नीति छैन, नेतृत्वमा होडबाजी- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीति छैन, नेतृत्वमा होडबाजी

'खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै दलहरूले हरेक परिवर्तनपछि जनचाहनाको सम्मान गर्न सकेको देखिएन । जबसम्म राजनीति नीतिबाट निर्देशित हुँदैन र यो केवल नेतृत्वमुखी भइरहन्छ तबसम्म जनचाहना पूरा हुन सक्दैन ।
साधना प्रतीक्षा

काठमाडौँ — देश र जनताको उन्नति, प्रगति एवम् सुनिश्चित भविष्यका लागि आवश्यक नीति अवलम्बन गरी तदनुरूप कार्य गर्ने पद्धति राजनीति हो । तर हामीकहाँ राजनीतिले यसो गर्न सकेको देखिँदैन । यहाँको राजनीति नीतिमुखी नभएर नेतृत्वमुखी बन्दै गइरहेको देखिन्छ । हरेक राजनीतिक दलको अभीष्ट जसरी हुन्छ सत्तामा जानु तथा तिनका नेता–कार्यकर्ताको अभीष्ट नेतृत्व प्राप्त गर्नु नै रहेको देखिएको छ । विगतमा भएको नेकपा एमालेभित्रको विवाद तथा त्यसबाट सृजित दल विभाजन र अहिलेको नेपाली कांग्रेसको महाधिवेशनका परिदृश्यले यही तथ्यलाई उजागर गरिरहेका छन् ।

कांग्रेसको आसन्न महाधिवेशनलाई हेर्ने हो भने त्यहाँभित्रको आन्तरिक द्वन्द्व तथा घम्साघम्सी दलले अवलम्बन गर्ने नीति अनि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा तय गरिने निश्चित दृष्टिकोणका लागि नभएर केवल नेतृत्व प्राप्तिका लागि भएको देखिन्छ । त्यसैले दलभित्र भएको विवाद पनि समाप्त हुनु सट्टा झन् बढ्दै गएको छ । हालको नेतृत्वले सो विवाद समाधान गर्नेतिरभन्दा कसरी पुनः नेतृत्व प्राप्त गर्ने भन्ने सोच राख्नाले नै नेता तथा आम कार्यकर्ताहरू सोही नेतामुखी प्रवृत्तिलाई आत्मसात् गर्दै मैदानमा उत्रेका देखिन्छन् । महाधिवेशनको परिदृश्यमा कहीँकतै दलको नीतिका बारेमा छलफल भएको पाइँदैन । मुलुकको विद्यमान असहज परिस्थिति, आम जनताले भोगिरहेका कठिनाइसाथै अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू छन् तर पनि त्यसबारेमा कतै प्रसंग उठाइएको देखिँदैन । जसरी हुन्छ पदीय जिम्मेवारी प्राप्तिकै लागि नेता–कार्यकर्ता आपसमा लडिरहेका छन् । नीतिले निर्दिष्ट नगरेको राजनीतिक आचरणका कारण दलभित्र चरम गुटबन्दी सृजना भएको छ । त्यागी, इमानदार तथा संगठनका लागि नै जीवन दाउमा लगाएका नेता–कार्यकर्ता पाखा लाग्नुपर्ने बाध्यता पनि बढ्दो छ भने नेतृत्व तहका नेताहरूको निहित स्वार्थको वरिपरि परिक्रमा गर्नेहरू हरेक जिम्मेवारीका लागि योग्य ठानिने प्रवृत्ति पनि दलभित्र हावी भइरहेको छ । महामारीको यस्तो असहज परिस्थितिमा हुन लागेको महाधिवेशन पनि नीतिभन्दा नेतृत्वमा केन्द्रित हुनु मुलुकको समग्र राजनीतिका लागि समेत शुभसंकेत होइन ।

