दाजैहरू, आशीर्वाद देऊ

लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो— सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता । यसका लागि, २०४६ पछिका प्रधानमन्त्री, मन्त्री, सांसद्, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौं । आफैंमाथि परीक्षण गर्न नेताहरू तयार छन् ?
केशव दाहाल

प्रश्नहरू
दलहरू यति बेला महाधिवेशन वा पुनर्गठनको चटारोमा छन् । कांग्रेसले महाधिवेशनको प्रक्रिया थालेको छ । एमाले विभाजन भयो र लगत्तै विधान अधिवेशनमा गयो । माधव नेपाल र महन्थ ठाकुरहरूले आ–आफ्ना गुटलाई पार्टीकरण गरे । माओवादी नेता प्रचण्ड हतास स्वरमा पार्टी पुनर्गठनको पैरवी गरिरहेका छन् ।

दाजैहरू, आशीर्वाद देऊ

यदि सकारात्मक जोडबल हो भने यावत् हलचलहरू आफैंमा सुन्दर घटना हुन् । तर चल्तीकै स्वाङ र तुष्टि हो भने यी मात्र मदारीका तमासा हुन् । कर्मकाण्ड । एजेन्डाबिना गरिने महाधिवेशन र पुनर्गठनको के अर्थ ?

संयोग भनौं वा नियति, हाम्रा दलहरूबीच केही रोचक समानता छन् । सबैमा हुटहुटी छ । सबैमा खटपटी छ । सबैमा नेतृत्वको देवत्वकरण छ । तर कसैले पनि आजका असफलताहरूको राजनीतिक र व्यावहारिक समीक्षा गरेका छैनन् । सबैमा पूर्वाग्रह छ, तर प्रतिस्पर्धा छैन । चाकरी छ, आलोचना छैन । सत्ता छ, सपना छैन । जीवन छ, चेतना छैन । लेनदेन छ, राजनीति छैन । घटनाहरू स्वयंले स्पष्ट गर्छन्, सबै दलका पहिलो र दोस्रो पुस्ता आजका लागि कामै नलाग्ने देखिए । थोत्रा भाँडाकुँडाजस्ता, पत्रु । बज्छ तर प्रयोग छैन । न त चेतना, न त सपना, न त सिर्जना । नेताहरूमा मात्र सत्तालिप्सा छ, गति र ऊर्जा छैन । दुर्भाग्य, पहिलो पुस्ताको लाजलाई दोस्रो पुस्ताले छोपिरहेको छ र ऊ स्वयं नांगेझार हुँदै छ । कार्यकर्ताहरू यो प्रहसनका तमासे बनेका छन् । कस्तो घनघोर अन्धकार ?

राजनीतिलाई अन्धकारबाट कसरी निकाल्ने ? के राजनीतिमा उज्यालो खोज्ने काम देउवा, ओली, प्रचण्ड, माधव, उपेन्द्र वा महन्थबाट सम्भव छ ? अथवा रामशरण, अर्जुननरसिंह, भीम, ईश्वर वा शशांकबाट नयाँ आशा गर्न सकिन्छ ? असम्भव छ । बिम्बमा भनौं, पतिंगरहरूले फूल हुनुको भ्रम छर्दैमा कसले पत्याउँछ ?

जस्तो कि, देउवाबाटै प्रश्न गरौं, के देउवा स्वयंले आफू प्रधानमन्त्री हुनुको औचित्य स्थापित गर्न सक्लान् ? सक्दैनन् । अतः कांग्रेसले विचार गर्नुपर्ला, मुलुक सञ्चालनमा पटक–पटक असफल कांग्रेस यो दुर्भाग्यका लागि कुन श्रापले अभिशप्त छ ? अन्यथा देश कांग्रेसको नेतृत्वमा उहिल्यै स्वर्ग बन्नुपर्ने हैन र ? तर भयो के ? कांग्रेस आफ्नै इतिहाससँग आँखा जुधाउन नसक्ने भयो । सर्वत्र असफलता ।

