कांग्रेस शीर्ष नेतृत्वमा दाबी गर युवा !- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस शीर्ष नेतृत्वमा दाबी गर युवा !

सधैं छहारी खोज्ने प्रवृत्तिले व्यक्तिविशेषमा निहित क्षमतामा पनि खिया लाग्छ ।
सम्झना वाग्ले भट्टराई

निराशा
नेपाली राजनीतिको विशृंखल उतारचढाव कहिले र कसरी टुंगिन्छ, अनुमान गर्न सकिन्न । संघीय सरकार परिवर्तनको एउटा उच्चाटलाग्दो अवस्था अहिलेलाई सकिए पनि प्रदेशहरूमा यी जालसाजी जारी छन् ।

उन्नत लोकतान्त्रिक अभ्यासका लागि कठोर संघर्ष गरेको दाबी गर्ने व्यक्तिहरू र तिनका समूहको राजनीतिक खिचातानी निकृष्ट तहमा पुगेको छ । भ्रष्टाचार र कुशासनका फेहरिस्त सरकारी प्रतिवेदनहरूमै छताछुल्ल छन् । शासकीय दम्भ, आरोप–प्रत्यारोपमा प्रयुक्त भाषा र शैली, एकअर्काका समर्थक र विरोधीहरूले सामाजिक सञ्जालमा चलाएका अभियान आदिले राजनीतिक संस्कारको स्तर छर्लंग पारेका छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले राजनीति सुध्रिएको छैन, पार्टीहरू नियत र क्षुद्रतामा समान छन् भन्ने पुष्टि गरेको छ । नेता–कार्यकर्ताको आचरण र उनीहरूप्रतिको अविश्वासका कारण निर्णायक समयमा रिसोर्टमा राख्ने अभ्यास प्रायः सबै पार्टीमा देखिएको छ । नेताहरूको खुलेआम खरिद–बिक्री, अपहरण सामान्य हुन थालेको छ । सिद्धान्त, दर्शन, विचार, रणनीति र कार्यदिशा मिलेमा नेताहरू एउटै पार्टीमा रहने वा नमिलेमा फरक हुने भन्ने सार्वभौम नियम नेपालमा लागू हुँदैन । आदर्श र सिद्धान्तका चर्का कुरा गर्नेहरूले लाभ–हानि तौलिएर गुट वा पार्टी रोज्ने अभ्यास सामान्य भएको छ । नेपाली राजनीतिमा दर्शन, सिद्धान्त र निष्ठाको अन्त्य भई स्वार्थ मात्र बाँकी छ ।

यी सब विकृतिको अपजस शीर्ष नेताहरूलाई मात्र थोपरेर पुग्दैन । पछिल्लो पुस्ताका नेताहरू विकृत अभ्यास गर्न अग्रजभन्दा पारंगत भैसकेका प्रमाणहरू प्रशस्त छन्, कार्यकर्ताहरू सायद सिक्दै छन् । राजनीतिक पक्षधरतामा विवेक बन्धक राख्नु अनिवार्यजस्तै भयो । नेता–कार्यकर्ताको देवत्वकरण–दानवीकरण र दानवीकरण–देवत्वकरणको दोहोरो अभ्यास स्वाभाविक देखिएको छ । र, यसको नक्कल पेसाकर्मी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थीलगायत सामान्य जनमा पनि देखिन थालेको छ, जसको असर समाज र व्यक्तिव्यक्तिसम्म पुगेको छ । जुनै पनि क्षेत्रमा देखिएको अति राजनीतीकरण, राजनीतिको विद्रूपीकरण आदिले समाज र सम्पूर्ण देश आक्रान्त छ ।

