कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
विचार

हाम्रो राजनीतिको समस्या : के हो दलाल पुँजीवाद ?

नेता वा राजनीतिको आडमा सम्पत्ति कमाउनेहरु दलाल पुँजीपति नै हुन्, किनकि उनीहरूको आयको स्रोत दलाली हो ।
दलाल पुँजीवाद हाम्रो वर्तमान मात्रै होइन, बरु सिंगो आधुनिक इतिहास हो । यसलाई नरोक्ने हो भने त्यो हाम्रो भविष्य पनि हो, नियति हो ।
घनश्याम भूसाल

आजको मूलधारमा राजनीतिको मुख्य प्रवृत्तिलाई यसरी पनि चित्रण गर्न सकिन्छ : आवश्यक चन्दापानी दिएर वा चाकरीको लाखबत्ती बालेर भए पनि शक्तिशाली गुटको सकेसम्म शक्तिशाली उपगुटको पर्खालभित्र छिर्ने र जस्केलाबाट पार्टीको ठूलो पदमा पुग्ने; पार्टीको पदलाई थोरै बल गरे पनि धेरै माथिसम्म उफ्रिन सकिने लचकदार ‘स्प्रिङबोर्ड’ का रूपमा प्रयोग गर्ने र राज्यको पदमा पुग्ने; त्यहाँको पत्रंपुष्पं व्यवस्थाबाट मनग्गे कमाउने; त्यो स्प्रिङबोर्डबाट फेरि उफ्रेर पार्टीको अझ माथिल्लो पदमा पुग्ने, अनि ? 

हाम्रो राजनीतिको समस्या : के हो दलाल पुँजीवाद ?

अनि फेरि उफ्रिने— पार्टीबाट राज्यमा, राज्यबाट पार्टीमा उफ्रिइरहने≤ तर मुख्य कुरा पत्रंपुष्पं हो, त्यसमा कुनै कसर बाँकी नराख्ने । त्यति गर्दा आफ्नै गुट बनिसकेको हुन्छ वा गुटको अपरिहार्य व्यक्तित्व निर्माण भैसक्छ; राज्यको ढुकुटी, खानी–खोला, भन्सार, ठेक्कामा सुँढ घुसाइरहने र संसद्, सरकार र न्यायालयको ‘सेटिङ’ ठीकठाक राखिरहने; गुटमा कोटा बुझाउने; राजनीतिमा कार्यकर्ताले संरक्षण खोज्छन्, ‘आफ्ना’ जतिको संरक्षण गर्ने; पार्टीको पद, राज्यको हैसियत र पैसाको वृद्धिमान चक्र वा दुश्चक्र; यही हो आजको मूलधारको राजनीतिको एउटा चित्र !

राजनीतिको मूल प्रवृत्ति भनेको स्वतः राज्यको प्रवृत्ति हो भनेर बताइरहनु पर्दैन । त्यसले आज हामी बाँचेको समाजको धेरै कुरा बताउँछ । समाज र राजनीतिका अनगिन्ती समस्यामध्ये केही मुख्य समस्या हुन्छन्, जसले अरू धेरै समस्याको प्रतिनिधित्व गर्छन् । जस्तो कि, राजनीतिशास्त्रीहरूले समाजलाई राजनीतिक संस्था र व्यक्तिका अधिकार र कर्तव्यका आधारमा अन्य समस्याको अध्ययन गर्छन् भने समाजशास्त्रीहरू मानिसका सम्बन्धहरू र तिनको बनोटलाई केन्द्रमा राखेर अरू यावत् समस्याको अध्ययन गर्छन् । मार्क्सवादीहरू समाजलाई मूलतः अर्थराजनीतिक आँखाले अध्ययन गर्छन् । अर्थात्, कुन समाजले कसरी उत्पादन गर्छ भन्ने कोणबाट अरू धेरै समस्याको अध्ययन गर्छन् । यस लेखमा नेपालको पुँजीवादी उत्पादन व्यवस्थामा दलाल पुँजीवादको भूमिकाका बारेमा छलफल गरिन्छ ।

