समाजवादको बाटो र नेपाली राजनीति- विचार - कान्तिपुर समाचार

समाजवादको बाटो र नेपाली राजनीति

बीपीको प्रजातान्त्रिक समाजवाद गान्धीवाद, मार्क्सवाद र यथार्थवादको सम्मिश्रण हो, र हो— युग सुहाउँदो र दूरदर्शी क्रान्ति ।
डिला संग्रौला

समाजवादलाई बीपीले दुई बुँदामा परिभाषित गरेका छन् । पहिलो, समाजवाद भविष्यको लहर हो । समाजवाद तेस्रो विश्वको स्वाभाविक मित्र हो । तेस्रो विश्वका देशहरू समाजवादको मियोमा बाँधिएनन् भने या त फासिस्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर ।

त्यसकारण तेस्रो विश्वका समाजवादीहरूका अघिल्तिर ठूलो चुनौती छ । आज समाजवादको आकर्षणको केन्द्रविन्दु युरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ, जहाँ समाजवाद जीवनको प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनिरहेको छ । समाजवादका मुख्य दुइटा पाटा छन्— राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने विकास । यी दुईबिना गरिबी उन्मूलन गर्छु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव हो । यो आदर्शको मात्र नभएर, जीवन–मरणको प्रश्न हो ।

दोस्रो, समाजवादको मुख्य लक्ष्य हो— समानता, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ । समानताका दुइटा पूर्वावस्था छन् । एक, समाज दैवीय संरचना होइन, शुद्ध भौतिक व्यवस्था हो, जसको उद्देश्य हो— सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा । कल्याण र सुरक्षाको अर्थ शुद्ध भौतिक छ, आध्यात्मिक होइन । दुई, समाजका सदस्यहरूका आकांक्षा र आवश्यकताहरू प्रायः समान हुन्छन् । उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्रायः समान नै हुन्छ । अनि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनुपर्छ ।

नेपालजस्तो मुलुकले राष्ट्रियता जोगाएर जनताको अधिकार सुरक्षित गर्दै विकासका लागि समाजवादको बाटो अवलम्बन गर्नुपर्छ भन्दै बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेका हुन् । यही प्रजातान्त्रिक समाजवादलाई २०१२ सालमा नेपाली कांग्रेसको महाधिवेशनले मूल आदर्शका रूपमा पारित गर्‍यो । बीपीले २०१६ जेठदेखि २०१७ पुस १ सम्म सरकार चलाउँदाको अवधिका कतिपय नीति–कार्यक्रमहरूमा समाजवादी दर्शन प्रतिविम्बित थिए । आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो बीपीलाई ।

नेपाली राजनीति र अबको कांग्रेस

नेपाली कांग्रेसको छैटौं महाधिवेशनले समाजवादका निम्न कार्यदिशा पहिल्याएको थियो— लोकतन्त्रवादका आधारमा समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट समाजवादी समाजको निर्माण; सामाजिक न्यायका आधारमा आर्थिक समृद्धिका लागि भूमिसुधार र औद्योगिकीकरण; धार्मिक, जातीय, वर्गीय र लैंगिक निरपेक्षताका आधारमा प्रजातान्त्रिक समाजवादको स्थापना; सामाजिक रूपान्तरणका लागि विकेन्द्रीकरण कार्यक्रम; यथाशीघ्र संविधानसभाको निर्वाचन; एसियाली समाजवादी सम्मेलनको सदस्यता ग्रहण र समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समितिको निर्माण । यही महाधिवेशनबाट नेपाली कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’ को सिद्धान्तलाई संस्थागत गर्‍यो । यो महाधिवेशनले भनेको थियो, ‘नेपाली कांग्रेस प्रजातन्त्र र अध्यात्मको हत्या गरेर समाजवाद स्थापना गर्न चाहने कार्यको विरोधी छ, समाजवाद ल्याउनका लागि प्रजातन्त्रको विनाश गर्नु आवश्यक छैन भन्ने यसको विश्वास छ । यसले समाजवाद र प्रजातन्त्रको गठबन्धनबाटै सच्चा समाजवादी समाजको निर्माण गर्न सक्छ भन्ने विश्वास गर्छ । अतः शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवादको स्थापना गर्न चाहन्छ ।’

