किन भासिँदै छ पोखरा ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन भासिँदै छ पोखरा ?

जमिनको सन्तुलन कायम गर्नका लागि पोखराजस्तो भूबनोट भएको स्थानमा भूमिगत पानीको तह, मात्रा र बग्ने दिशाले पनि भूमिका खेल्ने गर्छ । भित्रभित्र भ्वाङहरू पर्नु र गुफाहरू ठूला हुँदै र जेलिँदै जानुमा भूमिगत पानीले ठूलो काम गर्छ ।
सुबोध ढकाल

चौबीस घण्टामा २८० मिमिभन्दा बढी पानी परेपछि यही भदौ ७ गते पोखराको महेन्द्र पुल क्षेत्रमा जमिन भासियो । त्यसपछि पनि पोखराका अन्य भागमा यस्तै समस्या देखिइरहेको छ । लगभग प्रत्येक वर्ष नै विशेषतः बर्खाको समयमा पटकपटक पोखराको मध्यभागदेखि लिएर ठाउँठाउँमा जमिन भासिएको अथवा भ्वाङ परेको खबर सुन्दै आइएको छ ।

२०७१ सालतिर पोखरानजिक अर्मलामा बनेका अनगिन्ती भ्वाङ (सिन्कहोल) ले भने बढी नै चिन्तित बनाएका थिए । केही वर्षको मिहिनेतपछि अहिले त्यो स्थानमा त्यस्तो ठूलो समस्या देखिएको छैन । यसरी पटकपटक भ्वाङ परिरहने र जमिन भासिने क्रम पनि बढिरहँदा किन पोखरामा यस्ता घटनाहरू भइरहन्छन् भन्ने प्रश्न धेरैका मनमा उब्जिरहेको छ, जसको उत्तर यस आलेखमा दिने कोसिस गरिएको छ ।

कुनै पनि स्थान भासिनु र भ्वाङ पर्नु मूलतः उक्त स्थानको भौगर्भिक बनोटसँग सम्बन्धित हुने गर्छ भने जमिनमा हुने मानवजन्य क्रियाकलाप, आकाशेपानीको निकास, जमिनमुनिको पानीको बहाव, उक्त स्थानमा रहेका खोलानालाको बनोट र कटान गर्ने क्षमताले पनि समग्र रूपमा यो प्रक्रियालाई नियन्त्रण गर्ने गर्छ । साथै जमिनमुनिको पानीको मात्रा र यस्तो पानीको माथिल्लो तहले पनि महत्त्वपूर्ण भुमिका खेल्ने गर्छ । अनुसन्धानहरूले देखाएका छन्— जमानामा अन्नपूर्ण चौथो हिमालबाट बनेको भयंकर ठूलो हिमताल फुट्दा त्यसको तल्लो तटतिर मडारिँदै बगेको पानीले बाटोमा रहेको हिमाली क्षेत्रका मोराइन तथा अन्य ग्लेसियल डिपोजिट, छेउछाउमा रहेका ठूलठूला बोल्डरलगायत गेग्रानहरू, पहाडका चट्टान, रूखपातका साथै नजिकका संवेदनशील पहाडहरूमा पहिरोलाई उक्सायो, त्यसले पहिरोबाट निस्केका चट्टान र डेब्रिसलाई पनि आफूसँगै बगाई ल्यायो, तर पोखराको समतल भूभागमा पुगेपछि बगाउन नसकी सबै गेग्रान उपत्यकामा थुपार्‍यो । पोखराको जमिनको माथिल्लो भाग यस्तै डेब्रिसले बनेको हो । यो कुरालाई २०७१ सालतिर अर्मलामा परेका र विभिन्न समयमा पोखरामा परिरहेका भ्वाङहरूमा देखिएको माटोको संरचनाले पनि पुष्टि गर्छ । यो उपत्यकामा यसरी थुप्रिएको डेब्रिस र माटोको तह एकनासको छैन । पोखराको मध्यभागतिर यसको मोटाइ १०० मिटर हाराहारी भएको पाइएको छ ।