दलाल पुँजी वा दलाल पुँजीवादबारे हामीकहाँ असाध्यै कम छलफल भएको छ । त्यसैले सजिलोका लागि आफ्नो प्रसिद्ध कृति ‘पुँजी’ का कैयन् परिच्छेदमा औद्योगिक पुँजी र साधारण तथा विस्तारित पुनरुत्पादनको व्याख्या गर्दा मार्क्सले प्रयोग गरेका अर्थशास्त्रीय पद्धतिलाई यस लेखमा आधार बनाइएको छ ।

औद्योगिक पुँजी

कुनै पुँजीपतिसँग भएको लगानीयोग्य पैसा नगद पुँजी हो । त्यो नगद पुँजीपतिले उत्पादनका साधन र श्रमशक्ति खरिदमा खर्च गर्छ र माल उत्पादन गर्छ । त्यो माल बेच्छ, नाफा कमाउँछ र फेरि लगानी गर्छ । यस प्रक्रियामा तीनवटा चरण हुन्छन् ः एक, नगद हातमा भएको अवस्था; दुई, उत्पादनका साधन र श्रममा खर्च भएको अवस्था; र तीन, माल तयार भएको अवस्था । अर्थात्, सुरुमा पुँजीपतिसँग भएको नगद उत्पादनका साधन र श्रमशक्तिमा बदलिन्छ, उत्पादनका साधन र श्रमशक्ति फेरि मालमा बदलिन्छन् । माल बेचिसकेपछि पुँजीपतिसँग सुरुको नगदभन्दा बढी नाफाका रूपमा आउँछ ।

यी तीनवटा चरणमध्ये नगद पुँजीको मालमा रूपान्तरण वा माल पुँजीको नगद पुँजीमा रूपान्तरण हुँदा तिनीहरूको रूपमा मात्रै परिवर्तन हुन्छ । जस्तै— नगद मालमा फेरिनु र माल नगदमा फेरिनु विनिमय मात्रै हो । तर उत्पादक पुँजीको चरण भने ती दुवैभन्दा फरक छ । यस चरणमा उत्पादनका साधन र श्रमशक्तिको संसर्गबाट पहिलेको नगद पुँजीभन्दा बढी मूल्य उत्पादन हुन्छ । अर्थात्, श्रमशक्ति स्वयं मालमा रूपान्तरण हुन्छ, नत्र मालका रूपमा देखा पर्दैनथ्यो । माल नभएपछि बढी नगद वा पुँजी उत्पादनको कुरै हुँदैनथ्यो । त्यसैले उत्पादक चरण नै वास्तविक पुँजी उत्पादनको चरण हो ।

उदाहरणका रूपमा, कुनै पुँजीपतिसँग नगद पुँजीका रूपमा १००० रुपैयाँ छ । नगद पुँजी उत्पादक पुँजीमा बदलियो । पुँजीले फेरि रूप बदल्यो र माल पुँजी भयो । माल बिक्रीबाट १२०० रुपैयाँ आम्दानी भयो अर्थात् माल पुँजीले फेरि नगद पुँजीको रूप लियो । तर पहिलेको १००० अहिले १२०० भयो, पुँजी बढ्यो । त्यो बढी २०० रुपैयाँ कहाँबाट आयो त ? स्पष्ट छ, श्रमबाट आयो । किनभने श्रमिकको श्रमबाहेक त्यहाँ अर्को कुनै चीज छैन, जसले बढी मूल्यको उत्पादन गरोस् । यसरी, श्रमिकलाई रोजगारी दिएर मूल्य उत्पादन गर्ने वा बढीभन्दा बढी नाफा गर्ने उत्पादक पुँजीको चरण नै पुँजीवादी उत्पादनको सबैभन्दा मुख्य र क्रान्तिकारी चरण हो । पुरानो सामन्ती समाजको ठाउँमा नयाँ, आधुनिक, औद्योगिक पुँजीवादी दुनियाँ निर्माण गर्ने पुँजीवादको प्राण त्यहीँ छ । मार्क्सले औद्योगिक पुँजीको जन्म र विकासलाई बुझ्न उत्पादक पुँजीको चरणलाई जसरी पहिचान गरे, त्यसले राजनीतिक अर्थशास्त्रमा क्रान्तिकारी योगदान गर्‍यो, दुनियाँकै समाज विज्ञानको भाष्यलाई बदल्यो ।

