कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रामकुमारीको राजनीतिक ‘हाइवे’

आलोचनात्मक विवेकको निरन्तरता,  आफूले ठहर गरेको ‘कन्भिक्सन’ प्रति अविचलित अडान र लड्ने इच्छाशक्ति झाँक्रीको व्यक्तित्वका सबल पक्ष हुन् । उनले तय गर्नुपर्ने अझ कठोर र लामो यात्रामा यिनै कुरा नै उनलाई पहिलो सम्बल बन्नेछन् ।
सरिता तिवारी

राजनीति समाजका विचार र क्रियाहरूको एकत्व हो । यसमा सामूहिकता र संगठन  प्राथमिक हुन्छन् तर यिनलाई गतिमान दिशा दिन खास चरित्रका पात्रको नेतृत्वकारी भूमिका जरुरी हुन्छ । यस्ता केही पात्र जसले इतिहास र समकालीनता दुवैको गुरुत्व र दायित्व धान्न सकून्, समाजलाई अलमलिने वा पछाडि फर्कने जोखिमबाट फड्काएर अघि लैजान सकून् ।

रामकुमारीको राजनीतिक ‘हाइवे’

र अझ मुख्य कुरा, इतिहासका खासखास मौका र परिस्थितिमा त्यसअघि नभएका क्रान्तिकारी प्रयोग गरेरै समेत समाज विकासको गतिलाई निर्णायक मोडतर्फ निर्देशित गर्न सकून् । यस्तो नेतृत्वमा कुनै पनि वर्ग, जात, क्षेत्र र समुदायका महिला वा पुरुष, कोही पनि निर्बाध रूपले स्वीकृत हुन सकून् । राजनीतिक नेतृत्वका विषयमा सफा र निजी नाफाघाटा नसोची कल्पना गर्दा बन्ने सारभूत विम्ब यही हो । तर सर्त हुँदो रहेछ, यस्तो विम्बको कल्पना हामी कस्तो समाजमा बसेर गरिरहेका छौं ? हाम्रा सोच्ने शैलीहरू नफेरी यस्ता कल्पना ‘मनको लड्डु’ बन्दा रहेछन् ।

यस लेखमा नेता रामकुमारी झाँक्रीको मूर्त राजनीतिक हस्तक्षेपलाई यही कल्पनाको फ्रेमभित्र राखेर चर्चा गरिनेछ । एउटा उदाउँदो नेतृत्वका रूपमा उनका शक्ति र सीमालाई आलोचनात्मक परखसमेत गरिनेछ । उनी एक व्यक्ति वा कुनै पार्टीकी कार्यकर्ता र नेता मात्र होइनन्, यो समाजको निरन्तर गतिक्रमले निर्माण गरेको विम्बसमेत हुन् । यो विम्बमा उनको व्यक्तिगत इच्छाशक्तिसँगै इतिहासको इच्छाशक्तिको पनि योगफल छ । यसको हेक्का उनलाई पनि छ भन्ने अपेक्षा राख्न सकिन्छ ।

