१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वैकल्पिक पार्टीको तिर्सना

राजनीति (पार्टी) निर्माण आफैंमा युगीन प्रयत्न हो । लहडमा स्थापना गरिएका पार्टीहरू सानोतिनो आँधीमा डगमगाउनु स्वाभाविक हुन्छ । किनभने मनोगत चिन्तन र आग्रहले मात्र राजनीतिक पार्टी बन्दैन ।
केशव दाहाल

प्रारम्भ
मानव सभ्यता अनेकौं रुमानी सपनाहरूको जगमा उभिएको पर्वत शृंखला हो । तर सपनाहरूको विशेषता के भने, त्यो समयसँग अविभाज्य हुन्छ । राजनीति त्यही समय र सपनाको उच्चतम अभिव्यक्ति हो । यसरी हेर्दा प्रत्येक राजनीति कुनै न कुनै कालखण्डको विशिष्ट सपना हो ।

वैकल्पिक पार्टीको तिर्सना

त्यसका लागि गरिने संघर्ष हो । बृहत्तर अभियान हो । नेतृत्व हो । मुख्य कुरा, मान्छेका सपनाहरू फेरिँदै जान्छन् र समयको चालसँगै अगाडि बढिरहन्छन्, राजनीति त्यो बदलावलाई देख्ने र नेतृत्व गर्ने गतिशील प्रयत्न हो । जब नयाँ युगका सपनाहरू पूरा गर्न परम्परागत राजनीतिले सक्दैन तब नयाँ राजनीति चाहिन्छ । त्यही नै वैकल्पिक राजनीति हो ।

बीसौं शताब्दीमा मान्छेले देखेका मुख्य सपनाहरू थिए— लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, उदारवाद र समाजवाद । यिनै सपनाहरूले संसारभर शताब्दी रजगज गरे । यसैका वरिपरि राजनीतिले चक्कर मार्‍यो । अनेक युद्ध भए र लाखौं मान्छे मारिए । यिनैमाथि कविता र कथाहरू लेखिए । चलचित्र बने । पछिल्लो शताब्दीमा संसार यिनै विचारहरूको वरिपरि ध्रुवीकृत भयो ।

निश्चय नै, बीसौं शताब्दीमा औद्योगिक क्रान्तिले उडान मार्‍यो । युरोप र अमेरिका युद्धबाट निस्किए र समृद्धिको शिखर चुमे । तर अफ्रिका र एसियाका अनेकौं देश गरिबीबाट उम्कन सकेनन् । हुने र नहुनेबीचको खाडल चर्को बन्दै गयो । संसारका दस जना धनीका हातमा असीमित स्रोत जम्मा भयो । तर दैनिक करोडौं मान्छे भोकै रहे । अवश्य नै उत्पादन बढ्यो, तर न्यायपूर्ण वितरण भएन । एकातिर लोकतन्त्रले महिला, दलित, सीमान्त समुदाय र अल्पसंख्यकहरूलाई भनेजस्तो न्याय दिन सकेनÙ अर्कातिर समाजवाद सर्वसत्तावादमा फेरियो । भ्रष्टाचार बढ्यो । वातावरण विनाश र कार्बन उत्सर्जन तीव्र भयो । र, जनताको मत शासकहरूको शक्ति आर्जन गर्ने साधन बन्यो । मुख्यतः तेस्रो विश्वका सरकारहरू जनताप्रति उत्तरदायी भएनन् ।

