विकासको आधार पर्यटन- विचार - कान्तिपुर समाचार

विकासको आधार पर्यटन

पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । 
जुद्धबहादुर गुरुङ

नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १२३ भाषाभाषीका मानिस छन् । त्यसैले नेपाल सांस्कृतिक रूपमा पनि धनी मानिन्छ ।

नेपालमा पर्यटन उद्योगको सुरुआत हिमाल आरोहणपश्चात् भएको हो । विश्वका ८ हजारभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमै पर्छन् । नेपालमा १९ औं शताब्दीदेखि हिमाल आरोहणको प्रयास जारी थियो । तर १९५० जुन ३ मा फ्रान्सेली दलले अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरी विश्वकीर्तिमान कायम गर्‍यो । यसपछि १९५३ मे २९ मा सगरमाथा (८८४८.२४ मिटर), १९५५ मे १५ मा मकालु (८४८५ मिटर) र मे २५ मा कञ्चनजंघा (८५८६ मिटर), १९५६ मे १८ मा लोहोत्से (८५१६ मिटर) र मे ९ मा मनास्लु (८१६३ मिटर) अनि १९६० मे १३ मा धौलागिरि (८१६७ मिटर) आरोहण गरिए । यसरी ’६० को दशकमा नेपालका अधिकांश प्रमुख हिमालहरूको आरोहण भयो । युरोपेली आरोहीहरूको यो सफलताले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेल्यो ।

विश्वका आरोहीहरूका लागि आकर्षक गन्तव्य बन्दै गएपछि नेपालमा सन् १९५५ मा रसियाली नागरिक बोरिस लिसानेभिचले हालको निर्वाचन कार्यालय रहेको बहादुर

भवनमा रोयल होटेल नामले पहिलो पर्यटकीय होटेल स्थापना गरे । सन् १९६४ मा बेलायती नागरिक जिमी रोबर्ट्सले चितवन राष्ट्रिय निकुञ्जभित्र टाइगर टप्स खोले, नेपालकै पहिलो जंगल रिसोर्ट । यसपछि विश्वबजारमा पर्यटकहरूको खोजी भयो । यसैको सिको गर्दै छ दशकयता नेपालमा १३८ वटा तारे होटेल र ११५१ वटा पर्यटकस्तरीय होटेल खुलिसकेका छन् । यसरी नेपालमा कुल १२८९ होटेलमा ४४ हजार बेड उपलब्ध छन् । यस्तै विभिन्न स्थानमा अनगिन्ती रिसोर्ट र सामान्य होटेलहरू सञ्चालन भइरहेका छन् । छ दशकयता नेपालको आतिथ्य क्षेत्रमा सयौं गुणा वृद्धि भएको छ । सन् २०२१ मा प्रकाशित विश्व श्रम संगठनको अध्ययन प्रतिवेदनअनुसार, नेपालको पर्यटन क्षेत्रले लगभग ८.१ प्रतिशत रोजगारी सृजना गरेको छ, जुन दक्षिण एसियाका अन्य श्रम बजारको भन्दा निकै बढी हो ।

पर्यटकलाई भ्रमण अविस्मरणीय बनाउन न्यूनतम आवश्यक सहयोगदेखि दक्ष साधन र स्रोतसम्मको आवश्यकता पर्छ । यसका लागि नेपालमा पहिलो पटक सन् १९६० मा उनै बेलायती नागरिक जिमी रोबटर््सले नेपाल माउन्टेन ट्राभल कम्पनी स्थापना गरी ट्राभल र ट्रेकिङ सेवाको सुरुआत गरेका थिए । थोमस कुक कम्पनीको सहयोगमा उनले पहिलो पटक ६० जना युरोपेली पर्यटक भित्र्याएर आफ्नो व्यवसाय सुरु गरेका थिए । हाल नेपालमा ट्राभल र ट्रेकिङ कम्पनीको संख्या ६,४४४ छ ।

हवाई यातायात पर्यटन विकासको महत्त्वपूर्ण आधार हो । नेपालमा सन् १९५५ मा हिमालयन नामक पहिलो हवाई कम्पनी प्रारम्भ गरिए पनि पछि सरकारले १९५८ मा शाही नेपाल वायु सेवा निगम कम्पनी स्थापना गर्‍यो, जसले बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण योगदान पुर्‍यायो । हाल आन्तरिक हवाई सेवातर्फ १९ वटा हवाई कम्पनीले सेवा दिँदै आएका छन् । यो क्षेत्रमा निजी क्षेत्रको ८५ प्रतिशत लगानी छ । अहिले ३ वटा नेपाली र २९ वटा विदेशीसहित ३२ हवाई कम्पनीले सेवा पुर्‍याउँदै आएका छन् ।