के हो दलाल पुँजी ?

माथि भनिएझैं, मार्क्सले औद्योगिक पुँजीको व्याख्या गर्दा पुँजीको उत्पादक चरणको सर्वोपरि महत्त्वका बारेमा व्याख्या गरे । पुँजी जस्तोसुकै रूपमा भए पनि त्यसले कुनै न कुनै बेला उत्पादक पुँजीको चरणबाट गुज्रिनैपर्छ भन्ने मार्क्सको व्याख्या थियो । अर्थात्, नगद पुँजीले उत्पादक पुँजी र माल पुँजी हुँदै जति चक्कर लगाए पनि अन्ततः औद्योगिक पुँजीको रूप लिनैपर्छ । त्यसैले, व्यापारिक वा ब्याङ्क पुँजी औद्योगिक पुँजीको अधीनस्थ हुन्छ भन्ने उनको ठम्याइ थियो । संक्षेपमा, माल पुँजी नगद पुँजीमा र फेरि त्यो नगद पुँजी माल पुँजीमा रूपान्तरण पुँजी निर्माणका अनुत्पादक चरण हुन् भनेर स्पष्ट पारे पनि उनी त्यो अनुत्पादक चरण लामो समय रहन्न भन्ठान्थे । उनको समयको पुँजीवादी उत्पादनमा कुनै समाज पुँजीवादी भएर पनि अर्थतन्त्रको मुख्य चरित्र अनुत्पादक हुन सक्छ भन्ने तथ्यहरूमाथि बहस भएन वा त्यस्ता तथ्यहरू अगाडि आइसकेका थिएनन् ।

तर औद्योगिक पुँजीसम्बन्धी मार्क्सकै विश्लेषण पद्धतिका आधारमा अनुत्पादक पुँजी र अनुत्पादक पुँजीको वर्चस्व भएको अर्थतन्त्र अथवा ऋण दिएर नाफा कमाउने, त्यस्तो नाफा निरन्तर बढ्दै जाने र औद्योगिक पुँजीसमेत वित्तीय पुँजीको अधीनस्थ बन्ने अवस्थाको व्याख्या अरू अर्थशास्त्रीहरूले गरे । त्यसका आधारमा लेनिनले वित्तीय एकाधिकारले कसरी पुँजीवादलाई साम्राज्यवादमा पुर्‍यायो भनेर व्याख्या गरे । वित्तीय पुँजीको विकास पुँजीवादकै मृत्युशय्याको तयारी हो भन्ने लेनिनको घोषणा थियो । उनले पनि औद्योगिक पुँजीको विकास नभैकन उपनिवेशहरूमा पुँजी र पुँजीपति वर्गको विकास हुन सक्छ भन्नेतर्फ ध्यान दिएनन् ।

