पूर्वी हिमालयमा बढ्दो आत्महत्या

हिमालय क्षेत्रले युद्ध देख्यो, बीभत्स प्राकृतिक प्रकोपमा रुमलियो, कैयन् मरे तर आङमा आङ मिलाएर बाँचे, संस्कृति र सभ्यता बचाए । अर्कोतिर ड्रग्स र आत्महत्याले खर्लप्पै खान थालेपछि सरकार–सरकार, समाज–समुदाय देशको सिमाना र सार्वभौमिकतालाई परतिर राख्दै यो विकराल महामारीसँग एक भई लड्नैपर्ने भयो ।
महेन्द्र पी‍. लामा

लागू पदार्थको सेवन अनि आत्महत्याको बढ्दो प्रकोपले पूर्वी हिमालय क्षेत्रका राष्ट्रहरू नेपाल, भोटाङसहित भारतका सिक्किम, दार्जिलिङ आदिलाई निकै सताउन थालेको छ । कहाँबाट विभिन्न प्रकारका लागू पदार्थहरू (ड्रग्स) पुग्दै छन् यी क्षेत्रहरूमा, कसले ओसार्दै छन् अनि कति युवा–युवती प्रभावित भइसकेका छन्, यसमाथि गम्भीरतासँग समाज एवं सरकारी दुवै स्तरमा छलफलै भएको छैन ।

पूर्वी हिमालयमा बढ्दो आत्महत्या

एकातिर पूर्वतिर रहेका गोल्डन ट्र्यांगल (थाइल्यान्ड, बर्मा अनि लाओस), अर्कोतिर पश्चिमतिर रहेका गोल्डन क्रिसेन्ट (अफगानिस्तान, पाकिस्तान अनि इरान) — यी दुवै क्षेत्रबाटै विश्वलाई लछ्रप्पै पार्ने हिरोइन–ह्यासिस धेरै दशकदेखि भारत र छिमेकी राष्ट्रहरूमा पसे पनि रोकथाम भने प्रभावशाली ढंगमा भएकै छैन । केही साताअघि मात्रै गुजरातको मुन्द्रा बन्दरगाहमा अफगानिस्तान–इरानबाट आएको बन्द कन्टेनरबाट ३ हजार किलोग्राम (भारु २१ हजार करोड मूल्यको) हिरोइन जफत गरिएपछि सनसनी नै फैलियो । अफगानिस्तानमा तालिबान सरकारका आय आउने सबै स्रोतमा पश्चिमी राष्ट्रहरूले प्रतिबन्ध लगाएपछि, पपीफूल–हिरोइनको केन्द्र अफगानिस्तानमा ड्रग्स बेचेर सरकार चलाउने स्थिति आइपरेको कुरोसम्म अघि आउन थाल्यो । भारतले अफगानिस्तान–पाकिस्तान–इरानबाट आउने सामान लादिएका जहाजहरूमा प्रतिबन्धसमेत लगायो । घर–घर, समाज–समुदाय सबैलाई खायो यो लागू पदार्थको सेवनले । मणिपुर त खतरनाक एड्स रोगको हिस्सा नै हुन पनि पुग्यो, ड्रग्स सेवन गर्ने खोप र सिरिन्जमार्फत ।

सन् २०१६ मा भारतको गृह मन्त्रालयले जारी गरेको नेसनल क्राइम रेकर्डअनुसार सिक्किममा भारतको सबैभन्दा बढी आत्महत्याको दर भेट्टाइयो । अर्थात्, हरेक १ लाख जनसंख्यामा सिक्किममा ४०.५ व्यक्तिले आत्महत्या गरे । यही दर पुडुचेरीमा ३३.३, अण्डमान निकोबर द्वीपमा २६.४, छत्तीसगढमा २५.८ र तेलंगाना राज्यमा २४.५ जना रहेको पाइयो । सिक्किम जस्तो सानो राज्यमा किन यो दर भारतमा प्रथम स्थानमा ? प्रश्नैप्रश्न उठ्छन् । वर्ल्ड पपुलेसन रिभ्युको सन् २०१९ मा जारी रिपोर्टलाई नियालेर हेर्‍यौं भने सिक्किमको आत्महत्या दर विश्वकै आत्महत्या दरमा एक नम्बरमा आउने पूर्वी युरोपको ३१.९ र दोस्रो स्थान ओगट्ने रुसको ३१ भन्दा पनि बढी छ । यसै रिपोर्टअनुसार भोटाङमा यो दर ११.४ प्रतिलाख (५७ औं स्थान), नेपालमा ८.८ (८१ औं स्थान) र भारतमा १६.३ (२१ औं स्थान) पाइएको छ । अर्कोपट्टि नेपाल सरकारको परिवार स्वास्थ्य इकाइले गरेको अध्ययनमा १५–४९ वर्ष आयुका महिलाहरूमा आत्महत्या नै मृत्युको एउटा प्रमुख कारण बनेर अघि आएको छ ।