सन् १९९० सँगै सोभियत संघ र पूर्वी युरोपका कम्युनिस्ट सत्ताहरू ढले । साथै, पुँजीवादी लोकतन्त्रमाथि पनि जनताको असन्तुष्टि बढ्दै गयो । त्यसैले परम्परागत लोकतन्त्र र समाजवादका विकल्पहरू खोज्न थालियो । बहसहरू सुरु भए । जस्तो, फ्रान्सिस फुकोयामाले भने— ‘इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट मेन’ (१९९२) । ज्याक डेरिडा (सन् १९३०–२००४) ले उत्तरआधुनिक दर्शनको कुरा गर्दै भने— विनिर्माण । हर्बर्ट मार्खेज (सन् १८९८–१९७९) ले केही अगाडि नै परम्परागत वामपन्थमाथि आलोचना गर्दै भने— ‘न्यु लेफ्ट’ । थोमस पिकेटीले ‘क्यापिटल इन द ट्वेन्टी फस्ट सेन्चुरी’ (२०१३) प्रकाशित गर्दै सम्पत्तिको असमान वितरणले आर्थिक–सामाजिक अस्थिरता पैदा गर्नेतर्फ पुँजीवादी देशहरूको ध्यानाकृष्ट गरे । उदार पुँजीवादले आफ्ना नीतिहरूको समीक्षा गर्दै भन्यो— समावेशीकरण, सुशासन र सामाजिक सुरक्षा । सर्वत्र राज्यको भूमिकामाथि पुनर्विचारको माग बढ्यो । लोकतन्त्रलाई अल्पमत र बहुमतको संघर्ष नभई सामाजिक न्यायको विषय बनाइयो । प्रत्यक्ष लोकतन्त्रको बहस सुरु भयो । यसरी, अनेक आयाममा नवीनताको खोजी गर्दै मानवसभ्यता एक्काइसौं शताब्दीमा आइपुग्यो ।

नयाँ शताब्दी समावेशीकरण, सुशासन, सामाजिक न्याय र सम्पूर्ण समृद्धिका सपनाहरू लिएर आयो । मुद्दाहरू नयाँ थिए, जसको नेतृत्व गर्न नयाँ राजनीति आवश्यक भयो । यो पृष्ठभूमि नै वैकल्पिक राजनीतिको वस्तुगत आधार हो । अतः आज हामी जहाँ उभिएका छौं, त्यो विन्दुबाट इतिहास, समय चेतना र भविष्यलाई हेर्ने एक प्रयत्न हो— वैकल्पिक राजनीति ।

नेपाली सन्दर्भ

नेपालमा झन्डै ७५ वर्षअगाडि कम्युनिस्ट र कांग्रेस पार्टीहरू गठन भए । यी पार्टीहरू त्यसै फुत्त प्रकट भएका थिएनन्, बरु पछिल्लो शताब्दीमा संसारभर चलेका राजनीतिक आन्दोलनहरूको जगमा निर्माण भएका थिए । परिणामतः कांग्रेस र कम्युनिस्टहरूले लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिए । लोकतन्त्र अर्थात् पञ्चायतविरुद्धको आन्दोलन । पूर्ण लोकतन्त्र अर्थात् गणतन्त्रको आन्दोलन । यो आन्दोलन सफलता र असफलताको चाकाचुली खेल्दै अगाडि बढ्दै गयो । आन्दोलनकारीहरूले कहिले सरकार र कहिले सडकमा नेतृत्व गर्दै आए । २०६३ सालको आन्दोलनले परिवर्तनको अन्तिम कुइनेटो पार गर्‍यो । संघीय, लोकतान्त्रिक गणतन्त्र आयो । तर आन्दोलन सफल भए पनि नागरिकमा पुराना दलहरूप्रतिको संशय उस्तै रह्यो । यहीँबाट पुरानो राजनीति धरमराउन थाल्यो र नयाँ सम्भावनाको आधार बन्दै गयो ।

प्रत्येक युगको वैकल्पिक राजनीति (पार्टी) अलग हुन्छ । तर, वैकल्पिक राजनीतिको सम्भावना कहिल्यै मर्दैन । कुनै बेला कांग्रेस र कम्युनिस्टहरू वैकल्पिक थिए । राणा, पञ्चायत र राजतन्त्रको युगमा लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिको कुरा गर्नु निश्चय नै वैकल्पिक विषय थियो । २०७२ को सविधानसँगै कांग्रेस र कम्युनिस्टहरूले देखेका सपनाहरू पूरा भए । ७० वर्ष लामो राजनीतिक आन्दोलन सकियो । समय फेरियो । फेरिएको समयले नयाँ मुद्दाहरू उजागर गर्‍यो । अर्थात्, राजनीतिक उपलब्धिहरूलाई मान्छेको जीवनमा जोड्न आवश्यक भयो । नयाँ कार्यभारहरू थिए— आर्थिक–सामाजिक न्याय, सुशासन, समृद्धि र सम्पूर्ण स्वतन्त्रता । अर्थात्, पूर्ण बदलाव । यथावस्था नयाँ कार्यभारहरू पूरा गर्न पुराना पार्टीहरूको राजनीतिक क्षमताले पुग्दैनथ्यो, जुन २०४६ यता पटकपटक पुष्टि भएकै कुरा हो । ठीक यही विन्दुबाट नेपालमा वैकल्पिक राजनीतिको प्रयत्न सुरु भयो ।

