सामाजिक सञ्जाल र अपराध- विचार - कान्तिपुर समाचार

सामाजिक सञ्जाल र अपराध

बुद्धिप्रसाद सुवेदी

घटना १ : म सिभिल इन्जिनियर हुँ । नचिनेको इमेलबाट कसैले मलाई मेरै नांगो फोटो पठाएर ब्ल्याकमेल गरिरहेको छ । मागे जति पैसा नदिए, मेरो यस्तै भिडियो भाइरल गरिदिने धम्की पनि दिइरहेको छ । लौ न ! मलाई बर्बाद हुनबाट बचाइदिनुपर्‍यो भन्दै एक युवती साइबर ब्युरो आइपुगिन् । केही दिनको अनुसन्धानपछि युवतीकै प्रेमी पक्राउ परे ।

सांकेतिक तस्बिर : रोयटर्स

घटना २ : प्राइभेट बैंकमा कार्यरत युवतीको विवाह हुने तय भइसकेको थियो । विवाहको मितिभन्दा तीन दिनअघि उनको हुनेवाला श्रीमान्को फेसबुकमा ती युवतीको अश्लील भिडियो र तस्बिरसहितको म्यासेज आयो । आफन्त नातागोता विवाहको तयारीमा लागिसकेका थिए, सोही भिडियो र तस्बिरका कारण केटा पक्षले विवाह रद्द गर्‍यो । अनुसन्धानपछि युवती काम गर्ने बैंकका शाखा प्रबन्धक पक्राउ परे ।

घटना ३ : काठमाडौंको एक प्रतिष्ठित निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालनका लागि बनाएको फेसबुक म्यासेन्जर ग्रुपमा सोही विद्यालयकी ८ कक्षामा अध्ययनरत बालिकाको लुगा नलगाएको भिडियो पठाइयो । अनुसन्धानबाट ती बालिकासँग प्रत्यक्ष चिनजान नभएका, फेक फेसबुक एकाउन्टमार्फत जोडिएका ३३ वर्षीय पुरुष पक्राउ परे ।

यी प्रतिनिधि घटनाले, सामाजिक सञ्जालसँग सम्बन्धित कस्ता प्रकृतिका अपराध भइरहेका छन् भनेर केही हदसम्म अनुमान गर्न मद्दत गर्छ । नेपाल प्रहरी साइबर ब्युरोको तथ्यांक हेर्दा, करिब ७६ प्रतिशत अपराध सामाजिक सञ्जालसँग सम्बन्धित छन् । नेपाल दूरसञ्चार प्राधिकरणको हालैको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार २०७८ असारसम्म नेपालमा ३ करोड ९ लाखभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता देखिन्छ, जसमध्ये १ करोड ३० लाखभन्दा धेरै सामाजिक सञ्जालमा आबद्ध छन् । इन्टरनेट पहुँचमा वृद्धि भएसँगै सामाजिक सञ्जालसम्बन्धी अपराध ग्रामीण तहसम्मै फैलिसकेको छ ।

अधिकांश साइबर अपराधको प्रकृति केलाउँदा, प्रेम र यौनसम्बन्ध जोडिन्छ । अशिक्षा, साइबर कानुनको अनविज्ञता, लापरबाहीलगायतका कारण सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधमा उल्लेख्य वृद्धि भइरहेको छ । कलिलै उमेरमा प्रेम सम्बन्ध स्थापित गरेर यौनसम्पर्क गर्ने र त्यसको भिडियो तथा फोटो कैद गर्ने प्रचलन बढिरहेको छ । त्यस्ता फोटा तथा भिडियो सम्बन्ध बिग्रिनासाथ प्रतिशोध साध्ने हतियारका रूपमा प्रयोग भइरहेका छन् । यसैगरी सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेम सम्बन्ध राख्ने र अश्लील फोटो तथा भिडियो आदान–प्रदान गर्ने, भिडियो कलमार्फत एक–अर्काको गोप्य अंग प्रदर्शन गर्नेजस्ता संवेदनशील कार्यले नेपालमा साइबर अपराध बढाइरहेका छन् ।