गत लगभग दुई वर्षमा यी हिमालय क्षेत्रहरूमा कोरोना महामारीको प्रकोपमा परेका कैयन् परिवारका सदस्यहरू आत्महत्याको सिकार भएका छन् । यसबारे सूचना–अध्ययनहरू बिस्तारै अघि आउँदै छन् । सोसियल साइकियाट्री नामक अन्तर्राष्ट्रिय जर्नलमा शिवराज आचार्य, योङ सिन अनि दिओग ह्वान मुनद्वारा भर्खरै प्रकाशित लेखअनुसार, महामारीसँग सम्बन्धित लकडाउनको समय नेपालमा सरदर १८ जनाले दैनिक रूपमा आत्महत्या गरे । नेपालको पुलिस ब्युरोको रिपोर्टअनुसार, सन् २०२० मा आत्महत्या गर्नेको संख्यामा २५ प्रतिशत वृद्धि भएर १,६४७ पुग्यो । अप्रिल २०२० देखि मध्य जुलाई २०२० का चार महिनाको लकडाउन अवधिमा मात्रै १,२३३ व्यक्तिले आत्महत्या गरे । अझै आश्चर्यजनक कुरो, भोटाङ र नेपालमा १३–१७ वर्षका केटाकेटीहरू आत्महत्या प्रयासमा बढी संख्यामा लागेको पाइयो । विश्व स्वास्थ्य संगठनको सन् २०१७ को रिपोर्टले यही देखाउँछ ।

आत्महत्याका कारणहरू बिस्तारै खुट्याइँदै छन् । यीमध्ये लागू पदार्थको सेवन, परिवारमा बिग्रँदै गएको सम्बन्ध, स्कुल–कलेजमा हेलचेक्र्याइँ एवं समयलाई सदुपयोग गर्ने विभिन्न कार्यको कमी अति नै देखिने ढंगमा माथि आएका छन् । घरमा माता–पिताले छोरा–छोरीलाई दिने समयमा द्रुत गतिमा कमी आएकाले पनि तिनले आत्मघात गर्ने जमर्को गर्छन् । समय नदिँदा र नदिएको समयलाई ढाकछोप गर्न माता–पिताले नानीहरूलाई पैसा र मोबाइल फोन, अन्य शारीरिक व्यायाम गर्नु नपर्ने र घरदेखि बाहिर जानै नपर्ने साधनहरू सहजै दिने गर्दा मनोवैज्ञानिक आघातले यस्ता दुर्घटनाहरू अघि ल्याउँछन् ।

भारतमा आत्मघात गर्नेहरूको मोठ संख्यामा दैनिक रूपमा खटिखाने श्रमिकहरू (१९ प्रतिशत), घर चलाउने आमा (१६ प्रतिशत) र विद्यार्थीहरू (७ प्रतिशत) रहेको पाइएको छ । आत्मघात गर्नेमध्ये ६७ प्रतिशत विवाहित, ७० प्रतिशत वार्षिक आय भारु १ लाखभन्दा कम हुनेहरू र २२ प्रतिशत मेट्रिक अनि उँभो शिक्षा प्राप्त गर्नेहरू छन् । १८ वर्षदेखि तलतिरका केटाकेटीले आत्मघात गर्नुका ज्यादातर कारण नै परीक्षामा फेल, रोग एवं प्रेम–प्रीतिमा धोका रहेको पाइयो । गरिबी आत्महत्याको कारण हुन नसक्ने कुरो पनि अघि आयो । बिहारमा गरिबी सीमादेखि तल रहेको जनसंख्या ४० प्रतिशतभन्दा बढी छ र प्रत्येक व्यक्तिको वार्षिक आय लगभग भारु ३८,८६० पाइएको छ, तर आत्महत्या दर भने ०.४ छ, जसलाई अति नै नगण्य मानिन्छ । अर्कोतिर सिक्किममा गरिबको जनसंख्या १०–१२ प्रतिशत मानिन्छ र प्रतिव्यक्ति वार्षिक आय भारु २.९७ लाख छ, तर आत्महत्या दर भने भारतमै उच्चतम छ ।