लोकतान्त्रिक समाजवाद वा सामाजिक लोकतन्त्र १९ औं शताब्दीको अन्त्यतिर समाजवादी आन्दोलनले जन्माएको राजनीतिक विचारधारा हो, जसमा पुँजीवादलाई लोकतान्त्रिक मूल्य र पद्धतिअनुरूप राज्यले नियमन गरी सामाजिक, आर्थिक सुधार गर्दै अगाडि बढिन्छ । विकेन्द्रित शासन पद्धति, लोकतान्त्रिक मूल्य पद्धति, सामाजिक न्याय र आर्थिक समानता (अवसर र वितरण), पुँजीको विकास र त्यसको न्यायोचित वितरण, कानुनी राज्य र शक्तिपृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन र बहुलवाद लोकतान्त्रिक समाजवादका बलिया आधार हुन् । लोकतान्त्रिक समाजवाद लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित भएर गरिबलाई न्यायोचित रूपमा माथि उकास्दै लैजाने राजनीतिक, आर्थिक व्यवस्था हो ।

नेपालमा समाजवादलाई बीपीले सन् १९५० को दशकमा राजनीतिक, आर्थिक अवधारणाका रूपमा विकास गरेका हुन् । बीपीले देश विकासका योजना हलो जोत्ने किसानको तस्बिर हेरेर बनाउनुपर्छ भने । हरेक नेपालीसँग एउटा घर, एउटा दुहुनो गाई, एक हल गोरु भएको सपना देखे । एक गाँस खानै नपाएर, औषधि उपचार नपाएर कोही मर्न नपरोस् भन्ने समाजवादी चिन्तनबाट नेपाली समाजलाई रूपान्तरण गर्न प्रजातान्त्रिक समाजवादको माटो सुहाउँदो व्याख्या गरे । बीपीको प्रजातान्त्रिक समाजवाद गान्धीवाद, मार्क्सवाद र यथार्थवादको समिश्रण हो, र हो— युग सुहाउँदो र दूरदर्शी क्रान्तिÙ कम्युनिस्टमा हुने अन्तर्निहित ‘निरंकुशता’ र ‘तानाशाही’ होइन ।

सरकारले धनीलाई जतिसक्यो धेरै कर लगाएर त्यसको लाभांश गरिबलाई बाँड्नु नै समाजवादको सपना हो । जनताहरू जतिजति धनी हुँदै जान्छन्, प्रगतिशील करको दरमा त्यतित्यति वृद्धि हुँदै जान्छ र त्यही कर निम्न आय भएका वर्गको हितमै खर्च गर्दै जानुपर्ने हुन्छ । यसबाट असमानताको खाडल कम हुँदै जान्छ । लोकतान्त्रिक समाजवादमा राजनीतिक स्वतन्त्रता वा व्यक्तिगत स्वतन्त्रतासहित आर्थिक समानता ल्याउन सरकारी नीति तथा कार्यक्रमहरू सोहीअनुरूप तय गर्नुपर्छ ।

कुनै बेला ‘साम्यवाद’ को अभीष्ट बोकेर नेपाली जनतालाई ‘भ्रमित’ गरेका कम्युनिस्टहरूको पतन अहिलेको राजनीतिक यथार्थ हो । साम्यवादको त्यो गन्तव्य न कहिल्यै भेटिन्थ्यो न त नेपाली कम्युनिस्टको नियत नै त्यो गन्तव्यको प्राप्ति थियो । उनीहरूको नियत शासन गर्ने मात्रै थियो । बीपीले त्यो युगमा जन्माएको समाजवाद आज नेपाली कांग्रेसको मात्र होइन, हरेक राजनीतिक दलको आदर्श बन्न थालेको छ । कम्युनिस्टहरूले त्यही समाजवादको बाटोमा आफ्ना एजेन्डा मिसाउन थालेका छन् । आयातित सिद्धान्त र अमुक अभीष्टले न देश समृद्ध हुन्छ न त जनताले नै केही पाउँछन् । हरेक राजनीतिक दलले यो कुरा बुझिसकेको छ । राजनीतिक इतिहासको अति नै चुनौतीपूर्ण यस घडीमा फेरि पनि देश हाँक्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आइपरेको छ ।