कांग्रेस त एउटा उदाहरण हो । हामीकहाँ हरेक राजनीतिक दलभित्र राजनीतिको नीति हराउँदै गएको छ र नेतृत्वमुखी प्रवृत्ति बढिरहेको छ । त्यसैले दल फुट्ने र जुट्ने प्रक्रिया पनि सामान्यजस्तै बनेको देखिन्छ । सत्ताको दम्भ र नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिले हरेक दलभित्र विवाद चुलिएको देखिन्छ । नेपालका वामपन्थी दल तथा तिनका नेता–कार्यकर्ताले अहिले यसैको दुष्परिणाम झेलिरहेका छन् । उनीहरू आफ्नो नीति सिद्धान्त सबैबाट विमुख भएर नाम मात्रका वामपन्थी बन्नुको कारण पनि यही हो । यी दलहरू जुन सिद्धान्तबाट प्रेरित भएर नेपाली राजनीतिमा उदाएका थिए अनि पटकपटकका ऐतिहासिक परिवर्तनमा सहभागी भएका थिए त्यही सिद्धान्तलाई उनीहरूले आफ्नो दलीय नीति बनाउन सकेनन् । दलभित्र नीतिका लागिभन्दा पनि नेतृत्वकै लागि हानथाप देखियो । सत्तामा पुग्ने होडबाजीका कारण यी दलहरूले आफ्नो पहिचान नै गुमाउदै गएका छन् ।

अहिले आम जनतामा राजनीतिप्रति वितृष्णा देखिनुको कारण दलहरूले नीतिलाई भन्दा नेतृत्वलाई बढी महत्त्व दिनु नै हो । निर्दलीय निरंकुशताबाट देश र जनताको उन्नति हुन नसकेको ठहर गरी पटकपटक त्यसविरुद्ध आन्दोलन गरेर, हजारौं जनताको बलिदानबाट स्थापित बहुदलीय प्रजातन्त्रप्रति आज जुन प्रकारको वितृष्णा देखिएको छ त्यसका पछाडि राजनीतिक दलहरूको अदूरदर्शिता नै कारण बनेको छ । ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै दलहरूले हरेक परिवर्तनपछि जनआस्था र जनचाहनाको सम्मान गर्न सकेको देखिएन । दलहरू केवल दलीय स्वार्थमा लाग्नु अनि तिनका नेता कार्यकर्ता केवल नेतृत्वको होडबाजीमा लाग्नुले आम जनताले परिवर्तित राजनीतिक अवस्थामा पनि सुखानुभूति गर्न सकेका छैनन् । यति मात्र होइन, कुनै पनि दलले देश र जनताको हितका लागि निश्चित नीति तय गर्न सकेको पनि देखिएन । यसका साथै नेता तथा कार्यकर्तामा पनि नैतिकता र इमानदारी स्खलित हुँदै गएको छ । फलस्वरूप राजनीतिक वृत्तमा भ्रष्टाचार तथा विकृतिहरू बढ्दै गएका छन् । राजनीति कमाइ गर्ने खेलो तथा नाफामुखी व्यवसाय नै बन्दै गएको देखिन्छ ।

यसै सन्दर्भमा सम्झना भइरहेछ, उच्चशिक्षा पूरा गरेका एक छात्रलाई भविष्यको योजना के छ भनेर सोध्दा उनको जवाफ यस्तो थियो, ‘अब चलेको व्यापार नै गर्ने विचारमा छु । जागिर खोजूँ धेरै मिहिनेत गर्नुपर्छ । फेरि त्यसको पनि इमानदारीको कमाइले साँझबिहानको छाक टार्ने मात्र त हो नि’ अन्य व्यापार व्यवसायमा घाटाको जोखिम पनि हुन्छ तर यो व्यापारमा लगानी गर्न सक्यो भने नाफैनाफा... ।’ उनको आशय राजनीतिमा लाग्ने थियो । त्यसैले हौसिँदै भनेका थिए, ‘सुरुमा स्थानीय तहमै लगानी गरेर टिकट लिन्छु, चुनाव जित्छु अनि कमाउन सुरु गर्छु र त्यही लगानी माथिल्लो तहमा पनि लगाउँदै जान्छु ।’ लगानी गर्न सके राजनीतिमा अवसरै अवसर छ भन्ने ती युवाको मुस्कानमा मैले वर्तमानको विसंगत राजनीतिक परिवेशको स्पष्ट छवि देखेकी थिएँ ।

