बाबा विश्वकर्मा र जात कर्म- विचार - कान्तिपुर समाचार

बाबा विश्वकर्मा र जात कर्म

‘विश्वकर्मा’ शब्दलाई हीनताबोधका रूपमा लिनु सरासर गलत हो । सर्वप्रथम सर्वजित विश्वकर्माले आफ्नो नामका पछाडि राखेको र पछि आन्दोलनले स्थापना गरेको शब्द हो ‘विश्वकर्मा’ । यसलाई सगर्व आत्मसात् गर्नुपर्छ ।
रणेन्द्र बराली

हिन्दु धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष असोज १ गते धुमधामसँग ‘विश्वकर्मा’ पूजा गरिन्छ । कलकत्तालगायत भारतका ठूला सहरहरूमा त विश्वकर्मा बाबाका कलात्मक मूर्तिहरूको व्यापार नै अर्बौंको हुन्छ । ठूला कारखानाहरूले लाखौंलाखका मूर्ति अर्डर गरेका हुन्छन् ।

मूर्तिबजार नै विश्वकर्मा बाबाको आकृतिले झिलिमिली हुन्छ । मिठाई, प्रसादलगायत अन्य खर्चको हिसाब गरिसाध्य हुँदैन । त्यो पनि मात्र एक दिनका लागि । अर्को दिन भव्य गानाबजानाका साथ ठूला जलाशयमा लगेर मूर्ति विसर्जन गरिन्छ । यस्ता पर्वहरूमा गरिने तामझामरूपी संस्कारले नेपाललाई पनि अस्वाभाविक रूपले गाँजेको छ । नेपालमा पनि कागजको विश्वकर्मालाई भगवान् भनेर छातीमा त टाँसिन्छ, तर धातुका काम गर्ने जातका विश्वकर्मालाई भने अछुत भनेर विभेद गरिन्छ ।

विश्वकर्माको प्रादुर्भाव

विश्वकर्मा पुराणमा लेखिएअनुसार, ‘विश्वकर्मा देवकर्मी त्वष्टाका पुत्र हुन् । उनी सम्पूर्ण काममा निपुण थिए । इन्द्रपुरी, यमपुरी, कुवेरपुरी पाण्डवपुरी, शिवमण्डलपुरी सबै विश्वकर्माले नै संरचना गरेका थिए । प्रजालाई पालन र रक्षणका लागि विष्णुलाई सुदर्शन चक्र, शंकरलाई त्रिशूल र रामलाई ब्रह्मास्त्र उनैले बनाएर दिएका हुन् ।’ डा. स्वामी प्रपन्नाचार्यको लेखअनुसार, ‘२०२० सालभन्दा ५५ सय वर्षपूर्वदेखि नै सम्पूर्ण सृजना विश्वकर्माले गरेका थिए ।’ यसबाट के बुझिन्छ भने, मानव समाजको उत्पत्तिबाटै विभिन्न कालखण्डमा श्रमजीवी समुदायको एउटा हिस्साले चिरन्तन समाज विकासका क्रममा नयाँनयाँ आविष्कार र सृजना गरेर मानव जगत्लाई महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । जसलाई बाबा विश्वकर्मा भनिन्छ, उनी ती सृष्टिकर्ता, सीप कला अक्किलका धनी श्रमजीवीहरूका नाइके हुन सक्छन् ।

