आत्महत्याको कार्यकारण

अनिता पण्डित

पर्वतको मोदी गाउँपालिकाका २१ वर्षे सामाजिक कार्यकर्ता तथा अनेरास्ववियुका जिल्ला नेता मदन शर्माले गत भदौ १६ गते घरनजिकैको जंगलमा आत्महत्या गरे । स्नातक पढिरहेका युवा अभियन्ता शर्माको परिवारभित्र एक दशकभित्र यो चौथो आत्महत्या थियो ।

आत्महत्याको कार्यकारण

आमा, हजुरआमा, फुपूका छोरापछि मदनले आत्महत्याको बाटो रोजेका थिए । एकाघरका यस्तो शृंखलाबद्ध आत्महत्याको घटना सुन्दैमा पनि अवाक् भइन्छ । शर्मा र उनको परिवार उदाहरण मात्रै हो, पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आत्महत्या र आत्महत्याको प्रयासका घटना बढी आइरहेका छन् ।

हरेक उमेर समूहका व्यक्तिहरूले जीवनको विकल्पमा मृत्यु छनोट गर्नु सामान्य समस्या हुँदै होइन । तर, यस्ता घटनामा के सामाजिक संरचनाको भूमिका छैन ? के हामीले अँगालिरहेका कथित मूल्य र राज्यका नीतिहरूसँग यसको सम्बन्ध छैन ?

आत्महत्या विश्वभरि अत्यधिक बढिरहेको छ । विश्व स्वास्थ्य संगठनअनुसार हरेक वर्ष विश्वभरका करिब १० लाख मानिसले आत्महत्या गर्छन् । नेपाल प्रहरीअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ हजार १ सय १७ नेपालीले आत्महत्या गरेका थिए । कोभिड महामारीले बढाएको बेरोजगारी, स्वास्थ्य समस्या, आर्थिक संकट, अभाव र विभेदका कारण उक्त संख्या चालु आर्थिक वर्षमा अझै बढ्ने निश्चित छ ।

मुख्यतः विभेदयुक्त सामाजिक संरचना र स्वरूपको निराशाजनक अभिव्यक्ति हो— आत्महत्या । विभेदका खाडलहरू दिनानुदिन बढिरहेको समाजमा बेरोजगारी, गरिबी, जिम्मेवारी पूरा गर्न नसक्नुजस्ता विविध कारणले हुने तनावले मानसिक समस्या निम्त्याइरहेको छ । औद्योगिकीकरणको कमी, भौगोलिक विकटता र अर्थव्यवस्थामा विविधता नभएको हाम्रो समाजमा बेरोजगारी सधैंको समस्या भइरह्यो । दसौं लाख जनशक्तिले काम पाउन सकेका छैनन् । पछिल्लो समय कोरोना महामारीका कारण लाखौं व्यक्तिको रोजीरोटी खोसिएको छ । ठेलागाडामा तरकारी बेच्नेदेखि साना तथा मझौला व्यवसायीसम्म संकटमा धकेलिएका छन् । यसबाट सामाजिक संरचनाको पीँधमा रहेका परिवार र व्यक्तिले नै सबैभन्दा बढी मार खेप्नुपरेको छ । लकडाउनका बेला खुला मञ्चमा एक छाक खाना खान बालबच्चा च्यापी पाँच–दस किलोमिटर हिँडेर आउनेहरूको संख्या निकै थियो । गरिबी र विभेदले थिचिएकाहरू पलपल दुःस्वप्नमा बाँच्न बाध्य छन् र तिनैमध्ये कतिपय यस्तो नियतिबाट छुटकारा पाउन आत्महत्या गर्न विवश पनि ।

पुँजीको होड, उपभोक्ता संस्कृति, अस्वस्थ प्रतिस्पर्धा तथा स्वार्थले गर्दा आफूवरिपरिका व्यक्ति कस्तो मनस्थितिमा छन् भनी ख्याल गर्न कसैलाई फुर्सदै छैन न त सरोकार नै । उपभोग संस्कृति सामानमा मात्रै होइन, सम्बन्धहरूका लागि पनि लागू भइरहेको छ । एकातिर आर्थिक संकट तथा रोजगारी गुमाउने भय छ, अर्कातिर सामाजिक हैसियत तय गर्ने मापदण्ड बजार बनेको छ, खर्च गर्ने क्षमताबाट हैसियत निर्धारण गरिन्छ । श्रम बजारमा मानिसको मूल्यको कमी र उपभोग बजारमा सामानको मूल्यको वृद्धिबीच तादात्म्य नमिल्नुले सामाजिक संरचना जटिल बनिरहेको छ । अधिकांश मानिस नीरस, निराश र डिप्रेसनका आंशिक वा पूर्ण रोगी बनिरहेका छन् ।

