३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चाड आयो, महँगीले सतायो

मञ्जु भट्ट

पछिल्ला केही दिनमै गोलभेंडा र प्याजको मूल्य डेढ गुणा बढेको छ । बजारमा जुनसुकै तरकारी किलोको सयदेखि दुई सय रुपैयाँसम्म पुगिसकेको छ । स्याउ लगायतका फलफूलहरू पनि त्यति नै महँगिएका छन् । चाडबाडको मौका छोपी व्यापारी–व्यवसायीहरूले अचाक्ली मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने गरेका छन् ।

चाड आयो, महँगीले सतायो

यो बेला उपभोक्ताले जसरी पनि सामान किन्छन् भन्ने व्यापारीलाई थाहा हुन्छ । कतिपयले त नयाँ लुगा पनि यही बेला मात्रै किन्ने गर्छन् । यसकै फाइदा उठाउँदै व्यापारीहरूले सामानको भाउ बढाएर बेच्छन् ।

चाडबाड तथा अन्य समय पनि भान्सामा नभई नहुने चिनी र तेलको मूल्य झनै बढेको छ । डेढ सय रुपैयाँ प्रतिलिटर पर्ने तेलको मूल्य एक वर्षमै झन्डै दोब्बर बढेर तीन सय हाराहारी पुगिसकेको छ । ‘मैले आफैं किलोको ८८ रुपैयाँमा किनेको चिनी ९० मा त बेच्नैपर्‍यो नि ! तिहारसम्म सय पुग्छ,’ पसले बडो आत्मविश्वासका साथ भन्दै थिए । कतिपय आयातित सामग्रीको मूल्य सरकारले विदेशी तयारी खाद्य पदार्थमा कर बढाएसँगै बढेको छ । पसलेहरूले आफूखुसी मूल्य गरेकै कारण हुनुपर्छ— कुनै पसलमा १४० रुपैयाँमा पाइने सामान कुनैमा १६० रुपैयाँसम्म पर्छ । यस्तै, गाडी भाडादेखि मासुसम्मको भाउ बढेको छ । बाढी–पहिरो जाँदा होस् या सडक अवरुद्ध हुँदा, तरकारी, फलफूललगायत खाद्यपदार्थको मूल्य यसै गरी बढ्ने गरेको छ । सरकारी कर्मचारीको तलब बढ्दा पनि यस्तै हुन्छ । यसबाट सर्वसाधारण, गरिब, मजदुरहरू भने बिचल्लीमा पर्ने गरेका छन् । दसैं टीकाको साइत पारेर नयाँ घरमा सर्न खोज्नेहरू पनि धरै हुन्छन् । गत वर्ष त सिमेन्ट, फलामको छडदेखि अन्य निर्माण सामग्रीको मूल्य पनि बढेको थियो ।

चाडबाडकेन्द्रित भएर ठूलो मात्रामा किनमेल गर्दा गुणस्तर तथा उपभोग्य मितिमा ख्याल नपुग्ने पनि हुन्छ । खाद्य पदार्थमा मिसावट, रसायनहरूको अत्यधिक प्रयोग, बजारमा अखाद्य वस्तुको बिगबिगी, ‘रिलेबलिङ’ गरी बजारमा आएका खाद्य सामग्रीका कारण पनि अस्पतालमा विभिन्न रोगका बिरामीहरू बढेका छन् । हुन त सरकारले प्रत्येक वर्ष चाडबाडलक्षित बजार अनुगमन गर्छ, दोषीहरूलाई कारबाही तथा जरिवाना गरिएका समाचार पनि सुनिन्छन्, तर त्यसको प्रत्यक्ष असर बजारमा परेको देखिँदैन । अर्को दिन पनि खाद्यपदार्थको मूल्य त्यही हुन्छ । म्याद नाघेका, लेबल नटाँसिएका सामानहरू यत्रतत्र भेटिन्छन् । हालै नेपालगन्जमा गरिएको संयुक्त बजार अनुगमनमा ५० किलो खान अयोग्य माछा जफत गरिएको छ । देशभरिका मासु पसलहरूको यस्तै दुरवस्था नहोला भन्न सकिन्न । त्यसैले, पालिकाहरूले पनि यसमा ध्यान दिनुपर्छ ।

सबै नेपालीको आर्थिक स्थिति एउटै छैन, हुने कुरा पनि भएन । लकडाउनका कारण लाखौंले जागिर, आम्दानी गुमाइसकेका छन् । सामान्य जीविका चलाउनकै लागि कति नेपाली देश–विदेशमा संघर्षरत छन् । चाडबाडको समयमा एक छाक मीठो खान र एक जोर नयाँ लुगा लगाउने रहर कसको हुँदैन ? तर यही बेला अचानक मूल्य बढ्दा विपन्नहरू ठूलो मारमा पर्ने गरेका छन् । ऋण गरेर भए पनि परिवार र सन्तानका सपना पूरा गरिदिँदा लागेको ऋण तिर्न कतिलाई महिनौं लाग्छ, यो बाध्यता न त सरकारले देख्छ न व्यापारीले । नत्र दसैं सुरु हुनु एक साताअगाडि बजारमा तरकारीदेखि अन्य खाद्य पदार्थसम्मको मूल्य किन यसरी अचाक्ली बढ्थ्यो र ! बजारको नियमअनुसार तरकारीको माग घट्दा मूल्य पनि घट्नुपर्ने हो । तर पनि तरकारीहरूको भाउ छुन नसकिने गरी बढेको छ । यसको कारण बुझिनसक्नु छ । कुनै समयमा बजारको मागअनुसार सामानको आपूर्ति हुन नसक्दा मूल्य बढेको देखिन्छ जुन स्वाभाविक हो । तर कतिपय अवस्थामा बजारमा सामान हुँदाहुँदै पनि लुकाएर भाउ बढाउने गरिन्छ । गत वर्ष प्याजमा यसै गरिएको थियो । रातारात प्याज लुकाएर मूल्य बढाइएपछि सरकारले अनुगमन गरेको थियो ।

बजार अनुगमन सरकारले महिनामा कम्तीमा दुईचोटि गर्नुपर्छ । चाडबाडलक्षित मौसमी अनुगमनले मात्र बजार नियन्त्रणमा आउने देखिँदैन । आफ्नो क्षेत्रमा सर्वसाधारण तथा उपभोक्ता मारमा परेको स्थानीय सरकारहरूले टुलुटुलु हेरेर नबसी आफ्नो संवैधानिक अधिकारअनुसार बजार अनुगमन गर्ने हो भने यस्तो समस्या धेरै हदसम्म हट्न सक्छ । आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरूको सम्पूर्ण जानकारी लिनु र त्यसको समाधानतिर लाग्नु प्रत्येक जनप्रतिनिधिको पनि कर्तव्य हो ।

प्रकाशित : आश्विन २५, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?