भर्खरै एमालेको विधान अधिवेशन सकियो । त्यहाँ के भयो, भन्नुपर्दैन । के कम्युनिस्ट शास्त्रमा व्यक्तिको स्तुति, चाकरी र देवत्वकरणलाई महाधिवेशन भनिन्छ ? प्रश्नहरू हराउनु र आलोचना चाकडीमा रूपान्तरित हुनु कम्युनिस्ट आन्दोलनको महापतन हो । अन्यथा आफ्नै नेतालाई किन सोधिएन, फुटको रहस्य ? निश्चय नै, अधिवेशनस्थल भव्य थियो । तर त्यो भव्यताभित्र विचारको भव्यता किन खोजिएन ? नेताहरू राता झन्डाहरूले घेरिएर बसे । अन्तर्राष्ट्रिय गीत गाइयो । तर कम्युनिस्ट हुनु भनेको के हो, किन कसैले सोधेन ? कम्युनिस्टहरू (?) भित्र हुर्कंदो पतनको यो कथा एमालेको मात्र कथा हैन, समाजवादीको पनि हो र माओवादीको पनि हो । यस्तो बेला राजनीतिमा उज्यालो खोज्ने नयाँ पुस्ता कहाँ छ ?

प्रश्नहरूको अन्तर्य

देशले चौतर्फी असफलता भोगिरहेको छ । केही मान्छे यो असफलतालाई त्रासमा बदल्न चाहन्छन् । निश्चय नै, निर्वाचन हेर्‍यो, महँगो छ । सरकार हेर्‍यो, परिणामविहीन छ । संसद् बस्दैन, तर सांसदले तलब बुझेकै छन् । अख्तियार छ, काम गर्दैन । दलालहरू मोटाएकै छन् । तर जनताको भोक, रोग र विभेद उस्तै । दुई वर्षमा सक्नुपर्ने योजना दस वर्षमा सकिँदैन । ढलमा बच्चा झर्छ र हराउँछ, कसैले जवाफ दिनुपर्दैन । भ्रष्टाचार छ, सबै चुपचाप । सर्वत्र सत्ताको विवाद । सर्वत्र गुट र विभाजन । फुटेका पार्टीहरू पनि उस्तै, जुटेका पार्टीहरू पनि उस्तै । र, केही खराब मान्छेहरू यो सबैलाई अस्थिरता र द्वन्द्वमा बदल्न चाहन्छन् । त्यसैले उनीहरू राजनीतिक असफलतालाई व्यवस्थाको असफलता भनेर हल्ला गरिरहेका छन् । उनीहरू पार्टीको असफलतालाई लोकतन्त्रको असफलता भन्दै ढोल बजाउँदै छन् ।

तर सत्तामा बस्नेहरू चुपचाप छन् । तर मार्नेहरू मौन छन् । नेतृत्वको पहिलो पुस्ता त त्यस्तै भयो, दोस्रो पुस्ता अझ पहिलोभन्दा खराब, लाचार र लबस्तरो देखिँदै छ । नेताको फेर समाउने र सत्ताको वैतरणी पार गर्ने उसको नियतले समस्या देख्दैन, सत्ता देख्छ । राजनीति फोहोर हुँदा आहालको डिलमा बसेर गन्देझारको माला उन्न रुचाउने दोस्रो पुस्ताले लाज पचाइसक्यो । यस्तो बेला तेस्रो पुस्ताले आफ्नै नेतृत्वमाथि निर्मम समीक्षा नगर्ने हो भने राजनीति कता जाला ?

यी प्रश्नहरूको अन्तर्य के भने, दलहरूभित्र जाज्वल्यमान नयाँ पुस्ता आवश्यक देखियो । राजनीतिमा नयाँ विचार, नयाँ मुद्दा, नयाँ संस्कृृति र नयाँ नेतृत्व आवश्यक देखियो । पहिलो पुस्ताले व्यवस्था त फेर्‍यो तर व्यवस्थापन बदल्न सकेन । त्यसैले शासकीय व्यवस्थापनमा नयाँ, प्रभावकारी र परिणाममुखी प्रबन्धन आवश्यक भयो । पहिलो र दोस्रो पुस्ता पुरानै कर्मकाण्डमा खुसी देखिए । उनीहरू पुरानै सत्तामा खुसी देखिए । त्यसैले उनीहरूलाई चुनौती दिने र नयाँ गन्तव्य खोज्ने तेस्रो पुस्ता आजको आवश्यकता भयो । अन्यथा अरूजस्तै नर्कतिर हिँडेर स्वर्ग कसरी प्राप्त हुन्छ ?

