कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

संस्काररूपी दासताको साङ्लो

सुमिना

महिलामा निहित दास मनोवृत्ति पितृसत्तात्मक संरचनाले पुस्तौंदेखि संस्थागत तथा मलजल गरी महिलाको चेतनामा सुषुप्त रूपमा उमारिदिएको बिरुवा हो, जसले बिनाकरकाप, खुसीखुसी शोषणकारी दासताका लागि स्वीकृति दिन्छ र विभिन्न विभेद तथा हिंसालाई आफूमा समाहित गर्छ, जुन चेतन वा अवचेतन रूपमा कतै मुखर त कतै सुषुप्त भएर अनेक प्रकृति र प्रक्रिया हुँदै व्यवहारतः बाहिर प्रस्फुटित हुन्छ ।

संस्काररूपी दासताको साङ्लो

यसका उदाहरणहरू हाम्रै आँखाअगाडि छरपस्टै छन् । यस्तै पितृसत्ताप्रति दासत्वको एउटा ज्वलन्त उदाहरण हो- नेपाली समाजमा निहित हरितालिका तीज ।

अनि सबैभन्दा विरोधाभास के छ भने, वर्तमान नेपाली समाजमा एकातर्फ नारी उन्मुक्तिका आवाजहरू उठिरहेका छन्; समयले आह्वान गरिरहेको छ— अब अति भैसक्यो यो दासताको निरन्तरता, यसमा पूर्णविराम लगाउनैपर्छ, यो सिलसिलामा क्रमभंगता ल्याउनैपर्छ; अर्कातर्फ ठीक विपरीत, स्वतन्त्रताको बाटामा सदियौंदेखी पर्खाल बनेर उभिएको परम्परा नामक मीठो शब्दभित्र लिप्त हुँदै पितृसत्तात्मक संरचनाले फालेको जालोमै नेपाली महिलाहरू जकडिइरहेका छन् । चाहे धर्मका नाममा होस् या संस्कृति र परम्पराका नाममा, पितृसत्ताले महिलालाई राजीखुसी दासत्व स्वीकार गर्ने संरचना निर्माण गरिरहेकै छ ।

हाम्रो समाजमा दासत्व वा पराधीनता स्वीकार गराउन पितृसत्ताले अफगानिस्तानी तालिबानले झैं सैन्यबल प्रयोग गरिरहनैपर्दैन, बरु परम्पराका नाममा स्वतःस्फूर्त र राजीखुसी महिलाहरू आफैं दासत्वतिर उन्मुख हुने अवस्था उत्पन्न गरिरहेको छ । एन्टोनियो ग्राम्सीले प्रतिपादन गरेको एउटा सिद्धान्त छ, ‘हेजेमोनी’ अर्थात् वर्चस्ववाद अथवा प्रभुत्ववाद । ग्राम्सीका अनुसार जो शोषक/शासक छ, ऊ शोषित/शासितमाथि जबर्जस्ती सैन्यबल प्रयोग गरेर मात्रै राज गर्दैन; उसले मानिसको मनमस्तिष्कमा संस्कृति र विचारधाराका माध्यमबाट राजीखुसीसाथ राज गर्ने माहोलसमेत उत्पन्न गर्छ । नेपाली समाजमा पनि पितृसत्ताले संस्कार र परम्पराका नाममा दासत्व स्वतः स्वीकार गराउन संरचनात्मक रूपमै प्रभुत्व वा आधिपत्यको अवस्था बनाएको छ । यही सांस्कृतिक आधिपत्यकै कारण धर्म, परम्परा, आस्था, विश्वास, संस्कार र संस्कृतिका नाममा अन्धविश्वासलाई चिर्न नसकी अथवा धर्म र अन्धविश्वासको भेद नै छिचोल्न नसकी घुम्दैफिर्दै महिलाहरू दासत्वकै गोलचक्करमा फन्को मारिरहेको प्रस्ट देखिन्छ ।

