२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपालको प्राकृतिक पुँजी

नेपालमा सौर्य शक्ति उत्पादन क्षमता ५० हजार टेरावाट प्रतिघण्टा प्रतिवर्ष छ, जुन हालको जलविद्युत् क्षमताभन्दा झन्डै सय गुणा बढी हो । लगभग ३ हजार मेगावाट वायु ऊर्जा उत्पादन हुुने प्रारम्भिक अनुमान छ ।
जुद्धबहादुर गुरुङ

विश्वबजारमा आजभोलि प्राकृतिक पुँजीको लेखाजोखा गर्ने प्रचलन बढ्दो छ । पृथ्वीमा सञ्चित प्राकृतिक स्रोतहरूलाई, मानव जीवन सञ्चालन प्रक्रियामा महत्त्वपूर्ण सहयोगीका रूपमा रहेका पारिस्थितिक प्रणालीकासेवा र वस्तुलाई प्राकृतिक पुँजी भनिन्छ । वैज्ञानिक परिभाषाअनुसार, पृथ्वीमा विद्यमान नवीकरणीय तथा गैरनवीकरणीय प्राकृतिक स्रोतहरूको सञ्चिति नै प्राकृतिक पुँजी हो । विश्व वातावरण खास गरी पारिस्थितिक प्रणाली, भौगर्भिक पदार्थहरू, स्थलमण्डल,वायुमण्डल, जलमण्डल, सौर्यलगायत प्राकृतिक पुँजीका उदाहरण हुन् ।

नेपालको प्राकृतिक पुँजी

नेपालका सन्दर्भमा वातावरण, सूर्यको विकिरण, खोलानाला तालतलैया, हिमचुली, आवाज तथा तरंग, वनजंगल, वन्यजन्तु, जमिन, खनिज तथा खानीजन्य पदार्थ, ठोस फोहोरमैला व्यवस्थापनपछि सृजित अवस्था, मनोरञ्जन वा पर्यटकीय गन्तव्यहरू, बालीनालीका लागि मौरी, पुतलीलगायत कीटपतंगले गर्ने परागसेचन, वनजंगलको कार्बन भण्डारण, मानव समुदायद्वारा सृजित सांस्कृतिक पक्षलगायतका दृश्य–अदृश्य स्रोतहरूप्राकृतिक पुँजी हुन् । तर नेपालको संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरे पनि ऐनले प्राकृतिक स्रोतको स्पष्ट किटानी परिभाषा उल्लेख गरेको पाइँदैन । अझ अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ ले पर्वतारोहण, विद्युत्, वन, खानी, पानीलगायतलाई मात्र प्राकृतिक स्रोत भनी उल्लेख गरेको छ । यिनै स्रोत परिचालनबाट प्राप्त राजस्वलाई प्राकृतिक पुँजीका रूपमा लिएजस्तो देखिन्छ । यतिका स्रोत भएको नेपालसित प्राकृतिक पुँजी कति होला, लेखाजोखै छैन ।

विश्वतर्फ फर्किंदा

‘प्राकृतिक पुँजी’ शब्दावली पहिलो पटक प्रयोग सन् १९७३ मा बेलायती अर्थशास्त्री ईएफसुमाकरले ‘स्मल इज ब्युटिफुल’ पुस्तकमा गरेका थिए । । विश्व सन्दर्भमा नब्बेको दशकमा यसबारे केही अध्ययन–अनुसन्धान भएका थिए। सन् २०१२ मा ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न जैविक विविधता विश्व सम्मेलनले पहिलो पटक प्राकृतिक पुँजीसम्बन्धी घोषणापत्र नै जारी गर्‍यो । यसपछि व्यापारिक गठबन्धन निर्माण भई सन् २०१६ मायससम्बन्धी प्रोटोकल तयार भयो, जसका आधारमा अचेल प्राकृतिक पुँजीको आकलन गर्न थालिएको छ । यस प्रोटोकलका आधारमा संसारभरका देशहरूले आफ्नो प्राकृतिक पुँजी अनुमान गरी आफ्ना राष्ट्रिय लेखा प्रणालीमा समावेश गर्न थालेका छन् ।