अहिले हाम्रो राजनीति दुई प्रकारले विसंगत बनिरहेको छ । पहिलो, यो व्यापार बन्दै छ । दलहरूभित्र इमानदारी र त्यागको होइन आर्थिक प्रभाव हावी भएको देखिन्छ । दलभित्रकै नेतृत्व चयन होस् चाहे आम निर्वाचन प्रक्रिया होस्, त्यो अत्यन्त खर्चिलो र भड्किलो बन्दै गएको छ । सामान्य आर्थिक अवस्था भएको व्यक्ति योग्य भए पनि ऊ कुनै पदको उमेदवार हुन सक्ने अवस्था न्यून बन्दै गइरहेको देखिन्छ । चुनाव जित्नका लागि करोडौं खर्च गर्नुपर्ने अवस्थामा प्रश्न उठाउन सकिन्छ, त्यसको क्षतिपूर्ति कसरी गरिन्छ ? जवाफ प्रस्ट छ राजनीतिक भ्रष्टाचार । त्यसैसँग जोडिएर आउने कमिसनतन्त्र र कालोबजारी । हरेक नेताले जतिसक्दो कार्यकर्ता पालेर आफूलाई लोकप्रिय देखाउने वर्तमान राजनैतिक परिवेशमा भ्रष्टाचार र कमिसन नै उसको आम्दानीको स्रोत बन्ने गरेको सर्वविदितै छ । यदि दलहरूले यस्तो भड्किलो नेतृत्व चयनलाई निरुत्साही गर्ने हो र राजनीतिलाई व्यापार नभई जनसेवा बनाउने हो भने दलभित्र अस्वस्थ प्रतिस्पर्धा पनि हुने थिएन ।

राजनीतिक विसंगतिको दोस्रो कारण दलहरूभित्र नेतृत्वको निश्चित अवधि नतोकिनु पनि हो । एउटै व्यक्ति अनवरत रूपमा नेतृत्वमा रहनुले आम कार्यकर्तामा नैराश्य उत्पन्न हुनाका साथै नेताहरूबीच नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । विकसित मुलुकहरूमा जस्तै हामीकहाँ पनि नेतृत्वका लागि निश्चित समयावधि तोकिने हो भने क्रमशः नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण स्वतः हुन जान्थ्यो । हामीकहाँ त हरेक दलभित्र उही अनुहार सदावहार नेतृत्वमा रहेको देखिन्छ । यसप्रकारको नेतृत्वका लागि उसले दलभित्र साम, दाम, दण्ड, भेदको नीतिसमेत लिएको पाइन्छ । एउटै व्यक्ति जति पटक पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री आदि पदमा आसीन हुन पाउने भएकाले पनि हाम्रो राजनीतिमा नयाँ सोचको विकास हुन सकेको छैन, बरु यसले त भ्रष्टाचार र अन्य विसंगतिहरूलाई प्रोत्साहित गरिरहेको छ । सत्तासीन हुँदा मात्र होइन, भूतपूर्व भएपछि पनि अनेक सेवासुविधा पाउने नियमका कारण पनि देश निरन्तर खोक्रिँदै गइरहेको देखिन्छ ।

दलीय राजनीतिमा देखिएको यसप्रकारको नीतिविहीनता तथा विकृति विसंगतिका कारण अहिले आम जनमानसमा यसप्रति घोर नैराश्य बढेको देखिन्छ । जनतामा छाएको दलीय राजनीतिप्रतिको वितृष्णाले नयाँ विकल्पको खोजी गरिरहेको छ । यस्तो खोजी पुनः राजनीतिक परिवर्तनको संकेत पनि हुन सक्छ तर जतिसुकै परिवर्तन भए पनि, जनताले जति नै बलिदान दिए पनि जबसम्म राजनीति नीतिबाट निर्देर्शित हुँदैन र यो केवल नेतृत्वमुखी भइरहन्छ तबसम्म जनचाहना पूरा हुन सक्दैन । यसबाट न राजनीतिक स्थिरता हुन सक्छ न त राष्ट्रको दिगो विकास नै हुन सक्छ । त्यसैले अब राजनीतिक दलहरूमा नीतिचेतनाको विकास आवश्यक भएको छ ।

