मुटुलाई मुटुको सम्पर्कमा राखौं

मानव जातिलाई एकअर्कासँग जोडेर राख्ने मुटुले नै हो । यो समाज मुटुकै कारण टिकेको छ । तसर्थ मुटुलाई सधैं मुटुको सम्पर्कमा राख्नु ज्यादै आवश्यक छ ।
अवनिभूषण उपाध्याय

संसारभरि लगभग ५२० मिलियन मानिस मुटु रोगले प्रभावित छन् । बर्सेनि १७.९ मिलियन मानिसको ज्यान मुटुसम्बन्धी रोगहरूकै कारण जाने गरेको छ । मुटु रोगको उपचार ज्यादै कठिन र खर्चालु हुने अनि धेरैजसो मानिसले यो धान्न नसक्ने भएकाले रोग लाग्नै नदिनु राम्रो उपाय हुन्छ ।

मुटुलाई मुटुको सम्पर्कमा राखौं

यही पक्षलाई ध्यानमा राखी विश्व मुटु संगठनका तत्कालीन अध्यक्ष एन्टोनी बाए डे लुनाले हरेक वर्ष मुटु दिवस मनाउने चलनको सुरुवात गरे । यो दिवस २०११ सम्म सेप्टेम्बरको अन्तिम आइतबार मनाउने चलन थियो, जुन अहिले सेप्टेम्बरकै २९ तारिखमा सरेको छ ।

मुटु रोग अब धनीहरूको वा विकसित देशहरूको रहेन, हाम्रो जस्तो विकासोन्मुख देश, गरिब देशहरूमा यो झन् बढ्दै गइरहेको छ । तैपनि मुटु रोगको एउटा राम्रो पक्ष छ, यसबाट बच्न सकिन्छ । धूमपान, मद्यपान, उच्च रक्तचाप, मधुमेह, मोटोपन, कम व्यायाम, धेरै तनाव, फलफूल नखाने बानी त्याग्न सके यो रोगबाट बच्न सकिन्छ भनेर पश्चिमा देशहरूले देखाइसकेका छन् ।

कोभिड र मुटु रोग

कोभिड–१९ ले मुटु रोगी समुदायलाई नराम्रो असर पारेको छ । कोभिडको कडा असर यही समुदायमा देखिने भएकाले यसप्रति समाजले विशेष ध्यान दिनु जरुरी छ । विश्व मुटु संगठनले पनि कोभिडका कारण मुटुमा पर्ने प्रभावको अध्ययन छुट्टै कमिटी बनाएर गरिरहेको छ ।

कोभिडकालमा कति मुटु रोगीले नियमित स्वास्थ्य परीक्षण गर्न पाएका छैनन्, आफन्त र साथीभाइसँग भेटघाट भएको हुन सकेको छैन, शारीरिक व्यायाम पनि कम भएको छ । यस्तो परिस्थितिमा मुटु रोग झन् बढ्दै जान्छ । कोभिडबाट विजय पाउन मुटुसँग मुटुको सम्पर्क अनिवार्य छ । यही भएर यस पालिको विश्व मुटु दिवसले आफ्नो मुटु साक्षी राखेर कोभिडविरुद्ध खडा हुन आह्वान गरेको छ ।

कोभिडले आफूले गर्ने क्षतिबाहेक दीर्घरोगीहरूलाई, औषधि सेवन गरेर स्वास्थ्य ठीक राखिरहेकाहरूलाई झन् दुःख दिने गरेको छ । उच्च रक्तचाप र मधुमेह भएका मानिसलाई कोभिडबाट धेरै नराम्रो असर परेको छ । कोभिड लागे रक्तचाप घटबढ हुने, मधुमेहमा चिनीको मात्रा तलमाथि भइरहने जस्तो अस्थिरता आउँछ, जसले गर्दा उपचारमा कठिनाइ हुन्छ; बचाउनै नसकिने अवस्थासम्म पुर्‍याउँछ । हृदयाघात, एक्युट कोरोनरी सिन्ड्रोममा पनि यसले धेरै नकारात्मक असर पार्छ । हृदयाघातमा बढ्ने ट्रोपोनिन हर्मोन (जो मुटुको मांसपेशीमा असरका कारण बढ्ने गर्छ) कोभिडले गर्दा पनि बढ्ने गरेको पाइयो । हृदयाघातको उपचारका लागि गर्नुपर्ने कैयौं टेस्ट कोभिड हुँदा गर्न कठिनाइ हुन्छ ।