प्रकृति अमूल्य हुन्छ । त्यसैले प्राकृतिक पुँजीलाई वित्तमा परिणत गर्न विभिन्न खोजबिन, अध्ययन–अनुसन्धान भइरहने गरेका छन् । उदाहरणका लागि, क्यालिफोर्नियाको सडक किनारमा रोपिएका रूखहरूले पारिस्थितिक प्रणालीमार्फत बाढी नियन्त्रण र वायु नियमन गरी वार्षिक लगभग १ अर्ब अमेरिकी डलर बराबरको सेवा प्रदान गर्ने आकलन छ । मेक्सिकोको समुद्री किनारमा रहेको मेनग्रुभ वनले आँधीबेहरीबाट सुरक्षित राख्नुका साथै माछापालन र पर्या–पर्यटनमार्फत वार्षिक करिब७० अर्ब डलरको सेवा दिँदै आएको मानिन्छ ।

प्राकृतिक पुँजीलाई अमेरिकी डलरमा प्रतिव्यक्ति लेखाजोखाको थालनी डिक्सन र ह्यामिल्टनले गरेका हुन्, सन् १९९७ मा । विश्वभर कृषि भूमिसबैभन्दा बढी प्रतिव्यक्ति मूल्य भएको पाइयो भने सबभन्दा बढी मध्यपूर्व क्षेत्रमा ६३ हजार ४१ डलर बराबरको प्राकृतिक पुँजी रहेको प्रक्षेपण गरियो । सन् १९९७ मै वल्र्ड रिसोर्सेज इन्स्टिच्युटले संसारभर औषधिजन्य उद्योगलाई आवश्यक पर्ने प्राकृतिक स्रोतको लेखाजोखा गरेको थियो । त्यसअनुसार विश्वभरका औषधि उत्पादक कम्पनीहरूले प्राकृतिक स्रोतबाट प्राप्त कच्चा पदार्थ प्रयोग गरी ७५ अर्बदेखि १२० अर्बडलरसम्म कमाउने गर्छन् ।

सन् २००२ मा अस्ट्रेलियाको एडिलेडको सहरी वनमा गरिएको लागत र लाभसम्बन्धी अध्ययनले प्रतिरूख १७२ अस्ट्रेलियन डलर बराबरको प्राकृतिक पुँजीको योगदान रहेको देखाएको थियो । सहरी पारिस्थितिक प्रणालीमा रूखहरूले दिने छहारी र सुन्दरता, हुरीबतासको प्रभाव न्यूनीकरण, कार्बन सञ्चितीकरणका साथै ताप, ध्वनि तथा वायु प्रदूषणलगायतका पक्षहरूको न्यूनीकरणमा पुर्‍याउने योगदानलाई आधार बनाइएको थियो ।

सन् २०१३ मा व्यापार गठबन्धनद्वारा प्रकाशित पारिस्थितिक प्रणाली र जैविक विविधताको अर्थतन्त्रसम्बन्धी प्रतिवेदनमा विश्व पारिस्थितिक प्रणालीद्वारा सृजित विश्व प्राथमिक उत्पादन र यसको प्रशोधन प्रक्रियालाई वर्तमान वातावरणीय ह्रासको प्रमुख जिम्मेवार पक्ष मनिएको छ । यो वातावरणीय ह्रासलाई सम्बोधन गर्न लगभग ७.३ ट्रिलियन डलर खर्च लाग्ने अनुमान थियो । एक वर्षपछि प्रकाशित अर्को प्रतिवेदनले विश्व वातावरणीय परिवर्तनसम्बन्धी विश्व पारिस्थितिकीय प्रणालीको सेवाको एकमुस्ट मूल्य आकलन गर्दा एकीकृत विश्व गार्हस्थ्य उत्पादनभन्दा लगभग दोब्बर (१२४.४ ट्रिलियन डलर) हुने देखिएको थियो ।