प्रकाशित : आश्विन २७, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

सहरका रूखका दुःख

साधना प्रतीक्षा

महानगरको फुटपाथमा हिँड्दै गर्दा सधैं प्रश्न उठ्ने गर्छ, फुटपाथ कसका लागि ? रूखका लागि या पैदल यात्रुका लागि ? त्यसै त दोहोरो आवागमनमा कठिनाइ हुने साँघुरो फुटपाथ, त्यसमा पनि कपूर, धुपीजस्ता ठूला जातका रूख हुर्कंदै गरेका । पछि तिनका फेदले नै पूरै फुटपाथ ढाकिनेछ ।

त्यस बेला पैदल यात्रु कहाँ हिँड्ने ? महानगरमा सडक विस्तार गर्न बर्सेनि घर तथा पसलहरू भत्काइन्छन्, यसै क्रममा मुस्किलले साना फुटपाथ बन्छन् । फुटपाथका स–साना बिरुवा रोप्ने बेला सुन्दर देखिन्छन्, केही समयपछि तिनका फिँजारिएका हाँगाबिगाले माथि टाँगिएका बिजुली, टेलिफोन, इन्टरनेट र टेलिभिजनका तारमा अवरोध पुर्‍याउन थाल्छन् । त्यसपछि ती रूख काट्नुपर्ने बाध्यता आइपर्छ । यसरी जथाभावी ठुन्क्याइएका रूखले महानगरको सौन्दर्यलाई उपहास गरेझैं लाग्छ ।

बिरुवा रोप्नु पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण छ । त्यसैले त विकसित मुलुकका सडक पेटीमा रूख रोपिएको हुन्छ । त्यहाँको हरियाली देखेर हामी पनि मोहित हुन्छौं । सायद यही मोहका कारण हाम्रो महानगरले पनि बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिँदै आएको छ तर ती मुलुकमा गरिने वृक्षरोपणबारे थप जान्ने प्रयास भने गरेको देखिँदैन । त्यहाँ कुन ठाउँमा कस्ता बिरुवा हुर्कन्छन्, तिनलाई कसरी काटछाँट गर्ने भन्ने विषयमा अध्ययन गरिन्छ, सोअनुसार रोपिन्छ । साथै बोटबिरुवाको स्वास्थ्यका बारेमा पनि उनीहरू सचेत हुन्छन् । सडकवरिपरिका बोटबिरुवा हेर्ने छुट्टै संयन्त्र बनाइएको हुन्छ । उतातिर नगर योजनाअन्तर्गत सडकछेउका निश्चित क्षेत्रफल हरियालीकै लागि छुट्याइएको हुन्छ ।

तर, हाम्रोमा यस्ता पक्षमा ध्यानै दिइन्न । यहाँको सहरीकरण अव्यवस्थित छ, घर धमाधम बनाउनु नै सहर बनाउनु हो भन्ने ठानियो । त्यसैले त हाम्रा सहरहरूमा बर्सेनि सडक चौडा पार्नुपर्ने हुन्छ । यसरी सडक चौडा बनाउँदा घर जोगाउनै पर्‍यो, परिणामतः फुटपाथ सानो हुन पुग्छ । त्यसैमा पनि सौन्दर्य बढाउन भन्दै वृक्षरोपण अभियान चलाइन्छ, जसको आयु दुई–चार वर्षभन्दा बढी हुन्न । एकातिर ती बिरुवा हुर्कंदै गएर सडक तथा पसलहरूलाई बाधा पुर्‍याउँछन्, अर्कातिर हावाहुरी आएका बेला थप जोखिम पनि बढ्छ ।

