कर्णाली राजमार्ग अर्थात् शोकमार्ग !

कर्णाली राजमार्गलाई मृत्युमार्ग हुनबाट जोगाउन कर्णालीवासीहरू एकजुट भएर लड्नुपर्छ । नत्र त हरेक वर्ष हाम्रा सन्तान–दरसन्तानले दसैंको मुखमा यसरी नै मरिरहनुपर्नेछ ।
हीरा बिजुली नेपाली

दसैंको सप्तमीको दिन । दिउँसोको एक बजेको हुँदो हो, यस्सो फेसबुक खोलिहेरेको, मुगुका एक छिमेकी भाइले छोटो स्टाटस लेखेका रहेछन्, ‘आज मुगालीका लागि कालो दिन !’ यति मात्रैले केही बुझिने कुरै भएन । आफैं पनि मुगाली भएर हो कि, एकाएक दिमागमा झट्का लागेझैं भयो ।

कर्णाली राजमार्ग अर्थात् शोकमार्ग !

त्यो भीरको बाटामा गुड्ने थोत्रा गाडीभित्र यात्रुहरूलाई कपडा पट्याएझैं राख्ने गरेको, सिट क्षमताभन्दा धेरै मानिस कोच्ने गरेको दृश्य मेरा आँखाले सयौं पटक देखिसकेका थिए । पोखरामा बस दुर्घटनाको घटना पनि सेलाइसकेको थिएन । एक दिनअघि मात्रै काठमाडौं बसपार्कबाट बिदा गरेका आफ्ना भाइ, छोरा, आफन्तीहरूलाई सम्झेर मन एकाएक चिसो भएर आयो । तुरुन्त मैले कर्णाली आटर््स सेन्टरका सहकर्मी भाइ रामु विकलाई फोन गरें । मेरो कुरा सकिन नपाउँदै उनले भने, ‘त्यही त, पर पिना गाउँ नजिकैको खोलामा नेपालगन्जबाट आएको गाडी दुर्घटना भएछ । सबै कुरा एक–दुई घण्टापछि थाहा होला ।’

त्यतिन्जेल कसैले पनि फेसबुकमा श्रद्धाञ्जली सन्देश पोस्ट्याइसकेको थिएन । सायद कर्णाली राजमार्गको सो घटनास्थलबाट सूचना आइसकेको वा मृतक र घाइतेहरूको पहिचान खुलिसकेको थिएन । हुन त कच्ची रोडमा हिँड्ने एम्बुलेन्स पनि कच्ची तरिकाले नै गुडेको होला र कच्ची रोडबाटै उद्धार गर्न जाने प्रहरीहरू पनि छिटो त के पुग्न सक्थे र घटनास्थल ! मन झन् अतालिन थाल्यो । जिल्लामा अलि बोल्नेहरूका फेसबुकवाल खोतल्न थालें मैले । त्यही क्रममा चौबीस घण्टाका लागि लिएको एनटीसीको डाटा सकियो । रातको ९ः५१ नहुन्जेल अर्को प्याक तान्न नमिल्ने, अब के गर्ने ? श्रीमतीको मोबाइल भने दुई दिनअघि नै पाकेटमारले दसैं मनाउन लगिसकेको थियो । श्रीमतीले ल्यान्डलाइनबाट गाउँमा आमालाई फोन गरिन् । सासू आमाले उक्त दुर्घटनामा हाम्रै छत्यालबाडा गाउँका पनि दुई जना बितेको खबर गराउनुभयो । तिनमा एक जना त हामीलाई धेरै माया गर्ने भदैनी थिइन् ।

मानसिक बर्बादीले नेटो काट्दै जाँदा रातको दस बज्यो । बल्ल डाटा तानें । त्यसपछि त सामाजिक सञ्जालमा छरपस्ट देखिए उक्त घटनासँग सम्बन्धित कैयौं जानकारी ! सडकबाट झन्डै तीन सय मिटर तल झरेर उत्तानो परेको गाडी, बालबालिकाका झाडीमा मिल्किएका शवहरू, द्वन्द्वकालमा कालीकोटको पिलीमा मारिएका सैनिकहरूकै जस्तो शवहरूको लस्कर ! कोही रुँदै, कोही आँसु पुछ्दै घाइतेलाई पानि खुवाउँदै गरिरहेका ! ३२ जनाको मृत्यु भएको आधिकारिक जानकारी मिडियाहरूबाट आइसकेको थियो । मृतकहरूमध्ये धेरैजसो थिए मैले चिनेका, जिस्किएका, हात मात्रै मिलाएका, कुरा गर्न लजाएका, बोलूँबोलूँ लागे पनि अप्ठ्यारो मानेका, ‘जिन्दगी कति हो कति, छमछमी नाचौं न चनमती’ भनेर टिकटकमा नाच्नेहरू ! सबै हाम्रै नगरपालिका वरिपरिका ! हाम्रो मुगुमा एकै पटक यति धेरै मानिसले मृत्युवरण गर्नुपरेको इतिहास थिएन । हामी काठमाडौंमै बसेर शोकमग्न भयौं ।