वर्षदिनयताका घटनाक्रम र तिनले सृजना गरेका परिस्थितिहरूबाट देखिने गरी आकार लिइरहेको झाँक्रीको राजनीतिक व्यक्तित्व झन् पछि झन् प्रस्ट हुँदै गएको अनुभव हुन्छ । योगमायापछि असी वर्ष लामो (संवत् १९९७–९८ देखि हालसम्म) लोकतान्त्रिक चेतनाको इतिहासमा नेपाली समाजले कुनै महिलाको मुखर नेतृत्वकारी भूमिका देख्न–भोग्न पाएको छैन । भूमिगत वा खुला रूपमा गरिएका प्रजातन्त्र–लोकतन्त्रका आन्दोलनहरू र छापामार तथा सैन्य अनुभवसमेतको जनयुद्धकालमा महिलाहरूले देखाएको सुझबुझ, वीरता र बलिदान चाहेर पनि बिर्सन सकिन्न । तर ती सबै खाले आन्दोलनमा व्यवस्था परिवर्तनको चेतना मूल उत्प्रेरक थियो । ती कुनै पनि आन्दोलनमा निर्णायक ‘लिडरसिप’ मै हस्तक्षेप गर्ने गरी महिलाहरू अगाडि आउन सकेनन् । त्यसको पछाडि पार्टीहरूभित्रकै पितृसत्तात्मक विचार, संरचना र अभ्यास बढी जिम्मेवार छ भन्नेमा दुईमत हुन सक्दैन । आजकै दिनमा पनि क्षमता र सम्भावना भएका महिला नेताहरूसमेत पुरुष–अनुग्रह र तत्कालीन लाभहानिका छायामुनि टाक्सिन पुगेको देखिएकै छ । हुन त पारिवारिक ‘लिगेसी’ र नेतृत्वको कृपादानले राजनीतिक ‘स्पेस’ बनाएका महिलाहरू नभएका होइनन् तर पारिवारिक ‘लिगेसी’ को बैसाखी नभएकैले वा नेतृत्वको कृपापात्र बन्न नचाहेकाले राजनीतिक करिअर जोगाउन र उठाउन नसकेर संगठन–राजनीतिसँग विरक्तिएका महिला नेताको संख्या पनि उल्लेख्य छ । यसका पछाडि अर्थ–राजनीतिक र सांस्कृतिक कारणहरू पनि बलिया सहायक होलान् । यस विषयमा उति साह्रो बहस भएको देखिँदैन ।

यही परिस्थितिका बीच रामकुमारी झाँक्री केही विवादास्पद अभिव्यक्ति र क्रियात्मक गतिविधिका कारण नेपाली राजनीतिको एउटा अनिवार्य र ‘नोटेबल’ पात्र बन्न पुगेकी छन् । उनको उपस्थिति दैनन्दिन फेरिइरहने राजनीतिक (दिन)चर्या, त्यहाँभित्र जन्मिरहने र शिथिल भइरहने गरमागर्मीभन्दा अलिक फरक प्रकृतिको देखिन्छ । उनका अन्तर्वार्ता र भाषणहरूमा महसुस हुने ध्वनि र तार्किक सामथ्र्य सापेक्षत: उनका समकालीनको भन्दा पृथक् छ । उनका वार्ताहरूमा बारम्बार प्रयोग हुने ‘पोलिटिकल कन्भिक्सन’ को तर्क, पछिल्ला दिनहरूमा हरेकपल्ट उनको अनुहारमा प्रकट हुने आत्मविश्वास र नेतृत्वप्रति निडर आलोचनात्मक हुने साहसमा अडिएर हेर्दा देखिन्छ, उनी हामीमध्ये कमैले सोचेको धेरै लामो दूरीको यात्रामा छिन् ।

नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र) सँग एकता भएपछिको नेकपा (नेकपा) र हालको नेकपा (एमाले) का हरेकजसो अन्तरविरोध र त्यसका तरंगहरूमा उनी लगातार हिस्सेदार रहिन् । तर उनी आजझैं विगतका अन्तरविरोधहरूमा निर्णायक हिस्सेदार कहिल्यै थिइनन् । यो कुरा सत्य हो कि, उनी सुरुदेखि नै जुझारु र लडाकु प्रकृतिकी भएकैले समकालीनहरूबीच पनि फरक रहँदै आइन् । सडकमा प्रकट भइरहने ‘विद्रोही–आन्दोलनकारी’ छविले उनलाई सार्वजनिक स्वीकृति र लोकप्रियता दिलाउँदै पनि आयो । तर नेतृत्वसँग वारपारको स्पष्ट वाक् संघर्ष र आक्रमण–प्रत्याक्रमणको निसानामा पर्ने स्थिति यसअघि भने सामना गर्नुपरेको थिएन । विशेष गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनीलगायतका समूहको स्वार्थरक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका संविधानविरोधी गतिविधिमाथि कठोर आलोचनात्मक हुँदा उनको चर्चा फेरि चुलियो । गएको माघमा गोरखा पुगेर गरेको भाषणमा राष्ट्रपति भण्डारीमाथि व्यक्त उनका तिखा टिप्पणीले ‘सेतो सारी र विधवापनको खेती’ का दुष्परिणामको व्याख्या गरेका थिए, जसलाई विद्यादेवी भण्डारीसँग मात्रै होइन अन्य प्रसंगमा पनि जोडेर हेर्न सकिन्छ र यो वास्तवमा उठाउनैपर्ने विषय थियो । तर यही सिलसिलामा आएको ‘नभए बालकोटै गए हुन्छ’ भन्ने अभिव्यक्तिले उनलाई विवादमा तान्यो ।

