युरोप बन्ला संयुक्त राज्य ?

एकल मुद्रा र राज्य–राज्य सीमा निष्क्रिय रहेकाले युरोपेली आयोगलाई यसका पक्षधरहरूले संयुक्त राज्य युरोपको व्यावहारिक संरचनाका रूपमा लिने गर्छन् ।
उमाकान्त गिरी

सन् १९४४ मा युरोपका तीन राज्य, बेल्जियम, नेदरल्यान्ड र लक्जेम्बर्ग मिलेर बेनेलक्स नामक आर्थिक–राजनीतिक संघ बनाएका थिए । बेनेलक्ससँगै सन् १९५१ मा तत्कालीन पश्चिम जर्मनी, फ्रान्स र इटली मिलेर युरोपियन कोल एन्ड स्टिल कम्युनिटी बनाई सहकार्यको सुरुआत गरेका थिए । पछि यही कम्युनिटी युरोपियन इकोनोमिक कमिसन बन्यो, जसलाई आजकल युरोपेली आयोग भनिन्छ । ३ बाट ६ अनि १२ हुँदै हाल युरोपेली आयोगमा २५ देश छन् । 

युरोप बन्ला संयुक्त राज्य ?

क्षेत्रीयता आजको आवश्यकता हो भन्नेहरू, एक दिन युरोपेली आयोग संयुक्त राज्य युरोपमा परिणत हुन्छ भन्ठान्छन् । कट्टर राष्ट्रवादीहरूले भने, संयुक्त राज्य सम्भव छैन, बेलायतजस्तै अरू राष्ट्रले पनि बिस्तारै आयोग छोड्छन् भन्ने अडकल काटिरहेका छन् । एकल मुद्रा र राज्य–राज्य सीमा निष्क्रिय रहेकाले युरोपेली आयोगलाई यसका पक्षधरहरूले संयुक्त राज्य युरोपको व्यावहारिक संरचनाका रूपमा लिने गर्छन् ।

नेपोलियन बोनापार्टले, आफू युद्धमा पराजित भएपछि, युरोप सैनिक कारबाहीबाट नभई शान्ति प्रक्रियाबाट सिंगो राष्ट्र हुन सक्छ भनेर लख काटेका थिए । इटालीको एकीकरण सम्पन्न भएपछि जुसेपे मेजिनीले उक्त अभियानले निरन्तरता पाउँदै जाने हो भने संयुक्त राज्य युरोप यथार्थ हुन सक्ने भविष्यवाणी गरेका थिए । यसैका लागि उनले योङ युरोप मुभमेन्ट सुरु पनि गराएका थिए । त्यस्तै, पेरिसमा सन् १९४९ मा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भिक्टर ह्युगोले संयुक्त राज्य युरोपको पक्षमा वकालत गरेका थिए । उनको भनाइसँग इटालीकै दार्शनिक कार्लो कातानेओ र एकीकरणकर्ता जुसेपे गेरिबाल्डीसमेत सहमत थिए । १ मार्च १८७१ मा बोलाइएको फ्रेन्च नेसनल एसेम्ब्लीले त संयुक्त राज्य युरोप होस् भनेर आह्वान नै गरेको थियो ।

प्रथम विश्वयुद्धमा युरोपमा भएको धनजनको नोक्सानीबाट विरक्तिएर अस्ट्रियाका माउन्ट रिचार्डले युरोप मुभमेन्ट सुरु गर्ने भनेर सन् १९२६ मा भियनामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरे । उदारवाद, क्रिस्चियनवाद र सामाजिक जिम्मेवारीलाई एकीकरणका आधारका रूपमा अर्थ्याएका थिए । रुसको बोल्सेभिक क्रान्तिअगाडि नै ट्रोटस्कीले पनि संघीय गणतन्त्र युरोपको अवधारणा अघि सारेका थिए । प्रथम विश्वयुद्धपश्चात् बनेको लिग अफ नेसन्सले ब्रायन्ड भन्ने व्यक्तिलाई उक्त अवधारणाअनुसारको संघीय युरोपको ढाँचा तयार गर्न अनुरोधसमेत गरेको थियो, पछि एकता मेमोरेन्डम तयार पनि भयो । युरोपेली उपमहाद्वीप सधैं युद्धको स्रोत भएको भन्दै बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले बेलायतको संलग्नताबिना सिंगो युरोपलाई एक राष्ट्र बनाएमा विश्वमा शान्ति कायम हुन नसक्ने भनी द स्याटरडे इभिनिङ पोस्टमा लेख लेखेका थिए ।