कर्णाली राजमार्गको उद्घाटनसँग मेरो पनि सुनौलो स्मृति जोडिएको छ । भन्नेहरूले कहिलेकाहीँ हाँसोमै भन्ने पनि गर्छन्, ‘मुगालीहरूले गाडीहरू रोकिएको देखेर ती भोकाएको सम्झी खानलाई घाँस दिएका थिए रे !’ २०६९ पुस १० गते जुन दिन मुगु जिल्लाको सदरमुकाम गमगडीमा गाडी पुगेको थियो, म नेपालको पूर्वी सिमानामा पर्ने मेचीको पुलमा सुविधासम्पन्न रिजर्भ गाडीमा सयर गर्दै थिएँ । बंगलादेशको रंग महोत्सवबाट भाग लिएर फर्कने क्रममा भारतको भूमि पार गरेर मेची नदीनजिकैको स्थानीय नेपाली पसलमा चिया पिउन भनेर पस्दा मैले त्यहीँको टेबलमा सधैं पढ्ने गरेको कान्तिपुर दैनिक देखेको थिएँ, जसको पहिलो पृष्ठमै थियो— मुगु जिल्लामा सडक उद्घाटनसँगै गाडी पुगेको खुसियालीमा आयोजना भएको बृहत् सांस्कृतिक झाँकीको ठूलो फोटोसहितको समाचार । परम्परागत पहिरन लगाई दमाहा बजाइरहेकाहरूलाई देखेर मेरा आँखा एकाएक रसाएका थिए । नरसाऊन् पनि कसरी ! सहरमा पढेर केही गर्छौं भन्ने हामी विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो चुनौती कर्णाली–काठमाडौं यात्राको खर्च हुने गर्छ, अहिले पनि । गाडी नगुड्दा

त झन् जहाज चढ्नुपर्थ्यो । जहाज चढ्न यति महँगो कि भाडा बचाउन सक्दा पनि काठमाडौंमा दुई महिना खानबस्न पुग्थ्यो । पैसा नहुनेहरू सुर्खेतदेखि मुगु प्रायः पैदलै पार गर्ने गर्‍यौं । पैसा भएरै मात्र पनि जहाज चढ्न नपाइने । कि नेताको सन्तान हुनुपर्‍यो कि त गाविस सचिवको । एयरपोर्टमा टिकटको दलाली उस्तै । त्यसैले हरेक दसैंमा घर पुग्न हामीजस्ता निमुखा मजदुरका छोराछोरीले सुर्खेतदेखि झन्डै पाँच दिनको पैदल यात्रा गर्नुपर्थ्यो । सुर्खेत, राता लाग्ना, डुंगेश्वर, दैलेख बजार, महाबुको लेक, लसुन ढुंगा, पाद्म घाट, चिल्खाया, काम खेत, गाल्ज्या साँघु, नाग्म सिँजा हुँदै घुच्चीको लेक काटेर मुगु । हिँड्दाहिँड्दा कतै दिग्दारी लाग्थ्यो त कतै थोरै रमाइलो । त्यस दिन कान्तिपुरमा समाचार पढ्दै जाँदा लागेको थियो— अब गाडी चलेपछि बिस्तारै बाटो पिच हुनेछ, गाडी भाडा पनि सस्तो हुनेछ, गाडीको भाडा घटेपछि त जहाजको भाडा पनि त कसरी नघट्ला ?

तर, त्यसको लगभग एक दशकपछि सारा मुगालीलाई शोकमा डुबाएको छ कर्णाली राजमार्गले । पीडित आमाबाबुको रुवाइले सारा मुगुवासीलाई रुवाएको छ । राजमार्गलाई आधा मरेको सर्पझैं छोडेर भुलिदिने राज्य संयन्त्र, घुस्याहा कर्मचारीतन्त्र, राजधानीदेखि मुगुसम्मका नेताको मुकुन्डो भिरेकाहरूले कर्णालीवासीहरूलाई पटकपटक रुवाउँदै आइरहेका छन् । कर्णाली र कर्णाली राजमार्ग नभट्याइएको बजेट भाषण सायदै होला, तर त्यो बजेट कहाँ जान्छ ? हरेक पटक आफ्ना कमिसनदाताहरूलाई ठेक्का नपरे त्यो प्रक्रिया नै रद्द गर्ने शक्ति कोसँग छ ? किन चाहन्छन् यिनीहरू कर्णाली राजमार्गमाथि अझै लासहरूको थुप्रो पार्न ? सरकारमा बस्नेहरू कर्णालीवासीहरूलाई अकालमा मारेर अझै किन नअघाएका ? हामी त यसै पनि दिउँसै मरिरहेछौं कर्णालीमा । समाचारहरूले भन्छन्— मुख्यमन्त्री बनेदेखि महेन्द्रबहादुर शाहीले हेलिकप्टर चढेर मात्रै करोडौं खर्च गरे, तर कर्णाली राजमार्गको नाग्मा–गमगढी सडकखण्ड विस्तार र कालोपत्र गर्न जम्मा १ अर्ब चाहिन्छ रे ! यसरी हेर्दा, जनताका लागि भनेर लडेका महेन्द्र कमरेड श्री ५ भन्दा पनि ठूला लाग्दैनन् र ? हिजोसम्म त हामी काठमाडौंलाई टाढाको सरकार भन्थ्यौं, सत्तोसराप गर्थ्यौं तर आज त कर्णालीकै मानिस मुख्यमन्त्री भएको कर्णाली प्रदेश सरकार हामीसँग छ नि, तैपनि ‘मु क्या भुनु, देश भुनला छि’ भन्नलायक किन छन् हामीले भोट दिएका हाम्रा नेताहरू ? उनीहरूलाई के चिन्ता आज मारिएका र भोलि मारिइनेहरूको, न उनीहरूका छोराछोरीले कच्ची कर्णाली राजमार्गमा हिँड्नुपर्छ न कर्णालीमा बस्नु नै छ ! उनीहरूका छोराछोरी त काठमाडौंका आलिसान महलहरूमा बस्छन् र महँगा विद्यालयहरूमा पढ्छन् ।

