२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुराज्यको बीपी–सपना

शीतयुद्धको उत्कर्षकालमा विशिष्ट भू–राजनीतिक घटनाका कारण राजसंस्थाका बारेमा दिएको वक्तव्यलाई लिएर एकांगी बुद्धिजीवीहरू बीपीलाई राजावादी देखाउन कम्मर कसेर लागिपरिरहेका छन् । इतिहासप्रति उनीहरूको योभन्दा ठूलो मूढाग्रह अर्को हुन सक्दैन ।
शंकर तिवारी

बीपी कोइरालाको निधन भएको करिब चार दशकपश्चात् उनको १०८ औं जन्मजयन्ती उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको आन्तरिक मामिला मात्रै रहेन । कुनै पनि देशले विशेष दिनहरूमा आफ्नो आत्मालाई खोज्ने र पक्रने कोसिस गर्छ ।

सुराज्यको बीपी–सपना

अरू देशका हकमा स्वतन्त्रता दिवस त्यस्तो खास दिन रहे पनि नेपालका लागि प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस त्यस्ता अवसर हुन् । बीपी जयन्तीलाई पनि त्यही हाराहारी राख्न सकिन्छ । बीपीले २००३ सालदेखि २०३९ सालसम्म नेपाली राजनीतिलाई निरन्तर रूपमा सत्तापक्ष होस् वा प्रतिपक्ष नेताका रूपमा एकछत्र नेतृत्व गरेका थिए ।

आफू जन्मिँदाको पारिवारिक स्थितिका बारेमा बीपीले बडो मार्मिक शैलीमा लेखेका छन्, ‘जन्मिने बखतमा मैले आफ्नो मुखमा ल्याएका दुई चम्चामध्ये चाँदीको भने केही कालभित्रै लोप भइहाल्यो । तर राजनीतिको फलामे चम्चाचाहिँ अद्यापि मेरो पैतृक सम्पत्तिका रूपमा बाँकी नै छ ।’ उनले राजनीतिलाई फलामे चम्चाको संज्ञा दिएका थिए र त्यही फलामे चम्चाले उनलाई कालान्तरमा नेपाली लोकतन्त्रको उन्नायक बनायो ।

कुनै पनि इतिहासपुरुष अनेक घटना र परिस्थितिको उपज हुन्छ । त्योभन्दा पर उसले धेरै घटना र परिस्थितिलाई समेत प्रभावित पारेको हुन्छ । इतिहासकार कार्लाइलका अनुसार घटनाहरू इतिहासपुरुषका माध्यमबाट भएका हुन्छन् वा उसको वरिपरि हुन्छन्, उसका विचार र निर्णयहरू इतिहासको पानामा अंकित हुन्छन् । कठिन परिस्थितिमा ऊ घटनाको नायक बन्न पुग्छ, जुन सामान्य अवस्थामा सम्भव हुँदैन । बीपी त्यस्तै असामान्य परिस्थितिमा निर्माण भएका थिए । उनले भनेजस्तै पारिवारिक विरासतका रूपमा प्राप्त राजनीतिको फलामे चम्चाले उनलाई आजीवन छाडेन ।

बीपी नेपाली लोकतन्त्रको सुरुआती चरणमा त्यो संघर्षमय गोरेटोलाई सुरम्य राजमार्ग बनाउने अभियानमा लागेर जनताले निर्वाचित गर्ने सर्वोच्च पदमा आसीन हुन पुगेका थिए । त्यो लक्ष्यमा पुग्न अरू बाटा पनि उपलब्ध थिए तर उनलाई ती मञ्जुर थिएनन् । पुनश्च, तानाशाही धक्काका कारण उनी लोकतन्त्र पक्षधरहरूको आस्थाको पुञ्जमा रूपान्तरित भए । जेल र निर्वासनमा भएको कष्टलाई उनले सहर्ष स्वीकार गरे तर सर्तसहितको कथित लोकतन्त्र उनलाई कदापि स्वीकार्य थिएन ।

जेलमुक्त भएपछि उनले राजालाई बारम्बार भने, ‘म एउटा व्यक्ति प्रधानमन्त्री बन्ने कुरा ठूलो होइन, तर कसरी र कुन पद्धतिबाट शासन व्यवस्था चलाउने, योचाहिँ महत्त्वपूर्ण हो । राजा संसद् अधीनस्थ हुनुपर्छ । प्रजातान्त्रिक राजतन्त्र स्वीकार्य छ तर तानाशाही वृत्तिको राजा स्वीकार्य छैन ।’ शीतयुद्धको उत्कर्षकालमा विशिष्ट भू–राजनीतिक घटनाका कारण राजसंस्थाका बारेमा दिएको वक्तव्यलाई लिएर एकांगी बुद्धिजीवीहरू बीपीलाई राजावादी देखाउन कम्मर कसेर लागिपरिरहेका छन् । इतिहासप्रति उनीहरूको योभन्दा ठूलो मूढाग्रह अर्को हुन सक्दैन ।