कुनै पनि विकासका लागि कानुनी तथा संस्थागत संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । यसै क्रममा सन् १९५५ मा पर्यटन विकास परिषद् गठन भयो । १९५९ मा पर्यटन विभाग स्थापना भयो र कतिपय जिल्लाहरूमा पर्यटन कार्यालय राखिए । १९६९ मा पर्यटन विकास समिति गठन भयो भने १९७८ मा पर्यटन मन्त्रालय नै अस्तित्वमा आयो । १९९७ मा नेपाल पर्यटन बोर्ड गठन भयो, जसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । देश संघीयतामा प्रवेश गरेपछि सन् २०१८ देखि प्रदेशस्तरीय पर्यटन मन्त्रालयहरूसमेत गठन भएका छन् ।

नेपालमा सन् १९५० मा १५३ जना बेलायती पर्वतारोहीहरू पर्यटकका रूपमा भित्रिए, तर १९६२ देखि मात्रै सरकारले विधिवत् रूपमा तथ्यांक राख्न सुरु गर्‍यो । त्यो वर्ष ६,१६९ जना पर्यटक भित्रिए भने २०१९ मा ११,९७,१९१ जनाभन्दा बढी । विगतमा भारतीय, अमेरिकी, युरोपेली खास गरी बेलायती मूलका पर्यटक भित्रिने गरे पनि हाल १८० भन्दा बढी मुलुकका नागरिकहरू आउने गर्छन् ।

पर्यटन उद्योग फस्टाउन मानव जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने गर्छ । सरकारी तथा निजी क्षेत्रका महाविद्यालय र तालिम केन्द्रहरूले पर्यटन क्षेत्रको जनशक्ति निरन्तर रूपमा उत्पादन गरिरहेका छन् । हाल पथप्रदर्शक (ट्रेकिङ गाइड), सहरी पथप्रदर्शक (सिटी टुरिस्ट गाइड), पर्वतारोहण पथप्रदर्शक गरी लगभग २२ हजार दक्ष जनशक्ति यस क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न छ । होटेल तथा रेस्टुरेन्टहरूको जनशक्ति उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ ।

सन् २०१९ मा प्रकाशित तथ्यांकअनुसार, नेपाल भित्रिने पर्यटकहरूमा सबभन्दा बढी (लगभग ६५ प्रतिशत) मनोरञ्जन तथा बिदा मनाउने सोचका हुन्छन् । लगभग १७ प्रतिशत पर्यटक साहसिक (पदयात्रा र पर्वतारोहण), १४ प्रतिशत धार्मिक र बाँकी अन्य उद्देश्यका लागि आउने गर्छन् । नेपालमा ट्रेकिङ, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, प्याराग्लाइडिङ, अल्ट्राफ्लाइट, साइकिलिङ, बन्जी जम्पिङ, जिप फ्लायर, कायाकिङ, क्यानोइङजस्ता साहसिकका साथै सामान्य किसिमका दृश्य तथा चरा अवलोकन, विभिन्न सांस्कृतिक तथा धार्मिक महोत्सवमा सहभागी हुनेसहित ३२ भन्दा बढी प्रकारका पर्यटनसम्बद्ध गतिविधि गरिँदै आएका छन् ।

सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । सन् १९९८ मा नेपाल भ्रमण वर्ष तय गरी ५ लाख, सन् २०११ मा नेपाल पर्यटन वर्ष भनी १० लाख पर्यटक भित्र्याउने योजना ल्याइयो । सन् २०२० लाई फेरि नेपाल भ्रमण वर्ष भनी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि कोभिड–१९ का कारण त्यो अभियान स्थगित भयो । पोखरा (गण्डकी) र लुम्बिनीका पर्यटन व्यवसायीहरूले स्थानीय स्तरमा समेत पर्यटन प्रवर्द्धन अभियानहरू सञ्चालन गर्ने गर्छन् ।

देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान हुन्छ । नेपालमा प्रत्येक विदेशी पर्यटकले सरदर दैनिक ४८ अमेरिकी डलर खर्च गर्ने पर्यटन विभागको तथ्यांक छ । पर्यटकको सरदर बसाइ अवधि १२.७ दिन छ । सन् २०१९ मा प्रकाशित विश्व पर्यटन संगठनको प्रतिवेदनअनुसार, यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको लगभग ७.९ प्रतिशत योगदान गरेको छ । तर हाल कोभिड–१९ का कारण पर्यटन क्षेत्र अत्यधिक प्रभावित भएकाले सन् २०२० को पर्यटक संख्या सन् १९८६ को हाराहारी पुगेको छ ।

