२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फुटबलमा उपलब्धि र आशा

सम्पादकीय

देशकै ठूलो पर्व दसैंको रौनकका बीचमा यसपालि नेपालीहरूका लागि अर्को एउटा खुसीयालीको अवसर पनि जुर्न पुग्यो— साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक नेपाल फाइनलमा पुग्न सफल भयो ।

फुटबलमा उपलब्धि र आशा

शनिबार भारतसित फाइनलमा बेहोर्नुपरेको पराजय अवश्य पनि पीडादायी थियो, खेलाडीहरूको मिहिनेत र संकल्प अनि आम नेपालीको सुखद नतिजाको कामनामा यसले पक्कै आघात पुर्‍याएको थियो, अपितु दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उपविजेता नै हुनु पनि नेपालका लागि ठूलै उपलब्धि थियो/हो । यसका निम्ति नेपाली खेलाडी, प्रशिक्षकलगायत सम्बद्ध पदाधिकारीहरू बधाईका पात्र तथा प्रशंसाका हकदार छन् ।

झन्डै तीन दशकको इतिहासमा भएका १३ प्रतियोगिता सबैमा सहभागी नेपालको यसअघिसम्मको अधिकतम सफलता भनेकै सेमिफाइनलसम्म पुग्नु मात्रै थियो, कति पटक समूह चरणबाटै बाहिरिनुपरेको थियो । फाइनल नजित्दा नजित्दै पनि यो पटक नेपाल आफ्नो इतिहास रच्न सफल भएको छ, जुन आफैंमा गर्वको विषय हो । यही सफलताले नेपाललाई आगामी प्रतियोगिताहरूमा विजेता बन्ने सपना पछ्याउन मद्दत गर्नेछ । खालि यसका निम्ति आवश्यक मिहिनेत, लगानी र तयारीमा खेलाडी, खेल व्यवस्थापकलगायत सम्बद्ध सबैले आफूलाई अझ अघि बढाउनुपर्छ ।

राउन्ड रोबिनका आधारमा भएको यसपल्टको प्रतियोगितामा नेपालले अहिलेसम्मकै उत्कृष्ट सुरुआत गर्‍यो । माल्दिभ्स र श्रीलंकाविरुद्धका दुई खेलमा जित हासिल गरेर नेपालले आफ्नो आत्मविश्वास प्रदर्शन गरेको थियो । भारतविरुद्धको तेस्रो खेल गुमाएपछि चौथो खेलमा बंगलादेशलाई बराबरीमा रोकेर नेपाल सात अंकसहित फाइनल प्रवेश गरेको थियो । तीन दशकभर अक्सर खराब प्रदर्शन गरेको नेपालले योपल्ट समग्रमा अहिलेसम्मकै उत्कृष्ट खेलेको थियो । यस हिसाबले थप सफलताका लागि विश्वास बटुल्न र नेपाली फुटबलमा सुखद भविष्यको आशा जगाउन यो प्रतियोगिता सफल रह्यो ।

नेपालमा सबैभन्दा लोकप्रिय खेल नै फुटबल हो । फुटबल भनेपछि हुरुक्कै हुने र नेपाली खेलाडीको माया गर्ने खेलप्रेमीहरूको संख्या यहाँ निकै ठूलो छ । यस अनुपातमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रदर्शन भने त्यस्तो सन्तोषजनक छैन । एकाध अन्तर्राष्ट्रिय प्रतियोगितामा ट्रफी उचाले पनि दक्षिण एसियाकै सर्वोच्च खेलमा दोस्रो हुन पनि तीन दशकसम्म पर्खनु पर्नाले पनि हाम्रो अवस्थाको इंगित गर्छ । यस्तो पृष्ठभूमिमा अहिलेको उपलब्धि असफलताको पूर्वयात्रामा अल्पविराम मात्र बन्नु हुँदैन । त्यसमा पूर्णविराम नै लगाएर नयाँ उचाइको यात्रा थाल्न यसपालिको प्रतियोगितालगायत विगतको पनि यथोचित समीक्षा गर्नु वाञ्छनीय हुन्छ ।

यस पटकको नेपालको खेललाई लिएर स्वदेशी खेलप्रेमीहरूले मात्र होइन, विदेशी प्रशिक्षक, फुटबल पदाधिकारी र पत्रकारहरूले पनि उत्तिकै प्रशंसा गरेका छन्: नेपालका लागि यो पक्ष पनि आफैंमा जित हो । यो स्थानसम्म आइपुग्न नेपालले मिहिनेत पनि राम्रै गरेको थियो । वास्तवमा कुनै पनि प्रतियोगिताका लागि नेपालले अहिलेसम्मकै लामो र बृहत् तयारी सम्भवतः यसकै निम्ति गरेको थियो । नेपाली खेलाडीहरू एक वर्षदेखि लगातार खेलिरहेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो तयारीका लागि राम्रै व्यवस्था गरेको थियो । उल्लेख गर्नैपर्ने हुन्छ, नेपाली टिमको यो यात्रामा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको निकै ठूलो योगदान छ । उनले समातेको लयमा खेलाडीहरूले आफ्नो कौशल मिसाएपछिको नतिजा नै आज हामीसामु देखिएको हो ।

प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलको सम्भावना राम्रो देखेका छन्, यसलाई यथार्थमा बदल्ने अठोट एन्फाले गर्नैपर्छ । फाइनल पुगेर नेपालले एउटा लक्ष्य हासिल गरेको छ, अब अर्को संस्करणदेखि उपाधिका निम्ति भिड्नुपर्नेछ । त्यसको उचित तयारी बेलैदेखि गर्नुपर्नेछ । सम्पूर्ण नेपालीलाई खुसीको मालाले जोड्न सक्ने जादु अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा नेपालले चुम्ने सफलतामा छ, त्यसैले यस क्षेत्रलाई सरकारले पनि ‘चले पुग्छ’ भन्ने नजरले मात्र हेर्नु हुन्न । अरू देशहरूले जस्तै विशेष संकल्प गरी तदनुरूपको खेल–वातावरण सिर्जना गर्नुपर्छ ।

नेपालको फुटबलमा अझै ठूलो सुधार आवश्यक छ । यसका लागि लामो योजना र यथोचित कार्यान्वयन आवश्यक पर्छ । पछिल्लो समय विश्व फुटबल बढी प्राविधिक भएको छ । खेल्ने शैलीमा परिवर्तन आइरहेको छ । त्यसैले फुटबल खेल्ने शैली र त्यसपछाडिको अवधारणाबारे नेपाली खेलाडीहरूमा उत्तिकै ज्ञान हुन आवश्यक छ । यसको तारतम्य व्यवस्थापक, प्रशिक्षकलगायतले मिलाउनुपर्छ । आवश्यक वातावरण उपलब्ध भएमा युवा र प्रतिभाशाली खेलाडीले भरिएको वर्तमान नेपाली टिम अझै अघि बढ्नेमा कुनै सन्देह छैन । यत्ति हो, नेपाली टिमलाई खेल जित्न सक्ने बनाउन सरकार, एन्फालगायतले पनि उपयुक्त भूमिका खेल्नैपर्छ ।

प्रकाशित : कार्तिक १, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?