अमेरिकाले फेरि पुच्छर लुकायो !

अफगानिस्तानमा आफैंले बुनेको जालमा आफैं अड्केपछि बुस–ओबामा–ट्रम्प–बाइडेनको दक्षिण एसियाको यात्रा नै दिशाहीन भयो, छताछुल्ल भयो ।
महेन्द्र पी‍. लामा

प्रजातन्त्र ल्याउँछौं र आतंकवाद स्वाहा पारिदिन्छौं भन्दैसन् २००१ मा अफगानिस्तानमा ह्वात्तै पसेको अमेरिका लाजै पचाएर लगभग भाग्नैपर्‍यो । अफगानिस्तानलाई दोस्रो पटक सम्हालिनसक्ने बनाएर अमेरिका चम्पट कस्यो । छिमेकीहरूबीच भयानक फाटो–मतभेदमात्रै नल्याएर एउटा बाह्र हातको टाँगोले पनि नछुने राष्ट्र अमेरिकाले एसियामा ढलीमली गर्ने आशा र इच्छालाई जहिल्यै जीवित राखेको हुन्छ । अमेरिका जहाँ गयो, त्यहीँ भत्कियो । अमेरिकाले जुन राष्ट्रमा सैनिक पठाई हस्तक्षेप गर्‍यो, त्यो राष्ट्रलाई कैयन् वर्षका लागि छताछुल्ल नै बनाइदियो । इराक, सिरिया, भियतनाम र अफगानिस्तानलाई हिंसा, अस्थिरता र अशान्तिको गुँड नै बनाइदियो ।

अमेरिकाले फेरि पुच्छर लुकायो !

अमेरिका भियतनामबाट सन् १९७३ मा भाग्यो, जुन आज लगभग ५० वर्षपछि अमेरिकाकै अघि द्रुत गतिमा विकासतर्फ लागेको भूगोल भएको छ । नेपालमा सन् १९६० को दशकमा चीनविरुद्ध खम्पाहरूलाई हतियार र सैन्य प्रशिक्षण दिएर तिब्बतमा अस्थिरता ल्याउने प्रयास अमेरिकाले गरेकै हो । बंगलादेशको स्वाधीनता संग्राममा भारतलाई धम्की दिँदै सैन्य शक्तिको प्रहार गर्छु भन्ने पनि अमेरिका नै हो । इजरायललाई प्यालिस्टिनविरुद्ध आतंक फैलाउने आँट र सहायता दिने पनि अमेरिका नै हो । ताइवानलाई चीनविरुद्ध लड भन्दै हातहतियार सप्लाई गर्ने अमेरिकाले जापान र दक्षिण कोरियालाई समेत उत्तर कोरियाको कट्टर दुश्मन बनाइछोड्यो । त्यसैले क्युबाजस्तो सानो राष्ट्रका ठूलो छाती र अद्भुत आँट भएका नेता फिडेल क्यास्ट्रोले अमेरिकालाई आछुआछु पारेर राखे । सद्दाम हुसेन हेर्नै मान्दैनथेप्रजातन्त्र–गणतन्त्रभित्र लुकाइएको मोसो लागेको अमेरिकाको अनुहार । मिखाइल गोर्वाचोभलाई ग्लासनोस्ट (खुलापन) र पिरेस्ट्रोइका (नयाँ बनावट) को लोभ देखाएर, ठूलो सपनामा भुलाएर विश्वकै सबैभन्दा विशाल भूगोललाई पन्ध्रवटा ससाना गणराज्यहरूमा टुक्र्याउने बाह्य कारण पनि अमेरिका नै हो ।