बदलावको प्रस्ताव

बदलाव कहाँ खोज्ने ? विकल्प कहाँ खोज्ने ? तेस्रो पुस्तालाई अनुरोध छ, समस्या जहाँ छन्, त्यहीँबाट बदलाव खोजौं । असफलता जहाँ छ, त्यहीँबाट सफलता खोजौं । के आजका असफलताहरू व्यवस्थाका दोष हुन् ? होइनन्, व्यवस्थापनका दोष हुन् । अतः बदलाव व्यवस्थापनमा खोजौं । के आजको संकट संविधानले सिर्जना गरेको हो ? होइन, यो सरकारको असफलता हो । अतः बदलाव सरकारको चरित्रमा खोजौं । देश असफल भएको होइन, दलहरू असफल भएका हुन् । त्यसैले बदलाव आफ्नै दलहरूको जीवनमा खोजौं । बदलाव आफ्नै पार्टीहरूमा खोजौं । पछिल्लो असफलता लोकतन्त्रको होइन, नेतृत्वको असफलता हो । अतः बदलाव आफ्नै नेतृत्वमा खोजौं ।

अबको शासकीय स्वरूप कस्तो बनाउने ? प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था शासकीय सुधारको आधार हुन सक्छ । किनभने आफ्नो कार्यकारी प्रमुख छान्ने सार्वभौम अधिकार अवश्य नै जनतामा निहित छ । यसो गर्दा निर्वाचित कार्यकारीहरू तानाशाह हुन सक्छन् भन्ने जुन सन्दर्भ छ, त्यसमा यथोचित नियन्त्रणको प्रबन्ध गर्न सकिन्छ । साथै छलफल गरौं, प्रत्येक तहका कार्यकारी प्रमुख र उपप्रमुखहरूको पदावधि कति बनाउने ? यसमा एक व्यक्ति दुई कार्यकाल निर्धारण गरौं ।

त्यसैगरी सांसदहरू नै मन्त्री बन्ने परम्परागत संसदीय प्रणालीको विकल्प के होला ? किनभने सरकार गठन–विघटनमा निरन्तर सांसदहरूको संख्या हाबी हुँदै जानु राम्रो विषय होइन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले निश्चित मापदण्डका आधारमा संसद्–बाहिरबाट मन्त्रिमण्डलको गठन गर्ने विधि अर्को प्रस्ताव हुन सक्छ । यसो गर्दा व्यवस्थापिकाले कार्यपालिकालाई स्वतन्त्र ढंगले नियमन गर्न पाउँछ । मन्त्री बन्ने लोभबाट सांसदहरू मुक्त हुन्छन् । निर्वाचनका बेथितिहरू सकिन्छन् । साथै, विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार प्रदान गरौं । निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘नो भोट’ लागू गरौं । पछिल्लो समय पूर्ण समानुपातिक व्यवस्थापिकाको प्रस्ताव आइरहेको छ । त्यो के हो ? छलफल गरौं । स्थानीय तहमा, जिल्ला समन्वय समिति हटाऔं । स्थानीय पालिकामा गैरदलीय निर्वाचन गरौं ।

अहिले राज्यसत्ताको पार्टीकरण तीव्र छ । संवैधानिक अंगहरूमा हुने नियुक्तिहरू दलीय प्रभावबाट मुक्त छैनन् । हाम्रा आयोग, विश्वविद्यालय, संस्थान र सेवाप्रदायक अंगहरू निम्छरा छन् । अतः सबैको निष्पक्षता र प्रभावकारिता सुनिश्चित गरौं । प्रश्न गरौं, के दलहरू निजामती प्रशासनमा सम्पूर्ण फेरबदल गर्न तयार छन् ?

लोकतन्त्रलाई परिणाममुखी बनाउने महत्त्वपूर्ण कडी हो— सुशासन । भ्रष्टाचारमा शून्य सहनशीलता । सेवाप्रवाहमा सुधार । कानुनी शासनको प्रत्याभूति । यसका लागि, २०४६ पछिका प्रधानमन्त्री, मन्त्री, सांसद्, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौं । के आफैंमाथि परीक्षण गर्न नेताहरू तयार छन् ? हामीसँग अख्तियार, सम्पत्ति शुद्धीकरण र सतर्कता केन्द्रजस्ता महत्त्वपूर्ण अंगहरू छन् । तर यी अंगहरूमाथि जनताको विश्वास घट्दो छ । के यिनीहरूलाई स्वायत्त र विश्वासिलो बनाउन दलहरू तयार छन् ? नेतालाई सोधौं । खबरदारी गरौं । बदलाव र हलचल आफ्नै दलबाट सुरु गरौं ।