अहिले अधिकांश विश्व–नागरिकले कोभिड–१९ को खोप लगाइसकेका छन् । अन्यत्र स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई पनि सहज तुल्याउन थालिएको छ । यो पंक्तिकार केही दिनपहिले फ्रान्सको एउटा प्रमुख व्यापारिक सहर मार्सेमा थियो । त्यहाँको पर्यटन बजार सामान्य अवस्थामा फर्केको अनुभूति भयो । पार्क, होटेल, रेस्टुरेन्ट तथा रात्रि जीवनशैलीमा कुनै भिन्नता पाइएन । विशाल बजार, होटेल तथा रेस्टुरेन्टहरूमा स्वास्थ्य प्रमाणपत्र पेस गरेपछि प्रवेश खुला रहेछ । हाल उडानको संख्या कम भए पनि लगभग ३०० जना एकै पटक बोक्ने ठूला विमानहरू यात्रुहरूले खचाखच भरिएका देखिए । नेपालमा पनि स्वास्थ्य मापदण्ड पालना गरी पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान गराउनु अति जरुरी भइसकेको छ ।

अन्त्यमा, पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । विभिन्न कालखण्डमा विविध समस्याको सामना गर्दै आएको नेपालको पर्यटन उद्योगले यस पटक पनि कोभिड–१९ को प्रभाव सामना गर्नुपरेको छ र यो कठिनाइबाट पनि चाँडै पार पाउने अपेक्षा छ ।

गुरुङ संरक्षणविद् हुन् ।


प्रकाशित : आश्विन २७, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

दसैंको शुभकामना !

सम्पादकीय

यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् । देशकै प्रमुख पर्वहरू यही याममा पर्नु हाम्रो प्रकृति, पर्यावरण, खेतीपाती र संस्कृतिको सुखद संयोग हो । यो खुसीको मौसममा यति बेला हामी बडादसैं मनाइरहेका छौं । मित्रता, भाइचारा, पुनर्मिलन र आपसी सम्मान–प्रेमको यस पर्वमा हामी बृहत् पारिवारिक हर्षोल्लासमा मग्न छौं । 

त्यसो त, २०७६ पुसबाट सुरु भएको कोरोना भाइरसको महाव्याधिले यो पर्वको रौनकलाई पनि प्रभावित तुल्याएको छ । वैशाखयता मात्र ८ हजार जनाभन्दा बढीको निधन यही महामारीका कारण भएको छ, तिनका परिवार तथा प्रियजनहरू यति बेला आफन्त गुमाएको वेदनामा छन् । अर्कोतर्फ संक्रमण फैलिन सक्ने सम्भावनाका कारण सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । ज्यान रहे अर्थात् स्वस्थ भइराखे पर्वहरू फेरि–फेरि पनि मनाउन सकिन्छ, जीवनलाई नै जोखिममा धकेल्ने गरी चाड मान्नुको के अर्थ ! त्यसैले स्वास्थ्य सवालमा सावधान रहनुपर्ने खाँचो छ ।

गत वर्ष त यो चाड यही महामारीकै कारण झनै फिक्का–फिक्काजस्तै थियो । यसपालि कोभिड–१९ विरुद्धको खोपका कारण मानिसहरूमा आत्मविश्वास बढेकाले हुन सक्छ रौनक बढेको देखिन्छ, बजारको भीड र काठमाडौंबाट जिल्ला–जिल्लामा फर्कनेको ताँती हेर्दा यही आभास हुन्छ । तर भुल्नु हुँदैन, अहिलेसम्म करिब २० प्रतिशतले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् । खोप लगाउनुपर्ने जनसंख्या अझै ठूलो छ । फेरि, खोप लगाएकैले पनि स्वास्थ्य सावधानीमा हेलचेक्य्राइँ गर्नु घातक हुन सक्छ । खोप लगाई नसकेकाहरू त अझ सतर्क रहनु अपरिहार्य छ । अर्कोतर्फ, अहिले पनि दैनिक ५ सयदेखि हजार जनासम्म संक्रमित भैरहेको तथ्य पनि सम्झनुपर्छ ।