अनुभव र शिक्षा

२०४६ सालको परिवर्तनसँगै देवेन्द्रराज पाण्डे, टंक कार्कीहरूले नयाँ राजनीतिको प्रस्ताव गरे । लोकदलको गठन भयो । यद्यपि त्यसैताका पूर्वपञ्चहरूले पनि नयाँ पार्टी खोले । वस्तुतः नयाँ पार्टी खोल्नु र नयाँ राजनीतिको प्रस्ताव गर्नु आफैंमा भिन्न कुरा थियो । तर २०४६ सालको जनआन्दोलन भर्खर सफल भएको थियो र कांग्रेस–कम्युनिस्टहरू परीक्षण हुन बाँकी नै थिए । त्यसैले डा. पाण्डेहरूले थालेको नयाँ प्रयत्नले आकार लिएन । वस्तुगत परिस्थिति तयार नभई मनोगत आग्रहबाट सुरु भएको लोकदल मात्र एउटा असल प्रयत्नमा सीमित भयो ।

२०६३ पछि नेपालमा वैकल्पिक राजनीतिको बहस अझ तीव्र भयो । त्यसैताका इटहरीमा वैकल्पिक विचार मञ्च बन्यो । काठमाडौंमा (स्वर्गीय) उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भयो । २०७२ तिर आइपुग्दा बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई आलोचना गर्दै नयाँ शक्तिको आवश्यकता प्रस्ताव गरे । रवीन्द्र मिश्र, मुमाराम खनाल र सूर्यराज आचार्यहरूले अर्को पाटोबाट वैकल्पिक राजनीतिको छलफल अगाडि बढाए ।

वैकल्पिक विचार मञ्चले वैकल्पिक राजनीतिको भाष्य, विचार र संरचनाको कुरा गर्‍यो । केही प्रकाशनहरू आए । तर मञ्च आफैं राजनीतिक संगठनमा रूपान्तरित भएन । त्यसको सीमा के भने, विचारलाई व्यावहारिक राजनीतिमा रूपान्तरित गर्ने सामर्थ्य मञ्चसँग थिएन । यता भट्टराईले सुरु गरेको नयाँ राजनीतिक अभियान प्रचारात्मक हिसाबले निकै सशक्त थियो । तर त्यसको संगठनात्मक पक्षमा अनेकौं कमजोरी देखा परे । मुख्यतः नयाँ शक्तिले वैकल्पिक राजनीतिको गम्भीरतालाई समाउनै सकेन । संगठनहरू भद्दा हुँदै गए । सदस्यहरूमा पदको आकांक्षा बढ्दै गयो । नेताहरू भिन्न विचारप्रति उदार देखिएनन् । वस्तुतः माओवादी पृष्ठभूमिमा हुर्किएको वैचारिक जडताले आफूलाई नयाँ लयमा ढाल्नै सकेन । सबैका एकअर्काप्रति असन्तुष्टि र अविश्वास थिए, तर समाधान थिएन । परिणामतः पार्टी छोड्ने क्रम तीव्र भयो । यस्तो भयो कि, फरकफरक पृष्ठभूमिबाट आएका मान्छेहरू वैकल्पिक राजनीतिको मूल प्रवाहमा एकाकार हुनै सकेनन् । नयाँ शक्ति पार्टी नभई मोर्चा बन्यो र सकियो ।