देशीय राजनीतिको बाटो नै ‘समाजवाद’ तिर मोडिएको यो क्षण नेपाली कांग्रेसका लागि अझ धेरै चुनौतीपूर्ण छ । अबको नेपाली कांग्रेस ‘समाजवाद’ को नेतृत्वकर्ता पनि हुनुपर्नेछ । सुरु भइसकेको १४ औं महाधिवेशनले यस्तै कांग्रेसको परिकल्पना गर्नैपर्छ । अनि नेतृत्वले त्यो सपनालाई डोर्‍याउनुपर्छ । र, आगामी निर्वाचनमा नेपाली कांग्रेस ‘समाजवादी’ मार्गको अगुवा पार्टी हुनुपर्छ । अनि मात्रै बीपीप्रति सच्चा सम्मान हुनेछ ।

प्रकाशित : भाद्र २४, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

मैले किन माफी माग्ने ?

महिलालाई महिनावारी नभए यो संसार रोकिन्छ तर पनि किन हाम्रा लागि यो समय यस्तो कठिन ! प्रकृतिले मलाई सृष्टि चलाउन दिएको अमूल्य जिम्मेवारीका लागि मैले किन माफी माग्नु ?
कृतज्ञा रेग्मी

त्यो वर्ष म तीज मनाउन मामुसँगै मामाघर गएकी थिएँ । सानो उमेर, दर खान र हाँसोठट्टा गर्नमै रमाएँ । तीजको पर्सिपल्ट हजुरआमाले बिहानै उठाएर नुहाउने आदेश दिनुभयो । जाँगर नलागी–नलागी, निद्राकै सुरमा म नुहाउन गएँ । बिहान पाँच बजेतिर सबै जना पूजामा बस्नुभयो र त्यो वर्षचाहिँ मलाई पनि सँगै बस्न भन्नुभयो । अनि मात्र मैले थाहा पाएँ, महिनावारी भएकाहरूले पञ्चमी अर्थात् सप्तऋषिको पूजा गर्नुपर्ने रहेछ । पूजा सुरु भयो ।


पूजाको विधि लामो भएकाले म बस्दाबस्दै थाकिसकेकी थिएँ । पूजा कहिले सकिएला भन्नेतिर ध्यान केन्द्रित थियो । बल्लबल्ल पूजा समापन हुने तरखर भएपछि पुरेत बाजेले सबैलाई भन्नुभयो, ‘अब दुई हात जोड्नुहोस् र आफू पर सरेको बेला छुन नहुने कुरा छोएको भए आफूलाई माफ गर्दिनका लागि भगवान्सँग प्रार्थना गर्नुहोस् ।’ अनि थप्नुभयो, ‘तपार्इंहरूले पर सरेको बेला छुन नहुने कुरा छोएको भए अब भगवान्ले माफ गर्छन् ।’

पुरेत बाजेका कुरा सुनेर म अलमल्ल भएँ, आश्चर्यमा परें । मनमा विद्रोहको भाव पैदा भयो तर संघर्ष गर्ने क्षमता थिएन, यसर्थ चुपचाप बसें । भर्खर तेह्र वर्षकी भए पनि त्यस घटनाले गर्दा म पहिलो पटक जीवनका बारेमा सोच्न बाध्य भएँ । आफू छोरी हुनुको बोध जीवनसँग जोड्दै सोचें, ‘छोरी भएर जिउन त गाह्रो हुन्छ कि क्या हो ? आफ्नै इच्छाले महिनावारी भएको हो र मैले भगवान्सँग माफी माग्ने ?’ मलाई नरमाइलो लागिरह्यो ।