यो ठूलो संकल्प र दु:खले ल्याएको गणतन्त्रमा विद्यादेवी भण्डारी वा कसैको पनि राजकीय/शासकीय विवेक र भूमिकामाथि प्रश्न उठाउन पाइन्छ । झाँक्रीले भन्ने गरेझैं भण्डारीले पूर्वप्रधानमन्त्री केपी ओलीको महत्त्वाकांक्षाको सारथि भएर जेजस्ता अवैधानिक सहकार्य गरिन्, त्यसले नेपालको महिला आन्दोलनको सशक्तीकरणमा ब्रेक लागेको साँचो हो । यही कारण राष्ट्रपतिजस्तो संस्थाले साख र गुरुत्व गुमाएको पनि साँचो हो । तर ‘बालकोटै गए हुन्छ’ जस्ता शब्दावलीले संकेत गर्ने अर्थबारे सचेत हुन नसक्नु झाँक्रीको कमजोरी थियो । यस्ता कमजोरीलाई आत्मसात् गर्न नसक्दा बेहोर्नुपर्ने क्षति उनको माघ २९ गतेको पक्राउ र केही घण्टाको हिरासतजस्तो सामान्य किसिमको मात्र पक्कै हुनेछैन ।

पार्टीभित्र अध्यक्ष केपी ओली र उनको प्रभावसमूहको आलोचक रहँदै पछिल्ला दिनहरूमा माधव नेपाल समूहमा क्रियाशील हुँदा उनका साथमा दोस्रो तहका नेताहरू र उनले बडो भरोसा गरेका ‘दाइ कमरेडहरू’ पनि थिए । सर्वसत्तावादी ओलीको तीव्र दक्षिणपन्थ, दुईदुई पटक संसदै विघटन गरिदिन सक्ने प्रतिगमनकारी चरित्र र ‘महाराज’ बन्ने तिर्खासहितको वर्चस्व हावी रहुन्जेल पार्टी एकगठ हुँदैन भनेर केपी ओलीबिनाको एमाले बनाउनुपर्ने तर्क गर्दै आइरहेकी झाँक्री पार्टी विभाजनको पल्लो छेउसम्मै आफ्नो अडानमा कायम रहिन् । तर उनले भरोसा गरेका कमरेडहरू भने पार्टी मिलाउने नाममा यथास्थितिको एमालेमै झन्डै बिनासर्त फर्के । यो दृश्य जनमानसले बडो मसिनोसँग हेरिरहेको छ र ती हरेक व्यक्ति–व्यक्तिको मूल्यांकन गरिरहेको छ । यसबीच एमालेमै फर्किनेहरू जति द्विविधाग्रस्त र अन्यमनस्क देखिन्छन्, यता झाँक्री भने कठोर आत्मसंयम र विश्वासमा देखिन्छिन् । एकाएक नयाँ पार्टी निर्माणको अग्निरेखामा उभिन पुग्दा उनीसँग सम्भवत: उनी मात्रै छिन् । नेता माधव नेपालको पाखुरा समातेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न पुग्दा उनको ‘बडी ल्यांग्वेज’ ले व्यक्त गर्ने अर्थ पनि यही हुनुपर्छ ।

यतिखेर निश्चित रूपमा ओली पक्षधरहरूका लागि झाँक्री विद्वेष र प्रतिशोधको निसाना बनिरहेकी छन् र आफू उभिएको पक्षकारका लागि चाहिँ निर्णायक शक्तिको प्रतीक । यस्तो ठानिनु स्वाभाविक हो । तर आम सार्वजनिक वृत्त भने उनलाई कुनै दुराशय नराखी उत्सुकतापूर्वक हेरिरहेको छ । यो उत्सुकताभित्र केही आलोचनात्मक प्रश्न भने छन् । र केही उज्याला सम्भावनाको पर्खाइ पनि ।