नेपालका प्रमुख प्राकृतिक पुँजीहरूको लेखाजोखा

पारिस्थितिक प्रणालीको सेवा र वस्तुको मूल्य आकलन गर्न अन्य देशमा सिस्टम अफ इन्भायरमेन्टल इकोनोमिक अकाउन्ट (एसईईए) विधि अपनाइन्छ । तर नेपालमा एसईईएप्रणाली कार्यान्वयनको चरणमा नभएकाले ऐन–कानुनबमोजिम केही प्राकृतिक स्रोतबाट प्राप्त राजस्वलाई आधार मानी प्रारम्भिक रूपमा प्राकृतिक पुँजीको अनुमान गर्न सकिन्छ । नेपालको अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन–२०७४ ले प्राकृतिक स्रोत भनी समेटेका पर्वतारोहण, विद्युत्, वन, खानी, पानीलगायतका प्राकृतिक स्रोतहरू परिचालनबाट प्राप्त पुँजीको अवस्थालाई लेखाजोखा गर्नु सान्दर्भिक हुन्छ ।

हिमालय पर्वत नेपालका लागि महत्त्वपूर्ण प्राकृतिक स्रोत हो । नेपालको कुल क्षेत्रफलको १३ प्रतिशत हिमाली क्षेत्रले ओगटेको छ । यो सानो घेराभित्र ६ हजार मिटरभन्दा अग्ला १,९१३ वटा चुचुरा छन् भने १,३१० वटा हिमालको नामकरण गरिएको छ । ८ हजार मिटरभन्दा अग्ला हिमाल विश्वमा १४ वटा छन्, जसमध्ये ८ वटा नेपालमै पर्छन् । नेपालका ४१४ हिमचुलीमा आरोहण अनुमति दिइएको भए पनि हाल ८१ चुचुरा मात्र विश्वबजारमा आरोहणका लागि बढी चिनिएका छन् । पर्वतारोहण नेपालको पर्यटन क्षेत्रको प्रमुख क्रियाकलाप हो, जसले सृजना गरेका रोजगारी तथा अन्य कारोबार विशाल भए पनि कुल गार्हस्थ्य उत्पादन वा वृद्धिमा लगभग ३ प्रतिशत योगदान छ । कोभिडकालमा, आर्थिक वर्ष २०७७–७८ मायिनै हिमचुलीहरूबाट लगभग ५४ करोड ७लाख रुपैयाँआरोहण राजस्व संकलन भएको छ ।

जलस्रोत नेपालको अर्को उल्लेखनीय प्राकृतिक स्रोत हो । नेपालमा ६ हजार नदीनाला छन्, जसमा वार्षिक २२५ अर्बघनमिटर प्रतिसेकेन्ड पानी बग्ने अनुमान छ । त्यसबाट६.९ प्रतिशत मात्र खानेपानी, विद्युत्, सिँचाइ, उद्योग, मनोरञ्जन, यातायातलगायतका क्षेत्रमा उपयोग हुने गरेको छ । भूमिगत जलाशयमा ११.५अर्ब घनमिटर पानी भएको अनुमान गरिएकामा लगभग ५.८ अर्ब घनमिटरचाहिँ खानेपानी, सिँचाइ, उद्योगमा उपयोग हुँदै आएको छ । यतिका धेरै नदीनालाबाट लगभग ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता भए पनि ९८ जलविद्युत् गृहबाट करिब १२९०.१६९ मेगावाट मात्र उत्पादन भइरहेको छ । त्यसबाट आर्थिक वर्ष २०७७–७८ मा ३ अर्ब ३७ करोड १३ लाख २० हजार ६ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ । पानीको उपयोग खानेपानी, सिँचाइ र यातायात, पर्यटन क्षेत्रलगायतमा गरिएपनिसरकारले अपेक्षित राजस्व संकलन गर्न सकेको छैन ।

वन नेपालको त्यस्तै महत्त्वपूर्ण प्राकृतिक स्रोत हो । विगतमा लगाउने गरिएको ‘हरियो वन नेपालको धन’ नारा आजभोलि पनि उपयुक्त रहेको प्रमाणित हुन्छ । नेपालको कुल भूभागको ४४ प्रतिशत क्षेत्रफल वनजंगलले ढाकेको तथ्यांक छ, जसमा लगभग ११८ किसिमका पारिस्थितिक प्रणाली छन् । तिनै पारिस्थितिक प्रणालीको सेवा र वस्तुका आधारमा मानव जीवन पद्धति सञ्चालित हुँदै आएको छ, तापनि यो स्रोतलाई राष्ट्रिय लेखा प्रणालीमा आबद्ध गर्न सकिएको छैन । आर्थिक वर्ष २०७७–७८ मा काठ–दाउरा बिक्रीबाट संकलित वनको राजस्व लगभग ६९ करोड ५८ लाख ७१ हजार रुपैयाँ छ ।