निश्चय नै, विवेकशीलहरूमा नयाँ गर्ने हुटहुटी थियो । तर संस्थागत वैचारिकी थिएन । ढाका टोपी र झन्डासँगै राष्ट्रिय गीत गाउँदै सडकमा निस्किने त्यो युवा अभियानले विश्वराजनीतिको पछिल्लो प्रवृत्ति र वैचारिक बदलावको आवश्यकतामा धेरै ध्यान दिएन । अवश्य नै त्यो समूहसँग राजनीति सुसंस्कृत हुनुपर्छ भन्ने पवित्र भावना थियो, अभियानहरू रचनात्मक थिए, तर वैचारिक तथा संगठनात्मक हस्तक्षेप गर्ने तागत थिएन । अर्कातिर, साझा पार्टीमा लोकप्रियताको जग थियो, तर राजनीतिक पक्षधरता थिएन । पार्टीलाई सबैको प्रिय बनाउने गैरराजनीतिक चिन्तन साझाको मुख्य समस्या रह्यो । परिणामतः पार्टीको राजनीतिक परिचय स्थापित भएन । उल्टो पार्टी सस्तो लोकप्रियतामा फस्दै गयो । र, थाहै नपाई यो मधेस, महिला, जनजाति, दलित र सीमान्त समुदायका मुद्दाहरूमा निरपेक्ष देखिन थाल्यो । विकासलाई राजनीतिक आँखाले नहेर्नु यो पार्टीको कमजोरी बन्यो । अवश्य नै, अहिले विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिको मूलधार बनेको छ । यद्यपि यो पार्टीभित्र वैचारिक गन्तव्यको विवाद अझै सुल्झिएको छैन । यो विवादको समाधन कस्तो हुन्छ, त्यसैबाट यसको भविष्य निर्धारण हुनेछ ।

जग र छानोको सन्तुलन

विवेकशील साझाभित्र चलेको पछिल्लो बहसले फेरि एउटा प्रश्न उजागर गरेको छ । के नेपालमा वैकल्पिक राजनीतिको सम्भावना सकियो ? समय, समाज, समाजका सपना र त्यसभित्र निहित गतिशीलतामाथि विश्वास गर्ने हो भने वैकल्पिक राजनीतिको सम्भावना कहिल्यै मर्दैन । यो लड्दै, उठ्दै र आफ्नो बाटो आफैं बनाउँदै अगाडि बढिरहन्छ । मुख्य कुरा अनुभवहरूलाई संश्लेषण गर्ने, आफूले हिँडेको बाटोलाई फर्किएर हेर्ने, कमजोरीहरू सुधार्ने र अगाडि बढ्ने लचक त्यसमा हुनुपर्छ । नेपालमा पछिल्लो समय भएका वैकल्पिक राजनीतिका सबै अनुभवको स्वामित्व लिँदै त्यसलाई एकीकृत गर्न सके वैकल्पिक राजनीति अनिवार्य छ ।

त्यो अनुभव के हो ? वैकल्पिक राजनीतिका पछिल्ला प्रयत्नहरूलाई विचार गर्दा त्यसमा केही साझा परिदृश्यहरू देखिन्छन् । जस्तो, राजनीतिको जग र छानो निर्माणको असन्तुलन । अर्थात्, सबैले राजनीतिक आधारमा भन्दा उपरि–संरचनामा जोड दिएको देखिन्छ । जस्तो, पहिले मान्छेहरू जोडेर केन्द्रीय समिति बनाउने तर राजनीतिको विचार पक्षलाई प्राथमिकता नदिने । जग नमिलाई, पिल्लर नउठाई र बिमले नकसी हालिएको छानो कसरी बलियो हुन्छ ? यहीँनेर प्रश्न स्वाभाविक हुन्छ— राजनीतिको जग के हो ? जग विचार हो । जग मुद्दाहरू हुन् । जग वैकल्पिक राजनीतिको ऐतिहासिक औचित्यलाई स्थापित गर्ने आह्वान हो । मान्छेलाई अपिल गर्ने, जोड्ने र संगठित हुन उत्प्रेरित गर्ने आधारहरू नखोजी एकैपटक माथिल्ला संरचनाहरू बनाउनु पार्टी निर्माणको सुल्टो बाटो कदापि होइन ।