यसरी ठूलो मात्रामा डेब्रिस आउने क्रममा ठूलठूला बोल्डर, ग्रेभेल आदिका अलावा चट्टानहरू एकआपसमा ठोक्किँदा र पिसिँदा बालुवाको साइजको वा त्योभन्दा पनि सानो सिल्ट र क्ले साइजको माटो पनि प्रशस्तै बन्नु सामान्य हुने भैहाल्यो । यस क्रममा पोखरा उपत्यकामा डिपोजिट भएको डेब्रिसमा सानादेखि ठूलासम्म ढुंगामाटोका कणहरू मिलेर बस्ने वातावरण बन्दा यो डिपोजिट खाँदिनका लागि उपयुक्त परिस्थिति बनेको प्रस्टसँग बुझ्न सकिन्छ । यो प्रक्रियामा हिमताल फुटी त्यसले ठूलो मात्रामा ल्याएको डेब्रिसको डिपोजिट केही लामो समयसम्म निरन्तर आइरहँदा तहमाथि तह गर्दै बस्ने वातावरण बनेको बुझ्न गाह्रो हुँदैन । यसरी तहमाथि तह डिपोजिट हुँदा माथिल्लो सतहमा रहेको डेब्रिसको चापले मुनिमुनि परेका डेब्रिसका तहलाई प्राकृतिक हिसाबले नै थिच्दै जाँदा कैयौं वर्षपछि यस्ता डेब्रिसहरू नै चट्टानमा परिणत भएको प्रस्ट देखिन्छ । यस्तो चट्टान बन्ने क्रममा सिल्ट र क्लेजस्तो सानो साइजको माटोको कणले ग्रेभेलजस्ता ठूला ढुंगाका टुक्रालाई जोड्न प्राकृतिक सिमेन्टको काम गरेको र बलियो बनाएको अनुमान गर्न पनि गाह्रो छैन । यसरी बनेको चट्टानलाई भौगर्भिक भाषामा ‘कङ्लोमरेट’ भनिन्छ ।

पोखरा उपत्यकाको र खास गरी पोखराको केन्द्र भागको बनोटमा माथिल्लो तहमा धेरै ठाउँमा डेब्रिससहितको ग्रेभेल र त्योभन्दा मुनि यस्तै ग्रेभेलबाट बनेका कमजोर कङ्लोमेरेट चट्टानहरू छन् । अध्ययनहरूले के देखाएका छन् भने, कङ्लोमेरेट र विभिन्न स्थानको ग्रेभेलमा रहेका चट्टानका टुक्राहरू चुनढुंगा र त्योसँग मिल्दोजुल्दो कार्बोनेट कम्पोजिसनका छन् जुन अलिकति अम्लीय पानीमा सजिलै घुल्न सक्छन् र कुहिन सक्छन् भने यसलाई जमिनमुनिको पानीले सजिलै खियाउन र बगाउन सक्छ । त्यसका साथै कङ्लोमेरेट र ग्रेभेलको छिद्रमा सिमेन्टको काम गर्ने चट्टानको धूलो (क्ले) पनि चुनढुंगाकै सम्मिश्रणको भएकाले यस्तो पदार्थलाई पनि अम्लीय पानीले सजिलै घुलाई जमिनभित्रको पानीले सजिलै बगाउन सक्छ । यही प्रक्रिया पोखराको मध्यभाग र वरिपरिको भूभागमा पनि भौगर्भिक संरचना र भौतिक तथा रासायनिक प्रक्रियाबीचको मुख्य अन्तरक्रिया भएको कुराले पोखराको जमिनमुनिको मुख्य क्रियाकलापलाई अनुमान गर्न सकिन्छ ।

पोखराका गुफाहरूभित्र गएर हेर्ने हो भने कङ्लोमेरेट चट्टानबीच रहेको माटो पानीसँग मिसिई सेतो पानी गुफाभित्र तपतप झरिरहेको देखिन्छ । यहाँ अवस्थित चुनढुंगाको ग्रेभेल र बीचबीचको सेतो माटोलाई पानीले खियाई सम्मिश्रणमा लिने प्रक्रियाले यस्तो हुन गएको हो । कैयौं वर्षपहिले देखिको यस्तै प्रक्रियाले नै यहाँ धेरै गुफा पनि बनेका हुन् जसमा पानीले ग्रेभेल र छिद्रमा रहेको माटोलाई बिस्तारै रासायनिक प्रक्रियाबाट खियाउने, बगाउने अनि भित्रभित्रै प्वाल पर्दै जाने र यसरी बनेका प्वालहरू ठूलठूलो हुँदै गुफा बन्ने प्रक्रिया सरल बन्दै गएको देखिन्छ । यसरी चुनढुंगे ग्रेभेलसहितको कङ्लोमेरेट चट्टान र ग्रेभेल आफैं पनि पानीसँगको रासायनिक प्रतिक्रियास्वरूप खिइँदै गएको वास्तविकता सेती नदी गहिरिँदै जाने र यो नदीको पानी सेतो हुने प्रक्रियाले पनि पुष्टि गरिरहेको छ ।