आलोचनात्मक विवेकको निरन्तरता, आफूले ठहर गरेको ‘कन्भिक्सन’ प्रति अविचलित अडान र लड्ने इच्छाशक्ति झाँक्रीको व्यक्तित्वका सबल पक्ष हुन् । उनले तय गर्नुपर्ने अझ कठोर र लामो यात्रामा यिनै कुरा नै उनलाई पहिलो सम्बल बन्नेछन् । उनको आफ्नै चरित्रका विकासक्रम र बाह्य कारणसमेतले अब उनलाई ‘फलोअर’ मात्र रहिरहने ठाउँबाट निर्णायक ‘लिडरसिप’ तर्फ ‘डिपार्चर’ गराइसकेको छ । यो दृश्यमा तमाम नेपाली महिलाले देखेको जिउँदोजाग्दो र सामर्थ्यवान् नेतृत्वकारी महिलाको सपनासमेत जोडिएको छ ।

पछिल्लो एउटा वार्तामा झाँक्रीले ‘दाइ कमरेड’ हरूको अवस्थालाई संकेत गर्दै भनेकी छन्, ‘दोबाटोमा उभिनेहरूले कन्फ्युजन सृजना गरिरहेका छन् ।’ यो अभिव्यक्तिसँगै उनले दोहोर्‍याएकी छन्, ‘म आफ्नो गन्तव्यतर्फ निरन्तर हिँडिरहेकी छु, आफ्नो राजमार्गमै छु ।’ उनीसमेत मिलेर आज दर्ता गरेको नयाँ पार्टी कालान्तरमा माओवादी केन्द्र, एमाले वा अरू वामपन्थी पार्टीहरूसँगै मिसिएर ‘लेफ्ट लिडिङ फोर्स’ बन्ने सम्भावनातर्फ उनी स्वयंले संकेत गरेको अवस्थामा उनलाई मूल नेतृत्वदायी भूमिकामा देखिने दिन कहिले आउला, यसै भन्न कठिन छ । तर विश्वासपात्र रहँदै आएका सहकर्मीहरू दोबाटोमा उभिएर द्विविधाग्रस्त भएको समयको यो सबभन्दा संगीन मोडमा जसरी उनी करिअर नै दाउमा राखेर आफ्ना नेताको नाडी समातेर अघि बढिन्, यसको विम्बले उनलाई एउटा सक्षम र सामथ्र्यशाली नेतृत्व लिने राजमार्गतर्फ पुर्‍याइसकेको छ । हुन त फुटेर दाउ खेल्दा पनि प्रकारान्तरले भविष्यमा आर्जन गर्न सकिने राजनीतिक लाभांशका हिसाबले फाइदा नै हुने सोचियो होला भन्ने शंकाको सुविधा त छँदै छ । यसरी हेर्दा पनि पाण्डे–भुसाल–भट्टराईलगायतका द्विविधाग्रस्त दाइ कमरेडहरूका तुलनामा यिनले आर्जन गरेको विश्वासको पल्ला कति हो कति भारी छ । नेपाली जनताले सुधारिएका (पुँजीवादी/संशोधनवादी) कम्युनिस्टलाई अझै केही दशक सत्ता राजनीतिमा अनुमोदन गरिरहे भने झाँक्रीले आज देखाइरहेको आत्मविश्वासको निरन्तरताले भविष्यमा प्रधानमन्त्री वा राष्ट्रपतिसम्मको मुकाममा पुर्‍याउने सम्भावना प्रबल देखिन्छ । तर यो मुकाममा पुग्नुअघि उनले अहिले लगातार प्रश्न गर्ने गरेको दलाल बिचौलियापन्थी राजनीतिको फेरोलाई निफन्दै र सङ्ल्याउँदै सुकिलो बनाउने प्रयत्न भने गर्नैपर्ने हुन्छ । अन्यथा आज उठाएका प्रश्नको औचित्य रहनेछैन ।