सुविधा, सुरक्षा भत्ता र उपकरण कटौती अनि संगठित हुन पाउने अधिकारको कमीले गर्दा श्रमिकहरू निराश भइरहेका छन् । श्रम शोषणले यस्तो भएको हो । नाफा केही व्यक्तिमा केन्द्रित भैरहेको छ । यसबाहेक आजको शिक्षा पद्धति र सामाजिक संरचनाअनुसार कुनै एक क्षेत्रमा विशेषज्ञता हासिल गर्ने र त्यसैमा मात्र केन्द्रित हुनाले पनि मानिस एकलकाँटे हुने गरेको छ । समाज विविधतापूर्ण छ, सबै मानिसको फरक–फरक इच्छा/चाहना हुन्छ । इन्जिनियर पढिरहेको कुनै विद्यार्थीलाई समाज विज्ञान नपढाए उक्त व्यक्ति समाजबाट कटिनु स्वाभाविकै हो । यस्ता अनेक आयामले गर्दा मानिस आफ्नो काम, प्रकृति र आफैंसँग टाढिइरहेको छ ।

केही वर्षअघिसम्म एसएलसी पास गर्न नसक्ने या अंक थोरै आएका कारण आत्महत्या गर्नेहरूको संख्या अधिक थियो, तर पछिल्लो समय यस्ता समाचार सुन्नुपरेको छैन । तैपनि शौक्षिक प्रतिस्पर्धा र ग्लानिका कारण आत्महत्या गर्नेहरूको संख्या धेरै छ । पारिवारिक सम्बन्धमा वियोग सहन नसक्ने, ऋण तिर्न नसकेकाले हुने बेइज्जती सहनुपर्ने, रोग–अपांगता र सामाजिक विभेदजस्ता कारण बढ्ने डिप्रेसनको अन्तिम विकल्पका रूपमा आत्महत्या रोजिरहेका छन् । आर्थिक कमजोरी नै आत्महत्याको प्रमुख कारण हो; यसबाहेक सामजिक प्रतिष्ठा, मानसम्मानमा परेको घात आदिले पनि यस्ता घटना भइरहेका छन् ।

मनोविज्ञान भौतिक परिवेशको देन हो । यदि भौतिकमध्ये आर्थिक कारणको मात्र सही पहिचान भएमा र त्यसै आधारमा समस्या समाधानको प्रयास थाल्ने हो भने आत्महत्या दर तत्कालै व्यापक रूपमा घटाउन सकिन्छ । त्यस्ता व्यक्तिमा जीवनको महत्त्वबोध गराउन सकिन्छ । तर, यसका लागि हल गर्नु पर्ने मुख्य सवाल हो— बेरोजगारी । बेरोजगारीको जिम्मा कसले लिने ? यहाँ त केवल व्यक्तिलाई अयोग्यताको प्रमाणपत्र थमाउनेहरूको बोलवाला छ । शिक्षा, स्वास्थ्य, खानपानजस्ता न्यूनतम आवश्यकता पनि विशेषाधिकार भइरहेका छन्, र झन्–झन् महँगो पनि । शुल्क तिर्न नसकेकाले अपस्तालमै बिरामीहरू साङ्लोमा बाँधिन बाध्य छन् ।

यस्तोमा मानसिक स्वास्थ्यलाई अलग्गै राखेर आत्महत्यामा कमी ल्याउन सकिँदैन । व्यक्तिको आधारभूत आवश्यकताको सरकारी तथा सामुदायिक व्यवस्थापन, रोजगारी र सृजनशील कामहरूका लागि अवसर र निरन्तरताको वातावरणका माध्यमले मात्र आत्महत्यालाई रोक्न सकिन्छ । मदन शर्माजस्ता युग हाँक्ने सम्भावना बोकेका युवाहरूलाई जोगाउन आत्महत्या गर्न बाध्य पार्ने सामाजिक संरचना बदल्नुपर्छ ।

प्रकाशित : आश्विन १७, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?