सम्भावना

नेपाली राजनीतिमा सम्भावनाका संकेतहरू पनि प्रशस्त छन् । उदाहरणका लागि, प्रतिनिधिसभा विघटनविरुद्ध महामारीबीच पनि जसरी आवाज उठ्यो, आन्दोलन भयो, त्यो उज्यालोको संकेत हो । राजनीतिक स्वेच्छाचारिताका विरुद्ध राजनीतिक पार्टीहरू मात्र होइन, प्रेस र नागरिक समाजको अथक मिहिनेत–भूमिका र अदालतको कार्यसम्पादनले तत्कालका लागि यसमा अंकुश लगाएको छ । त्यस्तै, महामारी सृजित अप्ठ्यारो परिवेशमा पनि युवा अभियन्ताहरूको गतिविधि र प्रयासले उज्यालो भविष्यको आस जगाउँछ । यस्ता उदाहरणहरू प्रशस्त छन् ।

यिनै संगत/असंगत समयको सेरोफेरोमा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको टुंगो लागेको छ । यो महाधिवेशनले कस्ता नेताहरूलाई जिम्मेवारीमा ल्याउला त ? नेपाली कांग्रेस विविधतायुक्त पार्टी हो । बीपी कोइरालाजस्ता दूरदर्शी, गणेशमान सिंहजस्ता त्यागी, कृष्णप्रसाद भट्टराईजस्ता सादगीपूर्ण नेताहरूले जन्माएको/हुर्काएको पार्टीमा, प्रदीप गिरिजस्ता अध्ययनशील नेता छन् र छन्— नेपाली सत्ता राजनीतिको विकृतिको प्रवर्तक मानिनेहरू पनि । यी दुवै प्रवृत्तिका बीचमा पर्ने धेरै नेतामध्ये महाधिवेशनबाट कस्ता नेताहरू जिम्मेवारीमा आउलान् ? उनीहरू विसंगत राजनीतिको फोहोरी भेलमा समाहित होलान् वा फरक केही गर्लान् भन्ने अनुमान लगाउन अहिल्यै सकिन्न ।

यसपालि गगन थापाले महामन्त्रीको उम्मेदवारका रूपमा आफूलाई अघि सारेका छन् । कांग्रेसको यो पुस्ताले पार्टी सभापतिमै दाबी गर्नुपर्थ्यो । थापाबाहेक विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङजस्ता सक्षम युवा पार्टीमा छन् । शेखर कोइराला, प्रकाशमान सिंहजस्ता दोस्रो पुस्ताका नेताहरूमा पनि सक्षम नेतृत्वको सम्भावना देखिन्छ ।

दोस्रो पुस्ता भनिने नेताहरूले आफूलाई राजनीतिमा अगाडि ल्याउन सकेका छैनन् । जसरी एमालेमा दोस्रो पुस्ता भनिने नेताहरू पहिलो पुस्ताका नेताहरूका लाचार छायाजस्ता मात्र देखिए, कांग्रेसको पनि स्थिति त्यही हो । त्यसैले कांग्रेस नेतृत्व चयन सन्दर्भमा क्रमागत पालो (हाइरार्की) को परम्परागत शैली छोडेर युवा पुस्ताले निर्णायक हस्तक्षेप गर्नैपर्छ ।

महाधिवेशन नेतृत्व छनोटको अवसर मात्र होइन, सैद्धान्तिक बहस, नीति, भावी कार्यदिशा निर्माणसहितको नेतृत्व छनोटको अवसर पनि हो । कांग्रेसमा संस्थागत रूपमा सैद्धान्तिक बहसले ठाउँ नपाएको वर्षौं भयो । सैद्धान्तिक बहसको शून्यताले पार्टी कस्तो बन्दो रहेछ भनी पार्टीभित्रकै नेता–कार्यकर्ताले बढी बुझेका होलान्, त्यसको मूल्य सारा देशले चुकाउनुपरेकै छ । यो वैचारिक शून्यता अन्त्यका लागि युवा नेतृत्व आँट र तयारीका साथ अगाडि आउनैपर्छ ।