त्यस दिन हामी साँझ घर फर्कियौं । घर पुग्नेबित्तिकै मैले बिहानदेखिको उकुसमुकुस मामु र पापासामु ओकलें । मामुले मलाई अनौठो दृष्टिले हेर्दै भन्नुभयो, ‘नानु, जीवनमा मन नपरे पनि ठूलो मान्छेले गर भनेका, परम्पराबाट चलेर आएका कतिपय कुरा गर्नैपर्छ । वर्षको एकचोटि त हो नि !’

म चुप लागें । चुप लगाइएँ । मुख चुप हुँदैमा मन कहाँ चुप हुन्छ र ? त्यो कुराले मभित्र खलबली मच्चाइरह्यो । कहिले पुरेत बाजे सम्झेर रिस उठ्थ्यो, कहिले घरका ठूला मान्छे सम्झेर नराम्रो लाग्थ्यो । कहिले मामुले भनेको कुरा सम्झिन्थें अनि लाग्थ्यो— साँच्चै मैले ठूला मान्छेले भनेको मानेर भगवान्सँग माफी माग्नुपर्छ त ? वर्षको एक पटक ?

अनि तुरुन्तै मनमा अर्को विचार आउँथ्यो— म अपराधी हुँ र ? महिनावारी मैले गराएकी हो र भगवान्सँग माफी माग्नलाई ? माग्दिनँ माफीसाफी !

त्यसपछि पनि म घरका ठूला मान्छेले केही भन्लान् कि भनेर, मन मारेर ऋषिपञ्चमीको पूजामा बस्दै गएँ । समय लम्कँदै गयो, म ठूली हुँदै गएँ तर ती पुरेत बाजेको कुरा बिर्सन सकिनँ । मलाई लाग्थ्यो— तीज भनेको मामाघर जाने, मीठोमीठो खाने, राम्रा लुगा लगाउने, नाचगान गर्ने चाड हो । तर महिलाहरू पानीसम्म नपिउने, पुरुषहरूले चाहिँ मजाले खाने गरेको देख्दा के चाड होला यस्तो भन्ने लाग्थ्यो । चाड त सबैका लागि उत्तिकै रमाइलो हुनुपर्ने होइन र ?

प्राकृतिक र सृष्टिका लागि अपरिहार्य रहेको महिनावारीलाई अपराधसरह मान्ने सामाजिक दृष्टिकोणप्रति घृणा लाग्थ्यो । पञ्चमी पूजा नगर्ने बहाना प्रत्येक वर्ष खोज्थें, तर सबैको दबाबले गर्दा आत्माले स्वीकार नगरेको काम गर्न बाध्य भइरहन्थें । एक दिन मामुसँग सोधें, ‘महिनाबारी हुनु राम्रो होइन ? राम्रो स्वास्थ्यको प्रतीक होइन र ? यो कुनै अपराध वा गलत कार्य हो त ?’ मामुले भन्नुभयो, ‘होइन ।’ मेरो प्रतिप्रश्न थियो, ‘यदि यो गल्ती वा अपराध होइन भने हामीले किन माफी माग्नुपर्ने ?’

मभित्रको यो द्वन्द्व त्यति बेला मात्रै शान्त भयो, जब मैले स्पष्ट रूपमा यो प्राकृतिक कुरा हो, यसमा पाप–धर्म जोडिँदैन भनेर थाहा पाएँ र ऋषिपञ्चमीको पूजामा बस्न छोडें । अनि, बालापनबाट खट्किएको विद्रोही भावना झन् सबल बन्दै गयो र महिनावारी पनि बार्न छाडें ।

