आज एमालेको आगामी यात्रा र उसको भविष्यबारे जबर्जस्त प्रश्नहरू उठेका छन् । प्रश्नहरू उठेकै छैनन् भनेर कसैले दाबी गर्छ भने त्यस्तो दाबीले एमालेलाई थप कमजोर बनाउनेछ । प्रश्नहरू उठेको यथार्थलाई स्वीकार गरेर तिनलाई सम्बोधन गर्नतर्फ एमाले लाग्यो भने उसको पुनरुदयलाई कसैले रोक्न सक्ने देखिँदैन ।

विभाजन यथार्थ हो

एमालेमा विभाजन नै भएको छैन भनेर सार्वजनिक खपतका लागि बोल्नु एउटा कुरा हो, वास्तविकता भने एमालेमा केन्द्रदेखि स्थानीय तहसम्म विभाजन भएकै हो । विभाजनले एमालेको शक्ति, सामर्थ्य र संगठनमा कति क्षति पुगेको छ, त्यसको यथार्थपरक समीक्षा गरेर एमाले अघि बढ्न तयार छ कि छैन ? सबाल यति मात्र हो । द्वन्द्वात्मक भौतिकवादलाई जीवनदर्शन मान्ने एमालेजनले विभाजनको तथ्यलाई अस्वीकार गर्नै सक्दैनन् । विभाजनले उसको जनमतमा कति क्षति पुगेको छ भन्ने प्रश्नको जवाफका लागि एउटा निर्वाचनसम्म पर्खनैपर्छ । पछिल्लो आम निर्वाचनलाई मानक मानेर माओवादीसँग तालमेल गर्दा छाडेको सिट संख्या पनि घटाउँदा एमालेले त्यही शक्ति र सामर्थ्य आगामी निर्वाचनमा कायम राख्न सक्छ कि सक्दैन ? त्यसैबाट एमालेको पुनरुदयको सम्भावनाको आकलन हुनेछ । तर एमालेको पुनरुदय हुनु भनेको उसको विचार, संगठन र कार्यशैली अनि सामूहिक नेतृत्व प्रणालीको पुनःस्थापना नै हो ।

एमाले किन विभाजन भयो, यसमा दोषी को हो, विभाजित भएर बनेको एकीकृत समाजवादीले आफ्नो औचित्य पुष्टि गर्न सकेको छ कि छैन जस्ता विषयमा विशद विमर्शको खाँचो छ । नेकपा किन बन्यो, किन विभाजित भयो र नेकपा हुँदै एमाले पनि किन विभाजन भयो भन्ने जस्ता प्रश्नहरूको वस्तुनिष्ठ समीक्षा नगरी नेपालको वामपन्थी आन्दोलन अघि बढ्न सक्दैन । एमालेमा विभाजन आवश्यकता नै थिएन वा विभाजन अनिवार्य आवश्यकता बनिसकेको थियो भन्ने प्रश्न दुवैतर्फबाट गर्न सकिन्छ । तर तिनको जवाफ एमाले वा एकीकृत समाजवादीको पक्षधरताका आधारमा खोजेर हुन्न । यसका लागि उपयुक्त वातावरण अहिले बनिसकेको पनि छैन । यति चाहिँ भन्न सकिन्छ, एमालेको विभाजन राजनीतिक, दार्शनिक वा सैद्धान्तिक आधारमा भएको होइन! केवल प्रवृत्तिगत र कार्यशैलीगत कारणले एमाले विभाजित भएको हो । भिन्न सैद्धान्तिक, राजनीतिक र दार्शनिक आधार देखाउन एकीकृत समाजवादी पार्टीले पनि नसकेबाट एमालेको विभाजनको औचित्यमा बहस प्रारम्भ भइसकेको छ ।

सम्भावना पुनरुदयको

मार्क्सवादी मान्यताका आधारमा ठोस आर्थिक, राजनीतिक र सामाजिक परिवेशमा राजनीतिक दलहरूको स्थापना भएको हुन्छ ! तिनै आवश्यकताका आधारमा जन्मिएका हुन्छन् । राजनीतिक दलहरूको आफ्नै वर्ग आधार हुन्छ । समाजमा रहेका विविध वर्गको प्रतिनिधिका रूपमा राजनीतिक दलहरू जन्मन्छन् र त्यही वर्ग आधारमा तिनको उत्थान र पतन हुन्छ । यस हिसाबले हेर्दा नेपालमा मूलतः सामन्तवादी, पुँजीवादी र समाजवादी वर्गको प्रतिनिधित्व गर्ने दलहरू अस्तित्वमा छन् । त्यसमा पनि मुलुकमा सामन्तवादको अन्त्य भइसकेकाले त्यसको प्रतिनिधित्व गर्ने दल आज अस्तित्वरक्षाको संकटमा छन् । पुँजीवादी कित्ताको प्रतिनिधि पात्र नेपाली कांग्रेस हो भने समाजवादी कित्ताको मूल शक्ति एमाले र अन्य कम्युनिस्ट पार्टी हुन् । विभाजनका बाबजुद आजको दिनमा पनि एमाले नै समाजवादी कित्ताको मूल शक्ति हो । यसले थोरै मात्र आत्मसमीक्षा गरेर अघि बढ्न सक्यो भने एमालेको पुनरुदयको अथाह सम्भावना देखिन्छ । आत्मसमीक्षालाई यसरी सूत्रबद्ध गर्न सकिन्छ