अहिले निर्णायक ठाउँमा रहेका नेताहरू गुट राजनीतिभन्दा बाहिर आउन नसकेको जगजाहेरै छ । परिणामतः नेतृत्व पार्टी सञ्चालन र सरकारको प्रतिपक्षी भूमिका दुवैमा असफल प्रमाणित भैसकेका छन् । अहिले सरकारको नेतृत्वको अवसर राजनीतिक कुशलताले होइन, अघिल्लो सत्ताधारी पार्टी नेतृत्वको उपद्रोको परिणाम मात्र हात लागेको हो । यो अवसरको न्यूनतम सदुपयोग गर्ने संकेत पनि अहिलेसम्म देखिएको छैन ।

अविच्छिन्न नेतृत्वको महत्त्वाकांक्षा नेपाली राजनीतिको महारोग हो र कांग्रेसमा यो झनै पुरानो र जण्ड छ । पाँच पटक सरकारको नेतृत्व गर्दा पनि उल्लेख गर्नलायक उपलब्धि शून्य तर विसंगत राजनीतिको सारथि बनेका शेरबहादुर देउवा यो अधिवेशनमा पाँचौं पटक चुनावी मैदानमा ओर्लिएका छन् । यो समग्र नेपाली राजनीति र कांग्रेसकै लागि विडम्बनापूर्ण स्थिति हो । यसको अन्त्यका लागि युवा कांग्रेसले आँट गर्नैपर्छ र इमानदार शीर्ष नेतृत्वले गुट–उपगुटको सम्बन्ध बिर्सिएर युवालाई साथ दिनैपर्छ ।

त्यसो त, युवा सबै समस्याको समाधान होइनन् । लोकतान्त्रिक प्रणालीमा नेतृत्वको योग्यता उमेरको कसीमा नापिने होइन । उमेरको वृद्धिले राजनीतिक इच्छाशक्ति वा कार्यक्षमतामा वृद्धि वा कमी आउने होइन । व्यक्तिको उमेर वा पार्टी जीवनमा उसको समयको लगानीकै आधारमा नेतृत्व दिनुपर्छ भन्ने पनि छैन । पटकपटकको अवसरमा सफल साबित हुन नसकेका नेताहरूभन्दा परीक्षणमा सम्भावना देखाएका वा परीक्षण हुनै बाँकी तर प्रचुर सम्भावना भएका युवा नेताहरूलाई मौका दिए मात्र नेपाली राजनीतिमा कांग्रेसको योगदान सार्थक होला ।

के युवाहरू निर्विकल्प हुन् त ? होइनन् । पछिल्लो समय नेपाली राजनीतिको अपराधीकरणमा युवा नेताहरू अग्रमोर्चामा देखिएका छन् । गुटको विरासत पनि नयाँ पुस्तामा सर्दै गएको देखिन्छ । अध्ययनको अभाव, चर्चाको भोक, धैर्यको कमीजस्ता समस्या दलमा आबद्ध युवाहरूमा देखिन्छ । त्यस्ता युवाहरू राजनीतिको समस्यालाई मिहिन ढंगले बुझ्ने र समाधानको खोजी गर्नेभन्दा पनि ‘आई लभ यु ओली बा’ वा ‘यसकारण मलाई शेरबहादुर देउवा मन पर्छ...’ जस्ता अभियानमा आकर्षित छन् ।