पुराणमा विश्वकर्मालाई पाँच अवतारका रूपमा व्याख्या गरिएको छ । १. विराट् विश्वकर्मा— सृष्टिका रचयिता, २. धर्मवंशी विश्वकर्मा— महान् शिल्पविज्ञान विधाता प्रभातपुत्र, ३. अंगिरावंशी विश्वकर्मा— आदि विज्ञान विधाता वसुपुत्र, ४. सुधन्वा विश्वकर्मा— महान् शिल्पाचार्य विज्ञान जन्मदाता, र ५. भृंगुवंशी विश्वकर्मा— उत्कृष्ट शिल्प विज्ञानाचार्य शुक्राचार्यपुत्र । यसबाट के बुझिन्छ भने, विभिन्न कालखण्डमा विभिन्न शिल्पी, आविष्कारकहरू प्रादुर्भाव भएका थिए । र उनीहरूले मानव समाज विकासमा विशेष योगदान पुर्‍याए । ‘प्राचीन वैज्ञानिक र वैमानिक ग्रन्थ’ शीर्षकमा स्वामी प्रपन्नाचार्य लेख्नुहुन्छ, ‘विश्वका जुनसुकै विकसित राष्ट्रले पनि कुनै न कुनै रूपमा प्रथम वैज्ञानिक विश्वकर्माको पूजा गर्छन् । हिन्दु धर्मअनुसार त विश्वकर्मा संसारको सबैभन्दा पहिलो वैज्ञानिक, पहिलो आविष्कारक, पहिलो इन्जिनियर हुन् । त्यसैले देवशिल्पी अर्थात् देवताको इन्जिनियर नाम पाएका थिए ।’

विश्वकर्मा को हुन् ?

मीमांसाशास्त्रीय व्याख्याताहरूका अनुसार विश्वकर्मालाई देवता, ऋषि, सृष्टिकर्ता, आविष्कारक, वैज्ञानिक, इन्जिनियर, शिल्पी आदि भनिएको छ । सेता लामा दाह्री–कपाल भएका, चतुर्भुजरूपी पहिचान दिइएका विश्वकर्मालाई पूजा गर्नु भनेको उनको आविष्कार, सृजना, सीप र श्रमलाई उच्च आदरभावका साथ समाजमा स्थापित गर्नु हो । हिन्दु भाष्यकारहरूले दक्षता, विज्ञता, विशेष कार्यकौशलका साथ साहस प्रदर्शन गरेर मानव जातिको उन्नयनमा योगदान पुर्‍याएका पात्रहरूलाई सराहना र सम्मान गर्नु राम्रो हो । तर अतिरञ्जित गरेर चतुर्मुखी ब्रह्मा,

दश्सटाउके रावण, चतुर्भुजे विश्वकर्मा तथा चतुर्बाहुकी लक्ष्मीजस्ता काल्पनिक चित्रण भने स्वाभाविक लाग्दैन । संसारका सारा देवीदेवता वा राक्षस–दैत्य जेजे भन्ने गरिए पनि ती सबै प्राकृतिक नियमअनुसार आ–आफ्ना आमाका कोखबाट जन्मेका सामान्य मान्छे हुन् । जसले मानव समाजको कल्याण हुने कार्य गरे, उनीहरू भगवान् गनिए; जसले घातकी, पातकी कार्य गरे, तिनीहरू दैत्य भनिए । यथार्थ सहज छ । यस आधारमा विश्वकर्मा बाबा पनि यो समाजको निर्माणमा अमूल्य योगदान दिएका एक सृजनशील पात्र हुन् भन्न सकिन्छ ।

नेपालमा विश्वकर्मा थरको प्रारम्भ

नेपाली समाजमा धातुसम्बन्धी (सुन, चाँदी, तामा, पित्तल, कांस, चरेस आदि) पेसा गर्ने जात–समुदायको थर विश्वकर्मा लेख्न सुरु गरिएको ६० वर्ष पूरा भयो । यही पेसा गर्ने काठमाडौं उपत्यकावासी नेवार जातअन्तर्गतकालाई बाँडा भनिन्छ, जसमा शाक्य, ताम्राकार, कंसाकार आदि पर्छन् । भारतमा विश्वकर्मा भन्नाले ब्राह्मण जात जनाउँछ र धातुको पेसा गर्नेलाई छुवाछुतको व्यवहार गरिँदैन । नेपालमा भने सबै धातुका काम गर्ने पहाडे दलितमध्ये कामी जातका थरका रूपमा विश्वकर्मा शब्द पहिचान भएको छ । यो जात–थरमाथि यहाँ भने जातीय विभेद छ । तथापि कामी जातले थरका रूपमा प्राप्त गरेको विश्वकर्मा शब्द भने ऐतिहासिक दलित संघर्षको उपज हो ।

