गान्धी-कल्पनाको रामराज्य- विचार - कान्तिपुर समाचार

गान्धी-कल्पनाको रामराज्य

गान्धीको बुझाइमा राजनीति र धर्म सँगसँगै जानुपर्छ । राजनीतिको जनसेवाको पाटो र धर्मको नैतिक पाटो एक रथका दुई पांग्रा भएर अगाडि बढे मात्र समाजले सही बाटो समात्छ भन्ने उनको आशय थियो ।
गान्धी असल हिन्दु थिए तर उनलाई बहुसंख्यक हिन्दुको आवादी रहेको हिन्दुस्तानलाई हिन्दु राज्य बनाउने कुरा स्वीकार्य थिएन ।
शंकर तिवारी

२०७२ को संविधानले नेपाललाई धर्मनिरपेक्ष करार गरे पनि बहुसंख्यक हिन्दु भएको नेपाल ‘हिन्दुराज्य हुनुपर्छ’ वा ‘धर्मनिरपेक्ष हुनुपर्छ’ भन्नेमा जिज्ञासा रहनु स्वाभाविक हो । भारत पनि बहुसंख्यक हिन्दु जनसंख्या हुँदाहुँदै किन धर्मनिरपेक्ष बन्यो भन्ने ऐतिहासिक प्रसंग पनि यही मेसोमा जोडिन आउँछ ।

महात्मा गान्धीको जन्मजयन्ती (२ अक्टोबर) का अवसरमा विश्वभरि उनको स्मरण गरियो । यही सन्दर्भमा गान्धीको धर्म र राजनीतिबारेको बुझाइबारे चर्चा गर्ने कोसिस गरिएको छ । यसका लागि गान्धीले मनुष्य जीवनलाई कसरी हेर्थे भन्ने प्रसंगबाट सुरुआत गर्नु श्रेयस्कर हुन्छ ।

गान्धी भन्थे, ‘मनुष्य जीवनलाई सम्पूर्णतामा हेर्नुपर्छ ।’ मनुष्यको मस्तिष्क वा मानव समाज सामाजिक, राजनीतिक र धार्मिक भनेर अलगअलग खण्डमा विभाजित छैन । यी तीन तत्त्वले एकअर्कामाथि क्रिया र प्रतिक्रिया गरिरहन्छन् । गान्धी वैष्णव सम्प्रदायमा दीक्षित परम्परागत सनातनी हिन्दु परिवारमा जन्मेका थिए । धर्मलाई लिएर गान्धीका धारणाहरू कसरी विकसित हुँदै गए भन्नेबारे उनको आत्मकथा ‘सत्य के प्रयोग’ र अरू लिखतमा पनि सविस्तार उल्लेख गरिएको छ । गान्धी बाल्यकालमा सत्य हरिश्चन्द्रको कथाबाट प्रभावित थिए ।

गान्धीले भनेका छन्, ‘म राजनीतिसँग जोडिए पनि मेरो आत्मिक खोजीको विषय भने धर्म हो । राजनीतिक यात्रामा धर्मको नैतिक र आध्यात्मिक पाटोले मलाई सहज गरिदिएको छ । त्यसैले राजनीतिको केन्द्रमा रहँदा पनि आध्यात्मिक पाटोमा परीक्षण गर्न मैले कहिल्यै छाडिनँ ।’ जसरी विज्ञानले प्रयोगशालामा अनेक परीक्षण गरेर पनि अन्तिम फैसला दिन सक्तैन गान्धीले पनि अध्यात्ममा गरेको परीक्षणबाट कुनै निष्कर्षमा पुग्न नसकेको बताएका छन् । प्रत्येक पटकको आत्मनिरीक्षण र परीक्षणबाट अहिंसा, सत्य र नैतिकता, अध्यात्मप्रति उनको झुकाव सधैं बढोत्तरी हुँदै गएको प्रस्ट देखिन्छ ।