त्यसैले किनमेलका निम्ति बजार निस्कँदा होस् या दर्शनका लागि शक्तिपीठहरू पुग्दा, लिंगेपिङ, रोटेपिङजस्ता गाउँ–टोल जम्मा भएर खेलिने खेल खेल्दा होस् या टीका–जमराका लागि पारिवारिक जमघट गर्दा, हरेकले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अनिवार्य रूपमा अपनाउनुपर्छ । ताकि यिनै क्रियाकलापहरू भोलि संक्रमण फैलाउने अवसर नबनून् । स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै अझ उत्सवमय बन्नेछन् । त्यही भएर, यो दसैंलाई पर्याप्त सावधानीका साथ मनाऔं ।

शताब्दीयौं पुरानो यो चाडको धार्मिक र ऐतिहासिक पक्ष आफ्नो ठाउँमा छ, यससँग जोडिएका किंवदन्तीहरूका पनि आफ्नै अर्थ छन्, तर ती सबैबाट माथि उठेर दसैं बहुसंख्यक नेपालीको लोकचाड बनेको छ । परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिने हाम्रो संस्कृति आफैंमा अनुपम छ, अन्यत्रका हिन्दुहरूले यसै अवधिमा मनाउने पर्वभन्दा फरक छ । यिनै मौलिकपन र सांस्कृतिक तथा सामाजिक विशेषताहरूकै कारण दसैं देशकै ठूलो सांस्कृतिक पर्वका रूपमा स्थापित भएको हो, जहाँ सबै नेपालीहरू आफ्नो संकट भुलेर, आपसी वैमनस्य बिर्सेर रमाउने गर्छन् ।

१५ दिनभरि मनाइने यस पर्वको आज आठौं दिन हो । घटस्थापनाका दिन घरघरमा जमरा राखी दसैं सुरु हुन्छ । नवरात्रिभर शक्तिका प्रतीक विभिन्न देवीहरूको पूजा–आराधना गरिन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका लगाइन्छ । देशका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय ठाउँमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यस क्रममा परिवारबाहिर प्रत्यक्ष भेटघाट गर्दा तथा टीका लगाउँदा मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका नियमहरूको पालना गर्न नभुलौं । सम्भव भएसम्म टाढैबाट सुस्वास्थ्यको आशीर्वाद र आशिषमा बढी जोड दिऔं ।

रोजीरोटीका निम्ति सहर पसेका र बिदेसिएकाहरू दसैंका अवसरमा घर फर्किन्छन् । मुलुकमा लामो सार्वजनिक बिदा पनि यही समयमा हुन्छ । अहिलेसम्म चाड मनाउन कति आफ्नो गन्तव्यमा पुगिसकेका छन्, कति पुग्ने क्रममा छन् । यसरी दसैं पारिवारिक पुनर्मिलनको खास पर्वका रूपमा रहेको छ । मीठो खाने, राम्रो लाउने र रमाइलो गर्ने चलन रहेकाले यसपर्वको आर्थिक महत्त्व पनि उत्तिकै छ ।

नेपालीको यो खुसीको चाडमा सरकारका तर्फबाट भने कुनै भरथेग छैन । नागरिकहरू जसरी–तसरी तथा सकी–नसकी रमाइरहेका छन्, आ–आफ्नो परिवारमा खुसी बाँडिरहेका छन् । ‘लकडाउन’ र निषेधाज्ञाले नोकरी र आम्दानी गुमाएका नागरिकहरूलाई झनै मार पर्ने गरी बजार भाउ बढिरहँदा पनि सरकारले नियन्त्रण गर्न सकेको छैन । झन् यही बेला सार्वजनिक यातायातको भाडा पनि अचाक्ली बढेको छ । उसै त सार्वजनिक यातायातको सुलभ पहुँच छैन, त्यसमाथि यसपालि संक्रमणको जोखिम छ, त्यसैले जोकोहीले सावधानीपूर्वक यात्रा गर्न आवश्यक छ ।

जेजस्तो अवस्था भए पनि, आफ्ना सबै दुःख भुलेर नेपालीहरू दसैं मनाउँछन्, आपसमा रमाउँछन्, रमाइरहेका छन् । खालि यस क्रममा दौडादौड र भीडभाड कम गरौं, सानोतिनो जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न नभुलौं । सानो हेलचेक्य्राइँले ठूलो जोखिम निम्त्याउन सक्छ भन्ने तथ्यको हेक्का राखौं । जोगिएर पर्व मनाऔं, ताकि हाम्रा आगामी हरेक दिन उत्सवमय भैरहोस् । बडा दसैंको पावन अवसरमा सबैलाई हाम्रो हार्दिक शुभकामना !

प्रकाशित : आश्विन २७, २०७८ ०७:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×