बागलुङमा २००३ सालदेखि जातीय विभेदविरुद्ध आफ्नै किसिमले संगठित संघर्ष चलिरहेको थियो । २००७ सालको राष्ट्रिय आन्दोलनको लहरले देशमा केही परिवर्तन आएजस्तो देखियो । विभिन्न राजनीतिक पार्टी देखा परे । राजनीतिक–सामाजिक विकासका लागि समाजमा खुलेर बहस हुन थाल्यो । मुलुकभरै ‘अछुत’ गनिएका जाति–समुदायबीच पनि केही चेतना आएको देखियो । काठमाडौं र अरू विभिन्न ठाउँमा ‘अछुत’ जातीय मुक्ति संगठनहरू (अछुत जाति सुधार संघ, टेलर युनियन, सूचीकार संघ, कुचीकार संघ, विश्वकर्मा संघ, पोडे संघ, च्यामे संघ आदि) खुले ।

यसबीच बागलुङ भेगबाट सर्वजित विश्वकर्माको नेतृत्वमा अघि बढेको ‘विश्व सर्वजन संघ’ लाई ‘विश्वकर्मा सर्वजन सुधार संघ’ मा परिणत गरेर अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्ने योजना हुन थाल्यो । कथित अ–वर्णर्मा पर्ने सबै दलित जनसमुदायलाई समेट्ने प्रयास गरियो । ‘सीप, कला र श्रमको लगानी गरेर सृष्टिकालदेखि समाजको सेवामा समर्पित सबै श्रमजीवी विश्वकर्मा हुन्’ भन्ने विषय त्यति बेला सर्वजित विश्वकर्माले उठाए । ‘शूद्र गनिएका सिर्जनशील र सीपमूलक श्रम गर्ने श्रमिकहरू जुनसुकै जातका भए पनि ती विश्वकर्मा हुन्’ भन्ने उनको उद्घोष थियो । ‘आफ्ना ज्ञान र चेतनाले समाजको सृजनामा लागेका समग्र सृष्टिकर्ता सृजनशील श्रमजीवीको उपाधि विश्वकर्मा हो । पेसा–पहिचानको हिसाबमा कामी जातले सुवर्णकार, ताम्रकार, लुहार शिल्पकार; सार्की जातले काष्ठकार, दस्तकार तथा चर्मकार र दमाई जातले दर्जी, वस्त्रकार, सूचीकार, शिल्पकार आदि लेख्नुपर्छ भन्ने निष्कर्ष थियो उनीहरूको । ‘हेला गरेर प्रयोग गरिने दमै, कामी, सार्कीजस्ता शब्द अकाट्य रूपले नामको पछाडि जोडिनैपर्छ भन्नु मनासिब होइन’ भनेर सर्वजित विश्वकर्माहरूको संगठनले संस्थागत रूपमा प्रचार गर्न थाल्यो ।

आज कामी जातको साझा थरका रूपमा ‘विश्वकर्मा’ शब्दले स्थान पाउनुका पछाडि छुट्टै परिघटना छ । बागलुङका ब्राह्मणवादी पण्डित–पुरोहितहरूले सर्वजित विश्वकर्मालगायत जातीय मुक्ति संघर्षका अभियन्ताहरूलाई लगाएको मुद्दाको फिरादपत्रमा ‘शूद्रले आफ्नो नाममा ब्रह्मा अथवा विश्वकर्मा भगवान्लाई जोड्न र विश्वकर्मा पाठशाला खोलेर शूद्रले पठनपाठन गर्नु प्रचलित नियम–कानुनविपरीत कार्य हो’ भनेर नालिस दिएका थिए । विश्व सर्वजन संघ एवम् सर्वजित विश्वकर्मालगायतका प्रतिवादीले प्रतिपक्षी जाहेरीमा आफ्ना नामका पछाडि विश्वकर्मा नै लेखेका थिए । २००३ सालदेखि चलेको मुद्दा र पटक–पटक उनीहरूलाई लागेको आरोपमा बहस हुँदै २००८ सालमा फैसला हुँदाका बखत भएको जितसँगै ‘विश्वकर्मा’ शब्द पनि विजयी भएको हो । ‘जुन नामबाट चलेको मुद्दा नै जितियो भने नाममा जोडिएको विश्वकर्मा शब्दको हार कसरी हुन्छ’ भनेर पैरवी गर्ने आधार बन्यो । त्यसपछि ‘विश्वकर्मा भगवान्को नाम जोडेर लेख्न पाउँदैनौ, विश्वकर्मा पाठशाला सञ्चालन गर्न पाउँदैनौ’ भनेर दखल गर्ने हिम्मत कसैले गरेनन् । तब मात्र मुद्दामा सम्बन्धित सबैले विजयको प्रतीकका रूपमा नामका पछाडि डटेर ‘विश्वकर्मा’ लेख्न थाले ।