माओले उद्योगमा लगानी नै नगर्ने तर पुँजीवादी/साम्राज्यवादी मुलुकको दलाली गर्ने र चीनको औद्योगिकीकरणलाई तहसनहस पार्दै पराधीन बनाउन सहयोग गरेर नाफा आर्जन गर्ने वर्गलाई दलाल पुँजीपति भने । त्यसपछि उनको व्याख्या संसारव्यापी भयो । यद्यपि त्यसको विस्तृत अर्थशास्त्रीय व्याख्या भएन । आधुनिक पुँजीवादले विश्वव्यवस्थालाई शोषणका केन्द्र, उपकेन्द्र र किनारामा कसरी बाँड्छ र आफूलाई जीवित राख्छ जस्ता विषयको अध्ययन पछिका अरू अर्थशास्त्री/समाजशास्त्रीहरूले गरे । तीमध्ये समीर अमिनले जुन पुँजीले श्रमलाई उद्योगमा ल्याउँदैन, त्यो पुँजी दलाल बन्छ भनेर दलाल पुँजीको चरित्रलाई परिभाषित गरे । सारतः यो मार्क्सकै विश्लेषणीय पद्धति हो । त्यस आधारमा हामी के निष्कर्षमा पुग्छौं भने ः एक, जुन पुँजी औद्योगिक पुँजीको चरणबाट गुज्रिन्न, त्यसले वास्तविक मूल्य उत्पादन गर्दैन । दुई, त्यसको मुख्य चरित्र वित्तीय हुन्छ । तीन, त्यसले औद्यागिक पुँजीको विकासमा नकारात्मक भूमिका खेल्छ । चार, त्यसको परिणामस्वरूप पछौटे अर्थतन्त्र पछौटे नै रहिरहन्छ । त्यस्तो पुँजी दलाल पुँजी हो ।

यसैसाथ ध्यान दिनुपर्ने अरू केही कुरा छन् । उत्पादक पुँजीको रूप वा चरणबाहेक अरू सबै रूपमा पुँजीको हिँडडुल व्यापारका रूपमा मात्रै हुन्छ । हामीले त्यस्तो पुँजीलाई डुलुवा पुँजी भने पनि हुन्छ । व्यापारीले किनेको दाम (प्राइस) बढाएर नाफा कमाउन त सक्छ तर उसले नयाँ मूल्य (भ्यालु) थप्दैन । त्यसैले त्यो उत्पादक पुँजी होइन । दुईवटा अवस्थामा व्यापारले दलाल पुँजीलाई बढाउँछ ।

१) मानौं, रामले उत्पादन गरेको कपडा श्यामले किनेर सूर्यलाई बेच्यो, सूर्यबाट किनेर चन्द्रले सृजनालाई बेच्यो र सृजनाले कपडा लगाई । उत्पादक रामले पाउने फाइदाभन्दा श्याम, सूर्य र चन्द्रले लिने फाइदा धेरै हुन्छ≤ त्यो अनुत्पादक/दलाल पुँजी हो । देशको सम्पूर्ण पुँजीमा यस्तो पुँजी बढी हुँदा त्यो मुलुकको अर्थतन्त्र अनुत्पादक/दलाल हुन्छ ।

२) माथि भनेझैं, व्यापारले उद्योगसँग जोडिएर उत्पादनमा सहयोग गर्छ । तर एउटा देशको सामान ल्याएर अर्को देशमा बेच्ने व्यापारले सामान उत्पादन हुने देशको उत्पादक पुँजीलाई सहयोग गर्छ । मानौं, नेपालमा बनेका जुत्ता कुनै व्यापारीले बजारमा बेच्छ भने उसले नेपाली उद्योगलाई सहयोग गर्छ । यस्तो पुँजी उत्पादक/राष्ट्रिय पुँजीको अंग बन्छ । तर चीन वा भारतमा बनेका जुत्ता नेपालमा बेच्छ भने त्यस व्यापारले चीन वा भारतकै उद्योगलार्ई सेवा गर्छ, लगानीको त्यो अंश दलाल हो । त्यस्तै, सबै विदेशी लगानी वा पुँजी दलाल हुँदैन । बरु उक्त लगानी के कुरामा लगानी हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जुन पुँजी उत्पादक पुँजीको चरणबाट गुज्रिन्छ वा जुन पुँजीले यहाँ रोजगारी सृजना गर्छ वा नेपालको उत्पादक क्षमता बढाउँछ, त्यो उत्पादक पुँजी हो भने जुन विदेशी पुँजीले उत्पादक क्षमतालाई बढाउँदैन, त्यो अनुत्पादक वा दलाल हुन्छ ।