देश असामान्य अवस्थामा छ । महामारीले अर्थतन्त्र थिलथिलिएको छ । अति राजनीतीकरणले राज्यका संरचनाहरू अस्तव्यस्त छन् । गरिबी, बेरोजगारीजस्ता समस्याको समाधान तत्काल खोज्नुपर्नेछ । राजनीति र सत्ता, नेताहरूका वरिपरि झुम्मिने झुन्डको स्वार्थ पूरा गर्ने होइन, आमजनताको सेवा गर्ने माध्यम हो भन्ने व्यवहारबाट देखाउनु छ । आफूलाई स्थापित गर्न तयार नेताले देशका यस्ता समसामयिक विषयलाई बहसमा ल्याउनुपर्छ । नेतृत्व पाए, ती समस्यालाई कसरी समाधान गर्छु भन्ने मार्गचित्र प्रस्तुत गर्नुपर्छ । गुट वा छहारीको राजनीतिक घेराबाहिर निस्कनुपर्छ । जब विचार गौण र व्यक्ति प्रधान हुन्छ, तब विविध किसिमका स्वार्थप्रेरित समूह र गुटहरू बन्न थाल्छन् । सधैं छहारी खोज्ने प्रवृत्तिले व्यक्तिविशेषमा निहित क्षमतामा पनि खिया लाग्छ । त्यसैले महाधिवेशनको तयारीमा नेतृत्वको परिक्रमा र कार्यकर्ता परिचालनभन्दा पनि सैद्धान्तिक बहसमा केन्द्रित गरी अवसरको सदुपयोग गर्नुपर्छ । नत्र कर्मकाण्डी महाधिवेशनले एउटा अकर्मण्य नेतृत्वलाई स्थापित गर्छ, जसको मूल्य पार्टीले मात्र होइन सारा मुलुकले चुकाउनुपर्छ ।

wagle.samjhana@gmail.com

प्रकाशित : भाद्र १८, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

अनलाइन शिक्षण विधिमा सुधार

‘मोबाइलमा पढ्दा कहिलेकाहीँ स्क्रिन सट गरेको कन्टेन्ट हेर्दा, गृहकार्य चेक गर्दा क्यामेरा अफ हुन्छ । केही सेकेन्ड भिडियो अफ हुँदा पनि क्लासबाट हटाइदिन्छु भन्नुहुन्छ ।’
सम्झना वाग्ले भट्टराई

कोभिड–१९ महामारीका कारण मानव जीवनको हरेक आयामजस्तै शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भइरहेकै छ । विश्वभरमा औपचारिक शिक्षा लिइरहेका ९० प्रतिशतभन्दा बढी विद्यार्थी कुनै न कुनै रूपमा प्रभावित भएका विभिन्न अध्ययनले देखाएका छन् ।

त्यसो त ठूलो जनसंख्यालाई खोप पुर्‍याउन सफल देशहरूमा जनजीवन सामान्य हुँदै गए पनि नेपालमा जोखिम अझै भयावह छ । महामारीको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई अझ बढी असर गर्ने कुरा विभिन्न सञ्चारमाध्यममा आएका छन् । त्यसमाथि नेपालमा १८ वर्षमुनिको जनसंख्या खोप योजनामै नपरेका कारण पनि त्यो समूह अझै जोखिममा पर्ने देखिन्छ । यस पृष्ठभूमिमा त्यो उमेर समूहका विद्यार्थी तत्काल विद्यालय गएर पढ्ने वातावरण देखिँदैन । त्यसैले अब शिक्षणमा वैकल्पिक विधिको प्रयोग अनिवार्यजस्तै बनेको छ । देशैभरका विद्यार्थीलाई समेट्न नसके पनि, अनलाइन शिक्षण विधिलाई नै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

प्राविधिक कठिनाइ

अनलाइन शिक्षण विधि आफैंमा खर्चिलो छ । त्यसका लागि आवश्यक कम्प्युटर, ल्यापटप वा स्मार्ट फोन अतिरिक्त खर्च हो । घरमा जति बालबालिका छन् त्यतिवटै यस्ता सामान आवश्यक हुन्छन् । महामारीले रोजगारी गुमाएका वा आम्दानी घटेका अभिभावकका लागि यिनको व्यवस्थापन आफैंमा जटिल हुन्छ । अहिलेको बजेटमा उल्लेख गरिएको ‘ल्यापटप किन्नका लागि सहुलियत ब्याजदरमा ऋण’ को उपयोग निम्नवर्गका घरपरिवारका लागि खासै व्यावहारिक नबन्न सक्छ । त्यसमाथि इन्टरनेटको पैसा अतिरिक्त हुन्छ । पहिलेजस्तै किताब, कापी तथा विद्यालय शुल्क यथावतै छ । अझ निजी शिक्षण संस्थाहरूले शुल्क बढाएका छन् ।