आज ‘विश्वकर्मा’ शब्दलाई कसैले हीनतबोधका रूपमा लिन्छन् भने त्यो सरासर गलत हुन्छ । सर्वप्रथम सर्वजित विश्वकर्माले आफ्नो नामका पछाडि राखेको र पछि आन्दोलनले स्थापना गरेको शब्द हो ‘विश्वकर्मा’ । यसलाई सगर्व आत्मसात् गर्नुपर्छ । अझै भगत सर्वजित विश्वकर्माको अभिलाषालाई पक्रने हो भने त ‘सीप साध्ने, परिश्रम गर्ने र कठिन कर्म गरी विश्व निर्माणमा योगदान पुर्‍याउने सबै जातका मानिस विश्वकर्मा हुन्’ भनी आत्मसात् गर्नुपर्छ ।

साक्षात् विश्वकर्मा !

माथि नै भनियो, ‘विश्वकर्मा’ कुनै दैवरचित अवतार होइन । कुनै अजिबको विपुल, तिलस्मी, अलौकिक शक्ति होइन । यही समाजको उत्तम मान्छेको पहिचान हो । यही धर्तीको प्राविधिक ज्ञान र सीपले निपुण मान्छे हो । मानसिक र शारीरिक रूपले उत्तम सृजना गर्ने मान्छे हो । पुरातनपन्थीहरूले जात–धर्मको आडमा मानिसलाई ठूला र सानामा विभाजन गरेर राष्ट्रलाई कोपभाजनमा पार्नेजस्ता कार्य गरिराखेका हुन्छन् । त्यसैको पछि लागेर कतिपय मान्छेहरू ‘हामी ब्रह्माका सन्तान, हामी विश्वकर्मा भगवान्का सन्तान’ भनेर अहं देखाउँछन् । त्यो त जंगबहादुर राणाका खलकले थरमा ‘जबरा’ लेखेर आत्मसन्तुष्टि लिएजस्तै हो ।

रुसी समाजवादी क्रान्तिका सर्वोच्च कमान्डर जोसेफ स्टालिन जुत्ता सिलाउनेका छोरा थिए । तर सार्की वा हरिजनका छोरा थिएनन् । किनकि युरोपमा जुनसुकै जातका मनिसले जुत्ता सिलाउँथे । हिन्दु धर्ममा जस्तो वर्ण व्यवस्थाले जात निर्धारण गर्ने र जातअनुसारको पेसा तोकेर अझ कष्टकर पेसा गर्ने जात र समुदायलाई छुवाछुतसम्मको व्यवहार गर्ने संस्कार संसारमा अन्यत्र छैन ।

जीवनजगत्सँग प्रत्यक्ष सम्बन्ध भएका र समाज रूपान्तरणमा अमूल्य भूमिका खेलेका सबै व्यक्ति विश्वकर्मा हुन् । चार्ल्स डार्बिनले विकासवादी सिद्धान्त प्रतिपादन गरेर विश्वलाई मार्गदर्शन गरे, उनलाई विश्वकर्मा मान्न सकिन्छ । राइट दाजुभाइ विल्बर र ओर्भिलले सर्वप्रथम आधुनिक विमान बनाएर उडाए, उनीहरूलाई विश्वकर्मा मान्न सकिन्छ । भौतिकशास्त्री तथा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन, भौतिक तथा ब्रह्माण्डविज्ञानका खोजकर्ता स्टेफन हकिङजस्ता वैज्ञानिकहरूलाई नै विश्वकर्मा मान्न सकिन्छ । र आफूमा निहित सम्पूर्ण सीप, श्रम, बर्कत खर्चेर आजीवन समाजसेवामा लागिरहने श्रमजीवी वर्ग सबै विश्वकर्मा हुन् । यिनीहरूलाई बिनाभेदभाव सम्मान गर्नु नै विश्वकर्माप्रति असली सम्मान हुनेछ ।