व्यापार मालको मात्रै होइन, मुद्रा (पैसा) को पनि हुन्छ । ब्याङ्क वा साहूहरूले पैसाको किनबेच गर्छन् । मानौं, १ लाख रुपैयाँ ऋण दिएर वर्षको अन्त्यमा १ लाख १५ हजार लिन्छन् भने त्यहाँ पनि नाफा त हुन्छ तर पैसाको किनबेचले मात्रै उपयोग मूल्य बढ्दैन । फेरि, यदि त्यही ब्याङ्कले उद्योगलाई ऋण दिन्छ भने त्यसले रोजगारी दिन्छ र वास्तविक मूल्य उत्पादन गर्छ, त्यसैले त्यो लगानी उत्पादक पुँजी हुन्छ । नेता वा राजनीतिको आडमा सम्पत्ति कमाउनेहरू दलाल पुँजीपति नै हुन्, किनकि उनीहरूको आयको स्रोत दलाली हो । त्यस्तै, न्यायाधीश, कर्मचारी, सुरक्षा निकायका हाकिमहरूले ‘काम गरिदिएर’ अकुत पैसा लिन्छन्; काला बजारिया र ‘सेटिङ’ का ठेकेदारहरूले पनि त्यसरी नै राष्ट्रिय ढुकुटी लुट्छन् । त्यस्तो आय उत्पादक पुँजीको चरणबाट नगुज्रिने हुँदा ती सबै रूपहरू अनुत्पादक वा दलाल हुन् ।

हामीकहाँ विकास र समृद्धिका समस्याको चर्चा गर्दा वित्तीय पुँजी, नोकरशाही (ब्युरोक्रेटिक) पुँजी, कुत खाने (रान्टियर) पुँजी, आफन्ती (क्रोनी) पुँजी, क्यासिनो पुँजी, एकाधिकार पुँजीजस्ता शब्दहरू प्रयोग गरिएका छन् । तर वित्तीय पुँजीले यसको उत्पादक शक्तिलाई क्षय गर्ने चरित्रलाई बताउँदैन । नोकरशाही पुँजीले कर्मचारीको मिलेमतोमा गरिने भ्रष्टाचारलाई मात्रै बताउँछ । क्रोनी पुँजीवादले मूलतः नातेदारी र आफन्तवादलाई जोड दिन्छ । क्यासिनो पुँजीवादले अर्थतन्त्रका खासखास अवस्थामा पुँजीपतिको जुवाडे चरित्रलाई बढी चित्रण गर्छ । एकाधिकार पुँजीवादले स्वामित्वको रूपमा बढी जोड दिन्छ । वस्तुतः अनुत्पादक पुँजीको स्रोत श्रमशक्तिको विकास नगर्ने पुँजी हो । त्यसैले त्यसको आधारभूत चरित्र अनुत्पादक नै हो । व्यापारमा आधारित नाफा, ब्याज वा सूदमा आधारित नाफा, राजनीतिक पार्टीका आडमा नेता–कार्यकर्ताहरूले प्राप्त गर्ने सम्पत्ति, कर्मचारीले कमाउने सम्पत्ति, नातेदारीका आधारमा थुपार्ने सम्पत्ति मूलतः बिचौलिया/दलालकै कारणले प्राप्त गर्ने नाफा हो । नाफाका यी सबै रूपहरूलाई दलाल पुँजीवाद भन्नु उपयुक्त हुन्छ ।

त्यस्तो पुँजीले अर्थतन्त्र मात्रै होइन, यहाँको राजनीतिलाई पनि आफूअनुकूल बनाउँछ । निर्वाचन, न्याय प्रणाली, कर्मचारीतन्त्र, राजनीतिक दलहरू, नेता–कार्यकर्ताको सम्बन्ध सबैमा आफ्नो अनुकूल व्यवस्था बनाउँछ । त्यसरी समाज र राजनीतिमा विस्तारित भएको दलाल पुँजीको वर्चस्वलार्ई हामी दलाल पुँजीवाद भन्छौं ।