गान्धीले मूलतः धर्म र राजनीतिलाई जोड्ने कोसिस गरेका थिए तर उनले चाहेको राजनीति आज जस्तो कुरूप थिएन । समाजमा विद्वेष फैलाउने नियत थिएन । राजनीति खासमा गान्धीका लागि जनताको सेवा गर्ने माध्यम थियो । उनले भनेका भन्छन्, ‘राजनीतिले मानिसलाई सर्पले झैं जेलेर राखेको छ र जति नै कोसिस गरे पनि त्यसबाट बाहिर आउन नसकिने भएकाले म राजनीतिमा संलग्न भएको हुँ ।’ राजनीतिक बन्नु उनका लागि भ्रष्टाचार गर्ने साधन थिएन । उनका लागि धर्म आममानिसमा नैतिकताको पाठ सिकाउने माध्यम थियो । उनी धर्मलाई बिचौलिया र यसको जड पन्जाबाट मुक्त पार्न चाहन्थे । उनी मूर्तिपूजाको सख्त विरोधी थिए । उनी संगठित धर्मको खिलाफमा थिए । आजको समयमा एकातर्फ राजनीतिमा जनसेवाभन्दा शक्ति संचयको प्रवृत्ति र भ्रष्टाचार व्याप्त छ, अर्कातर्फ संगठित धर्मका कारण समाजमा थप अशान्ति पैदा भएको छ । संगठित धर्मले आफ्नो धार्मिक वर्चस्व फैलाउनका लागि समाजमा अशान्ति फैलाउने गरेको आभास मिल्छ ।

गान्धीको बुझाइमा राजनीति र धर्म सँगसँगै जानुपर्छ । राजनीतिको जनसेवाको पाटो र धर्मको नैतिक पाटो एक रथका दुई पांग्रा भएर अगाडि बढे मात्र समाजले सही बाटो समात्छ भन्ने उनको आशय थियो । राजनीति गान्धीका लागि फगत सत्तामा पुग्ने साधन थिएन ।

मध्ययुगमा चर्चमा हुने भ्रष्टाचार र अन्य कारणले गर्दा चर्च वा राज्य कुन ठूलो भन्ने बहसले विकराल रूप लियो । त्यति बेलैदेखि चर्च र राज्यलाई अलग बनाइयो र राज्यहरू चर्चको अनावश्यक दबाबबाट मुक्त भए । यसरी युरोपेली राज्य धर्म वा पन्थनिरपेक्ष बन्न पुगेको थियो । गान्धीले यही कुरालाई संवरण गरेका थिए । उनले भन्ने गरेका राम पौराणिक पात्र दशरथका छोरा राममा सीमित थिएनन् । राम त उनका लागि एक प्रतीक थिए । रामराज्य उनको मानक राज्य थियो, जहाँ समता, न्याय र शान्ति हुन्थ्यो ।

गान्धीले धर्मका बारेमा संश्लेषण गर्दै भनेका छन्, ‘सबै धर्म राम्रा छन् । कुनै पनि धर्म आफैंमा पूर्ण छैन । कुनै एक धर्ममा रहेको कमजोरी धर्म रूपान्तरण गरेर अथवा अर्को धर्ममा प्रवेश गरेर सच्चिन सक्दैन । त्यसैले जो जहाँ जुन धर्ममा छन्, त्यसमा रहेका खराबीको निराकरणतर्फ लाग्नुपर्छ । एउटा अपूर्णबाट अर्को अपूर्णमा प्रवेश गरेर पूर्ण हुँदैन ।’

गान्धीको आश्रममा लामो समय बिताएकी बेलायती नागरिक म्याडलिन सलेडले आफू हिन्दु धर्म अँगाल्न राजी भएको बताउँदा गान्धीले धर्मान्तरण नगर्न आग्रह गरेका थिए । उनले सलेड अर्थात् मीरा बहनलाई भनेका थिए, ‘तिमी असल क्रिस्चियन बन्नू । तिमी असल क्रिस्चियन बन्न सक्यौ भने उत्तम कुरा त्यही हुनेछ ।’

गान्धीले श्रीमद्भगवत गीता पहिलोपटक हिन्दी, गुजराती वा संस्कृतमा नभएर अंग्रेजीमा पढेका थिए । सर एडविन आर्नोल्डले गरेको गीताको अनुवाद ‘सङ सेलेस्टियल’ पढेपछि उनले भनेका थिए, ‘यस्तो राम्रो पुस्तक मैले भारतमै, मेरो मातृभाषामै अध्ययन गरिसकेको हुनुपर्थ्यो । युरोप आएर र अंग्रेजी भाषामा यो पुस्तक पढ्नुपरेकोमा मलाई पछुतो लागेको छ ।’ कानुन अध्ययनका लागि बेलायत पुगेका गान्धीले त्यसपछि धर्मका दर्जनौं पुस्तक अध्ययन गरे । उनले बाइबल र क्रिस्चियन धर्मसम्बन्धी पुस्तकहरू तथा कुरान र मुस्लिम धर्मसम्बन्धी पुस्तकहरूसमेत पढे । यसबीच उनी हिन्दु धर्म र अरू धर्मका बारेमा बुझ्न राय चन्द भाई नामका जैन गुरुको शरण परेका थिए ।