आर्थिक–सामाजिक बदलाव

आर्थिक न्यायलाई लोकतन्त्रको आधार मानिन्छ । अतः किसान, मजदुर, सीमान्तकृत समुदाय, न्यून वेतनधारी वर्ग र ग्रामीण जीवनलाई कसरी आर्थिक न्याय दिने ? पार्टीभित्र मन्थन थालौं । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र सार्वजनिक यातायातलाई कसरी प्रभावकारी बनाउने ? यसलाई पार्टीको एजेन्डा बनाऔं । विपन्नलाई आर्थिक सुरक्षा दिन रासन कार्डको व्यवस्था गरौं । अथवा आम्दानीको न्यूनतम ग्यारेन्टी गर्न सरकारलाई भनौं । भूमिसुधार, पूर्वाधार विस्तार, औद्योगिकीकरण, राष्ट्रिय उत्पादन वृद्धि, रोजगारी सिर्जना, आवासको ग्यारेन्टी, बिजुली र पानीको सर्वसुलभ वितरणजस्ता दैनिक जीवनसँग जोडिने विषयहरूलाई राजनीतिका मुद्दा बनाऔं ।

विज्ञहरू भन्छन्— कृषि, उद्योग, पर्यटन, पूर्वाधार र सेवा क्षेत्रमा वार्षिक १० लाख नयाँ रोजगारी सिर्जना गर्न सकिन्छ, जसले एक दशकभित्र वैदेशिक रोजगारीको पछिल्लो दरलाई १० प्रतिशतमा झार्छ । यो कसरी सम्भव छ ? छलफल गरौं । विज्ञहरूलाई सोधौं । र, साथमा शिक्षा र स्वास्थ्य पूर्णतः निःशुल्क गरौं । अन्यथा विचार गरौं, यति ठूलो राजनीतिक उपलब्धिपछि पनि साधारण मान्छेको जीवनमा किन कुनै परिवर्तन देखिएन ? यो असफलता आफ्नो काँधमा बोकेर तपाईं कसरी कांग्रेस ? तपाईं कसरी कम्युनिस्ट ? तपाईं कसरी समाजवादी ? असफलताहरूलाई छोपछाप पारेर नयाँ पार्टी बनाउनुको के अर्थ ? विगतको समीक्षा नगरी गरिने महाधिवेशनको के प्रयोजन ?

राजनीतिक व्यवस्था राज्यसत्तालाई आकार दिने मुख्य विषय हो । तर प्रभावकारी व्यवस्थापनबिना यसले परिणाम दिँदैन । अतः व्यवस्थापनमा बदलाव आजको प्रमुख एजेन्डा हो । यो नै आजको राजनीति हो । यो नै आजको कार्यभार हो । यो नै आजको विचार हो । तर, के यो कार्यभार पूरा गर्न पहिलो र दोस्रो पुस्ताको नेतृत्वले सक्ला ? सक्दैन । किनभने त्यहाँ आशा र अपेक्षाको उज्यालो छैन । त्यहाँ विवेक छैन, झेल छ । त्यहाँ सिर्जना छैन, तिर्सना छ । त्यहाँ परिवर्तनको सपना छैन । त्यहाँ क्षमता छैन । तर तेस्रो पुस्ता ? अपेक्षा गरौं, योसँग सम्भावना छ । अतः यो पुस्ताले नयाँ सुरुवात गर्न सक्छ । उसले नयाँ प्रश्नहरू गर्न सक्छ । उसले नयाँ ढंगले सोच्न र सपना देख्न सक्छ । त्यसैले पहिलो र दोस्रो पुस्ताका दाजैहरूलाई अनुरोध छ, सत्ताको लोभ पापी चीज हो; यो जुनीमा पुग्यो । अब तपाईं निवृत्त हुनुहोस् र आराम गर्नुहोस् । यो नयाँ पुस्तालाई आशीर्वाद दिने समय हो ।

र, तेस्रो पुस्तालाई अनुरोध छ— युवा साथीहरू, लौ समय भयो । मोर्चा सम्हाल ।

[email protected]

प्रकाशित : आश्विन २०, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?