म पहिलोपल्ट महिनावारी हुँदा तीज आउन झन्डै दुई महिना बाँकी थियो । घरमा मामु, पापा, भाइ र म मात्र थियौं । पहिलोचोटि महिनाबारी हुँदा घरभित्रै लुक्नुपर्ने परम्परा ! मैले पनि त्यही रीति अनुसरण गर्दै अब कति दिन कोठामा एक्लै थुनिनुपर्ने हो भन्ने सम्झेर खिस्रिक्क परें । तर मामु–पापाले परम्परा पनि मान्ने र एकान्तवासलाई पनि कष्टपूर्ण नबनाउने मध्यमार्गी उपाय अपनाउने भन्नुभयो । त्यसअनुसार, म सामान्य अवस्थामा रहने तर घरमा कोही पाहुना वा नातेदार आएका बेला कोठाबाट ननिस्किने सल्लाह भयो । यस्तो हुनाले मलाई खासै गाह्रो भएन । यस्तो बेला केटाहरूलाई हेर्न हुन्न भन्थे आउनेहरू । भाइ बरन्डामा बस्थ्यो, पापा लुकेर ‘के छ ?’ भन्दै सोध्न आइरहनुहुन्थ्यो । छोरी ठूली भई भनेर घर र मामाघरबाट कोसेली लिएर धेरै जना भेट्न आउनुभयो । चार–पाँच दिनपछि म स्कुल जान थालें, घर फर्केपछि त्यही कोठामा बस्ने गर्न थालें । बाह्र दिनमा पूजा गरियो । चाडपर्वजस्तो थियो माहोल, मैले धेरै राम्राराम्रा उपहार पाएँ, आफू महत्त्वपूर्ण भएको महसुस पनि भयो तर खुसी भने हुन सकिनँ ।

दोस्रो पटक महिनावारी हुँदा मलाई सात दिन लुकाउने कुरा भयो । तर पापाले ‘स्कुल अब नछुटाउने, घरमा हामी त हौं, लुक्नुपर्दैन’ भन्नुभयो, लुकिनँ । घरका ठूला मान्छेले के गर्ने के नगर्ने भनी सिकाउनुभयो, गर्न नहुने धेरै रहेछ भनेर डरका कारण मानें । तर, उमेरसँगै महिनावारीका सम्बन्धमा धेरै बुझ्न थालेपछि र परिवार पनि समझदार भएका कारण मलाई निकै सजिलो हुँदै गयो । अहिले म महिनावारी भएको समयमा पनि हामी सामान्य अवस्थामा झैं सँगै बस्ने, खाने गर्छौं । पूजा गरिहाल्ने आँट भने मैले अझै जुटाउन सकेकी छैन । तर यसमा पनि बिस्तारै परिवर्तन आउने अपेक्षा राखेकी छु ।

मैले महिनावारी नबारे पनि पुराना पुस्ताका ठूलाबडालाई यस विषयमा बडो चासो रहने गरेका कारण कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति निम्तिने गरेकै छ । अझ घरका सदस्यभन्दा बाहिर टोल, छिमेक, नाता, कुटुम्बलाई नै यस विषयमा बढी चिन्ता र खोजीनिती हुने गर्छ । सायद पहिल्यैदेखि चलिआएको चलन भएर होला, परिवर्तनको चाहना राख्ने आमाहरूले पनि आफ्ना छोरीहरूलाई महिनावारी नबार न त भनिहाल्न सकेको पाइँदैन ।

अचम्म लाग्छ, महिलालाई महिनावारी नभए यो संसार, यो सृष्टि रोकिन्छ तर पनि किन हाम्रा लागि यो समय यस्तो कठिन ! कतै जान र केही गर्न मन हुन्छ, कसैले केही भन्ला कि भन्ने चिन्ता ! हामीले आफ्नो संस्कृति र परम्परा जोगाउनु त पर्छ तर आफूलाई सम्मान नगर्ने परम्परामा म किन सहभागी हुनु ? प्रकृतिले मलाई सृष्टि चलाउन दिएको अमूल्य जिम्मेवारीका लागि मैले किन माफी माग्नु ?

प्रकाशित : भाद्र २४, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×