नेताहरूको छुद्र वाणी : अब यहीँ रोकियोस्- विचार - कान्तिपुर समाचार

नेताहरूको छुद्र वाणी : अब यहीँ रोकियोस्

सम्पादकीय

अचेल नेपाली नेताहरू, तिनमा पनि शीर्ष भनिएका अगुवा नेताहरूको भाषण सुन्यो भने लाग्छ— उनीहरू कुनै तर्क, विवेक, दृष्टिकोण र योजना नभएका मामुली झगडियासिवाय केही होइनन् ।

एक महिनायता उनीहरूले सार्वजनिक भाषणमा एकअर्काविरुद्ध प्रयोग गरेका, अझ बारम्बार दोहोर्‍याएका केही शब्दहरू हेरौं— ‘कुहिएको फर्सी’, ‘कुपात्र’, ‘मगन्ते’, ‘फोहोरको झिँगा’, ‘राक्षस’, ‘बेइमान’, ‘बाँदर’, ‘छट्टु’, ‘गद्दार’, ‘देशद्रोही’, ‘संसारमै सबैभन्दा लाजसरम पचेको मान्छे’, ‘धोकेबाज’, ‘दिमागमा गोबर भरिएको मान्छे’, ‘हरिया साँपहरू’, ‘भैंसी र भेडाभन्दा पनि काम नलाग्ने मान्छे’ आदि । नेताहरूलाई ‘प्रिय’ लाग्न थालेका यस्ता शब्द सबै राख्ने हो भने सूची निकै लामो हुन्छ । अझ कतिपय शब्द त शब्दकोशमै नभेटिने र कुनै गाली त यहाँ उद्धृतसम्म गर्न नमिल्ने किसिमका हुन्छन् । हामीले गत साता यस सम्बन्धमा एउटा समाचार सामग्री छापेका थियौं, त्यसै दिन शीर्ष तहलाई सायद झनै ‘फुर्‍यो’ होला, भाषणहरूमा थप चर्को उत्तेजना सुनियो । यसबाट स्वाभाविक प्रश्न उठ्छ, हाम्रा नेताहरूले किन आफैंले आफूलाई यसरी झन्झन् तल गिराउँदै गएका हुन् ? यसले समाजमा कुन स्तरको नकारात्मकता फैलाउँदै छ ?

गाली–शिरोमणि बन्ने यो प्रतिस्पर्धामा खास गरी वामपन्थी नेताहरू अगाडि देखिन्छन् । यो मामिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त ‘महारथ’ नै हासिल गरेजस्तो भान हुन्छ, उनका हरेकजसो सार्वजनिक अभिव्यक्ति सुन्दा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नवगठित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि यो होडबाजीमा ओलीलाई नेता मानेर पछ्याउँदै दगुरेको देखिन्छ । जहाँसम्म प्रधानमन्त्री शेरबहादुर देउवाको कुरा छ, उनीचाहिँ चाहिएजति पनि बोल्दैनन् (र, काम पनि गर्दैनन्), त्यसैले शीर्ष नेताबीच चलिरहेको यो प्रतिस्पर्धाबाट संयोगवश अलि बाहिरै छन् । तर उनले पनि सार्वजनिक मञ्चबाटै हप्काएको र अनावश्यक रूपमा रिसाएको भिडियो बेलाबखत भाइरल भइरहेकै हुन्छ ।

प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तित्वहरूबाट छुद्र वाणीको बौछार आफैंमा दिक्कलाग्दो कुरा हो । उनीहरू राजनीतिक दलका प्रमुख मात्र होइनन्, समाजलाई बाटो देखाउनुपर्ने अगुवासमेत हुन् । उनीहरू सिद्धान्ततः जनताले आदर र श्रद्धा गर्नुपर्ने जिम्मेवारीमा छन् । तर त्यहीँबाट बारम्बार गाली र घृणा प्रवाह भएपछि सर्वसाधारणले के सिक्ने ? नयाँ पुस्ताले के अनुकरण गर्ने ? समाजले त्यस्तो नेतृत्वलाई किन मान्ने ? विडम्बना त के भएको छ भने, दोस्रो तहका नेताहरूले पनि त्यही दुर्गुण सिक्न थालेका छन् । बिस्तारै यो प्रवृत्ति पार्टी पंक्तिको तल्लो तहसम्मै पुग्दै छ । आखिर कार्यकर्ताले पनि उपल्ला नेताहरूकै बोली, व्यवहार र शब्द टिप्ने हुन् । नकारात्मकताको यो चक्रीय प्रभावबाट समग्र समाज प्रभावित हुन थालेको छ । त्यसै पनि नेपाली समाज परम्परा र आधुनिकता, गाउँ र सहर, राम्रो र नराम्रोको जटिल संक्रमणबाट गुज्रिरहेको छ । यो जटिलताको आगोमा नकारात्मकताको घिउ थप्ने काम राजनीतिक नेतृत्व तहबाटै हुनु सबभन्दा घातक कुरा हो ।

