३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाली वामपन्थीको मनोविश्‍लेषण, सप्रेम

नेताहरूलाई लागेको हुन सक्छ— जनताको मुक्तिका लागि त्यत्रो बलिदान गरेर आएको व्यक्तिले कसरी राजनीतिलाई पेसा ठान्न सक्छु ? कालो र सेतो छुट्याउने विवेकको दृष्टि नै बिस्तारै यसरी कमजोर भएको हुन्छ, भ्रष्टाचारीले पनि आफू भ्रष्ट छु भनेर विरलै स्विकार्छ ।
विष्णु सापकोटा

टुटफुटका नरोकिने शृंखलाले त्यसै मर्माहत भएको नेपाली वामपन्थी पंक्तिलाई यस्तो बेला धेरै कडा प्रश्न सोध्नु पनि गैरमाक्र्सवादी अन्यायजस्तो लाग्न सक्छ । पूरै पथभ्रष्ट भइनसकेकामध्ये धेरै वामपन्थी दलका औपचारिक बन्धनमा भन्दा बरु बुद्धिजीवी समुदाय र अन्यत्र बाहिरै होलान् ।

नेपाली वामपन्थीको मनोविश्‍लेषण, सप्रेम

माक्र्सवादी हुनुका नाताले तिनले आत्मामा विश्वास नगर्लान्, तैपनि त्यस्तो पंक्तिका केही पंक्तिकारका आत्मीय मित्र पनि छन् । नेपालमा आफू वामपन्थी नै हुँ भनेर आफैंसँग प्रतिबद्घता गरेर बाँच्नु कति कठिन काम होला भन्ने अनुमान गर्दा पनि त्यसै सहानुभूति जाग्छ । जो आफू हुँदै होइन, आफू त्यही नै हुँ भन्ने विभाजित व्यक्तित्व बोकेरै पनि समाजमा आत्मविश्वासका साथ बोलिराख्ने हिम्मत राख्न त फेरि वामपन्थी नै हुनाले सम्भव भएको हुनुपर्छ । यस्तो मनोवैज्ञानिक भारी बोकेर उभिएको समुदायलाई २०३२ सालदेखिको कोअर्डिनेसन केन्द्रको मूलधार नै विभाजित भएका बेला बौद्घिक रूपमा मात्र जिस्काउन पनि अलिकति सोच्नैपर्ने हुन्छ । एमाले बनेपछिका ३० वर्षमध्ये आधा समय त्यसको नेतृत्व गरेका माधव नेपाल र केपी ओलीको निकट अगाडिका अध्यक्ष झलनाथ खनालले पार्टीलाई विभाजन नै गरेको सन्दर्भ वामपन्थी शुभचिन्तकका लागि चिन्ताको विषयभन्दा पनि अरू नै बढी केही हुनुपर्छ । यस्तो बेला नेपाली वामपन्थी ग्रन्थिको मनोविश्लेषण गर्नुपर्ने कुरा प्रासंगिक त छ नै, तर यो सतर्कतासाथ सप्रेम गर्नुपर्ने घडी छ ।

आखिर कठोर हुने पनि किन ? लोकतान्त्रिक विचारधाराका मानिसजस्तै उनीहरू पनि यो देशलाई बदल्छु भनेरै आन्दोलनमा लागेका हुन् । समाजमा अन्याय देखेरै होमिएका हुन् बलिदानका निम्ति । ‘होलटाइमर’ हुन नसकेकाहरू पनि आफू जो जहाँ थिए त्यहीँबाट योगदान गर्छु भनेर लागेकै हुन् । त्यसमाथि, पंक्तिकारका लागि वामपन्थी कहिल्यै पराई लागेनन् । सबै हारेका (वा हराइएका, सर्वहारा) र उत्पीडित वर्ग/समुदायका लागि लड्ने उनीहरूको आदर्श सुन्दा ‘आहा, जीवन उत्सर्ग गर्न अर्को कुन उद्देश्य योभन्दा महान् होला र’ जस्तो कुनै बेला लागेकै हो । तर आफू जे हुँ भन्ठानिन्छ र वास्तविकतामा आफू जे हो, त्यहीबीचको असीमित अन्तरिक्षमा नेपाली कम्युनिस्टहरूको आम चरित्रको विरोधाभासको कथा लुकेको छ । आफ्नै युवावस्थादेखिका आस्था र अनास्थासँग जोडिएका अनुभव र संसर्गले गर्दा पनि होला, जसले आफूलाई आजीवन (आफ्नो सांस्कृतिक चरित्र अर्कै भइसक्दा पनि) वामपन्थी नै हुँ भन्ठान्छ, उसको मनोभाव परीक्षण गर्ने उत्सुकता पंक्तिकारमा तीन दशकदेखिको हो ।