हाम्रो अर्थतन्त्र : राष्ट्रिय र दलाल पुँजी

नेपालमा आधुनिक उद्योगको सुरुआत भएको ८० वर्षभन्दा बढी भैसकेको छ तर आज पनि राष्ट्रिय अर्थतन्त्रमा उद्योगको योगदान किन जम्मा ६ प्रतिशत मात्रै छ ? हामीकहाँ दलाल पुँजीको वर्चस्व छ भन्नुको अर्थ राष्ट्रिय पुँजी नै छैन त ? यी प्रश्नका उत्तर पनि मार्क्सको पद्धतिका आधारमा खोज्न सकिन्छ । मार्क्सले व्याख्या गरेको यो पद्धतिले स्वयं पुँजीवादी मुलुक पनि औद्योगिक पुँजीको हिसाबले किन पछौटे नै रहिरहन्छ भन्ने विषयमा प्रकाश पार्छ ।

क) पुँजीको साधारण पुनरुत्पादन : पुँजी उत्पादन तथा पुनरुत्पादनका प्रक्रियाका दुइटा चरण हुन्छन्— साधारण पुनरुत्पादन र विस्तारित उत्पादन । पुँजीले उत्पादनको हरेक चरणमा निश्चित मात्रामा नाफा कमाउँछ तर अर्को चरणको उत्पादनभन्दा अगाडि नै त्यो नाफाको सबै अंश आफ्नो उपभोग र ज्याला आदिमा खर्च हुन्छ र त्यही प्रक्रिया दोहोरिइरहन्छ भने त्यसलाई मार्क्सले साधारण पुनरुत्पादन भन्छन् । यसअन्तर्गत हरेकपटक उत्पादन त हुन्छ तर निजी उपभोगमै सकिन्छ, पुनः लगानी गर्दा पनि त्यही परिमाणमै लगानी गर्नुपर्ने हुन्छ । जस्तै, एउटा पुँजीपतिले १००० रुपैयाँ लगानी गरेर एउटा उद्यम सुरु गर्‍यो र अन्त्यमा ५०० रुपैयाँ बढी उत्पादन गर्‍यो, त्यसरी ऊसँग १५०० रुपैयाँ भयो । त्यसमध्ये १५० रुपैयाँ श्रमिकलाई ज्याला दियो र लगानीको ब्याजसहित ३५० रुपैयाँ आफ्नो निजी उपभोगका लागि खर्च गर्‍यो । अर्को अर्थमा, नाफाजति खर्च गर्‍यो भने ऊसँग अब फेरि १००० रुपैयाँ नै बाँकी रहन्छ । उसले फेरि त्यो १००० रुपैयाँ लगानी गरेर उत्पादन गर्छ र १५०० रुपैयाँ पुर्‍याउँछ । अर्को पटक पनि १५० रुपैयाँ ज्याला र ३५० रुपैयाँ आफ्नो निजी उपभोगका लागि खर्च गर्छ । यही क्रम पाँच वर्ष चलिरह्यो भने के देखिन्छ भने ऊसँग अझै पनि १००० रुपैयाँ मात्रै बाँकी छ ।

झट्ट हेर्दा के देखिन्छ भने उसलाई केही पनि नाफा भएको छैन, किनकि ऊसँग आरम्भमा जुन पुँजी थियो, त्यही नै बाँकी छ । तर वास्तविकता अर्कै हुन्छ । ती पाँच वर्षमा उसले ७५० रुपैयाँ श्रमिकलाई ज्याला दिएको हुन्छ र १७५० रुपैयाँ निजी उपभोगमा खर्च गरिसकेको हुन्छ । अर्थात्, सुरुको १००० रुपैयाँभन्दा बाहेक २५०० रुपैयाँ बढी उत्पादन भएको छ । यसरी पुनरुत्पादन भैरहेको हुन्छ, नाफा भैरहेको हुन्छ तर पुँजीको मात्रा बढ्दैन, बरु घट्न सक्छ । त्यो साधारण पुनरुत्पादन हो ।