सिक्किमको यति भीषण स्थितिमाथि अध्ययन नै गरिएन । २५ वर्ष सरकार चलाउँदा पनि त्यस्ता गम्भीर मुद्दामा पनि त्यसताकाका दम्भपूर्ण नेता–नोकरशाह मौन नै रहे । भारत सरकारको क्राइम ब्युरोले अघि ल्याएको दृश्य र सांख्यिकीले केही फरक नै पारेन । हामीले सिक्किम विश्वविद्यालयको निर्माण अवस्थामा पनि यस विषयमा अध्ययन गर्न सरकारकहाँ सूचना–सांख्यिकी जम्मा गर्न पठायौं । तर सरकारले विरोध गर्‍यो । मे २०१९ मा नयाँ सरकार आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले ड्रग्स र आत्महत्याविरुद्ध युद्ध छेड्ने घोषणा, तत्परता एवं रणनीति बनाउँदा–बनाउँदै कोरोना महामारीले सिक्किमलाई गर्लम्मै छोप्यो । यद्यपि ठूलै र निर्मूल पार्ने नीतिहरू बनाइँदै छन्, जसले सिक्किमको हरेक परिवार एवं समुदायलाई राहत पुग्ने नै छ भनी सबैले आशा राखेका छन् ।

उता दार्जिलिङमा राजनीतिक स्थिति नै आलसतालस भएपछि र समाजमा नेताहरूले बनावटी उथलपुथल ल्याएपछि ड्रग्स र यसको सेवनले जल्दोबल्दो समाज–समुदायमा जरा नै गाड्यो । नेता र पार्टीले गोर्खाल्यान्डको बकम्फुसे लोभ देखाएर सरकारसँग भित्रभित्रै मिली आन्दोलन गरिटोपल्नाले दार्जिलिङका युवायुवतीले शिक्षा, खेलकुद, संगीत, साहित्य, कला, समाजसेवा र सबै विकासका मुहानहरू गुमाए । सबैलाई मन खाने र दशकौंदेखि चलिआएका संस्थाहरू एकएक गरी भत्काइए । सकारात्मक कार्य गर्ने र निर्माण गर्ने ठाउँ नै नरहेपछि दार्जिलिङका युवा–युवती कि त दार्जिलिङ छोडेर अन्य राज्य–राष्ट्रहरूतिर लागे कि राजनीतिक पार्टीमा कुदेर जीवन खेर फाल्न थाले । महाकाल बाबा, गिर्जाघर, मस्जिद अनि सत्य साइबाबाका भजन मण्डली पनि नभएका भए दार्जिलिङका युवा–युवतीलाई समय काट्न हम्मे पर्ने थियो, ड्रग्स र आत्महत्याले खेल्ने अझै ठूलो ठाउँ पाउने थियो । अभाग्यवश, राज्य सरकार र केन्द्र सरकार दुवैलाई यस्तो अविरल ढंगमा विकृति अँगालेको दार्जिलिङसँग केही सरोकार नै छैन ।