कर्णालीको यातायात व्यवस्थालाई ढिलै भए पनि जनमुखी र पारदर्शी बनाउने हो भने निजी विमान कम्पनीहरूमाथि कडिकडाउ गर्नुपर्छ । यिनीहरूले कर्णालीलाई पैसा कमाउने भाँडो मात्रै सम्झिँदै आइरहेका छन् । जब पूर्वतिर वा अन्यत्र सिजन हुँदैन, अनि मात्र कर्णालीतिर जिउजिउ गर्छन् ! जब दसैंमा कर्णालीमा यातायातको हाहाकार मच्चिन्छ, निजी विमानहरू पूर्वका हिमाली जिल्लाहरूमा विदेशी बोकेर डलर कमाउनपट्टि लाग्छन् । फेरि टिकट पाइने सिजनमा पनि कर्णालीकै दलालहरूले कालापहाडबाट आएका गरिबहरू र सहरमा काम गरेर पढिरहेका विद्यार्थीहरूको ढाडै भाँचिने गरी कालोबजारी गर्छन् । त्यतिमा पनि गरिबले टिकट कहाँ पाउनु ? मुगु दुर्घटनामा मारिएका विद्यार्थीहरूमध्ये आधाजसो त एयरपोर्टका होटलमा कैयौं दिन बसेर कुर्दा पनि टिकट नपाएर बसमा जान विवश भएका थिए ।

अर्को कुरा, थोत्रा गाडीमा सिट क्षमताभन्दा दोब्बर–तेब्बर यात्रुहरू भरिँदासमेत कर्णाली राजमार्गका ठाउँठाउँमा बसेका ट्राफिक प्रहरी के हेरेर बस्ने गर्छन् ? कतै ट्राफिक प्रहरीले पनि हजार–पन्ध्र सय रुपैयाँ घूस पाउने आसमा सम्भावित दुर्घटनातर्फ आँखा चिम्लिने गरिरहेका त छैनन् ? हो, सीमित सिट भएको बसमा गाडीवालाले दोब्बर–तेब्बर यात्रु खाँद्दासमेत प्रश्न नगर्नु हाम्रो पनि गम्भीर त्रुटि हो । फेरिका दिनमा हामीले पनि यस्तो त्रुटि दोहोर्‍याउनु हुँदैन । जहाँसम्म प्रारम्भिक अनुसन्धानबाट ‘टायर पड्किएर दुर्घटना भएको’ भनिएको छ, बसभित्र सिटकै क्षमताअनुसार मात्रै यात्रुहरू भएका भए टायर पड्किन सम्भव थियो त ? टायर पड्किने गरी यात्रु राख्दासमेत नियमन नगर्ने घुसिया ट्राफिक संयन्त्र कसको हो ? यही घुसिया राज्यको होइन ?

मुगु घटना दुर्घटना नभएर राज्यले सुनियोजित रूपमा गराएको हत्या हो । राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण मानिसहरूले अनाहकमा ज्यान फाल्नुपरेको हो । त्यसैले राज्यले मृतकहरूका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्छ । होइन भने कर्णाली राजमार्गलाई मृत्युमार्ग हुनबाट जोगाउन यो हत्यारा राज्यविरुद्ध कर्णालीवासीहरू एकजुट भएर लड्नुपर्छ ।नत्र त हरेक वर्ष हाम्रा सन्तान–दरसन्तानले दसैंको मुखमा यसरी नै मरिरहनुपर्नेछ ।

(नेपाली रंगकर्मी हुन् ।)

प्रकाशित : कार्तिक २, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?