गान्धीले धर्मका बारेमा कुनै निष्कर्षमा पुग्नुभन्दा पहिला ती धर्महरूलाई नजिकबाट बुझ्ने, अध्ययन गर्ने, मनन गर्ने कोसिस गरेका थिए । बेलायतमा छँदा गान्धीलाई क्रिस्चियन मित्रहरूले धर्मान्तरण गर्ने कोसिससमेत गरेका थिए, जसलाई उनले इन्कार गरिदिएका थिए ।

गान्धीले जब दक्षिण अफ्रिका पुगेर पहिलो आश्रम खोले, त्यति बेलैदेखि उनको आश्रममा साँझबिहान गरिने प्रार्थनाहरूमा सबै धर्मका श्लोक/पंक्तिहरू पाठ गर्ने बानी बसाए । यो परम्परा उनले आजीवन कायम राखे । सबै धर्मप्रति समभावको यो अनुपम अभ्यास थियो । ‘सर्वधर्म समभाव’ उनको गुरुमन्त्र थियो । उनी कुनै पनि धर्मको श्रेष्ठताको खिलाफमा थिए । उनी असल हिन्दु थिए । असल हिन्दुले नै हिन्दु धर्मलाई न्याय र अरू धर्मलाई सम्मान गर्न सक्छ भन्ने उनको बुझाइ थियो । यही सन्दर्भमा गान्धीले आफ्ना राजनीतिक गुरु गोपालकृष्ण गोखलेसँग एकपटक समन्वय योगको उत्कट व्याख्या मानिने गीताको चौथो अध्यायको एघारौं श्लोकलाई उद्धृत गरेका थिए—

ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।४:११।।

(अर्थात्, मानिस जुन बाटोबाट मेरा सामु आउँछ, म उसलाई त्यही रूपमा स्वीकार गर्छु । सबै मानिसले मेरै बाटाको अनुसरण गर्छन् किनकि मानिस जुनसुकै बाटामा किन नहिँडोस्, त्यो मेरै बाटो हो ।)

गान्धीका अनुसार, जसले राजनीतिसँग धर्मको कुनै लिनु–दिनु छैन भन्छन्, उनीहरूले धर्मलाई बुझेका छैनन् । धर्मको मुख्य उद्देश्य मानव र देवताबीच प्रत्यक्ष साक्षात्कार गराउनु हो । उनको बुझाइमा देवता अथवा ईश्वर सत्यको अर्को रूप हो । उनी ईश्वरलाई मानवताको सेवामा अनुभव गर्थे किनकि ईश्वरले प्रत्येक मनुष्यहृदयमा बास गरेको हुन्छ अथवा आफ्ना सम्पूर्ण रचनामा निवास गरेको हुन्छ ।

धर्मका बारेमा यस्तो धारणा भएका गान्धीलाई बहुसंख्यक हिन्दुको आवादी रहेको हिन्दुस्तानलाई हिन्दु राज्य बनाउने कुरा स्वीकार्य थिएन । राज्यलाई सबै प्रकारका धर्म र पन्थबाट अलग राख्ने त्यो प्रस्तावनालाई युरोपको नक्कल गर्दै धर्मनिरपेक्षताको नाम दिइयो । धर्मनिरपेक्षता उपयुक्त शब्द हो कि होइन, त्यसबारे निकै गम्भीर बहसहरू भएका छन् । तर, आधुनिक राज्यले कुनै धर्म वा पन्थलाई प्राथमिकता दिनु राम्रो हैन भन्नेमा मतैक्य भने स्थापित छ ।

गान्धी असल हिन्दु थिए तर उनले भारतलाई हिन्दु राज्य बनाउनुपर्छ भन्नेमा आग्रह राखेनन् । अर्कातर्फ, मुस्लिम धर्मावलम्बी भएर पनि धर्मको अभ्यास नगर्ने मोहम्मद अली जिन्नाले पाकिस्तानलाई मुस्लिम राष्ट्रका रूपमा खडा गरिदिए । यो आधुनिक इतिहासको निकै ठूलो विरोधाभासपूर्ण घटना थियो । जिन्नासँग काम गरेका एमसी चाग्लाले ‘रोजेस इन डिसेम्बर’ पुस्तकमा जिन्नाको मुस्लिम धर्मसँग मेल नखाने अनेक आचरणको चर्चा गरेका छन् ।