नेपालमा पाइने लगभग १३ हजार प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजाति गैरकाष्ठ वन पैदावर तथा जडीबुटीका रूपमा उपयोग हुँदै आएका छन् । यिनैमध्ये लौठसल्ला एउटा हो, जसको पात प्रतिवर्ष ६० करोड किलो संकलन गर्न सकिने तथ्यांक वनस्पति विभागको हालैको अध्ययनमा उल्लेख छ । यो पात केही वर्षअघि प्रतिकिलो१४० रुपैयाँका दरले बिक्री भएको पाइन्छ । यही हिसाबले पनि लगभग लौठसल्लाको पात बेचेर वार्षिक रूपमा ८५अर्ब रुपैयाँ कमाउन सकिने देखिन्छ । यसबाहेक सरकारको राजस्व प्रतिकिलो३० का दरले लगभग १८अर्बउठाउन सकिन्छ ।

नेपालको वनजंगलमा१०५४.९७ मिलियन टन कार्बन भण्डारण क्षमता रहेको मानिन्छ । वर्तमान विश्वबजारमा कार्बनको मूल्य प्रतिटन लगभग ४० अमेरिकी डलर छ । तर सन् २०२१ को फेब्रुअरीमा नेपाल सरकार र विश्व बैंकबीच भएको सम्झौताअनुसार प्रतिटन ५० डलर पाइन्छ । यो मूल्यमा नेपालका वनमा सञ्चित कार्बनको मूल्य लगभग ५२ करोड ७४ लाख ८५ हजार डलर बराबर छ,जुन प्रतिवर्ष प्राप्त हुने रकम हो । यसलाई अदृश्य प्राकृतिक स्रोत वा वायुमण्डलद्वारा प्रदत्त प्राकृतिक पुँजी भन्न सकिन्छ ।

खानी तथा खानीजन्य वस्तुहरू पनि प्राकृतिक पुँजीका प्रमुख स्रोत हुन् । नेपालमा युरेनियमजस्ता महत्त्वपूर्ण खनिज रहेको पत्ता लागेको छ । नेपालमा धातु, गैरधातु, शृंगारिक (पत्थर वा रत्न), इन्धन गरी चार वर्गका खनिज पाइने अभिलेखहरूमा उल्लेख छ । हाल भूगर्भ तथा खानी विभागले १५ किसिमका खानीजन्य उद्योगका लागि १४९ वटा अनुमतिपत्र दिएको छ । यीमध्ये ७२ वटा चुनढुंगाका अनुमतिपत्र हुन्, जसका आधारमा २५ वटा सिमेन्ट कारखाना सञ्चालनमा छ । यी खानीजन्य उद्योगबाट नेपाल सरकारले आर्थिक वर्ष २०७७–७८ मा लगभग ७९ करोड ३३ लाख ५८ हजार रुपैयाँ बराबरको राजस्व उठाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ ले परिभाषित गरेकाबाहेक अन्य स्रोतबाट पनि राजस्व संकलन हुँदै आएको छ।नेपालका खोलानालाले वार्षिक बगाएर ल्याउने ढुंगा, गिट्टी, बालुवा र जराजुरीजस्ता नदीजन्य पदार्थहरूप्राकृतिक स्रोत नै हुन् । ढुंगा, गिट्टी र बालुवा पूर्वाधार विकासको कच्चा पदार्थ पनि हुन् । यी वस्तुबिना देशको पूर्वाधार विकासकल्पनाबाहिरको विषय हो । यिनै स्रोतबाट ‘दहत्तर बहत्तर’ शीर्षकमा आर्थिक वर्ष २०७७–७८ मा २४३ पालिकाले लगभग ४ अर्ब ६२ करोड २५ लाख रुपैयाँको राजस्व संकलन गरेका छन् ।