कुसंस्कार नै महिला मुक्तिको अवरोधक

महिलालाई नै प्राथमिकतामा राखेर महिला विशेष भन्दै नेपाली समाजले धर्म तथा संस्कृतिको अभिन्न हिस्साका रूपमा अत्यधिक महत्त्व दिएको पर्व हो— तीज । तर ‘महिला विशेष’ भनिएको यही चाड सम्भवतः स्वस्थानीपछिकै सबैभन्दा भयानक स्त्रीद्वेषी पर्व हो भन्ने तथ्य यससँग सम्बन्धित मान्यताहरूले प्रमाणित गर्छन् ।

पार्वतीले शिवलिंगको स्थापना गरी लामो समयसम्म पानीसमेत नपिई निराहार व्रत बसेपछि शिव प्रकट भएर आशीर्वाद दिएको र शिवसँग पार्वतीको विवाह भएको पौराणिक कथन छ । यसका साथै शिवको सुस्वास्थ्य तथा उनलाई कुनै पनि प्रकारको रोग एवं दुःख–कष्ट नआओस् भनी पार्वती व्रत बसेको भाद्र शुक्ल तृतीयालाई तीजको दिन मानेर नेपाली हिन्दु महिलाले पनि त्यसलाई परम्पराका रूपमा मान्दै आएका छन् ।

सतही रूपमा यसलाई स्त्रीले इच्छा लागेको वर चुन्न पाउने अधिकारको प्रयोगका रूपमा व्याख्या गर्ने गरिए पनि समग्रमा यसले दिने सन्देश भनेको पुरुष, पति या प्रेमीहरूको देवत्वकरण नै हो । पुरुष देवता हुन् र महिला भक्त हुन् भन्ने यसको स्थापित मान्यता छ । त्यसैले महिलाहरू आजीवन पुरुषको सेवा, भक्ति वा कामनामा लागिरहनुपर्छ भन्ने सामाजिक–धार्मिक मान्यताकै यसले वकालत गर्ने गर्छ ।

तीजका दुइटा पाटा छन्- तृतीया र पञ्चमी । मानवशास्त्री डोरबहादुर विष्टले उल्लेख गरेका छन्, महिलासम्बन्धी र सँगसँगै आउने धार्मिक गतिविधिका कारण समग्रमा तीजलाई एउटै पर्वका रूपमा नेपाली समाजले लिने गरेको छ तर यसका दुई खण्ड छन् । अमेरिकी मानवशास्त्री लिन बनेटले पनि ‘डेन्जरस वाइभ्स एन्ड स्याक्रिड सिस्टर्स सोसियल एन्ड सिम्बोलिक रोल्स अफ हाई–कास्ट वुमेन इन नेपाल’ मा तीजका यी दुवै पक्षबारे सूक्ष्म ढंगले अध्ययन गरेकी छन् ।

पहिले, तृतीयाको निराहार व्रत केवल पति ‘देव’ को सुस्वास्थ्य र दीर्घायुका लागि बसिन्छ र पतिका खुट्टा धोएर पानी खानेसम्मका गतिविधि यस पर्वको दौरान गरिन्छन् । नेपाली समाजमा वर्षैभरि घरेलु हिंसाका समाचारहरू व्यापक मात्रामा आइरहन्छन् । अनि वर्षभरिका नारी हिंसाको क्षतिपूर्ति हरितालिकामा उल्टो नारीलाई नै पुरुषका खुट्टाको पानी खुवाएर असुल्ने गरेको छ नेपाली समाजले ।

तृतीयाको भन्दा भयावह पाटो छ, पञ्चमीको । अपमार्गले दतिउन गर्दै सहस्र धाराद्वारा नुहाएर समापन गरिने गतिविधिको प्रमुख औचित्य भनेको वर्षभरि रजस्वला हुँदा जान–अनजानमा पुरुषलाई छोइएको पाप पखाल्नु हो । महिलामा स्वतःस्फूर्त र प्राकृतिक रूपमा हुने रजस्वलालाई पाप र अपराधका रूपमा व्याख्या गर्ने ऋषिपञ्चमी आफैंमा ठूलो अन्धविश्वास र कुसंस्कार हो ।

