सहरका रूखका दुःख
महानगरको फुटपाथमा हिँड्दै गर्दा सधैं प्रश्न उठ्ने गर्छ, फुटपाथ कसका लागि ? रूखका लागि या पैदल यात्रुका लागि ? त्यसै त दोहोरो आवागमनमा कठिनाइ हुने साँघुरो फुटपाथ, त्यसमा पनि कपूर, धुपीजस्ता ठूला जातका रूख हुर्कंदै गरेका । पछि तिनका फेदले नै पूरै फुटपाथ ढाकिनेछ ।
त्यस बेला पैदल यात्रु कहाँ हिँड्ने ? महानगरमा सडक विस्तार गर्न बर्सेनि घर तथा पसलहरू भत्काइन्छन्, यसै क्रममा मुस्किलले साना फुटपाथ बन्छन् । फुटपाथका स–साना बिरुवा रोप्ने बेला सुन्दर देखिन्छन्, केही समयपछि तिनका फिँजारिएका हाँगाबिगाले माथि टाँगिएका बिजुली, टेलिफोन, इन्टरनेट र टेलिभिजनका तारमा अवरोध पुर्याउन थाल्छन् । त्यसपछि ती रूख काट्नुपर्ने बाध्यता आइपर्छ । यसरी जथाभावी ठुन्क्याइएका रूखले महानगरको सौन्दर्यलाई उपहास गरेझैं लाग्छ ।
बिरुवा रोप्नु पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण छ । त्यसैले त विकसित मुलुकका सडक पेटीमा रूख रोपिएको हुन्छ । त्यहाँको हरियाली देखेर हामी पनि मोहित हुन्छौं । सायद यही मोहका कारण हाम्रो महानगरले पनि बिरुवा रोप्ने अभियानलाई प्राथमिकता दिँदै आएको छ तर ती मुलुकमा गरिने वृक्षरोपणबारे थप जान्ने प्रयास भने गरेको देखिँदैन । त्यहाँ कुन ठाउँमा कस्ता बिरुवा हुर्कन्छन्, तिनलाई कसरी काटछाँट गर्ने भन्ने विषयमा अध्ययन गरिन्छ, सोअनुसार रोपिन्छ । साथै बोटबिरुवाको स्वास्थ्यका बारेमा पनि उनीहरू सचेत हुन्छन् । सडकवरिपरिका बोटबिरुवा हेर्ने छुट्टै संयन्त्र बनाइएको हुन्छ । उतातिर नगर योजनाअन्तर्गत सडकछेउका निश्चित क्षेत्रफल हरियालीकै लागि छुट्याइएको हुन्छ ।
तर, हाम्रोमा यस्ता पक्षमा ध्यानै दिइन्न । यहाँको सहरीकरण अव्यवस्थित छ, घर धमाधम बनाउनु नै सहर बनाउनु हो भन्ने ठानियो । त्यसैले त हाम्रा सहरहरूमा बर्सेनि सडक चौडा पार्नुपर्ने हुन्छ । यसरी सडक चौडा बनाउँदा घर जोगाउनै पर्यो, परिणामतः फुटपाथ सानो हुन पुग्छ । त्यसैमा पनि सौन्दर्य बढाउन भन्दै वृक्षरोपण अभियान चलाइन्छ, जसको आयु दुई–चार वर्षभन्दा बढी हुन्न । एकातिर ती बिरुवा हुर्कंदै गएर सडक तथा पसलहरूलाई बाधा पुर्याउँछन्, अर्कातिर हावाहुरी आएका बेला थप जोखिम पनि बढ्छ ।
हामीकहाँ अचेल वृक्षरोपण फेसनै बनेको छ । विभिन्न अवसर पारेर बिरुवा रोप्ने प्रतिस्पर्धा चल्छ, तर रोपिसकेपछि फर्केर पनि हेरिन्न । ती बिरुवा त्यसै मरेर जान्छन् । सार्वजनिक स्थल, सडक पेटी, विद्यालय प्रांगण, कलेज परिसर कतै पनि खाली जग्गा देख्नै हुन्न, वृक्षरोपण गरिहालिन्छ । त्यहाँका बिरुवा देख्दा, रोप्नेहरूलाई दुई बिरुवाबीच कति दूरी राख्नुपर्छ भन्ने थाहा नभएजस्तो देखिन्छ । धान, मकै रोपेजस्तै बिरुवा रोपेर, उनीहरू मक्ख पर्दै जान्छन् र फर्केर पनि आउन्नन् । सायद, रूख रोप्ने बजेट हुने तर गोडमेल गर्नेचाहिँ नहुने भएर हो कि ? रूख रोप्नु सरकारी तथा गैरसरकारी संघसंस्थाको बजेट पचाउने माध्यम मात्र हो त ? अन्यथा यस सम्बन्धमा अध्ययन–अनुसन्धान एवम् दीर्घकालीन सोच राखिएको देखिँदैन, किन ?
एक थरीले रूख रोप्दै जाने, केही समयपछि अर्का थरीले त्यसलाई काट्दै जाने त हाम्रो महानगरको विशेषतै बनेको छ । विद्युत् प्राधिकरणले तार छुन लागेपछि रूख काट्दै हिँड्छ । दीर्घकालीन सोचबिना बिरुवा रोपिनाले रोप्दा पनि र काट्दा पनि सरकारी तथा गैरसरकारी क्षेत्रको लगानी पर्छ तर प्रतिफल शून्य । अनि अर्को पक्ष, जहाँ तार छोयो भनेर रूख काटिन्छन्, त्यहाँ पुनः बिरुवा रोपिएको देखिँदैन ।
महानगरमा रूख रोप्दा त्यससम्बन्धी विस्तृत अध्ययन गरिनुपर्छ । सडक पेटीमा कुन जातका बिरुवा रोप्ने, सडकबीचको ग्रिनबेल्टमा कस्ता बिरुवा हुर्काउँदा सवारी आवागमनमा बाधा पुग्दैन, रोपिएका बिरुवालाई कुन आकारप्रकारमा नियमित काटछाँट गर्ने आदि दीर्घकालीन योजना बनाएर मात्र बिरुवा रोप्नु प्रभावकारी हुन्छ । उद्यानहरूमा बिरुवा रोप्दा पनि सोहीअनुरूप दीर्घकालीन सोचको आवश्यकता पर्छ । यसका साथै बिरुवा हाम्रो माटो र हावापानी सुहाउँदो पनि हुनुपर्छ । सहर तथा उद्यानको सौन्दर्य बढाउन विदेशी महँगा बिरुवा रोपे तिनलाई हुर्काउन नसकेर लगानी खेर जाने गर्छ । प्रायः उद्यानमा यस प्रकारका बोटबिरुवा रोपिएका त हुन्छन् तर कालान्तरमा त्यसै हराएर जान्छन् । यस्तो हुन नदिन महानगरपालिकाले आफ्ना तर्फबाट सक्दो विचार पुर्याउनुपर्छ ।
यसका साथै महानगरले सडकका पेटीहरू तथा सडकबीचमा वर, पीपल, शमी, कपूरजस्ता विशालकाय रूख रोप्ने अदूरदर्शिता पनि त्याग्नुपर्छ । साँघुरा फुटपाथलाई कसरी चुस्त बनाउने भन्ने सोचका साथ स–साना बिरुवा रोपेर तिनलाई नियमित काटछाँट गरेमा सडक पेटी सुरक्षित र सुन्दर बन्न सक्छन् ।
प्रकाशित : भाद्र १६, २०७८ ०७:२८