कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चित्र कोर्दै, लेखपढ सिक्दै

साना विद्यार्थीलाई पढाइलेखाइप्रति आकर्षित गर्न, विद्यालय शिक्षालाई उत्पादनमूलक र रुचिकर बनाउन प्रायः विद्यालयले चित्रकारितासहितको शिक्षण सिकाइलाई महत्त्व नदिएकै परिणाम हो— घोकन्ते विद्या ।
मधु राई

युकेजीमा पढ्ने श्रेया आले मगरलाई चित्रकारिता मन पर्छ । कक्षाकार्य सकेपछि चित्र कोर्न र रंग भर्न मन पराउने उनले कहिलेकाहीँ शिक्षकले भन्दा राम्रो चित्र कोर्छिन् र फूलबुट्टा पनि भर्छिन् । त्यसो त, श्रेयाका अरू साथी पनि चित्र कोर्ने भनेपछि हुरुक्कै हुन्छन् । हरेक दिनजसो अंग्रेजी र विज्ञानको कक्षाकार्य सकिएपछि उनीहरूले विद्यालयले दिएका सादा कापीमा विभिन्न चित्र बनाउने र रंग भर्ने गर्छन् । गिलास र कप बनाउन पनि सिक्दै छन् । 

चित्र कोर्दै, लेखपढ सिक्दै

पाठ्यसामग्रीसँग सम्बन्धित चित्र कोर्दा एकाग्रता मात्र बढ्दैन, विद्यार्थीहरूबीच सहकार्य गर्नुपर्छ भन्ने भावनाको पनि विकास हुन्छ, किनभने चित्रअनुसार साथीहरूसँग रंग पेन्सिल साटासाट गर्नुपर्ने हुन्छ । यस्ता क्रियाकलापबाट उनीहरूलाई सहयोगी मात्र हैन सिर्जनशील र कल्पनाशील बनाउन पनि धेरथोर मद्दत पुग्छ । उनीहरूको चकचकेपन पनि धेरै हदसम्म नियन्त्रित हुँदै जान्छ ।

साना विद्यार्थीमा चित्रकारिताप्रति रुचि जगाउन शिक्षकहरूले विशेष भूमिका निर्वाह गर्नुपर्छ । औपचारिक शिक्षाको सुरुवाती चरणमा पुस्तकका रंगीविरंगी चित्रहरूले आकर्षित गर्छन् । चित्रसहितको शिक्षण सिकाइले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्छ, जुन पछिसम्म पनि रहिरहन्छ । दिनहुँजसो शिक्षकले बनाउने चित्र हेरेर साना विद्यार्थीले नयाँ–नयाँ शब्दसमेत सिक्छन् । कालान्तरमा उनीहरू यस्ता चित्र कोर्न जान्ने पनि हुन्छन् ।

बाल विकास कक्षामा गरिने विभिन्न क्रियाकलापमध्ये रंग भर्ने कामबाट उनीहरूको सर्वाङ्गीण विकासमा मद्दत पुग्छ । यसबाट साना विद्यार्थीहरूका औंलाको मांसपेशी बलियो मात्र हुँदैन, थप क्रियाकलाप गर्न उनीहरूलाई उत्प्रेरित पनि गर्छ । औपचारिक शिक्षाको प्रारम्भिक चरणमा विभिन्न आकार–प्रकारका चित्रमा रंग भर्न लगाउने हो भने विद्यार्थीहरूलाई पढाइलेखाइ बोझ हैन, रमाइलो लाग्न थाल्छ ।

शिक्षकहरूले पनि ती साना विद्यार्थीहरूको मनोभाव बझी सोहीअनुरूपको चित्र कोर्न र रंग भर्न प्रेरित गर्नुपर्छ । यसो गर्दा चित्रका माध्यमबाट उनीहरूले बढीभन्दा बढी शब्द उच्चारण गर्न, लेख्न र पढ्न सिक्छन् । यस्तो शिक्षण सिकाइबाट उनीहरूलाई लामो समयसम्म ती शब्दहरू सम्झन मद्दत पनि पुग्छ । यस्तै चित्रकारितासम्बन्धी सीपले विद्यार्थीको हस्तलेखन मात्र सप्रँदैन, उनीहरूलाई अध्ययनशीलसमेत बनाउँछ । महात्मा गान्धीको हस्तलेखन राम्रो थिएन, त्यसैले उनले साना विद्यार्थीहरूको हस्तलेखन सपार्न शिक्षकलगायत अभिभावकहरूलाई विद्यालय र घरमा चित्रकारितासम्बन्धी सीप सिकाउन सुझाएका छन् ।