सन् १९४० मा जर्मन सम्राट् विलियम द्वितीयले जर्मनीको नेतृत्वमा युरोपको संयुक्त राज्य बन्ने र विश्वमा शान्ति र नयाँ व्यवस्था कायम हुने घोषणा गरेका थिए । सन् १९५० को दशकमा युरोपेली स्वतन्त्र व्यापार संघ र युरोपेली आर्थिक समुदाय, योजना कार्यान्वयनमा आए । सन् २००० मा जर्मन विदेशमन्त्री जोस्का फिसरले सिंगै युरोप एक संघ हुनुपर्छ, र नागरिकले जनप्रतिनिधिहरू प्रत्यक्ष निर्वाचनबाट छान्न पाउनुपर्ने प्रस्ताव राखेका थिए । त्यसैमा आधारित भएर युरोपेली सुपरस्टेटको प्रस्तावलाई निस सन्धिका रूपमा प्रस्ताव गरिएको थियो, जुन बेलायतको विरोधका कारण अनुमोदन हुन सकेन ।

अहिले युरोपेली आयोगभित्रका राष्ट्रहरूको सुरक्षा नीति, न्याय प्रणाली र कानुनी व्यवस्था उस्तैउस्तै छ । युरो झन्डै युरोपका प्रायः राष्ट्रको एकल मुद्रा बनेको छ । तर, सिंगो युरोपको एउटै संविधान–सरकार, एकल परराष्ट्र र कर नीति अनि न्याय प्रणाली छैन । त्यसै गरी युरोपेली स्पेस एजेन्सी र युरोपियन कोर्ट अफ ह्युमन राइट आयोगभित्र आउन सकेका छैनन् ।

युरोपियन फेडरलिस्ट अर्गनाइजेसन, युनियन अफ युरोपियन फेडरलिस्ट, युरोपियन मुभमेन्ट इन्टरनेसनल, युरोपियन फेडरलिस्टलगायत संघ–संगठनहरू ‘युरोप संघीय राष्ट्र हुनुपर्छ’ भन्ने अभियानमा छन् । बेल्जियमका पूर्वप्रधानमन्त्री गाय भेरओफस्टाड, जर्मन सोसल डेमोक्रेटिक पार्टीका मार्टिन सुन्च्जलगायत पनि यसै अभियानमा छन् । यसैबीच सन् २०१६ मा जनमत संग्रहमार्फत बेलायतले युरोपली आयोग छोडेको औपचारिक घोषणा गरेको थियो ।

सन् २०१३ मा युरो ब्यारोमिटरले संयुक्त राज्य युरोपको ढाँचाबारे गरेको सर्वेक्षणमा युरोपका ६९ प्रतिशत सहभागीले संयुक्त राज्य युरोपको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिनुपर्ने र ४६ प्रतिशतले युरोपको सेना संयुक्त हुनुपर्ने भनेका छन् । सर्वेक्षणका दुईतिहाइ सहभागीले युरोपको बेग्लै परराष्ट्र नीति हुनुपर्ने र ५० प्रतिशतभन्दा बढीले युरोपको आफ्नै सुरक्षा प्रणाली हुनुपर्ने जिकिर गरेका छन् । ४४ प्रतिशत सहभागीले युरोप संघीय प्रणालीमा जानुपर्ने भनेका छन् भने ३३ प्रतिशत यसविरुद्ध उभिएका छन् । नोर्डिक राष्ट्रहरू एकल युरोपेली राष्ट्रको विपक्षमा छन् । आयोगका हालका सदस्यराष्ट्रहरूका ५६ प्रतिशत जनता संयुक्त राज्य युरोपको पक्षधर देखिएको विभिन्न अध्ययनले देखाइरहेका छन् । संयुक्त राज्य युरोपबारे जनस्तरमा बहस भइरहेकै छ । यसको छिनोफानो समयले नै गर्ला ।

प्रकाशित : आश्विन १०, २०७८ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?