प्रकाशित : आश्विन १, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

जनगणनाले देखाओस् मुलुकको वास्तविक मुहार

सम्पादकीय

केन्द्रीय तथ्यांक विभागले ‘मेरो जनगणना, मेरो सहभागिता’ नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण सुरु गरेको छ, जसलाई सरकार र समाजका सबै तह र तप्काले सफल तुल्याउन जरुरी छ ।

पूर्वनिर्धारित तालिका कोभिड–१९ महामारीका कारण प्रभावित भएपछि पहिलो चरण असोज १८ भित्र र दोस्रो चरण कात्तिक २५ देखि मंसिर ९ भित्र सम्पन्न हुने गरी नयाँ तालिका बनाइएको हो । यसपालि ७ प्रदेश र ७५३ स्थानीय तहबाट तथ्यांक संकलन गरिँदै छ, नयाँ संविधान र संघीयता लागू भइसकेपछि हुन गइरहेको जनगणनाले संविधानप्रदत्त मैलिक हक–अधिकार तथा सामाजिक सुरक्षाका प्रावधानहरूलाई थप प्रभावकारी बनाउन सघाउनेछ ।

जनगणनाजस्तो जटिल प्रक्रिया सरकार र समाजका सबै तह र तप्का अनि नागरिकको समान सहभागिताबिना सफल हुन्न । त्यसैले यसका विधि, प्रक्रिया र फाइदाबारे व्यापक प्रचार–प्रसार गरिनुपर्छ ताकि कुनै व्यक्ति तथा समुदाय यस प्रक्रियामा नछुटून् । जनगणनाबाट संकलित तथ्यांकको बहुआयामिक महत्त्व छ । यसले देशवासीको यथार्थ मुहार त बताउँछ नै, राज्यका तीनै तहमा नीति–नियम र योजना निर्माणका लागि पनि दिशानिर्देश गर्नेछ । त्यही भएर यसलाई सफल बनाउन सरकार र नागरिक दुवै जुट्नुपर्छ । आफ्नो सरोकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको नीतिसँग जोड्ने यो अवसरको लाभ हरेक नागरिकले उठाउने वातावरण बनाउन सम्बद्ध निकायहरू दत्तचित्त भएर लाग्नुपर्छ ।

तथ्यांक संकलन र व्यवस्थापनको जिम्मेवार निकाय केन्द्रीय तथ्यांक विभागले परिवर्तित प्रणालीलाई मध्यनजर गर्दै ७ प्रदेश र ८० जिल्ला जनगणना कार्यालय सञ्चालनमा ल्याएको छ, ३४९ स्थानीय जनगणना कार्यालय स्थापनाका क्रममा छन् । यी कार्यालयहरूले जनगणनाका प्रश्नावली र संकलन गरिएका तथ्यांकहरूको सुरक्षा, अनुगमन, सुपरिवेक्षणलगायतका काम गर्छन् । पूर्वतयारी, तथ्यांक संकलन, तथ्यांक प्रमाणीकरण, विश्लेषण र प्रचारप्रसार जनगणनाका मुख्य चरण हुन् । विभागले नमुना जनगणना गरेर प्रश्नावली परिमार्जन र पूर्वतयारीका अन्य कामहरू लगभग सकेको जनाएको छ । त्यसैले तथ्यांक संकलनको यस सुरुआती चरणमा जनगणनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गणक–सुपरिवेक्षकसँग सम्बन्धित विषयलाई ध्यान दिइनुपर्छ ।