शीतयुद्धमा टक्कर दिने शक्तिमान राष्ट्र सोभियत संघलाई टुक्रा बनाएपछि नै विश्व दुईध्रुवीय (बाइपोलार) व्यवस्थाबाट एकध्रुवीय (युनिपोलार) हुन पुग्यो । अनि अमेरिकाले एकध्रुवीय व्यवस्थामा रहेर, विश्वव्यापी थिचोमिचो गर्नमा आफूलाई जसले चुनौती दिन्छ, त्यसलाई तहसनहस बनाउने घीनलाग्दो प्रयास जारी नै राख्यो । गत एक दशकमा अमेरिका–चीन भिडन्तको मूल कारण नै हो, ‘मेरो प्रभुत्व, प्रभाव र प्रहार’ लाई कसैले भेट्टाउन, चुनौती दिन सक्नेछैन र सक्नु हुन्न भन्ने अमेरिकाको गह्रौं मन र अदेख्य लक्ष्य । आफू एक्लैले सामना गर्न नसक्दा नाटोदेखि सिएटो, क्वाडदेखि इन्डो–प्यासिफिक र ट्रान्स अटलान्टिकदेखि भर्खर मात्रै बनेको अस्ट्रेलिया, युनाइटेड किङडम र अमेरिकाको नयाँ सैन्य झुन्ड— औकुस । यी सबै झुन्ड वा बथानमा अमेरिकाका चारवटा मर्म नदेख्ने गरी जडित हुन्छन् । ती हुन्— व्यापार–वाणिज्य, सैन्य हातहतियारको बेचबिखन, हरेक भौगोलिक परिवेशमा आफूलाई चुनौती दिनेहरूलाई गुप्त रूपले भत्काउने प्रयास अनि विश्वमा एकलौटी शक्ति भएर बाँच्ने प्रगाढ इच्छा ।

अमेरिका अफगानिस्तानमा कसरी पस्यो; मुजाहिद्दिन (स्वतन्त्रता संग्रामी), अल कायदा, तालिबान र आईएसआईएस (आईसीस) कसरी सुरु गरिए र विश्वमा आतंकवादले कसरी जरा गाड्यो — यी विषयहरू व्यापक र विस्तृत भए पनि अमेरिकाको भूमिका अति नै चाखलाग्दो प्रकारले गम्भीर र गहिरो छ । सन् १९७९ मा सोभियत संघले अफगानिस्तान पसेर अड्डा जमाएपछि अफगानीहरूले व्यापक रूपमा विरोध गरे । चारैतिर हमला गरियो, सोभियत संघले आफ्नैजस्तो कम्युनिस्ट शासन थोपर्‍यो । लाखौंको संख्यामा अफगानीहरू देश छोडेर भागे । यी शरणार्थीहरूलाई पाकिस्तानका चित्राल, पेसावरजस्ता क्षेत्रहरूमा शिविर बनाई राखियो । तिनताक पाकिस्तान र अमेरिकाको सम्बन्ध सुमधुर थियो । उता भारत भने सोभियत संघको क्याम्पमा थियो ।

विश्वस्तरमा शक्ति प्रदर्शन गर्दै आएका र शीतयुद्ध (कोल्डवार) मा सामेल अमेरिका र सोभियत संघबीच अफगानिस्तानबारे भयानक खिचातानी सुरु भयो । सोभियत संघले अफगानिस्तानमा अड्डा जमाउनु भनेको सम्पूर्ण दक्षिण र मध्य एसिया अनि पश्चिम एसियाको ठूलो भाग सोभियत कम्युनिस्ट प्रपञ्चभित्र पस्नु थियो । अमेरिकालाई यो असह्य र अक्षम्य भयो । अब के गर्ने, सोभियत सैन्य दललाई कसरी अफगानिस्तानबाट खेद्ने ? अमेरिकाको सीआईए र युरोपकाउसका नाटो मित्रहरू मिली लाखौंको संख्यामा रहेका शरणार्थीहरूभित्र पाकिस्तानका शिविरभित्रै मुजाहिद्दिनहरू तयार पारे । विभिन्न स्वतन्त्रता संग्रामीहरूलाई शिविरभित्र हालिदिए र ‘अफगान बचाऊ’ को नारा दिएर तिनलाई झुन्डझुन्ड बनाइदिए । शरणार्थी शिविरहरू सुचारु ढंगमा चलाउन अर्बौं रुपैयाँको सहायता मात्रै नदिई अमेरिकाकै आह्वानमा मानवीय सहायता प्रदान गर्ने विश्वका सबै संस्थाहरूलाई शिविरहरूमा निम्त्याइयो । अर्काेपट्टि सोभियत संघले पाकिस्तान पनि खाने सम्भावना देखाउँदै अमेरिकाले त्यहाँ जिया उल हकको सैनिक शासनलाई व्यापक रूपमा आर्थिक एवं अन्य सहायता दिन सुरु गर्‍यो ।