एउटा निम्न मध्यवर्गीय मगर परिवारकी केटीले पश्चिम पहाडको सुदूर गाउँबाट वामपन्थी विद्यार्थी राजनीति गर्दै काठमाडौंको राजनीतिक परिवृत्तमा संक्रमण गरेर कुनै खास संरक्षण र टेकोबिना यहाँसम्मको यात्रा तय गर्नु असाधारण कुरा हो । अखिलको नेताका रूपमा ‘हिस्ट्री ब्रेकर’ बन्ने अवसर पनि उनलाई कसैको दयामायाले मिलेको पक्कै होइन । २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको ‘कु’ पछि त्यसको प्रतिरोधमा निरन्तर सडकमा भिडेकी उनलाई २०६२–६३ को जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को ट्याग पनि कुनै कृपाले मिलेको होइन । हाल समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद रहेकी उनी नेतृत्वलाई खुसाएर दान वा बक्सिसमा सांसद बनेकी पनि होइनन् ।

झाँक्रीसँग बाह्य शक्तिको टेकोभन्दा पनि आफ्नै बर्कत र इरादाको शक्ति बलियो छ । यति कुरा त प्रस्ट छ । तर पार्टी र देशकै नेतृत्व लिने जुन काल्पनिकी छ, त्यसका लागि यति मात्रै ‘सद्गुण’ ले पुग्दैन । झाँक्रीका केही आधारभूत समस्या छन् जुन बेलाबेला प्रकट हुने उनका अभिव्यक्तिबाट सजिलै बुझ्न सकिन्छ । पहिलो र सबभन्दा घनघोर समस्या हो केपी ओली स्कुलिङसँग मिल्दोजुल्दो पहाडकेन्द्री महेन्द्रपथीय राष्ट्रवाद जसले बहुराष्ट्रको प्रसंग उठाउनासाथ मधेस या जनजाति समुदायलाई अन्यकरण गर्छ, संघीयता र समावेशीकरणको मर्म आत्मसात् गर्न इन्कार गर्छ । दोस्रो समस्या हो, सामन्तवादी पितृसत्ताले रोपेको विषाक्त चिन्तनको जरा जसको संकेत ‘बालकोटै गए हुन्छ’ जस्ता अचानक फुत्केका अभिव्यक्तिमा पाइन्छ । तेस्रो समस्या हो, जातव्यवस्था र योसँग जोडिएका संगीन विषयमाथि एउटा युवा नेतामा अपेक्षित गम्भीरता नदेखिनु जुन रूपा सुनार प्रकरणमा उनले राखेका विचारले प्रकट गर्छ । चौथो समस्या हो, लोकप्रियताको विशेष सतर्कता र टिकटक सेलेब्रिटी बन्ने ध्याउन्न ।चौथो समस्या उनको अत्यन्तै निजी छनोटको विषय हो, यसलाई सच्याउनेबारे उनले कसरी सोच्छिन्, यसमा अरूले धेरै चासो राख्नु नपर्ला । तर बाँकी समस्याहरू भने सार्वजनिक महत्त्वका छनोट हुन् । आजको सचेत पुस्ता र भोलि आउने झन् सचेत पुस्ता पुरानो सामन्तवादी शासक विचारले खाँदिएको व्यक्तिलाई अघि लगाएर नेता मान्न तयार हुनेवाला छैन ।

आफ्ना यी मूलभूत समस्यालाई सच्याउन तयार हुन्छिन् भने रामकुमारी झाँक्रीको यात्रा थप बलियो र फराकिलो हुने निश्चित छ । ‘आई लभ यु केपी बा’ भन्ने विचारहीन भीडले बाँदर नृत्य देखाइरहेको उदेकलाग्दो समयमा एउटी युवा महिलाले राजनीतिको हाइवे पक्रेर निरन्तर हिँड्ने लोभ गर्नु साँच्चै सुखद समाचार हो । यो हाइवेलाई कति उन्नत र विवेकसम्मत बनाउने भन्ने कुरा अब झाँक्रीकै हातमा छ ।

प्रकाशित : भाद्र २८, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?