सरकारी तथ्यांकअनुसार, ८२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छ तथा ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको छ । यस तथ्यका आधारमा पनि ठूलो जनसंख्या इन्टरनेट पहुँचबाहिरै छ । अर्को कुरा, सहरी क्षेत्रमा त टेलिकमको फोरजी तथा अन्य ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू भरपर्दा छैनन् भने ग्रामीण क्षेत्रमा अनलाइन कक्षाका लागि ती कति प्रभावकारी होलान् ? जे भए पनि हामीसँग उपलब्ध प्रविधिको सदुपयोग गरी शिक्षण प्रभावकारी बनाउनुको विकल्प छैन ।

अनलाइन शिक्षणलाई कसरी प्रभावकारी बनाउने ?

मेरो छोरा काठमाडौंको एउटा निजी विद्यालयमा सात कक्षामा पढ्छ । गत वर्षका केही महिना र यो वर्ष पनि अनलाइन कक्षामा सहभागी उसले यसका अप्ठ्याराहरू यसरी औंल्यायो— ‘क्यामेराको अगाडि हलचल नगरी लामो समय एकोहोरो बस्नुपर्दा ज्यादै मनोटोनस हुन्छ । स्क्रिनमा हेर्दाहेर्दा कहिले आँखा दुख्छन् त कहिले टाउको दुख्छ । अनि त थाहै नपाई ध्यान पढाइमा भन्दा अन्तै गइसक्छ । तर केही शिक्षक हामी जति बेला पनि पढाइमा ठग्न खोज्छौं भन्ने सोच्नुहुन्छ । त्यस्तो होइन, प्रश्न सोध्ने, राम्रोसँग बोल्ने, कहिलेकाहीँ कोर्सबाहिरको पनि कुरा गर्ने, राम्रो गर्दा तारिफ गर्ने शिक्षकसँग पढ्न हामी पनि खुसी हुन्छौं । तर हाम्रो कुरै नसुन्ने, धेरैजसो विद्यार्थी फटाहा हुन्छन्जस्तो व्यवहार गर्ने शिक्षकले पढाएको पढ्न मन लाग्दैन । इन्टरनेट हो, कहिलेकाहीँ समस्या आउँछ, सर–म्याडमहरूको पनि कहिलेकाहीँ त्यस्तो हुन्छ । तर हाम्रो इन्टरनेटमा समस्या आए हामीले बहाना बनाएको आरोप लगाउनुहुन्छ । मोबाइलमा पढ्दा कहिलेकाहीँ स्क्रिन सट गरेको कन्टेन्ट हेर्न, गृहकार्य चेक गर्दा क्यामेरा अफ हुन्छ । त्यस्तो बेला केही सेकेन्ड मात्र भिडियो अफ हुँदा पनि क्लासबाट हटाइदिन्छु भनेर धम्क्याउनुहुन्छ । अनि त्यस्तो शिक्षकसँग कसरी पढ्ने ?’

छोराको अनलाइन पढाइ हुँदा कतिपय समयमा म छेवैमा बसेर सुनिरहेकी हुन्छ्रु । त्यसो त सबै व्यक्तिको स्वभाव उस्तै हुँदैन । केही शिक्षक यति रमाइलोसँग पढाउनुहुन्छ कि सबैजसो विद्यार्थी सहभागी भएका, सिकाइमा उत्साही भएका हामी सुन्नेलाई पनि थाहा हुन्छ । तर केही शिक्षकको पढाइ, विद्यार्थीका प्रश्नहरूमा दिने प्रतिक्रिया, अनुशासन कायम गर्ने नाममा प्रस्तुतीकरणको शैली यस्तो हुन्छ कि तत्कालै छोराको विद्यालय परिवर्तन गर्दिऊँजस्तो लाग्छ । तर विद्यालय परिवर्तन नै समस्याको समाधान भने होइन । सात कक्षाको पढाइ सुरु भएको पहिलो दिन छ कक्षा उत्तीर्ण भएको उत्साहले होला सायद, छोराले ‘कक्षा ६’ नाम दिइएको उसको कक्षाको भाइबर ग्रुपलाई ‘कक्षा ७’ बनायो । तत्कालै एक शिक्षिकाले ‘बढी जान्ने नहुनू’ भनेर यस्तरी हप्काउनुभयो, मानौं उसले ठूलै अपराध गर्‍यो । उहाँको कठोर आवाज सुनेर म नै विस्मित भएँ । शिक्षण विधि खासै विद्यार्थीमैत्री नभएको महसुस भयो । बालबालिकासँग शिष्ट भाषाको प्रयोग बढी प्रभावकारी हुन्छ कि !