शिविरमा रहेका शरणार्थीहरूले खान–लाउन, स्कुल, कामधन्दा, सुरक्षा आदिका लागि हिक्मतयारको जस्तो कुनै पनि मुजाहिद्दिनको झुन्डमा सामेल हुनैपथ्र्याे । हरेक परिवारका वयस्क सदस्यहरूलाई हातहतियार चलाउने प्रशिक्षण दिएपछि अफगानिस्तानमा सोभियत सैनिकविरुद्ध लड्न फ्रन्टियर पार गरेर पठाउन थालियो । अति नै खतरनाक हतियार कहिल्यै नदेखेका मुजाहिद्दिनहरूले हतियारबाहेक अफगानिस्तानबाट पपीफूलबाट प्रशस्त मात्रामा निकालिएका हिरोइन र अन्य लागूपदार्थ पाकिस्तान ल्याई अन्य राष्ट्रमा व्यापक रूपमा तस्करी गर्न थाले । कमाएको पैसाले अझै हतियार किने र वरिपरिका पाकिस्तानी उग्रवादीहरूलाई पनि बाँडे ।

यसरी अमेरिकाले हतियार चलाउन र हिंसा गर्नमा निपुण एउटा पिँढी नै अर्काको राष्ट्रमा जन्मायो र अघि ल्यायो । धर्म बचाउनुपर्छ, अफगानहरूको संस्कृति बचाउनुपर्छ, प्रजातन्त्र र गणतन्त्र ल्याउनुपर्छ भन्दै अमेरिकाले मुजाहिद्दिनहरूलाई मनभित्रैबाट पगालिदियो ।सोभियत सेनालाई खेद्ने सुरमा अमेरिकाले धार्मिक कट्टरपना र उग्रवादी विचारधाराको अलिकति पनि परबाह गरेन । यसरी बिस्तारै आयो अफगानिस्तान र पाकिस्तानमा हिंसा, अस्थिरता र उग्रवादी विचारधारा ।

सन् १९९१ मा सोभियत संघ टुक्रिनुअघि नै फरवरी १९८९ मा सोभियत सैनिकले अफगानिस्तान छोडे । उसले बनाएको सरकार र मुजाहिद्दिनबीचको झगडा–हत्याले अफगानिस्तान अझै छिन्नभिन्न भयो । सन् १९९२ मा राष्ट्रपति नजिबुल्लाको अन्तिम सरकार खतम गरियो र उनी संयुक्त राष्ट्रसंघको कार्यालयमा शरण लिन पुगे । अफगानिस्तान चार वर्ष भयानक गृहयुद्धमारुमलिएपछि सन् १९९६ मा तालिबानको सरकार बन्यो । राजधानी काबुलबाट कन्दाहार सारियो । नजिबुल्लालाई दिउसै बिजुली खम्बामा बर्बरतापूर्वक झुन्ड्याइयो । अफगानिस्तान आतंकवादमा पस्यो । तालिबानले के गरेन, बामियानका डेढ हजार वर्ष पुराना बुद्धका मूर्तिहरूको नामोनिशान राखेन † महिलाहरूका अधिकारको हुर्मत लियो । चंगा उडाउन बन्द, संगीत सुन्नमा प्रतिबन्ध, महिलाहरूलाई नोकरी–धन्दामा बन्देज, अन्तर्राष्ट्रिय संघसंस्था भुर्कुटै । अनि फेरि अमेरिका र सोभियत संघले दिएका–छोडेका आधुनिक र घातक हतियार आतंकवादका नयाँनयाँ झुन्डलाई दिएर भारतका कश्मीर र उत्तरपूर्वी क्षेत्रहरूमा समेत पाकिस्तानमार्फत पठाइदियो । कतिपय त चीनको सिन्जियाङ प्रान्तमा रहेका उग्रवादी मुस्लिम संघ र लडाकुहरूसम्म पुगे ।

सोभियत संघलाई खेद्ने मात्रै अभिप्राय र लक्ष्य लिएर आएको अमेरिका शरणार्थी शिविर, संघसंस्था र अफगानिस्तानसम्मै छोडेर भाग्यो । बिल्लिबाठ भयो अफगानिस्तान, वरिपरिका राष्ट्रहरू अनि शरणार्थी शिविर चलाउने पाकिस्तानको । चारैतिर जिहाद सुरु भयो, पवित्र युद्धको नाममा । उग्रवादीहरू आतंकवादी भए अनि उनीहरूलाई कायम राख्ने नेता वार–लर्ड भए । महात्मा गान्धी र खान अब्दुल गफ्फार खान (फ्रन्टियर गान्धी) ले दु:खै गरी साँचेका र निर्माण गरेका भारत–अफगानिस्तान–पाकिस्तानका मैत्रीभाव, पारम्परिक सम्बन्ध र मीठो संस्कृतिलाई कलास्निकोभ बन्दुकले छियाछिया बनाइदियो ।