रजस्वलालाई नै अपराध र पापका रूपमा लिएकै कारण बर्सेनि दर्जनौं किशोरी र महिला छाउगोठ जीवन गुमाउन बाध्य हुन्छन् । हाम्रो समाज एकातिर छाउगोठ भत्काउँदै हिँड्छ भने अर्कातिर ऋषि पञ्चमीजस्ता ‘कुसंस्कार’ हरू लादेर महिनावारी पाप र अपराध हो भन्ने उपदेश दिन पनि पछि पर्दैन ।

संस्कार र कुसंस्कारबीचको भेद छुट्याएर जबसम्म हामी आम महिलाले हिम्मतका साथ दासताको जन्जिर चुँडाल्न सक्दैनौं, जबसम्म महिला मुक्तिका तगाराहरू भत्काउन सक्दैनौं, तबसम्म स्वतन्त्रताको नीलो आकाशमा हाम्रो निस्फिक्री उडान असम्भव छ ।

कसरी लादिन्छ संस्कारका नाममा कुसंस्कार ?

खास गरी विवाहित महिलाहरूलाई पतिको चरण र सेवामा नतमस्तक बनाउन पितृसत्ताले धर्म वा संस्कार नामको जाल निकै होसियारीपूर्वक बिछ्याउने गरेको छ । धर्मको विशेष अर्थ हुन्छ— ‘धारण गर्नु’, ‘अपनाउनु’ वा ‘अनुसरण गर्नु’ । यसमा किन्तु वा परन्तुका लागि कुनै स्थान हुँदैन । केवल स्विकार्ने मात्रै छुट हुन्छ । सुरुआतमा धर्मको आधार भक्ति नभएर भय र भ्रम नै हुन्छ अनि कालान्तरमा त्यो मानिसका निम्ति आस्था र विश्वास बन्न पुग्छ ।

तीज ठ्याक्कै कहिले, कसले र कसरी सुरु गर्‍यो, भन्न सकिँदैन तर जेसिका भ्यानटाइन ब्रिकेनहोल्टले स्वस्थानीबारे गरेको अनुसन्धान हेर्दा तीज पनि पितृसत्ताले सुरु गरेको एउटा प्रपञ्च थियो भनी अनुमान लगाउन गाह्रो हुँदैन ।

ब्रिकेनहोल्टको अनुसन्धानले भन्छ, स्वस्थानीको कथा सर्वप्रथम नेपाल भाषामा नेपाल संवत् ६९३ (सन् १४७३) आसपास लेखिएको थियो । यो जयदेवले लेखेका थिए । तत्कालीन नेपाल (काठमाडौं उपत्यका) मा त्यति बेला मल्ल राजाहरूको शासन थियो । १९ औं शताब्दीको सुरुआततिर जब उपत्यकामा शाह राजाहरू भित्रिए, त्यति बेला मात्रै यसलाई नेपालीमा रूपान्तरित गरियो र सम्पूर्ण नेपाली समाजमा बिस्तारै यही कथालाई धार्मिक अनुष्ठान र महिलाको पर्वका रूपमा स्थापित गरियो ।

यो तथ्य बुझ्न त्यति गाह्रो छैन कि नेपाली समाजको अधिकांश हिस्सामा आदिवासी जनजातिको बाहुल्य थियो । आदिवासी जनजाति समुदायमा तुलनात्मक रूपमा महिला बढी स्वतन्त्र थिए । त्यसैले महिलालाई तुच्छ करार गरेर सामन्तवादी पितृसत्ता तिनलाई पनि कज्याउन चाहन्थ्यो । यसका लागि लैंगिक हिसाबले विभेदकारी स्वस्थानीको कथा एउटा यस्तो हतियार बन्न पुग्यो, जसलाई हातमा लिएर महिलाहरूमाथि दासत्व लाद्न पितृसत्ताले अनेक प्रपञ्च रच्यो ।