अहिले आधुनिक लोकतन्त्रका लागि आवश्यक संस्थाहरू बनिसकेका छन् । पञ्चायतले नै लोकतन्त्रका लागि आवश्यक संस्थाहरूको निर्माणमा बाधा पुर्‍याइरहेको थियो । राजसंस्था संक्रमणकालीन समाजहरूमा नयाँनयाँ संरचनाको आधार बन्दै गर्दा परम्परागत शक्तिलाई हटाउनु हुन्न भन्ने बीपीको निष्कर्ष राजनीतिशास्त्री सामुयल पी. हन्टिङ्टनको निष्कर्षसँग मेल खान्छ । बहुदलको पुनःस्थापनापछि त्यस्ता आधुनिक संस्थाहरूको बढोत्तरी हुँदै गयो र त्यो वस्तुगत यथार्थलाई अनदेखा गर्ने काम सुरु भएर २०१७ सालको गल्ती दोहोरियो । २०५९ सालको गल्तीले गर्दा २०६५ सालमा पुगेर राजसंस्था इतिहासमा सीमित बन्यो ।

‘आत्मवृत्तान्त’ को प्रकाशनसँगै ओझेलमा परेजस्तो भएको आत्मकथा ‘आफ्नो कथा’ मा बीपीले लेखेका छन्— ‘हिन्दुस्तानमा निर्वासित जीवन बिताउनुपरेका नेपालीहरूका लागि र हिन्दुस्तानी नेपालीहरूका लागि पनि स्वाभाविक स्थिति यो थियो कि उनीहरूले हिन्दुस्तानको आजादी (स्वराज्य) र नेपालको प्रजातन्त्र ( सुराज्य) को पृथक्पृथक् लक्ष्यका बीच अन्तरसम्बन्धको अनुभव गरून् । मेरो विचारमा स्वतन्त्रता र प्रजातन्त्रप्रतिको आस्थाले बौद्धिक क्षेत्रभन्दा तल पुगेर मानिसको मनोवैज्ञानिक भूमिमा जरो हाल्छ । यस दृष्टिले प्रजातन्त्र त्यस्तो राजनीतिक व्यवस्था मात्र होइन जो कुनैलाई कुनै संविधानमा आधारित गरेर त्यसप्रतिको जवाफदेही समाप्त हुन्छ ।’

बीपीले ‘प्रजातन्त्र’ शब्दलाई ‘सुराज्य’ शब्दसँग समानान्तर रूपमा उभ्याएका छन् । (सुराज्य शब्द नेपाली शब्दकोशमा नभए पनि र ढिलो प्रवेश पाएकाले होला, त्यति चलनचल्तीमा भने छैन ।) प्रजातन्त्रको समानार्थी शब्दका रूपमा सुराज्यजस्तो उपयुक्त शब्द अर्को सायद नहोला । बीपीलाई सूक्ष्म रूपमा अध्ययन गर्नेहरूले समेत सुराज्य शब्दको खास चर्चा गरेको पाइँदैन । राजनीतिक रस्साकस्सी र ऊहापोहमा लागेकालाई सुराज्य शब्दको हेक्का नहुनु आश्चर्यको विषय होइन । सुशासन शब्द चल्तीमा भए पनि सुराज्य शब्द अबका विमर्शहरूमा आउनुपर्छ । कुनै पनि कुरालाई राम्रो भन्नका लागि ‘सु’ उपसर्ग शब्दको अघिल्तिर जोड्ने नेपाली भाषाको स्थापित मान्यता नै हो । सुराज्य भनेको राम्रो, सुन्दर अथवा उत्तम राज्य । के २०४६ सालयताका परिवर्तनपछिका सरकारहरूले सुराज्यको प्रत्याभूति गर्न सकेका छन् त ! सुराज्य शब्दलाई लोकतन्त्रका प्रत्येक सत्तासञ्चालकले मनमस्तिष्कमा सजाएर मात्र पुग्दैन, व्यवहारतः कार्यान्वयन गर्न सक्नुपर्छ ।

२००७ सालको क्रान्ति प्रजातन्त्रका नाममा लडिएको थियो भने २०४६ सालको आन्दोलन बहुदल र २०६२–६३ सालको आन्दोलन लोकतन्त्र/गणतन्त्रका नाममा लडिएको थियो । यसले के देखाउँछ भने, खासखास क्रान्ति/आन्दोलनलाई व्याख्या गर्ने, प्रतिविम्बित गर्ने शब्द हुन्छन् । प्रजातन्त्र भने पनि, बहुदल भने पनि वा लोकतन्त्र वा गणतन्त्र जे भने पनि राजनीतिक उपलब्धिसँगै त्यो राजनीतिक व्यवस्था बीपीले इंगित गरेजस्तो सुराज्य बन्न सकेन भने त्यसले आम जनतामा कुनै माने राख्दैन ।