पुच्छर लुकाउने अमेरिकाको, ११ सेप्टेम्बर २००१ मा वल्र्ड ट्रेड सेन्टर, पेन्टागन र पेन्सिलभानियामा भएका आतंकवादी हमलामा लगभग तीन हजार निर्दाेष व्यक्तिहरू मारिएपछि, फेरि मनमस्तिष्क खलबलियो । अनि फेरि आतंकवादविरोधी युद्धको घोषणा गर्दै अलकायदा र ओसामा बिन लादेनलाई स्वाहा पार्न गोलीगट्ठासहित, सबै सैन्य सम्झौतामा परेका युरोपका राष्ट्रहरू लिई अफगानिस्तान पस्यो । ९/११ को हमलामा सामेल लादेनसहित सबै पन्ध्र आतंकवादी, हवाईजहाज अपहरण गर्ने उग्रवादीहरू साउदी अरबका थिए । तर अमेरिकाले साउदी अरबलाई चाहिँ किन छोएन ? ठूलो प्रश्न छ । यहाँसम्म कि, अमेरिकाकै प्रचलित अखबार ‘वासिङ्टन पोस्ट’ का स्तम्भकार जमाल खशोगीको साउदी सरकारको देखरेखमै टर्कीको साउदी कन्सुलेटमा हत्या गरियो; त्यहा पनि अमेरिका चुपचाप र अचल † अमेरिकालेबीस वर्ष अफगानिस्तानमा रहदा पैसा खर्च गर्‍यो, हातहतियारको व्यापक व्यापार गर्‍यो, मार्नुसम्म मान्छे मार्‍यो, सरकारहरू पनि बनायो, तालिबान काबुल पुग्नुअघि नै देश छोडी भाग्ने राष्ट्रपति आफ्नै विश्व बैंकमा काम गरेका अब्दुल घानीलाई पनि सत्ता सुम्पियो, आतंकवादले पीडित भारत जस्तो राष्ट्रलाई पाकिस्तानसँग अझै जुझायो अनि फेरि वरिपरिका राष्ट्रहरू चीन र इरानमा थिचोमिचो गर्ने प्रयास जारी राख्यो ।

अफगानिस्तानमा यो दोस्रोपल्ट पस्दा अमेरिकालाई, अस्तिको पालिको अभिन्न मित्र पाकिस्तानले चीन, रुस, इरानसँग मिली चार फन्को घुमाइदियो । शरणार्थी शिविर राख्ने पाकिस्तान आतंकवादीको शिविर कायम राख्न निपुण भयो,बिन लादेनलाई सम्म पाकिस्तानको मुटुमै लुकाएर राख्यो । अलिक परतिर मानव संहार गर्ने हतियार जम्मा गरेको झुटो आशंका र आधारहीन जाहेरीमा अमेरिकाले इराकमा मात्रै हमला नगरेर सद्दाम हुसेनलाई सपरिवार उखेलेर फ्याँकिदियो । यसरी अझै भयानक झुन्ड इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईसीस) का बाघादारी र जौलानीझैं खुँखार आतंकवादी नेताहरूलाई जन्म दियो । कहाँ कति थिच्छौ र मिच्छौ भन्दै अफ्रिकाको नाइजेरियाबाट सम्म बोको हरामजस्ता जिहादीहरू अमेरिकाविरुद्ध उठे ।

विश्वको एउटै महाशक्तिलाई तालिबानजस्तो आतंकवादी झुन्डले सम्पूर्ण विश्वकै अघि हरायो–धपायो–खेद्यो । हाल बनेको अन्तरिम सरकारमा अमेरिकाले विश्वभरि खोजेर नपाएका आतंकवादीहरू सामेल छन् । हक्कानी नेटवर्कको नाइके सिराजुद्दिन हक्कानीमाथि दस मिलियन डलरको इनाम राखेको अमेरिकाले आज हक्कानी आफैं काबुल सरकारमा इन्टेरियर मन्त्री हुँदा पनि केही गर्नै सकेन । यस्तै भयो हक्कानीको मामा खलिउर रहमान (शरणार्थी मन्त्री) लाई पनि, जसमाथि पाँच मिलियन डलरको इनाम नै छ ।