औपचारिक शिक्षाको सुरुवाती चरणमा साना विद्यार्थीलाई पढाइलेखाइप्रति आकर्षित गर्न पनि चित्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने वास्तविकतालाई अधिकांश विद्यालय व्यवस्थापक र शिक्षकहरूले बुझेको देखिँदैन । सामुदायिक विद्यालयको के कुरा गर्नु, नाम चलेका बहुसंख्यक निजी विद्यालयका सञ्चालक र शिक्षकहरूले समेत विद्यालय शिक्षामा चित्रकारिता मिसाउनेबारे सोचेको देखिँदैन, न त उनीहरूसँग यस्तो योजना नै छ । यसैको परिणाम हो— घोकन्ते विद्याले पाएको प्रश्रय । चित्रकारिताका माध्यमबाट सम्झेर–बुझेर पढ्दा सिकाइ प्रभावकारी हुन्छ भन्ने विकसित मुलुकको मान्यतालाई हामीले बुझ्न सकेका छैनौं । जापानले हरेक वर्ष चित्रकारितासम्बन्धी प्रतियोगितामा विभिन्न देशका विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको छ । यस वर्ष पनि विराटनगरस्थित जनपथ माविका दुई विद्यार्थीले उक्त प्रतियोगिताका लागि चित्र पठाएका छन् । त्यसो त, निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एन– प्याब्सनले पनि कोभिड महामारी सुरु हुनुअघिसम्म जिल्लास्तरीय चित्रकला प्रतियोगिता गर्ने गर्थे । अहिले उक्त प्रतियोगिता हुन सकिरहेको छैन ।

त्यसो त विद्यालय चाहे सामुदायिक होऊन् या निजी, विद्यार्थीहरूलाई चित्रकारितासम्बन्धी सीप सिकाउन थप खर्च र समयको व्यवस्थापन गर्नुपर्ने हुन्छ । तथापि चित्रकारिताको महत्त्व बुझेका मन्टेसोरीलगायत कतिपय निजी विद्यालयले खर्च र समयको व्यवस्थापन गर्दै पनि आएका छन् । अधिकांश निजी विद्यालयले साना विद्यार्थीहरूका लागि भनेर शैक्षिक, खेल सामग्रीलगायत शीर्षकमा वार्षिक शुल्क लिने गरेका छन् । कतिपय विद्यालयले दैनिक वा साप्ताहिक रूपमा विद्यार्थीहरूलाई चित्रकारितासम्बन्धी सीप सिकाउने गरेका पनि छन् । मैले पनि साना विद्यार्थीहरूका लागि चित्रकारितासहितको शिक्षणसिकाइ गर्न थालेको धेरै समय भयो ।

नगण्य रूपमै भए पनि मन्टेसोरीलगायत कतिपय निजी विद्यालयले पठनपाठनमा चित्रकारितासम्बन्धी सीप मिसाएर औपचारिक शिक्षालाई रमाइलो बनाउने कोसिस गर्दै आएका छन् । तर, यो पर्याप्त छैन । यस्तै अधिकांश विद्यालय र शिक्षकले चित्रकारिताको महत्त्व नबुझ्दा साना विद्यार्थीहरूका लागि औपचारिक शिक्षाको पहिलो खुड्किलो ‘हलुवामा बालुवा’ मिसिएसरह भएको छ । हुन पनि, प्रारम्भिक शिक्षणसिकाइ रमाइलो र सहज नहुँदा साना विद्यार्थीहरूलाई पढाइलेखाइ बोझ मात्र बनेको छैन, ‘पढेर के नै हुन्छ र ?’ भन्ने धारणा पनि विकसित भैरहेको छ । माथिल्लो कक्षा उक्लँदै जाने अधिकांश विद्यार्थीको समय पढाइलेखाइमा भन्दा पनि अनावश्यक गतिविधिमा गइरहेको छ ।