यस्तो भौगर्भिक बनोटको कुरा गर्दैगर्दा जमिनको सन्तुलन कायम गर्नका लागि पोखराजस्तो भूबनोट भएको स्थानमा भूमिगत पानीको तह, मात्रा र बग्ने दिशाले पनि भूमिका खेल्ने गर्छ । किनकि भित्रभित्र भ्वाङहरू पर्नु र गुफाहरू ठूलो हुँदै र जेलिँदै जानुमा भूमिगत पानीले ठूलो काम गर्छ । चट्टान खियाएपछि उत्पादन भएको लेदो अर्थात् स्लजलाई पानीले जब बगाउन सक्दैन, समस्या त्यति जटिल बन्दैन र जमिन भासिने र भ्वाङ पर्ने सम्भावना पनि कम हुन्छ । स्लजलाई बगाएर बाहिर निकाल्नका लागि भित्रभित्रै प्राकृतिक रूपमै ‘पाइपिङ’ को प्रक्रिया बन्न गयो र बाहिर निकाल्नका लागि मुख भेटियो भने वातावरण अनुकूल बन्न जान्छ । यो प्रक्रियालाई नजिकैको खोलाले मुनिमुनिबाट निरन्तर रूपमा गर्ने कटान तथा मानिसहरूले विभिन्न प्रयोजनका लागि जमिन खन्ने र काट्ने कामले बढावा दिन सक्छ । पोखरामा यस्त घटनाहरू विशेषतः बर्खाको समयमा बढी देखिनुले जमिनमुनि बढ्ने पानीको मात्रा, बढ्ने खोलाको कटानको क्षमता र जमिनमुनि धेरै पानी छिर्दा बढ्ने पाइपिङको सम्भावना सबैलाई संयुक्त रूपमा इंगित गरेको छ ।

भूमिगत पानीको भण्डार सुक्नुले पनि जमिन भासिने प्रक्रियालाई बढावा दिन सक्छ । त्यसो हुन नदिन भूमिगत पानीका लागि रिचार्ज र डिस्चार्जका बीच सन्तुलन कायम गर्नु जरुरी हुन्छ, नत्र भने भूमिगत पानीमा ओभरड्राफ्ट हुन गई पानीको स्रोत पनि सुक्दै जाने र पानीले भरिएको माटोभित्र पानी नभएपछि खाली हुन गई जमिनमाथिका हाम्रा संरचनाहरूको चाप र जमिनको आफ्नै चापलाई पनि धान्न नसकी जमिन भासिन सक्छ । २०७२ सालको विनाशकारी भूकम्पले हल्लाउँदा पोखराको संवेदनशील भौगर्भिक बनोटलाई अझै प्रतिकूल असर परेको हुन सक्छ किनकि यहाँका गुफाहरूभन्दा माथिल्लो भागको माटोको तह पातलो भैसकेको अवस्थामा भूकम्पले हल्लाउँदा जमिन भासिनु अस्वाभाविक होइन । भूकम्पकै कारण ठाउँविशेषमा जमिनमुनिको पानीको बहावको दिशासमेत परिवर्तन भएको हुन सक्ने अवस्थालाई पनि नकार्न सकिन्न । यस्तो असरबारे पनि समयमै सत्यतथ्य थाहा पाउनु जरुरी छ ।

यस्तो भौगर्भिक संरचना भएको ठाउँमा हामीले बनाएका पूर्वाधारको अतिरिक्त चापले जमिन भासिने प्रक्रियालाई उकास्न सक्छ । समय निकै गुज्रिसकेको, सहरीकरण भइसकेको, भौतिक संरचनाहरू निर्माण भैसकेको अहिलेको अवस्थामा कति पनि ढिलो नगरी विभिन्न स्थानको भौगर्भिक संरचनाको वस्तुस्थितिसम्बन्धी अनुसन्धान र त्यसको तथ्य बाहिर आउनु अत्यावश्यक छ । भूभौतिकी अध्ययनसमेत गरी पोखराको जमिनमुनिको बनोटबारे सत्यतथ्य थाहा पाउनु र सोहीअनुसारको योजना बनाउनु पनि उत्तिकै जरुरी छ । पछिल्लो समय भैरहेको सहरीकरण र बढ्दो मानवीय क्रियाकलापबीच पर्याप्त अध्ययन र अनुसन्धान नभैसकेकाले अहिले आत्तिइहाल्ने अवस्था भने छैन ।

(ढकाल सह–प्राध्यापक तथा इन्जिनियरिङ भूगर्भविद् हुन् ।)

dhakalsubodh@gmail.com

प्रकाशित : भाद्र २९, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

गैंडाकोटको थुम्सीमा ट्रक र बस ठोक्किँदा ३ को मृत्यु, २७ घाइते

नारायण शर्मा

नवलपरासी पूर्व — महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बर्दिया बाँसबारी नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीया योगमाया सुवेदीको भरतपुर सरकारी अस्पतालमा, कञ्चनपुरकी रंगी तिरुवाको र कञ्चनपुरको महेन्द्रनगरका अन्दाजी ३० वर्षीय कृष्ण रानाको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये ३ जनाको गम्भीर रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।

प्रकाशित : भाद्र २९, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×