शेरबहादुर देउवाको पाँचौं सत्तारोहण गणतान्त्रिक संविधान आएयताको पहिलो आम निर्वाचनपछि खास परिस्थितिका कारण सम्भव भएको छ । जीवनका आखिरी वर्षहरूमा बीपीले लोकतन्त्र र राष्ट्रियताका बारेमा नयाँनयाँ कुरा भनिरहेका थिए । भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएपश्चात् बीपीले नेपालको संसद्भित्रैबाट जर्मनीभन्दा बाहिर पनि हिटलरजस्तो तानाशाह जन्मिन सक्नेतर्फ संकेत गरेका थिए । दुई महिनाअगाडि मात्र पदच्युत हुन पुगेका केपी ओली त्यस्तै निर्वाचित तानाशाहीको अभ्यास गरिरहेका थिए । तर के केपी ओलीलाई बरखास्त गरेर बनेको नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको लोकतान्त्रिक सरकारले अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रियताका बारेमा ठीकठाक अडान लिएको छ त ? फाँटवाला मन्त्रालयका शुष्क वक्तव्यहरूले निको संकेत गरेका छैनन् । कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा यी विषयमा प्रश्न उठेका छन् । ‘बीपी कोइरालाको डायरी, २००८–२०१४’ हेर्ने हो भने यस्ता समस्याको समधान गर्न उनले देखाएको तत्परता, वैचारिक स्पष्टता र अडानका बारेमा प्रस्ट हुन सकिन्छ ।

बीपीले प्रजातन्त्र र राष्ट्रियताका बारेमा कसैसँग पनि सम्झौता गर्न हुन्न भनेका थिए । २०७२ सालको नाकाबन्दीपश्चात् नेपाली कांग्रेसले देखाएको अन्योल र केपी ओलीको दोस्रो कार्यकालमा तानाशाही वृत्तिप्रति गरेको अनदेखाले नेपाली कांग्रेसको ऐतिहासिक चरित्रमा क्षय भएको थियो । ओलिको दोस्रो पटकको संसद् भंगपश्चात् मात्रै वर्तमान कांग्रेस नेतृत्वले लोकतन्त्रमाथिको खतरालाई ठ्याक्क पहिचान गर्न सक्यो । अहिले सरकारको नेतृत्वमा पुगेपछि पुराना गल्तीलाई सुधार गरेर अगाडि बढ्नुपर्नेमा झन् पुरानै गल्तीलाई निरन्तरता दिनु निश्चय पनि राम्रो होइन ।

कुनै बेला थियो, नेहरूले भारतीय संसद्मा नेपालमाथिको आक्रमणलाई भारतमाथिको आक्रमण ठान्ने र त्यसको प्रतिकार गर्ने वक्तव्य दिएपछि बीपीले नेपाल सार्वभौम देश भएकाले आफ्नो सीमा आफैं रक्षा गर्न सक्षम रहेको बताए । उनले नेहरूको टिप्पणीको आलोचना र खण्डन गरेÙ नेहरूले बीपीको वक्तव्यको समर्थन गरे र आफ्ना शब्द फिर्ता लिए । गलत टिप्पणी गर्न पुगेको भन्दै नेहरूले माफीसमेत मागे । बीपी त्यति बेला प्रधानमन्त्री थिए । यसरी बीपीले भारतीय विदेशनीतिका निर्माता मानिने नेहरूलाई समेत माफी मगाउनुबाट राष्ट्रियताका सवालमा उनको स्पष्ट अडान झल्कन्छ ।

त्यस्तै अर्को घटना बीपी प्रधानमन्त्री भएका बखत चीनसँग भएको थियो । नेपाली सरहदभित्र आएर चिनियाँ सेनाले नेपाली नागरिकको ज्यान लिएको थियो । त्यस कार्यका बारेमा बीपीले चीन सरकारलाई माफी मात्र मगाएनन्, क्षतिपूर्तिसमेत तिर्न बाध्य पारे । यसरी हेर्दा बीपी दुई विशाल हात्तीमाथि सवार माहुते साबित भएका थिए । पृथ्वीनारायण शाहले संकेत गरेको दुई ढुंगाबीचको तरुल छिमेकी हात्तीहरूलाई शान्तिपूर्ण रूपमा तह लगाउने माहुते भएको बीपीले पुष्टि गरेका थिए । त्यो नेपाली कूटनीतिक इतिहासको दुर्लभ ‘माहुते क्षण’ थियो ।

बीपीले नेपाल राष्ट्रको वैचारिकी निर्माणमा समेत सकारात्मक र सार्थक हस्तक्षेप गरे । उनले विकास निर्माण र राष्ट्र निर्माण गर्दा जनतालाई केन्द्रमा राख्न भनेका थिए, जुन आजका विकास अर्थशास्त्री र राष्ट्र निर्माण गर्ने कार्यमा लागेकाहरूका लागि प्रस्थानविन्दु हुन सक्छ ।

प्रकाशित : भाद्र २४, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?