प्रिय शिक्षक साथीहरू, म पनि शिक्षक नै भएकाले शिक्षण पेसाका अप्ठ्याराहरूसँग परिचित छु । भौतिक रूपमा कक्षाकोठामा उपस्थित भएर पढाउनु र अनलाइन माध्यममा पढाउनुमा धेरै भिन्नता छ । प्राविधिकलगायत अन्य धेरै कारणले हामी अनलाइन शिक्षणमा अभ्यस्त हुन गाह्रो हुन्छ, के–के नमिलेको जस्तो लाग्छ । पटकपटक आउने प्राविधिक समस्या साथै यस शैलीको सिकाइमा अभ्यस्त नभैसकेकाले पनि आफ्नो शिक्षण खासै प्रभावकारी भएन कि जस्तो महसुस हुन्छ । पढाउँदै गर्दा विद्यार्थीहरूको मनोभाव, कुनै विषयमा उनीहरूले नबोलीकनै देखाउने प्रतिक्रियाजस्ता महत्त्वपूर्ण पक्षहरू अनलाइन सिकाइ पद्धतिमा छुट्ने रहेछन् । यस्तो अवस्थामा पढाउँदै गरेको विषयवस्तुप्रति विद्यार्थीको लगाव के छ, बुझ्न ज्यादै कठिन हुने रहेछ । त्यसैले पनि अनुशासन कायम गर्ने नाममा भय सृजना गरेर मात्र सबै विद्यार्थीलाई सिकाइ प्रक्रियामा समेट्न सकिन्छ भन्ने मनोविज्ञान पालेका शिक्षकहरू अनलाइन शिक्षण प्रक्रियामा कमजोर साबित हुने रहेछन् । त्यसैले त त्यस्ता शिक्षकहरूले ‘स्कुलमै भएको भए तिमीहरूलाई के गर्नुपर्छ, मैले जानेको थिएँ’ जस्ता वाक्यहरू पटकपटक भनिरहेको म सुन्छु ।

उच्च शिक्षाका विद्यार्थीहरू मूलतः आफ्नै निर्णयले अध्ययनमा सहभागी हुन्छन् । तर विद्यालय तहका अधिकांश विद्यार्थी सिकाइ र पढाइलाई आवश्यकताभन्दा पनि अभिभावक र शिक्षकले थोपरेको बाध्यता ठान्छन् । शिक्षक तथा अभिभावकको प्रत्यक्ष निगरानी नहुँदा विद्यार्थी सिकाइ प्रक्रियाभन्दा अन्तै बहकिन सक्छ । त्यसैले प्रत्यक्ष निगरानीभन्दा बाहिरका विद्यार्थीलाई सिकाइ प्रक्रियामा समेट्न शिक्षकले अतिरिक्त मिहिनेत गर्नुपर्ने हुन्छ र यसका लागि विशेष कला पनि चाहिन्छ । जस्तै ः हरेक दिन पढाइ सुरु गर्नुभन्दा पहिले समसामयिक विषयमा छलफल गर्ने, विद्यार्थीका सामान्य व्यक्तिगत कुराहरू सोध्ने र चासो दिएर सुन्ने अनि बिस्तारै अध्ययनको विषयवस्तुमा प्रवेश गर्ने । शिक्षक बोल्ने र विद्यार्थीहरू सुन्ने परम्परागत शिक्षण विधि कक्षाकोठामा पनि कम प्रभावकारी मानिन्छ । अनलाइन सिकाइ र अझ त्यसमा पनि आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूमा यस्तो विधिको प्रभाव नकारात्मक नै पर्ने रहेछ । त्यसैले पनि अनलाइन सिकाइलाई प्रभावकारी बनाउन श्रव्यदृश्य सामग्री (विषयवस्तुसँग मिल्ने कथा, छोटा फिल्म, वृत्तचित्र आदि) सहितका सिकाइ, विद्यार्थी सहभागितामूलक सिकाइ विधि आदिको प्रयोग गर्नैपर्छ । यसले विद्यार्थीहरूमा सिकाइप्रति अभिरुचि बढाउँछ ।