तीज पनि महिलालाई कज्याउनकै लागि यसरी नै नेपाली खस–आर्य समाजमा लादिएको थियो भनेर बुझ्न त्यति कठिन पर्दैन । यो संस्कारलाई अझ सशक्त रूपमा लागू गराउन यसलाई हिन्दु धर्मसँग जोडिएको पनि स्पष्ट हुन्छ । धर्मसँग जोडिदिएपछि त्यसले महिलामाथि त्रास पैदा गर्ने नै भयो र महिलाहरू यो विभेदकारी प्रपञ्चलाई अनुसरण गर्न बाध्य हुने नै भए ।

फेरि सबै हिन्दु धर्मावलम्बीले तीज र स्वस्थानी मनाएको पनि पाइँदैन । अर्को कुरा, सम्भ्रान्त वर्गमा भन्दा काठमाडौं उपत्यकाको काँठ क्षेत्र आसपासको निम्न–मध्यमवर्गीय समाजमा यी दुवै पर्वको प्रभाव बढी देखिन्छ । अनि केही ठाउँलाई अपवादका रूपमा लिने हो भने मध्यनेपालबाट जतिजति पूर्व वा पश्चिम गयो, त्यति नै यी दुवै पर्वको प्रभाव कम हुँदै गएको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने, यी दुवै प्रचलन हिन्दु धर्मद्वारा प्रतिपादित नभई धर्मसँग जोडेर नारीलाई कज्याउन नेपालकै आन्तरिक पितृसत्ताले गरेका विशुद्ध उत्पादन हुन् ।

त्यसो त पूर्व वैदिककाल (इपू १४००–१०००) मा महिलाको रजस्वलालाई लिएर कुनै निषेध वा वर्जितीकरण गरिएको पाइँदैन । उत्तर वैदिककाल (इपू १०००–६००) मा जब उपनिषद्हरू लेखिए, बिस्तारै महिलालाई तुच्छ करार गर्ने परम्परा पनि सुरु भयो । त्यसयता ठाउँ र सम्प्रदायपिच्छे हिन्दु धर्मावलम्बीहरूबीच पनि फरकफरक स्वरूपका स्त्रीद्वेषी र लैंगिक रूपमा विभेदकारी प्रचलनहरू संस्कारका रूपमा सृजिने र लाद्ने काम हुँदै आयो । तीज र स्वस्थानी यसैका स्थानीय उदाहरणहरू मात्रै हुन् ।

भारतीय साहित्यकार महादेवी वर्मा भन्छिन्, ‘सरकार त लिखित कानुनका आधारमा चल्छ, तर समाज भने अलिखित परम्पराद्वारा नियन्त्रित छ ।’ संस्कारका नाममा महिलामाथि नियन्त्रण गर्न र शासन लाद्नकै लागि पितृसत्ताले तीजजस्ता परम्पराहरू सृजना गर्दै आएको छ । सँगसँगै यस्ता कुरीतिहरूप्रति नतमस्तक भएर सहर्ष स्वीकार गर्ने महिलाहरूको जमात पनि डरलाग्दो छ । उनीहरू लामो अभ्यासद्वारा पितृसत्ताले सुषुप्त रूपमा लादेको ‘हेजेमोनी’ अर्थात् सांस्कृतिक आधिपत्यबाट आज पनि मुक्त हुन सकेका छैनन् ।