धर्मप्रति उदार धारणा राख्ने गान्धी कट्टरपन्थी हिन्दुको निसानामा परेर मारिए । एउटा उदार र असल हिन्दुको हत्या अर्को अनुदार हिन्दुका हातबाट भयो । किन र कसरी गान्धीको हत्या भयो भन्नेबारे मनोवैज्ञानिक कोणबाट आशिष नन्दीले खोतल्ने कोसिस गरेका छन् ।

गान्धीले मूलतः धर्म र राजनीतिलाई समानान्तर गतिमा अभ्यास गरेका थिए, अगाडि बढाएका थिए । उनले व्यावहारिक रूपमै धर्म र राजनीति दुइटै विषयको नयाँ परिभाषा गर्ने कोसिस गरेका थिए । आज पनि गान्धीको उक्त कोसिस धर्म र राजनीतिको खराब प्रयोग र अभ्यासले आक्रान्त मानव जातिलाई संकटबाट पार लगाउन सक्ने प्रेरणापुञ्ज बन्न सक्छ ।

प्रकाशित : आश्विन २१, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार

कपिलवस्तुमा झाडापखालाका बिरामी थपिँदै, दूषित पानीका कारण प्रकोप फैलिएको आशंका 
 १५ बेड क्षमताको अस्पतालमा १ सय ६५ जनाको उपचार, १ सय ५ जना डिस्चार्ज
मनोज पौडेल

बहादुरगन्ज, कपिलवस्तु — अस्पताल परिसरको प्रतीक्षालयमा बिरामीका लागि बेड हालिएको छ । बाँसका लौरालाई स्लाइन झुन्ड्याउन स्ट्यान्डका रूपमा प्रयोग गरिएको छ । नरिवलको डोरीमा लहरै ५/७ वटा स्लाइनका बोतल झुन्ड्याइएका छन् । खुला आकाशमुनि लस्करै छन्, झाडापखालाका बिरामी । आँप र पीपलको रूखमुनि ३५ जनाभन्दा बढी बिरामीको उपचार चलिरहेको छ । 


कृष्णनगर नगरपालिकाको बहादुरगन्जस्थित शिवराज अस्पतालको अवस्था हो यो । नगरका तीन वडाका ६ गाउँमा सोमबारदेखि फैलिएको झाडापखालाबाट बुधबारसम्म ३ सय ५ जना बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

बहादुरगन्जकै १० निजी क्लिनिकमा एक सयभन्दा बढीले उपचार गराइरहेका छन् । सिकिस्त नभएका बिरामी घरमै उपचार गराइरहेका छन् । त्यस्ताको संख्या पनि २ सयभन्दा बढी रहेको स्वास्थ्यकर्मीले बताए । अहिले शिवराज अस्पतालमा मात्रै १ सय ६५ जनाको उपचार भइरहेको छ । ३५ जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ । बुधबार बेलुका ५ बजेसम्म १ सय ५ जना बिरामी डिस्चार्ज भएका छन् ।

कृष्णनगर–९, बहादुरगन्जका ७ वर्षीय आनस हलुवाईले बुधबार पखालाले थलिएर उपचारका लागि अस्पताल पुग्दा बेड पाएनन् । अस्पताल प्रशासनले भुइँमै राखेर उपचार गर्नुपर्छ भनेपछि उनका ठूलोबुबा जिब्राइमले घरबाटै खाट बोकेर अस्पताल पुगे । आनसले मात्र नभई बहादुरगन्जका ५/६ जनाले घरबाटै खाट ल्याएर अस्पताल परिसरको खुला आकाशमुनि उपचार गराइरहेका छन् । क्षमताभन्दा २० गुणा बढी बिरामी एक्कासि आएपछि अस्पताल अहिले अस्तव्यस्त बनेको छ । जता हेर्‍यो उतै बिरामी छन् । बरन्डा, इमर्जेन्सी, ड्रेसिङ रुम र गल्ली कहीं खाली छैन । १५ बेड क्षमताको अस्पतालमा बिरामीको भीड छ । एउटा बेडमा ३ जनासम्म राखेर उपचार भइरहेको छ ।

बुधबार मात्रै १ सय १० जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ‘अस्पताल सानो हुँदा साधन स्रोतको कमी छ,’ अस्पतालका निमित्त मेसु डा. मुकेश चौधरीले भने, ‘बढी सिकिस्त बिरामीको उपचारमा ध्यान दिएका छौं । बिरामीमध्ये सयभन्दा बढीको आईभी मेडिकेयरबाट उपचार गर्नुपरिरहेको छ ।’ मुखबाट औषधि उपचार सम्भव नहुँदा स्लाइनबाट गर्नुपरेको उनले बताए । बेड नपुगेपछि टेन्ट हाउसबाट १५ बेड भाडामा ल्याएको अस्पताल प्रशासनले जनाएको छ । ‘बिरामी बढ्दै गएका छन्,’ उनले भने, ‘अवस्था नियन्त्रणमा रहे पनि संवेदनशील छ ।’