हामीकहाँ अचेल वृक्षरोपण फेसनै बनेको छ । विभिन्न अवसर पारेर बिरुवा रोप्ने प्रतिस्पर्धा चल्छ, तर रोपिसकेपछि फर्केर पनि हेरिन्न । ती बिरुवा त्यसै मरेर जान्छन् । सार्वजनिक स्थल, सडक पेटी, विद्यालय प्रांगण, कलेज परिसर कतै पनि खाली जग्गा देख्नै हुन्न, वृक्षरोपण गरिहालिन्छ । त्यहाँका बिरुवा देख्दा, रोप्नेहरूलाई दुई बिरुवाबीच कति दूरी राख्नुपर्छ भन्ने थाहा नभएजस्तो देखिन्छ । धान, मकै रोपेजस्तै बिरुवा रोपेर, उनीहरू मक्ख पर्दै जान्छन् र फर्केर पनि आउन्नन् । सायद, रूख रोप्ने बजेट हुने तर गोडमेल गर्नेचाहिँ नहुने भएर हो कि ? रूख रोप्नु सरकारी तथा गैरसरकारी संघसंस्थाको बजेट पचाउने माध्यम मात्र हो त ? अन्यथा यस सम्बन्धमा अध्ययन–अनुसन्धान एवम् दीर्घकालीन सोच राखिएको देखिँदैन, किन ?

एक थरीले रूख रोप्दै जाने, केही समयपछि अर्का थरीले त्यसलाई काट्दै जाने त हाम्रो महानगरको विशेषतै बनेको छ । विद्युत् प्राधिकरणले तार छुन लागेपछि रूख काट्दै हिँड्छ । दीर्घकालीन सोचबिना बिरुवा रोपिनाले रोप्दा पनि र काट्दा पनि सरकारी तथा गैरसरकारी क्षेत्रको लगानी पर्छ तर प्रतिफल शून्य । अनि अर्को पक्ष, जहाँ तार छोयो भनेर रूख काटिन्छन्, त्यहाँ पुनः बिरुवा रोपिएको देखिँदैन ।

महानगरमा रूख रोप्दा त्यससम्बन्धी विस्तृत अध्ययन गरिनुपर्छ । सडक पेटीमा कुन जातका बिरुवा रोप्ने, सडकबीचको ग्रिनबेल्टमा कस्ता बिरुवा हुर्काउँदा सवारी आवागमनमा बाधा पुग्दैन, रोपिएका बिरुवालाई कुन आकारप्रकारमा नियमित काटछाँट गर्ने आदि दीर्घकालीन योजना बनाएर मात्र बिरुवा रोप्नु प्रभावकारी हुन्छ । उद्यानहरूमा बिरुवा रोप्दा पनि सोहीअनुरूप दीर्घकालीन सोचको आवश्यकता पर्छ । यसका साथै बिरुवा हाम्रो माटो र हावापानी सुहाउँदो पनि हुनुपर्छ । सहर तथा उद्यानको सौन्दर्य बढाउन विदेशी महँगा बिरुवा रोपे तिनलाई हुर्काउन नसकेर लगानी खेर जाने गर्छ । प्रायः उद्यानमा यस प्रकारका बोटबिरुवा रोपिएका त हुन्छन् तर कालान्तरमा त्यसै हराएर जान्छन् । यस्तो हुन नदिन महानगरपालिकाले आफ्ना तर्फबाट सक्दो विचार पुर्‍याउनुपर्छ ।

यसका साथै महानगरले सडकका पेटीहरू तथा सडकबीचमा वर, पीपल, शमी, कपूरजस्ता विशालकाय रूख रोप्ने अदूरदर्शिता पनि त्याग्नुपर्छ । साँघुरा फुटपाथलाई कसरी चुस्त बनाउने भन्ने सोचका साथ स–साना बिरुवा रोपेर तिनलाई नियमित काटछाँट गरेमा सडक पेटी सुरक्षित र सुन्दर बन्न सक्छन् ।

प्रकाशित : भाद्र १६, २०७८ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×