धर्म र संस्कारका नीतिनियम, दायरा र कायदा–कानुनबाट सञ्चालित हजुरआमा पुस्तादेखि नातिनी पुस्तासम्म संस्थागत रूपमा हस्तान्तरण भएको परम्परागत दासताको अमिट छापबाट विकट ग्रामीण भेगका अशिक्षित महिलाहरू मुक्त हुन नसक्नुलाई चेतनाको अभाव पनि मान्न सकिएला । तर, सहरवरपर रहेका र तुलनात्मक रूपमा शिक्षित तथा आधुनिक भनिने महिलाहरू यस खाले स्त्रीद्वेषी पितृसत्तात्मक षड्यन्त्रबाट मुक्त हुन नसक्नु एकदमै दुःखद विषय हो । यसले मानिसको चेतनाको रूपान्तरणमा कुनै भूमिका नखेल्ने, हामीले झेलिरहेको शिक्षा प्रणालीमाथि नै सन्देह पैदा गरेको छ । साथसाथै निरन्तर पुरातन मूल्यमान्यताहरूको संरक्षण गर्दै फगत महिलाहरूलाई दासको दर्जामा राखिरहन चाहने राज्यसत्ताको चरित्रमाथि पनि निर्मम प्रश्न तेर्स्याएको छ ।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि हामीलाई दासत्वको बोध नहुनु, अस्तित्व टकरावको महसुस नहुनु, परम्परा र दासतामा एवम् भक्ति र अपमानमा भिन्नता गर्न नसक्नु, दासतामै एक प्रकारको आनन्दानुभूति गरेर मदमस्त भइरहनु वास्तवमै ठूलो विडम्बना हो । यस्तो दास मनोवृत्ति नै समग्र महिला मुक्तिको मार्गमा अवरोधको पर्खाल बनेर उभिएको छ । पढेलेखेका र शिक्षित भनिने महिलाहरू, जसले महिला मुक्ति आन्दोलनको नेतृत्व गर्नुपर्थ्यो, तिनै संस्कृति र परम्पराका नाममा रूढि र अन्धभक्तिमा लीन भएकै कारण महिला मुक्तिको यात्रा दिशाहीन भएर कतै भूलभुलैयामा अलमलिइरहेको छ ।

परम्परा र महिला मुक्तिको सवाल

नारीवादी विचारक तथा अभियन्ता कमला भासिनले एउटा प्रसंगमा कम्तीमा सिन्दूर, पोते र चुरा लगाएर महिला अधिकारको लडाइँ नलड्न समस्त महिलालाई आह्वान गरेकी छन् । यसको तात्पर्य विवाहित महिलाहरूले अधिकारको कुरा नगरून् भन्ने होइन कि तिनले चुरा, पोते र शृंगारसँग जोडिएको परम्परागत दासताको जन्जिर चुँडाल्न सकून् भन्ने हो । परम्परामा जेलिएर अधिकारको उचित लडाइँ लडिँदैन भन्ने उनको मत हो ।

‘फेमिनिजम एन्ड थ्यौरी’ मा क्रिस विडन भन्छिन्, ‘हाम्रो नारित्व र यौनिकतालाई कसरी परिभाषित गरिएको छ भन्ने कुरालाई अब हामीले पुनर्व्याख्या गर्नुपर्छ ।’ महिनावारीजस्तो प्राकृतिक प्रक्रियालाई पापको भारीका रूपमा सुदृढीकरण गर्न लगाउने स्वस्थानी र ऋषिपञ्चमीको भाष्यलाई बुझ्न अब अबेर गरिरहनु हुँदैन । धर्म, परम्परा र संस्कृतिका नाममा पुरुषकै लागि भनेर निराहार व्रत बसी पुरुषकै खुट्टा पखालेको जल पान गर्न सिकाउने यस्ता विभेदकारी पर्वहरू सदैव महिला अस्तित्वको बाटामा काँडेतार बनिरहेका छन् । यसको भ्रमबाट महिलाहरू छिटोभन्दा छिटो मुक्त हुनु आवश्यक छ ।

दास मानसिकता अँगालेर अस्तित्वको लडाइँ लडिँदैन । महिला आन्दोलनलाई अग्रगमनतिर डोर्‍याउन र स्वतन्त्रता तथा समानता प्राप्तिको यात्रा तय गर्न दास मानसिकताबाट मुक्त हुँदै रूढि, अत्याचारी र विभेदकारी परम्पराहरूविरुद्ध विद्रोह गर्नु आजको अनिवार्य सर्त हो । विभेदकारी संस्कृति र परम्पराको अवलम्बन दासताको मौन स्वीकारोक्ति नै हो । आखिर कहिलेसम्म जकडिइरहने हामी यो संस्काररूपी दासताको साङ्लोमा ?

प्रकाशित : भाद्र १६, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?