राजनीतिमा विचार गर्नुपर्ने अर्को महत्त्वपूर्ण विषय हो— उत्प्रेरणा । जस्तो, पार्टी निर्माणको उत्प्रेरणा व्यक्तिको लहड हो कि समय–चेतना ? अर्थात्, राजनीतिलाई भीडले उत्प्रेरित गर्छ कि समाजको वस्तुगत आवश्यकताले ? वैकल्पिक पार्टीहरू भीडबाट प्रेरित हुँदा सस्तो लोकप्रियतामा फस्ने खतरा सधैं रहन्छ । किनभने भीडले नेता खोज्दैन, सेलेब्रिटी खोज्छ । परिणामतः पार्टीमा विचार, प्रतिबद्धता, लगाव, राजनीतिक क्षमता र सुझबुझ गौण बन्छन् अनि व्यक्तिको लोकप्रियता प्रधान बन्न पुग्छ । त्यसपछि के हुन्छ ? संगठनहरू फ्यान क्लब बन्छन् । भन्न पर्दैन कि, फ्यान क्लब र दलमा फरक हुन्छ । फ्यान क्लबमा फ्यानहरू हुन्छन्, तर त्यहाँ राजनीतिक सुझबुझ, समालोचना, संकल्प र प्रतिबद्धता हुँदैन । अनेक तथ्यले भन्छन्— भीडबाट सुसंस्कृत, नयाँ र उन्नत राजनीति किमार्थ बन्दैन ।

राजनीतिक दलहरू उभिने आफ्नै आधारहरू हुन्छन् । राप्रपा, कांग्रेस र कम्युनिस्टहरूका आआफ्नै परम्परागत आधार थिए र छन् । अतः पुरानै राजनीतिक आधारमा उभिएर कसैले नयाँ पार्टी बनाउँछ भने त्यो वैकल्पिक पार्टी हुँदैन । त्यो नयाँ पार्टी मात्र हुन्छ । जस्तो, कुनै पनी मार्क्सवादी पार्टी वैकल्पिक हुँदैन । कुनै पनी माओवादी पार्टी वैकल्पिक हुँदैन । परम्परागत लोकतन्त्रको कुरा गर्ने पार्टी वैकल्पिक हुँदैन । वंशवाद, धर्म वा जातको राजनीति गर्ने पार्टी वैकल्पिक हुँदैन । सबै नयाँ पार्टी वैकल्पिक हुँदैनन् । तर सबै वैकल्पिक पार्टीहरू नयाँ हुन्छन् । वैकल्पिक राजनीति (पार्टी) एक उन्नत, सुसंस्कृत र ताजा राजनीति हो । यसका लागि दह्रो, एकताबद्ध र सुझबुझपूर्ण प्रयत्न आवश्यक देखिन्छ । अन्यथा वैकल्पिक राजनीति भ्रम हुनेछ । र, भ्रमले युगको नेतृत्व गर्न सक्दैन ।

राजनीति (पार्टी) निर्माण आफैंमा एक युगीन प्रयत्न हो । लहडमा स्थापना गरिएका पार्टीहरू सानोतिनो आँधीमा डगमगाउनु स्वाभाविक हुन्छ । किनभने मनोगत चिन्तन र आग्रहले मात्र राजनीतिक पार्टी बन्दैन । आजसम्म वैकल्पिक राजनीतिले आर्जन गरेको सबैभन्दा बलियो अनुभव र शिक्षा यही हो । निश्चय नै, वैकल्पिक राजनीति सम्भव छ । यो मर्दैन । तर त्यसलाई नयाँ विचार, नयाँ मुद्दा, नयाँ ढाँचा र नयाँ संस्कृतिले सुसज्जित गर्नुपर्छ । अन्यथा पुरानै जगमा माटो थुपारेर नयाँ घर कसरी बन्छ ?

[email protected]

प्रकाशित : भाद्र २९, २०७८ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?