परीक्षा र मूल्यांकन

नेपालका शिक्षण संस्थाहरूमा अभ्यास गरिने विद्यार्थी मूल्यांकनको स्थापित विधि र मान्यता ज्यादै अवैज्ञानिक छ । कोभिड महामारीले असम्भवजस्तै बनाइसक्दा पनि हाम्रा विद्यालय र विश्वविद्यालयहरूले परम्परागत परीक्षा प्रणालीलाई छोड्न सकेका छैनन् । सिकाइ प्रक्रियामै विद्यार्थी सहभागिता, परियोजना कार्य, लेखन अभ्यास, वाचन तथा प्रश्नोत्तर, श्रव्य–दृश्य सामग्री तयारी तथा प्रस्तुतीकरण आदि गर्न लगाउने हो भने उनीहरूले सिके/नसिकेको, उनीहरूको अतिरिक्त क्षमता आदिको मूल्यांकन गर्न सकिन्छ । तर हाम्रा विद्यालयहरू परम्परागत मूल्यांकन प्रणालीको बोझले यसरी थिचिएका छन्, अनलाइन परीक्षा सञ्चालन गरी उत्तरपुस्तिकाको फोटो खिचेर पठाएपछि पनि अभिभावक कापी बुझाउन विद्यालय जानुपर्ने रे ! अझ कतिपय विद्यालयले त विद्यार्थीले गरेको गृहकार्यको फोटो खिचेर पठाएपछि पनि साप्ताहिक रूपमा विद्यालयमा कापी पुर्‍याउनुपर्ने उर्दी जारी गरेका छन् । अलि व्यावहारिक बन्न सकिन्न र ?

र अन्त्यमा, महामारीले अभिभावकलाई बालबालिका विद्यालयमा कसरी पढ्छन् (?), सिकाइमा हाम्रा अपेक्षा र उपलब्धिबीच किन तालमेल नमिलेको रहेछजस्ता कुरा नजिकबाट बुझ्न सिकाएको छ । शिक्षालाई जीवनोपयोगी बनाउनैपर्छ र यसका लागि सिकाइ तथा मूल्यांकन दुवै पद्धतिमा परिवर्तन गर्नैपर्छ्र तर पहल कसले गर्ने ? अभिभावकले आफ्नो गुनासो सुनाउने त आफूजस्तै अन्य अभिभावक, आफ्ना बालबालिका पढ्ने विद्यालयका शिक्षक, प्रधानाध्यापक आदिलाई नै हो । विद्यार्थीसँग प्रत्यक्ष जोडिने शिक्षकहरू नै हुन् । यसका लागि उहाँहरूले अतिरिक्त मिहिनेत गर्नैपर्ने हुन्छ । शिक्षकहरूलाई उत्प्रेरित गर्ने र वातावरण बनाइदिने जिम्मेवारी भने विद्यालय नेतृत्वको हो । त्यसैले, प्रिय प्रधानाध्यापक/प्रिन्सिपल, यसका लागि पहलकदमी लिन ढिलो नगरिदिनुस् । हामी अभिभावकको सहयोग सधैं रहनेछ । प्रभावकारी शिक्षणको उपलब्धि विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय, देश, सभ्यता सबैको उपलब्धि हो ।

wagle.samjhana@gmail.com

प्रकाशित : असार ३, २०७८ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×