ख) पुँजीको विस्तारित पुनरुत्पादन : साधारण पुनरुत्पादनको विपरीत, विस्तारित पुनरुत्पादनमा उत्पादनको हरेक चरणमा पुँजीको उत्पादन बढी हुँदै जान्छ । मानौं, त्यही व्यक्तिले आफूसँग भएको १००० रुपैयाँ लगानी गर्‍यो र अन्त्यमा बढी ५०० रुपैयाँ उत्पादन गर्‍यो । त्यसमध्ये १५० रुपैयाँ ज्याला दियो, २५० रुपैयाँ निजी उपभोगमा खर्च गर्‍यो भने अन्त्यमा ऊसँग ११०० रुपैयाँ बाँकी भयो । माथि भनिएको साधारण पुनरुत्पादनका क्रममा ऊसँग हरेक नयाँ चरणको लगानीका लागि १००० रुपैयाँ मात्रै हुन्थ्यो भने अब पहिलेको १००० मा १०० रुपैयाँ थपियो । अर्थात्, पहिलो वर्ष १०० रुपैयाँ (१० प्रतिशत) बढी नाफा भयो । हरेक वर्षको नाफामा १० प्रतिशत नाफा जोडिँदै जान्छ र पाँच वर्षको अन्त्यमा ऊसँग जम्मा १६१० रुपैयाँ हुन्छ । यसरी पाँच वर्षमा उसले आफ्नो सुरुको लगानी (१००० रुपैयाँ) बाहेक पनि अब त्यही व्यवसायबाट आर्जन गरेको पुँजी ६१० रुपैयाँ रहन्छ । यसरी पुँजीको पुनरुत्पादन विस्तारित रूपमा हुन्छ । यस्तो प्रक्रियालाई मार्क्सले विस्तारित पुनरुत्पादन भनेका छन् ।

माथिको ढाँचामा नेपालको उत्पादनलाई हेर्दा, हाम्रो औद्योगिक पुँजीको विकास साधारण पुनरुत्पादनका रूपमा भएको छ । हाम्रा उद्योगमा केही न केही उत्पादन त हुन्छ, तर त्यो स्वयं पुँजीपतिको उपभोग, तलब, कर, चन्दा वा घूस आदिमै खर्च हुन्छ, सकिन्छ । पुनर्लगानी गर्दा पुँजीको मात्रा बढ्दैन, किनकि पुँजीपतिले बढी पुनर्लगानी गर्नका लागि नाफा वा बचत पाएको हुँदैन । हाम्रो राजनीतिले उद्योगीले नाफा कमाउने र त्यो नाफालाई पुनर्लगानी गर्ने व्यवस्था बनाएन ।

अर्कातर्फ, अनुत्पादक वा दलाल पुँजीको विकास विस्तारित पुनरुत्पादनका रूपमा भएको छ । यो बढेको–बढ्यै छ । अर्थात्, राजनीतिक व्यवस्थाले दलाल पुँजीको पुनरुत्पादनलाई, पुँजीलाई संरक्षण दियो । यस्तो पुँजी जतिजति बढ्दै छ, त्यतित्यति राजनीतिक पार्टीहरू, राजनीति र राज्य दलाल पुँजीको कब्जामा पर्दै गए । आज हामीकहाँ यही भइरहेको छ । केही उदारवादी अर्थशास्त्रका बौद्धिकहरूले पनि बेला–बेलामा यस्ता तथ्यमाथि प्रकाश पारेका छन्, तर राजनीतिक समुदायले यसलाई देख्दै देखेन वा देखेर पनि नदेखेझैं गर्नुमै आफ्नो हित देख्यो ।

के छ उपाय ?