बहादुरगन्जकी बित्तर धोबीका एकै घरका १० जना बिरामी भएका छन् । चार जनालाई अस्पताल भर्ना गर्नुपरेको उनले बताइन् । ‘बिराम हुने चीजवस्तु केही खाएका थिएनौं,’ उनले भनिन्, ‘कसरी एकैचोटि सबै बिरामी पर्‍यौं, अचम्म लागेको छ ।’ मंगलबार र बुधबार सिकिस्त भएका ३५ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न तौलिहवा, भैरहवा र बुटवल रिफर गरिएको छ । ‘सुगरको बिरामी छु,’ बहादुरगन्जका भीमबहादुर क्षत्रीले भने, ‘खानपानमा निकै होसियारी अपनाउँछु । तर, बाबुछोरी एकैचोटि बिरामी पर्‍यौं ।’

बिरामीहरूमा पखाला लाग्ने, पेट दुख्ने, उल्टी हुने र कमजोरी हुने लक्षण देखिएका छन् । बिरामीको लक्षण कालाजारसँग मिल्दोजुल्दो भए पनि ल्याब परीक्षण नभएसम्म भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । विभिन्न भौगोलिक क्षेत्रका पाँच जनाको दिसा परीक्षणका लागि बुटवल पठाइएको छ । अस्पतालमा जनशक्ति अभाव भएपछि कृष्णनगर नगरपालिका, कपिलवस्तु जिल्ला अस्पताल र प्रदेश मन्त्रालयले जनशक्ति पठाएको छ । ‘अहिले स्वास्थ्यकर्मीको टोली पर्याप्त छ,’ प्रमुख पाण्डेले भने, ‘अब बिरामीलाई छिटोछिटो उपचार गर्नेतर्फ लागेका छौं ।’

सुरुमा कृष्णनगर–७, ८ र ९ वडाका बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरागाउँका बासिन्दा बिरामी परेका थिए । अहिले संक्रमण अरू ठाउँमा पनि फैलिएको छ । कृष्णनगरकै पुरुषोत्तमपुर र शिवानगरका सर्वसाधारण पनि बिरामी पर्न थालेको सूचना आएको नगर प्रमुख रजतप्रताप शाहले बताए । यहाँ फैलिएको महामारी कडा खालको भएको एक स्वास्थ्यकर्मीले बताए ।

एन्टिबायोटिकले पनि काम गर्दैन,’ उनले भने, ‘त्यही भएर बिरामी बढ्दै गएका छन् ।’ यहाँ धेरैजसो बिरामी ५ देखि ११ वर्षका छन् । त्यसपछि वृद्धवृद्धा प्रभावित भएका छन् । दूषित पानीका कारण प्रकोप फैलिएको आशंका गरिएको छ । खानेपानी संस्थान बहादुरगन्जले पाइप लाइन विस्तार गरेको ठाउँमा बढी बिरामी देखिएका छन् । स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा अनुगमन गर्न पुगेको थियो । त्यहाँ उनीहरूले कतिपय ठाउँमा खानेपानीका पाइप टुटफुट भएको र लिक भएर पानी निस्किएको देखेको बताए ।

औषधि वितरण, बिरामीको हेरचाह र इमर्जेन्सीमा उपचार गर्दागर्दै अस्पतालका स्वास्थ्यकर्मी पनि थाकेका छन् । दुई दिनदेखि सुत्न नपाएको अस्पतालका मेसु चौधरीले बताए । ‘बुधबार बिहानबाट बढी जनशक्ति यताउताबाट थपिएका छन्,’ अस्पतालका इमर्जेन्सी फाँट प्रमुख अहेब रवि उपाध्यायले भने, ‘त्यसपछि अलि हल्का भएको छ ।’ बिरामीको उपचार गर्दागर्दै आफूसहित एक जना अनमी र दुई कर्मचारी पनि प्रकोपले थलिएको उनले बताए । ‘बिहानबाट १२/१५ पटक शौचालय जाँदाजाँदा ढल्न थालें,’ अनमी गीता भट्टले भनिन्, ‘औषधि खाँदा कामै गरेको छैन ।’ जीवनजल खाँदै बिरामीलाई औषधि वितरण गरिरहेको उनले बताइन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×