तुलनात्मक रूपमा ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने र ‘राम्रो परिवार’ मै हुर्किएका भनिएका युवायुवतीहरू सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधको पीडित र पीडक बनिरहेका छन् । लापरबाही तथा ‘केही हुन्न’ भन्ने मानसकिताका कारण कलिलै उमेरमा फौजदारी मुद्दाको भारी बोक्ने अवस्थामा युवा पुस्ता पुगेको छ ।

सामाजिक सञ्जालसँग सम्बन्धित अपराधका कारण सम्बन्धविच्छेद हुने, डिप्रेसनको सिकार हुने र अन्त्यमा आत्महत्यासम्मकै स्थितिमा पुग्ने अवस्था सृजना भइरहेको छ । कतिपय सम्बन्ध सामाजिक सञ्जालका कारण जोडिएका छन्, जुन सकारात्मक छ तर यसले भत्काइदिएका सम्बन्धहरूको फेहरिस्त त्योभन्दा निकै लामो भइसकेको छ ।

कानुनी व्यवस्था

विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ मा उल्लिखित ‘विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने’ भन्ने व्यवस्थाअन्तर्गत सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधको अनुसन्धान गर्ने गरिएको छ । जसमा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले रोक लगाएका वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन तथा प्रदर्शन गर्नुलाई आपराधिक दायित्वअन्तर्गत राखिएको छ ।

यसै गरी कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरूसमेत प्रकाशन–प्रदर्शन गर्न नपाइने भनिएको छ । महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई समेत आपराधिक दायित्वभित्र समेटी अनुसन्धान गरिँदै आएको छ । यी कार्य गर्नेलाई हाम्रो कानुनले ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवैको व्यवस्था गरेको छ ।

कसरी बच्ने ?

नेपालमा धेरैजसो भए/गरेका सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधबाट बच्न सजिलो छ । नचिनेका मानिसलाई सामाजिक सञ्जालमा साथी नबनाउने, प्रेमी–प्रेमिका वा आफ्नै श्रीमान्–श्रीमतीबीच पनि अश्लील तस्बिर तथा भिडियो कहिल्यै नखिच्ने, सामाजिक सञ्जालको पासवर्ड बलियो राख्ने साथै कसैसँग सेयर नगर्ने, अनावश्यक प्रलोभनमा नपर्ने, आफ्नो विद्युतीय माध्यममा आएको कुनै संकेत, अंक वा पासवर्ड नजिककै मान्छे भए पनि सेयर नगर्ने, म्यासेन्जरबाट आउने लिंकहरूलाई नखोल्ने तथा खोलेपछि कुनै विवरण माग गरेमा नदिनेलगायत विषयमा ध्यान दिए, साइबर अपराधपीडित हुनबाट बचिन्छ । यसै गरी सामाजिक सञ्जालमा केही कुरा पोस्ट वा सेयर गर्नुअघि त्यसको सामाजिक, कानुनी पक्षलाई राम्रोसँग बुझ्नुपर्छ ।

साथै बालबालिकालाई सामाजिक सञ्जालबाट सम्भव भएसम्म टाढा राख्ने, चलाउनै दिनुपर्ने भएमा समय–समयमा उनीहरूको गतिविधि निगरानी गर्ने तथा उनीहरूको विद्यालयसँग पृष्ठपोषण लिइरहनेजस्ता काम गरे बालबालिकालाई यस्ता अपराधपीडित हुनबाट बचाउन सकिन्छ । विद्यालयहरूले पनि साइबर अपराध सम्बन्धमा अनुशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नु प्रभावकारी हुन्छ ।

(सुवेदी साइबर ब्युरोका प्रहरी निरीक्षक हुन् ।)

प्रकाशित : आश्विन ५, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, ३ घाइते

प्रकाश बराल

बागलुङ — बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ६० वर्षी सहबिरे नेपाली, १८ वर्षीया बिपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन् । उनीहरुको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैंसीसमेत मरेको स्थानीयले जानकारी दिए ।


प्रकाशित : आश्विन ५, २०७८ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×