माथिको सन्दर्भले के देखाउँछ भने, नेपालले लिनुपर्ने आजको बाटो दलाल पुँजीको ठाउँमा राष्ट्रिय पुँजीको विकास हो । त्यसको अर्थ पुनरुत्पादनको प्रक्रियालाई उल्ट्याउने हो । अर्थात्, औद्योगिक पुँजीलाई विस्तारित पुनरुत्पादनमा लैजाने र दलाल वा अनुत्पादक पुँजीको विकासलाई साधारण पुनरुत्पादनमा सीमित गर्ने हो ।

हाम्रा सबै योजनाको मुख्य उद्देश्य हाम्रो पछौटे श्रमलाई उद्यमशील श्रममा रूपान्तरण गर्नु हो । यसका लागि ठोस कार्यक्रम आवश्यक हुन्छ । त्यस कार्यक्रममा मुख्यतः कृषिलाई उद्योगमा ल्याउँदै र उद्योगको बचतलाई फेरि झन् विस्तारित औद्योगिकीकरणमा लैजाने, त्यस क्रममा उत्पादनका अन्य क्षेत्र र वितरणको व्यवस्थालाई प्रभावकारी बनाउँदै जाने आदि योजना हुनेछन् । संविधानमा उल्लेख गरिएझैं, सार्वजनिक, सहकारी र निजी क्षेत्रलाई योजनाबद्ध र प्रभावकारी रूपमा विकास गर्दै जाने; औद्योगिक पुँजीको विस्तारित पुनरुत्पादनका लागि आवश्यक पर्ने शिक्षा तथा स्वास्थ्य प्रणाली, कर्मचारीतन्त्र, संसदीय तथा कानुनी व्यवस्था र न्यायालय तथा प्रशासन निर्माण गर्नेजस्ता योजनाहरू पर्छन् । संक्षेपमा यो राजनीति र समाजलार्ई नै उत्पादक राजनीति र समाजमा बदल्ने कार्यक्रम हुनेछ ।

तर, यस लेखको सुरुमै उल्लेख गरिएझैं, दलाल पुँजी आर्जन गर्नु नै हाम्रो राजनीतिको मुख्य प्रवृत्ति हुन पुग्यो । त्यस्तो राजनीतिले उत्पादक पुँजी विकासको ढोका खोल्नै दिँदैन । दलाल राजनीतिले पार्टीहरूलाई आफूअनुकूल बनाउँछ । अर्थात्, दलालीकै आधारमा चल्ने पार्टीहरूको पुनरुत्पादन गर्छ; त्यसले त्यस्तै सांसद, न्यायाधीश र राज्यका अरू निकाय खोज्छ र दलाल राज्य व्यवस्थाको पुनरुत्पादन गर्छ । त्यसैले दलाल/अनुत्पादक पुँजीको पुनरुत्पादनको दुश्चक्र रोक्न सक्ने र उत्पादक पुँजीको पुनरुत्पादनको कार्यक्रम बोक्न सक्ने राजनीतिक पार्टीको निर्माण गर्नु आजको राजनीतिको मुख्य कार्यभार हो ।

अन्त्यमा, दलाल पुँजीवाद हाम्रो वर्तमान मात्रै होइन, बरु सिंगो आधुनिक इतिहास हो । यसलार्ई नरोक्ने हो भने त्यो हाम्रो भविष्य पनि हो, नियति हो । सबै मुख्य पार्टीहरू अहिले आ–आफ्ना महाधिवेशनको मुखमा छन् । ती मञ्चहरू राजनीतिलाई दलाल पुँजीवादको कब्जाबाट मुक्त गर्नेतर्फ कति सार्थक हुन्छन् भन्ने कुराले नेपालको आगामी दिशानिर्देश गर्नेछ ।

प्रकाशित : आश्विन १४, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?