विश्वसनीय तथ्यांकका निम्ति गणक–सुपरिवेक्षकको महत्त्वपूर्ण भूमिका हुन्छ । सुपरिवेक्षकहरू दक्ष छानिएर मात्रै पुग्दैन, तथ्यांक संकलनका क्रममा उनीहरूले आफ्नो सीप र जाँगर प्रस्तुत गर्नु पनि पर्छ । अघिल्लो जनगणनामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई गणक तथा सुपरिवेक्षकका रूपमा खटाइने गरिन्थ्यो, यसपालि भने स्थानीय भाषा–संस्कृतिको ज्ञान भएका सम्बन्धित स्थानीय तहका १२ कक्षा उत्तीर्ण युवाहरू अनलाइन आवेदनका आधारमा छनोट भइरहेका छन् । आफ्नै गाउँठाउँका, भाषा–संस्कृति बुझेका गणकसामु उत्तरदाताले सहज महसुस गर्न सक्छन्, सजिलै खुल्न सक्छन् । गणकहरू स्थानीय नभएकै कारण अघिल्ला जनगणनाहरूमा जनजाति, दलित, मधेसी, मुस्लिम, अपांगता भएका व्यक्तिलगायत अल्पसंख्यक समुदायका तथ्यांक छुटे भन्ने गुनासोलाई यसपालि सम्बोधन गर्न खोजिनु सकारात्मक छ ।

यसपालि लैंगिक अल्पसंख्यक समुदायको तथ्यांक लिन जनगणनाको घरमूलीको सूचीमा महिला, पुरुष र अन्य लिंग समावेश गरिएको छ, जुन अर्को सकारात्मक सुरुआत हो । यसबाट सम्बन्धित समुदायका लागि आवश्यक नीति–कार्यक्रम तर्जुमा गर्न मद्दत पुग्नेछ । यस्तो तथ्यांक संकलन गर्न सजिलो भने छैन, आफ्नो अति व्यक्तिगत विषयमा जोकोही सजिलै खुल्दैनन्, अझ यस्ता प्रश्नको संवेदनशीलता गणकहरूले बुझेनन् भने वास्तविक तथ्यांक–जानकारी नै आउँदैन । त्यसैले सबै गणक–सुपरिवेक्षकहरूलाई तथ्यांक संकलन गर्नुअघि नै यस्ता प्रश्नहरूबारे उचित प्रशिक्षण दिइनुपर्छ ।

जातजाति र भाषाबारे पनि वास्तविक तथ्यांक संकलनका निम्ति गणकहरू त्यति नै सचेत र गम्भीर हुन आवश्यक छ । २०५८ सालको जनगणनामा १०१ जातजाति थिए भने ९२ भाषा, २०६८ मा आइपुग्दा बढेर १२५ जातजाति र १२३ भाषा भए । हाम्रो देशमा जति पनि जातजाति र भाषाभाषी छन्, तिनको यथार्थ चित्र जनगणनामा आउनुपर्छ । यस्तै अर्को ख्याल गर्नुपर्ने विषय हो— गणक–सुपरिवेक्षकको कार्यभार । विभागका अनुसार ३९ हजार गणक तथा ८ हजार ५ सय सुपरिवेक्षकले अनुमानित ८० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना १५ दिनमा सम्पन्न गर्नुपर्नेछ ।

प्रत्येक घरमा विस्तृत प्रश्नावली सोधिने भनिएको छ, जसमा ५४ वटा प्रश्न छन् । काम र समयको अनुपातमा गणक–सुपरिवेक्षकको संख्या नपुग्न सक्छ । हतार–हतार तथ्यांक संकलन गर्दा प्रश्नहरू छुट्न सक्छन् । त्यसो भएमा संकलित तथ्यांकले देखाउने चित्र अपुरो हुने जोखिम हुन्छ । त्यसैले गणकहरूको सुविधा पक्षमा उदार भएर पनि सही तथ्यांक ल्याउन जोड दिइनुपर्छ । नागरिकहरूले पनि प्रश्नावली लामो भएकामा झन्झट नमान्दै यथार्थ बताउनुपर्छ, गणक–सुपरिवेक्षकले मात्र नभएर स्थानीय सरकार तथा विभिन्न सामाजिक–राजनीतिक संघ–संगठनहरूले यसको महत्त्व दर्साउनुपर्छ । सबैको ठोस प्रयास भएमा मात्रै कोही नछुट्ने र कोही नदोहोरिने सुनिश्चित हुन्छ, र जनगणनाबाट मुलुकको सही मुहार बाहिर आउनेछ ।

प्रकाशित : आश्विन १, २०७८ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×