अधिकांश नेताको भाषणमा अचेल एकअर्काविरुद्ध गाली र तुकहीन आरोपको अंश बढ्दै गएको छ । कतिपयले चाहिँ आफ्ना निजी कुण्ठा पोख्ने र तल्लो तहमा झरेर अर्काको खिसीटिउरी गर्ने गरेका छन् । कसैको बोलीमा आफ्नो असफलता र ईर्ष्यामिश्रित आक्रोश पनि झल्कन्छ । यो सबैबाट मूलतः समाजमा घृणा फैलाउने काम नै भइरहेको छ । कतिपय नेताको उटपट्याङ र हावादारी कुराले मानिसहरूलाई नराम्रोसँग दिग्भ्रमित पनि पारिरहेको छ । समग्रमा सार्वजनिक मञ्च र माइक पाएपछि जे पनि बोल्ने प्रवृत्ति हामीकहाँ झाँगिएको छ । महिला, जनजाति र मधेसीलाई होच्याएर बोल्ने क्रम पनि रोकिएको छैन । अझ यस्तो प्रवृत्ति संसद्भित्रको बहसमा समेत देखिनु आपत्तिजनक छ । यो क्रम यथाशीघ्र बन्द गरिनुपर्छ ।

अहिले युट्युबमा आउने र टिकटकमा छाउने उद्देश्यले चर्का कुरा गर्नेहरू पनि बढेका छन् । यो परिवेशमा समाजलाई सही बाटोतर्फ डोर्‍याउनुपर्ने नेताहरू स्वयं ‘चर्कोवाद’ को सिकार हुनु र चर्को कुरा गरेन भने कसैले सुन्दैन भन्ने मनोविज्ञानतिर आकर्षित हुनु निकै डरलाग्दो विषय हो । यथार्थमा गाली गर्न, आक्षेप लगाउन र घृणा फैलाउन कुनै रचनात्मकता चाहिन्न । यसका लागि केही परिश्रम गर्नुपर्दैन । तर्कका बलमा आफ्नो कुरा राख्न नसकेपछि मुखमा जे आउँछ, त्यही भन्नु सबभन्दा सजिलो काम हो । त्यसका निम्ति कुनै वस्तुगत तयारी गर्नैपर्दैन । कुनै दृष्टिकोण र योजना प्रस्तुत गरिरहने झन्झटै हुँदैन । कार्यकर्तालाई अगाडि राख्यो, चर्को कुरा गर्‍यो, थप्पडी बजाउन लगायो — अहिले भाषण भनेकै यहीजस्तो भएको छ । भावावेशमा मानिसहरूलाई उराल्नुलाई नै राजनीति ठान्ने गल्ती गरिँदै छ । नेताहरू अब यहीँ रोकिनुपर्छ ।

यसै पनि अहिले राजनीतिक दल र त्यसमा पनि नेताहरूप्रति आम रूपमा वितृष्णा छाउन थालेको छ । हामीलाई दल र नेताका बारेमा त समाचार नै नलेखे हुन्थ्यो भनेर सुझाव दिने शुभेच्छुक पाठकहरूको संख्यासमेत बढ्दो छ । निराशाले समाजमा क्रमशः अराजनीतिक सोच बढाइरहेको द्योतक हो यो । यस्तो बेला नेताहरू आफैंले आफ्नो ओज गिराउने र राजनीतिविरोधी जनमत बढाउने गल्ती गर्नु हुन्न । खासमा गैरजिम्मेवारीपूर्ण बोली, हल्काफुल्का अभिव्यक्ति र तथानाम गालीगलौजले नेताहरूको ओज मात्र घटाइरहेको छैन, यसले लोकतान्त्रिक प्रणाली र समग्र समाजकै हुर्मत लिइरहेको छ । त्यसैले यो सिलसिला अब यहीँ बन्द गरिनुपर्छ । शीर्ष नेताहरूले आफ्नो बोली र व्यवहारको आत्मसमीक्षा गर्नुपर्छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

ब्रेन्टफोर्ड र लिभरपुलबीच रोमाञ्‍चक बराबरी

एएफपी

लन्डन — लिभरपुलले दुईपल्ट अग्रता गुमाएपछि इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डले योर्गन क्लोपको टिमलाई रोमाञ्चक ३–३ को बराबरीमा रोकेको छ । यो नतिजापछि शीर्ष स्थानमा लिरभपुलको अग्रता एक अंक मात्र रह्यो ।

यसअघि चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएको स्थितिमा लिभरपुलसामू ३ अंकले अगाडि रहने मौका थियो । तर ब्रेन्टफोर्डले लिभरपुललाई जित्न दिएन ।

एथान पिनोकको गोलले ब्रेन्टफोर्डले घरमा अग्रता लिएपछि डिएगो जोटाले बराबरी गोल फर्काए । मोहम्मद सलाह र कर्टिस जोन्सले भ्रमणकारी टिमलाई दुईपल्ट अग्रता दिलाए । तर भिटाली जनेल्ट र योने विसाले बराबरी गोल गरे ।

सलाहले गरेको गोल प्रिमियर लिगमा लिभरपुलका लागि सयौं रह्यो । बराबरीको नतिजाले उनको कोसेढुंगा उपलब्धि ओझेलमा परेको थियो ।

प्रकाशित : आश्विन १०, २०७८ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×