नेपालको भूगोलको लगभग ८३ प्रतिशत पहाडी क्षेत्रले ओगटेको छ, जसले सौर्य ऊर्जा संकलन गर्ने क्षमता बढाउन सहयोग गर्छ । सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार, नेपालमा सौर्य शक्ति उत्पादन क्षमता ५० हजार टेरावाट प्रतिघण्टा प्रतिवर्ष छ, जुन हालको जलविद्युत् क्षमताभन्दा सय गुणा बढी हो । विद्युत् विकास विभागले हालसम्म ६९ कम्पनीलाई लगभग ८३९.७९ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न अनुमतिपत्र दिइसकेको छ । यीमध्ये हालसम्म ४ वटा आयोजनाबाट कुल २०.१८ मेगावाट ऊर्जा उत्पादन भई विद्युत्को केन्द्रीय प्रसारणमा जडान भइसकेको छ । यसको वित्तीय लेखाजोखा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुने प्रक्रियामा छ ।

वायु पनि भरपर्दो प्राकृतिक स्रोत हो । नेपालमा बतासेडाँडा तथा नदीका खोंचहरू धेरै छन् । वायुलाई ऊर्जामा परिणत गरी पुँजी सृजना गर्न सकिन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको हालै प्रकाशित प्रतिवेदनअनुसार, २२ जिल्लामा वायु ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिएको छ, जसअनुसार लगभग ६०७.४ वर्गकिमि क्षेत्रफलबाट प्रतिवर्गकिमि ५ मेगावाटका दरले उत्पादन गर्न सकिन्छ । यही तथ्यलाई आधार मानेमा नेपालमा लगभग ३ हजार मेगावाट वायु ऊर्जा उत्पादन हुुने प्रारम्भिक अनुमान गरिएको छ ।

फोहोरमैलालाई पनि प्राकृतिक स्रोतका रूपमा लिने गरिन्छ । काठमाडौं उपत्यकाबाट प्रतिदिन लगभग १,२०० टन फोहोरमैला निस्किने आकलन छ । यस्तो फोहोरमैलालाई प्रांगारिक मल बनाएर र ऊर्जा उत्पादन गरेरपुँजीमा परिणत गर्न सकिन्छ । उदाहरणका लागि, पोखरा महानगरपालिकाको फोहोरमैलाबाट तनहुँ जिल्लाको कोत्रेमा गण्डकी ऊर्जा प्रालिले प्रतिदिन ४५ टन ठोस फोहोरमैला प्रयोग गरी लगभग १,६०० सिलिन्डर एलपीजी उत्पादन गरेको छ । स्याङ्जाको भालुपहाडनजिक खिलुङ कालिका प्रालिले कुखुराको सुलीबाट दैनिक ३५० किलोवाट विद्युत्र १,२०० किलो ग्यास उत्पादन गरेको छ ।

सन् २०१८ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको अध्ययनअनुसार, नेपालमा व्यापारिक लक्ष्य राखी सञ्चालनका रहेका पशुपालन, चिनी मिल, हल्का पेय पदार्थ उत्पादन उद्योग र तरकारी बजारबाट प्रतिदिन ६.२ मिलियन घनमिटर ठोस फोहोरमैला निस्किन्छ, जसबाट दैनिक १६ लाख मेट्रिक टन प्रांगारिक मल उत्पादन हुन सक्छ ।यसबाहेक वायुमण्डलमा तरंगित रेडियो, टेलिफोन, टेलिभिजन लगायतका वेभहरू पनि प्राकृतिक पुँजी हुन् ।

उपर्युक्त तथ्यांकहरूले नेपालमा प्राकृतिक पुँजीको अथाह स्रोत रहेको देखाउँछन् । यी तथ्यलाई मनन गरेर प्रभावकारी योजना बनाई कार्यान्वयनमा ल्याउन सके ‘समृद्ध नेपाल’ नारामा मात्र सीमित रहनेछैन ।

गुरुङ वातावरणविद् हुन् ।

प्रकाशित : भाद्र १४, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?