कोभिडका कारण हार्ट फेल्योरका बिरामीमा पनि नराम्रो असर देखिएको छ । साधारणतः हार्ट फेल्योरमा मृत्युदर २.३ प्रतिशत हुन्छ भने कोभिड भएकालाई यो १०.५ प्रतिशतसम्म बढ्न जान्छ, जुन ज्यादै ठूलो संख्या हो । बाथ मुटु रोगमा समेत यसको असर पाइएको छ । मुटुको चालमा कोभिडको असरले गर्दा सडेन कार्डियाक अरेस्ट (एकै चोटि मुटु बन्द हुने) हुन सक्छ । त्यस कारण कोभिड भएका बिरामीको मुटुको चालमा गडबडी देखियो भने विशेष ध्यान दिएर सघन उपचार कक्षमा चौबीसै घण्टा मनिटर गरेर हेर्नुपर्ने हुन्छ । त्यस्तै, सुरुसुरुमा कोभिडले केटाकेटीलाई कम असर गर्छ भन्ने मान्यता थियो, जुन समयसँगै गलत साबित हुँदै छ । कोभिडका कारण केटाकेटीमा पनि मुटुको जटिल अवस्था देखिएको छ ।

यो कोभिडकालमा त्यसैले स्वास्थ्य जटिलता ननिम्तियोस् भनेर हात धुने, एकअर्काबीच आवश्यक दूरी राख्ने, मास्क लगाउने, सकेसम्म घरमै बस्ने, ज्यादै जरुरी काम भए मात्र सावधानीका उपाय अपनाएर घरबाहिर निस्कने गर्नुपर्छ । मुख र आँखातिर बेलाबेलै हात लैजाने बानी त्याग्ने, खोकी वा हाच्छ्युँ आएका बेला मुख ढाक्ने गर्नुपर्छ । यति गर्दा पनि केही बिसन्चो अनुभव भयो भने यथाशीघ्र चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

मुटु रोगबाट बच्न

शारीरिक गतिविधि : हप्तामा कमसेकम पाँच दिन आधा घण्टा ठीकै खालको व्यायाम गरौं । कुनै खेल खेले पनि हुन्छ, नाचे पनि हुन्छ, मजाले हिँडे पनि हुन्छ । घरको काम गर्नाले पनि व्यायाम पुग्छ । सम्भव भएसम्म शारीरिक परिश्रम नै गर्ने बानी गरौं, भरसक लिफ्टको उपयोग नगरेर भर्‍याङको उपयोग गरौं । साइकल चढेर पुग्ने ठाउँमा मोटर नचढौं । सकिने व्यायाम गरौं । योग र ध्यान गरौं ।

धूमपान परित्याग : चुरोट छोड्नु स्वास्थ्य राम्रो पार्ने पहिलो कदम हो । २ वर्ष चुरोट छोडेपछि मुटु रोग धेरै घट्ने गरेको छ । चुरोट छोडेको १५ वर्षमा चुरोटै नखाएको मानिससरह स्वस्थ भइन्छ । अरूले खाएको चुरोटले पनि नराम्रो असर गर्ने भएकाले, सकेसम्म चुरोट खाने बानी लगाउँदै नलगाऔं, लागिहाले भने जतिसक्दो चाँडो छाडौं । आफूले मात्र कोसिस गरेर चुरोट खाने बानी हटाउन सकिएन भने विभिन्न निकायबाट आएका उपायहरू अपनाएर पनि चुरोट चाहिँ छोडौं । चिकित्सकको सहयोग लिएर भए पनि यो कुलतबाट टाढै बसौं ।

स्वस्थ खाना : गुलियो पेय पदार्थ छाडिहालौं, त्यसको सट्टा सफा पानी पिउने गरौं । मिठाइ खाने ठाउँमा फलफूल खाने चलन चलाऔं । सकेसम्म मुठीभरि अटाउने फलफूलहरू दिनको पाँच पटकसम्म खाने गरौं । फलफूल ताजा भए पनि हुन्छ, सुकाएको भए पनि हुन्छ । मद्यपान गर्दै नगरौं, गर्नैपरे आफ्नो शारीरिक अवस्था ख्याल राखी चिकित्सकको सल्लाहअनुसार मात्र पिउने गरौं । बजारिया पोके खानाभन्दा घरमै तयार पारिएको खाना खाने चलन चलाऔं ।

मुटु यस्तो अंग हो, जसले जीवनको सुरुवात गर्छ र अन्त्य पनि । हामी मानव जातिलाई एकअर्कासँग जोडेर राख्ने मुटुले नै हो । यो समाज मुटुकै कारण टिकेको छ । तसर्थ मुटुलाई सधैं मुटुको सम्पर्कमा राख्नु ज्यादै आवश्यक छ । कोभिड महामारीले पनि मानिस–मानिस सम्पर्क कति जरुरी रहेछ भनेर बुझाएको छ ।

(उपाध्याय वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।)

प्रकाशित : आश्विन १३, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?