उता भोटाङ सरकारले सानोतिनो पाठ नै सिकायो । दुई–चार जना व्यक्तिबाहेक अरू कसैलाई कोरोना महामारीको सिकार बन्नै दिएन । राजा आफैं जनताकहाँ पुगे । भारतले भ्याक्सिनको ४–५ लाख दोस्रो डोज नदिँदा चीन, अमेरिका, इंग्ल्यान्ड चारैतर्फबाट खोप ल्याएर शतप्रतिशत जनसंख्यामा खोप पुर्‍याउने प्रयास गरे । सन् २०१५ मै तीन वर्षका निम्ति भोटाङमा आत्महत्या रोक्नलाई व्यापक योजना र आफ्नो संसद्मा नियम–कानुन बनाएर चारैतिर गतिलै रूपमा लागू गरे । यस तीनवर्षे (२०१५–१८) योजनालाई अघि ल्याउँदा तीनताकका प्रधानमन्त्री छिरिङ तोप्गेले भने, ‘दुःखलाग्दो कुरो हो, हाम्रो राष्ट्रमा हरेक महिना सात जना व्यक्तिले आत्मघात गर्छन् । हाम्रो राष्ट्र जसले सम्पूर्ण विश्वलाई मोठ राष्ट्रिय खुसियालीको मूल्य बताउँछ, त्यहाँ आत्मघात हुनै नपर्ने हो । आत्महत्याका धेरै कठिन कारण छन् ।’

आत्महत्याको जरै काट्ने भोटाङ सरकारको रणनीतिमा अति नै परोक्ष एवं मन खाने कुराहरू लेखिएका छन् । भोटाङमा आत्महत्या गर्ने ९१ प्रतिशत व्यक्तिहरूले आफूलाई झुन्ड्याएर घात पुर्‍याउँछन् । उनीहरूले अन्य राष्ट्रमा झैं गोली ठोकेर, विषालु पदार्थ खाएर आत्महत्या गर्दैनन् । यस नीतिमा अर्को ठोस कुरो पनि लेखियो । भोटाङमा आत्महत्या गर्नेमध्ये ६४ प्रतिशत व्यक्ति लागू पदार्थको सेवनमा चुर्लुम्म डुब्ने गरेको पाइयो । अब कसरी आत्महत्या रोक्ने र निर्मूल पार्ने भन्ने उपायहरूमध्ये एउटा नौलो तर उपयोगी धार्मिक मार्ग पनि अघि राखिएको छ । भोटाङेहरू पनि भारतीय र नेपालीहरूझैं धर्म–ईश्वर आदिमा अति नै गहिरो विश्वास–आस्था–श्रद्धा राख्ने हुनाले, भोटाङ सरकारले हरेक गाउँ, सहर, परिवार, पाठशाला र संस्थाहरूमा गएर मानव समूहमा कसरी आत्महत्या भन्ने कुरोचाहिँ नकारात्मक कर्म हो र यसबाट कसरी मृत्युपछिको यात्रामा आत्मा भड्किन सक्छ र आफू–अरूलाई सताउन सक्छ भन्ने उपदेश अघि राखिदियो । भोटाङ सरकारले आत्महत्याको विरोधमा लडाइँ लड्ने प्रमुख भूमिका नै गाउँबस्तीमा कार्यरत स्वास्थ्य कर्मचारीहरूलाई दियो । उनीहरूले गएर घर–समाज–समुदायमा आत्महत्या रोक्ने एवं त्यस्तो सोचदेखि टाढा रहने विभिन्न उपाय जनसमक्ष राख्न थाले ।

अमेरिकाबाट प्रकाशित हुने एप्लाइड साइकोलजी जर्नलमा सन् २०१५ मा प्रकाशित एउटा लेखमा आत्महत्या गर्ने नेपालका व्यक्तिहरूका जात–ठाउँसमेत उल्लेख गरिएको छ । यस शोधकार्यमा उनीहरूले के पाए भन्दा आत्महत्या गर्ने व्यक्तिहरूमा ५३.७ प्रतिशत जनजाति थिए भने २९.५ प्रतिशत बाहुन, ८.९ प्रतिशत दलित र ८ प्रतिशत क्षत्री । मोठ आत्महत्या गर्ने व्यक्तिहरूमध्ये ७१ प्रतिशतले आफूलाई झुन्ड्याएका थिए । अर्कोतिर भर्खरै बीएमसी पब्लिक हेल्थको २१ औं अंकमा ली उतयासेभा, दिल्ली शर्मा, राकेश घिमिरे र अन्यले प्रकाशित गरेको लेखमा, कीरा–फट्याङ्ग्रामाथि प्रयोग गर्न प्रतिबन्ध लगाइएकै कीटनाशक खाएर आत्महत्या गर्नेहरूको बढ्दो संख्याको घतलाग्दो ढंगमा विवरण दिइएको छ । नेपालमा जुन २०२० सम्ममा १७१ कीटनाशक दर्ता गरिएका छन्, जसमध्ये एक–दुईवटा विश्व स्वास्थ्य संगठनले अति नै हानिकारक भनेर घोषणा गरेको सूचीमा पर्छन् । सन् २००१ यता २४ वटा कीटनाशकमा प्रतिबन्ध लगाइएको भए पनि प्रतिबन्धित मेथिल–प्याराथियन कीटनाशक खाएर नै प्रायः व्यक्तिले आत्महत्या गरेका छन् । झुन्डिएर आत्मघात गर्नेहरूको संख्या सन् १९८० देखि २०१८ सम्ममा पन्ध्र गुणा बढे पनि कीटनाशक खाएर मर्नेहरूको संख्या १३ गुणा बढेको पाइएको छ ।