१. वैचारिक स्पष्टता : कम्युनिस्ट पार्टीहरूको प्राणवायु नै तिनको वैचारिक स्पष्टता हो । वैचारिक स्पष्टताको अभावमा हुने यात्रा समुद्रका बीचमा कम्पास बिग्रेको जहाजको जस्तो जोखिममा पर्छ । एमालेको शक्तिको वैचारिक स्रोत लोकप्रिय नेता मदन भण्डारीको अगुवाइमा संश्लेषण गरिएको जनताको बहुदलीय जनवाद (जबज) हो । सन् १९९० को दशकमा दुनियाँका कम्युनिस्ट पार्टीहरूको अस्तित्व धरापमा परेका बेला एमालेले विकसित गरेको यो सिद्धान्तले उसको उत्थान र विकासमा असाधारण काम गरेको थियो । जबज मूलतः शान्तिपूर्ण संसदीय बाटोबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने तर आर्थिक–सामाजिक रूपान्तरणमा मार्क्सवादी बाटो नछाड्ने नेपाली धर्तीमा विकसित एउटा मौलिक कार्यक्रम हो भनेर व्याख्या गरिएको छ ।

मदन भण्डारीको अगुवाइ र उनका समकालीन नेताहरूको सामूहिक नेतृत्वमा विकसित जबजकै आधारमा नेपालमा भिन्न ढंगले नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको निष्कर्ष त्यस पार्टीको नवौं महाधिवेशनले निकालिसकेको छ । समाज विकासको अबको चरण भनेको समाजवादी क्रान्तिको चरण नै हो भन्नेमा पनि एमाले स्पष्ट देखिन्छ । तर त्यो चरणमा जाने साधक र अवरोधक शक्ति कुन हो र त्यसका लागि कस्तो कार्यक्रम चाहिन्छ भन्ने विषयमा एमालेमा थप स्पष्टताको खाँचो देखिन्छ । जबजको जगमा उभिएर संविधानले परिकल्पना गरेको समाजवादको यात्राका लागि आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक कार्यक्रमहरूको पहिचान र चयन उसको मुख्य कार्यभार हो । समाजवादी क्रान्तिको लामो चरणमा जान मुलुकको अनुत्पादक पुँजी र श्रमलाई उत्पादक पुँजीमा रूपान्तरण गर्नु सबभन्दा चुनौतीपूर्ण कार्य हो । त्यसका लागि दलाल पुँजीको अन्त्य हुनु जरुरी छ ।

दलाल पुँजीले सिंगो मुलुकको रूपान्तरणलाई कक्रक्क बनाएकाले स्वाभाविक रूपमा एमाले पनि यसबाट अछुतो छैन । दलाल पुँजीवादका पृष्ठपोषकहरूले एमालेसहित सबै दलका नेतालाई आफ्नो स्वार्थमा हिँडाउने गरेका छन् । एमाले यो चक्रव्यूहबाट निस्कने प्रण र हिम्मत गर्छ कि गर्दैन ? उसको पुनरुदय त्यसमै निर्भर रहनेछ । यो निष्कर्ष र वैचारिक धरातलमा एमालेले आफूलाई स्थापित गर्न सक्यो भने उसको पुनरुदयको सम्भावना अथाह देखिन्छ । यो वैचारिक धरातलमा उभिनका लागि मदन भण्डारी र जबजको योगदान र आधारस्तम्भलाई निषेध वा विरोध गर्नु अर्को गल्ती हुनेछ ।