अर्काेतिर, अमेरिकासँग कुराकानी गरी कतारको दोहामा तालिबानको कार्यालय बनाएर अमेरिकालाई अफगानिस्तान छोड्ने स्थितिमा पुर्‍याउने तालिबान नेता अब्दुल घानी बरादरलाई अन्तरिम सरकारमा उपप्रधानमन्त्री हुँदाहुँदै पनि हक्कानी झुन्डले खेदेर कन्दाहारमा पुर्‍याइदियो । प्रजातन्त्र र समावेशीकरणको द्योतक अमेरिकाले ताजिक, उज्बेक, हजारा र अन्य धार्मिक अल्पसंख्यकहरूलाई अन्तरिम सरकारमा सामेल नगरिँदा पनि केही गर्नै सकेन । अर्थात्, बीसवर्षसम्म अड्डा जमाउँदा पनि अमेरिकाले अफगानिस्तानमा गणतान्त्रिक संस्था, सोच र समावेशीकरणको झिल्कासम्म बाल्न सकेन । फेरि त्यही सरिया कानुनलाई उल्टापाल्टा निचोरेर–भत्काएर जनता जनार्दनमाथि थोपर्ने तालिबानभित्रै टुक्राटुक्रा रहेका झुन्डहरूको मनोमानी । अमेरिका उम्क्यो, पुच्छर नै लुकाएर भाग्यो, अब फेरि अफगानिस्तानमा कहिल्यै फर्केर नआउला । आफैंले बुनेको जालमा आफैं अड्केपछि बुस–ओबामा–ट्रम्प–बाइडेनको दक्षिण एसियाको यात्रा नै दिशाहीन भयो, छताछुल्ल भयो ।

यो ठूलो खेलमा सबैभन्दा ज्यादा आघात दक्षिण एसियालाई पुग्यो । अफगानिस्तानको पुनर्निर्माणमा अर्बौं लगाउने, त्यहाँका सरकार र सैनिक संस्थाहरूलाई सघाउने, पाकिस्तानले छेके पनि पन्ध्र सय मिलियन डलरको व्यापार गर्ने, इरान–उज्बेकिस्तानसम्मलाई चाबहार बन्दरगाह र बिजुलीको प्रसारणमा गाभ्ने अनि विश्वमै आतंकवादले ल्याएको तहसनहसबारे नगरा बजाउने छिमेकी राष्ट्र भारतलाई सबैभन्दा गहिरो आघात पुग्यो । के गर्ने भारतले ? एकातिर आफैंले गर्दा क्षेत्रीय संगठन सार्क (दक्षेस) को सन् २०१४ देखि नै बेहाल, अर्काेतिर चीन–पाकिस्तान–साउदी अरब–रुस–इरान–तालिबानको गतिलै साँठगाँठ, अझै परतिर क्वाड र इन्डो–प्यासिफिकको डोकोमा आफूलाई हालेको स्थिति । तालिबानले पाकिस्तानमार्फत फेरि आतंकवादको निर्यात गर्दैन भन्नै सकिँदैन । त्यति दिलोज्यान लगाएर अफगानिस्तानमा निर्माण गरेका संसद्देखि जलविद्युत् कारखाना आदिलाई कसरी कसले सुरक्षा दिने ? स्थिति यस्तो भयो—भारत अमेरिकासँग जति नजिक, तालिबान सरकारबाट उति नै टाढा ।

दक्षिण एसियालाई सदैव डोर्‍याउने भारतले द्विपक्षीयसँगसँगै सार्कमार्फत क्षेत्रीय मार्ग खोल्नैपर्छ । अफगानिस्तान निर्माणलाई अझै व्यापकता दिनैपर्छ र त्यहाँका जनसाधारणसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनैपर्छ । रुस–चीन–पाकिस्तान–इरान आदिसँग चर्चा–परिचर्चा गरी भारत तालिबाननजिक पुग्नैपर्छ । धेरैले आशा राखेका छन्, अमेरिकाले पुच्छर लुकाए पनि छिमेकी भारतले पुच्छर ठाडो पारी अफगानिस्तानलाई अँगाल्ने नै छ ।

प्रकाशित : आश्विन ४, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?