सुशान्त सिंह राजपुत, दिशा सालियान, सौजन्यासहित फिल्म जगत्का धेरै नामी कलाकारहरूले समेत एकपछि अर्को लहरमा आत्मघात गरेपछि भारत सरकार नहल्लिए पनि परिवार र समाज अतालिएका छन् । यो रोगले कसैलाई पनि कहिले पनि थाहै नपाई निल्न सक्छ । र नै सिक्किमका कुनाकुनामा पनि हेल्प लाइनका नम्बरहरू टालिएका छन् । दार्जिलिङका गाउँ–सहर सबैमा ‘रिह्याब’ को नारा लगाइँदै छ । कोही म्याराथन गर्छन् त कोही भजन मण्डली र कोही कला–नाटक, आफूलाई ड्रग्सको संसारबाट सधैंका लागि निकाल्न । फेरि नफर्कियोस् यो कालै लाने दशा, फेरि रिल्याप्स नहोस् यो समाजै मास्ने ग्रह भन्दै बाजे–बज्यू पनि नाति–नातिना लिएर गिद्धे–अम्बोटेको मन्दिर, सेन्ट मेरिजको ग्रोटो र बजारको मस्जिदमा पूजापाठ गर्छन् ।

हिमालय क्षेत्रले युद्ध देख्यो, बीभत्स प्राकृतिक प्रकोपमा रुमलियो, कैयन् मरे तर आङमा आङ मिलाएर बाँचे, संस्कृति र सभ्यता बचाए । अर्कोतिर ड्रग्स र आत्महत्याले खर्लप्पै खान थालेपछि सरकार–सरकार, समाज–समुदाय देशको सिमाना र सार्वभौमिकतालाई परतिर राख्दै यो विकराल महामारीसँग एक भई लड्नैपर्ने भयो । कोरोनाको खोप निस्क्यो र सबै बाँच्छौं । ड्रग्स र आत्महत्याविरुद्ध सायदै भ्याक्सिन निस्केला ! कारण, ड्रग्स व्यापार हो, आत्महत्या मनस्थिति हो । व्यापारले सिमाना–समाज–परिवारलाई टेर्दैन, मनस्थितिले आफन्त–उज्यालोलाई नकार्छ । ड्रग्स र आत्महत्या दुइटै एउटा व्यक्तिमा आएर ठोक्किन्छन्, पस्छन्, घोत्ल्याउँछन् र स्वाहा र अनन्त शेष पारेर मात्रै निस्कन्छन् । तसर्थ व्यक्ति नै निर्माण गर्नुपर्छ, बलियो र जुझ्ने बनाउनुपर्छ । यो काम सरकारले र समाजले गर्दैनन्, सायद परिवारले नै गर्नुपर्छ । जन्मनुअघि पनि माता–पिताको प्रयासमा गर्भधारण हुन्छ, जन्मेपछि आमाको दूध–स्नेह, पिताको पोषण–गर्जन अनि समाज र समुदायको वातावरण र देखरेखले व्यक्ति बन्छ । कसरी व्यक्तिलाई व्यस्त राख्ने, सरकारले ठूलै भूमिका निभाउनुपर्छ । सबैलाई जन्मँदै राम्रोसँग जिउने अधिकार दिनैपर्छ ।

[email protected]

प्रकाशित : कार्तिक २, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?