पछिल्लो समय सहरी क्षेत्रका अधिकांश विद्यार्थी सामाजिक सञ्जालमा घण्टौं बिताउने गरेका छन् । पढाइलेखाइबाट कति बेला छुट्कारा पाइएला र मोबाइल चलाउँला भन्ने ध्याउन्नमा रहेका अधिकांश विद्यार्थीलाई सिर्जनशील बनाउन वर्तमान शिक्षा असफल भइरहेको छ । यस्तोमा शिक्षालाई जीवन र जगत्सँग जोड्न पनि चित्रकारितासहितको शिक्षणसिकाइले सेतुको काम गर्न सक्छ ।

पूर्वप्रावि तहका विद्यार्थीहरूलाई चित्रकारितासहितको शिक्षणसिकाइ गर्ने हो भने उनीहरूले घरमा फुर्सद हुँदा पनि चित्र बनाउन सिक्छन् । यस्तो बेला अभिभावकले छोराछोरीको मनोभाव बुझी सोहीअनुरूप चित्र बनाउन चाहिने सामग्री सहजै उपलब्ध गराइदिनुपर्छ, अझ सहजकर्ताको समेत भूमिका निर्वाह गर्न सक्नुपर्छ किनभने साना विद्यार्थीहरूले पुस्तकमा भएका कतिपय चित्र कोर्न सक्दैनन् ।

विडम्बना, सरकारले सामुदायिक शिक्षाको गुणस्तर उकास्न विभिन्न कार्यक्रम तर्जुमा गरे पनि विद्यार्थीहरूको शिक्षणसिकाइलाई बालमैत्री बनाउन सकेको छैन । वास्तवमा बालमैत्री सिकाइको सुरुवात चित्रकारितासहितको शिक्षणसिकाइबाट थाल्नुपर्छ भन्नेमा सरोकारवालाहरूले त्यति पैरवी गरेको देखिँदैन । यही माझ, बालमैत्री शिक्षाको वकालत गर्दै आएको गैरसरकारी संस्था सेतो गुराँसले शिक्षालाई बालमैत्री बनाउनुपर्छ भन्दै तालिम र गोष्ठीहरू आयोजना गरेको वर्षौं भए पनि जनस्तरसम्म उनीहरूको कुरा पुग्न सकेको छैन । पछिल्लो समय कतिपय स्थानीय तहहरूले सेतो गुराँससँग समन्वय र सहकार्य गर्दै बालमैत्री शिक्षणसिकाइलाई महत्त्व दिँदै आएको विषय सञ्चारमाध्यममार्फत जनसमक्ष ल्याउने प्रयास पनि भइरहेको छ ।

यद्यपि सेतो गुराँसले पनि बालमैत्री शिक्षणसिकाइको सुरुवात चित्रकारिताबाट गरिनुपर्छ भन्नेमा त्यति पैरवी गरेको देखिँदैन बरु विभिन्न खेल सामग्रीबाट बालकेन्द्रित शिक्षणसिकाइ गर्नुपर्छ भनेर संस्थाले सोहीअनुरूपको तालिम सहजकर्ताहरूलाई दिने गरेको छ । खेल सामग्रीहरूले बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुगे पनि लेखन सीपको विकास गर्न चित्रकारितासहितको शिक्षणसिकाइ जरुरी छ । यसका लागि सेतो गुराँस जस्ता गैरसरकारी संस्थाले सहजकर्तालगायत शिक्षकहरूलाई छोटो अवधिका तालिमहरू दिनु जरुरी छ ।

यस्तै सामुदायिक विद्यालयअन्तर्गत सञ्चालित बालविकास केन्द्रहरूमा चित्रकारितासहितको शिक्षणसिकाइका लागि व्यवस्थापन समितिका सदस्यहरूले समुदायमा आधारित शिक्षाकोष स्थापना गरेर शैक्षिक सामग्रीको जोहो गर्न सक्छन् । यसका लागि प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले सहजीकरण गर्नु जरुरी छ । सरकारले पनि बालविकास कक्षाको शिक्षणसिकाइमा मात्र होइन, समग्र विद्यालय शिक्षालाई उत्पादनमूलक र रुचिकर बनाउन चित्रकारितासहितको शिक्षणसिकाइलाई महत्त्व दिनु जरुरी छ । यसका लागि शिक्षा विभागले शैक्षिक सामग्री जोहो गर्न अतिरिक्त बजेट विनियोजन गर्नु जरुरी छ ।

प्रकाशित : कार्तिक १, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?