२. सामूहिक नेतृत्व प्रणालीको पुनःस्थापना : एमालेको पुनरुदयको दोस्रो चुनौती हो— केन्द्रदेखि स्थानीय तहसम्म कमिटी प्रणालीको पुनःस्थापना । आज एमालेमा कमिटीगत प्रणाली लगभग ध्वस्त भएको छ । कमिटी प्रणाली ध्वस्त हुनुको परिणामस्वरूप पार्टीको जीवन पद्धतिमा रक्त प्रवाह बन्द हुँदै गएको छ । २०२७ सालमा पुष्पलालले नेतृत्व गरेको पूर्व कोसी प्रान्तीय कमिटीबाट छुट्टिएर प्रारम्भ भएको झापा विद्रोह र त्यसपछि बनेको अखिल नेपाल कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै एमालेसम्मको तीव्र विकासको एउटा मूल कडी त्यस पार्टीको सामूहिक नेतृत्व प्रणाली नै थियो । हरेक नयाँ घटना, निर्णय, आन्दोलन वा अवसरको वितरण वा जिम्मेवारीको बाँडफाँट गर्दा एमाले जीवनमा कुनै न कुनै तहको निर्णय अनिवार्य थियो र एमाले यसैमा बाँचेको थियो । त्यही सामूहिक कमिटी प्रणालीकै कारण २०४० देखि २०६४ सालसम्मको अवधिमा एमाले नेतृत्वमा सयौं नेता–कार्यकर्ताको विकास वेगवान् गतिमा हुन सम्भव भयो । तर मूलतः नेकपाको जन्मदेखि एमालेमा सामूहिक नेतृत्व प्रणालीसँगै कमिटीगत प्रणाली ध्वस्त हुँदै गएको छ ।

सामूहिक नेतृत्व प्रणाली अन्त्य हुनु भनेको व्यक्तिवादको जन्म हुनु हो । व्यक्तिवादले यतिसम्म गाँजेको छ, चाडवाडको अवसरमा गरिएका चियापान समारोहमा पनि केन्द्रीय होइन, जिल्ला कमिटी तहका नेताका तस्बिरहरू पनि भित्ता वा ब्यानरमा राखिएका थिए । व्यक्तिवादले आलोचनात्मक चेतको अवसान गराउँछ । आलोचनात्मक चेतबिनाका नेता वा कार्यकर्ता यथार्थमा कम्युनिस्ट हुन लायक हुँदैनन् । एमालेले तीव्र गतिमा विकास भइरहेको व्यक्तिवादलाई परास्त गर्न सक्छ कि सक्दैन ? उसको भविष्य निर्धारणको अर्को मानक यही हुनेछ ।

३. आन्दोलनको केन्द्र बन्ने चुनौती : माथि उद्धृत गरिएजस्तै झापा विद्रोहको गर्भबाट जन्मेर हुर्केको एमालेको वेगवान् गतिको विकासको अर्को कारण थियो— वामपन्थी आन्दोलनका अनेक घटकलाई आफूमा समाहित गर्न सफल हुनु । २०२७ मा सुरु भएको झापा विद्रोहको आकर्षणले २०३५ सालमा नेकपा मालेको गठन हुँदासम्म चारपाँच वटा कम्युनिस्ट घटक एकीकृत भइसकेका थिए । त्यसपछि माले र मार्क्सवादी एकता भएर बनेको एमाले र एमाले बनिसकेपश्चात् पनि बर्मा, अमात्य, नेकपा संयुक्तलगायत अनेक समूह र घटक गरी एमालेमा २०२७ देखि २०६४ सम्ममा करिब पन्ध्र वटा कम्युनिस्ट पार्टी एकीकरण भइसकेका थिए ।

एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपासम्म पुग्दा पार्टी सदस्य र प्रभावको हिसाबले चिनियाँ कम्युनिस्ट पार्टीपछिको संसारकै दोस्रो ठूलो कम्युनिस्ट पार्टी भइसकेको थियो । अहिले पनि एमालेमा त्यो सम्भावना जीवित नै छ । संख्या शक्ति, नेटवर्क र प्रभावको हिसाबले एमाले नै आजको मूल वामपन्थी शक्ति भएकाले यसले उदारतापूर्वक अन्य वामपन्थी वा कम्युनिस्ट पार्टीहरूसँगको सहकार्य र एकतालाई अघि बढाउनुपर्छ । यो अवसरलाई व्यक्ति होइन, आन्दोलनकेन्द्रित चिन्तनले उपयोग गर्न सक्नुपर्छ ।

नेतृत्व अस्थायी विषय हो भने आन्दोलन र पार्टी स्थायी । तसर्थ एमालेले आन्दोलनलाई केन्द्र भागमा राखेर उपर्युक्त चुनौतीहरूलाई सामना गर्ने क्षमता देखाउन सकेको अवस्थामा एउटै सिद्धान्त र कार्यक्रम बोकेर हिँड्ने भाइ एमालेका रूपमा माओवादी वा एकीकृत समाजवादी जस्ता पार्टीको आवश्यकताको औचित्य नै रहनेछैन । यी चुनौतीलाई सामना गर्ने हो भने एमालेको पुनरुदयको सम्भावना अद्यापि जीवित छ । एमालेको पुनरुदयपछि मुलुकमा वामपन्थी शक्तिको केन्द्रमा एमाले र पुँजीवादी शक्तिको केन्द्रमा कांग्रेस रहनेछन् । यस्तो शक्ति सन्तुलनबाट यो संविधान र राजनीतिक व्यवस्था बाँच्न–बचाउन मद्दत पुग्नेछ । के त्यसका लागि एमाले तयार छ ?

प्रकाशित : कार्तिक ३, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?