कोही व्यक्ति आचरण र सिद्धान्त दुवैमा वामपन्थी रहन छाडिसकेको छ तर पनि उसले आफूलाई वामपन्थी नै किन भनि/मानिरहेको हुन्छ ? के साँच्चै उसले आफू वामपन्थी बाँकी नरहेको थाहै नपाएर होला त ? हो, उसले त्यो थाहै पाएको हुँदैन । आन्दोलनमा लाग्नेहरू प्राय: तन्नेरी छँदै त्यता होमिएका हुन्छन् । कतिलाई व्यक्तिगत उत्पीडनको अनुभवले त्यता जोडेको होला, कतिलाई अग्रजको प्रेरणाले । तर जब ऊ प्रशिक्षित हुन थाल्छ, उसले के दीक्षा पाउँछ भने, समाजमा जुन अन्याय–उत्पीडन छ त्यसलाई फेर्न क्रान्ति गर्नुपर्छ । र त्यो क्रान्तिमा उसको ठूलो योगदान हुनेछ । यसरी सुरु त राम्रै आशयका लागि भएको हुन्छ । तर त्यो प्रक्रियामा के भइदिन्छ भने, त्यसरी संगठित हुनेहरूमा आफूहरू उत्पीडितको मुक्तिदाता हौं भन्ने मनस्थिति हुर्कंदै जान्छ । अर्थात्, आफू त एक विशेष मान्छे हो जसले व्यक्तिगत जीवन अरूका लागि बलिदान गर्दै छ । बलिदान गरेको पनि साँचो हो, जेलनेल सबै यथार्थ हो । तर त्यो प्रक्रियामा उसले आफूलाई अर्कै ‘पेडस्टल’ मा पुर्‍याइसकेको हुन्छ । उसले सोच्न थाल्छ— समाजप्रति मेरो जिम्मेवारी अरूको भन्दा विशेष छ । लोकतन्त्रवादी, पुँजीवादी, शोषक सामन्त, धार्मिक आदि सबै मान्छे समाजका लागि खराब हुन् । ऊ र उसका सहयोद्घा कामरेड मात्र असल मान्छे हुन् ।

नेपालमा खुला राजनीति सुरु भएकै दशकौं भइसक्यो । अरू ‘खराब’ सँग व्यक्तिगत संगत भएकै वर्षौं भइसक्यो । आफू पथभ्रष्ट भएकै वर्षौं भइसक्यो । तर सुरुका दिनमा अरू खराब हुन् भन्ने यति गहिरोसँग प्रशिक्षित गरिएको थियो कि माथिका सबै कुराका बावजुद अधिकतम वामपन्थीहरूमा अझै त्यही मनोविज्ञान देखिन्छ । कोही मान्छे लोकतान्त्रिक कित्ताको हो भने ऊ त एक हिसाबमा खराब वा खतरनाक मान्छे हो । समाजका लागि आफू नै खतरा भइसकेको चेत आफैंसँग छैन । वर्षौंपहिले आफू मुक्तिदाता र अरू दुस्मन हुँदाको चेतले अहिले पनि खाइरहेको छ । त्योसँगै, आफू वामपन्थी भएका कारण उसले गरेका सबै कुरा जनताका लागि मात्र हुन् भन्नेमा ऊ भित्रैदेखि आश्वस्त हुन्छ । त्यस क्रममा ऊ भ्रष्ट पनि हुन्छ । तर उसले साँच्चै सोच्न थालिसकेको हुन्छ— यो सबै उसले अझै पनि क्रान्तिका लागि गरेको हो । उसले सबै भौतिक सुखसुविधा भोग गर्न थाल्छ ताकि त्यो सम्पन्नताको सोफामा बसेर सर्वहाराको सेवा गर्न उसलाई सजिलो होस् । आफू युवा छँदै अरूको मुक्तिका लागि हिँडेको योद्धा हुँ भनेर हुर्केको मनोविज्ञानका कारण ऊ आफूले जे गरे पनि त्यो नैतिक नै हो भन्ठान्छ । नत्र पुष्पकमल दाहाललाई बदनाम ठेकेदारको विलासी घरमा अपारदर्शी तरिकाको आफ्नो बसोबासलाई जनताले कसरी हेरेका होलान् भन्ने थाहा नभएको होला र ? तर त्यो उनले सुनेको नसुन्यै गर्छन् किनकि नेपालमा अझै क्रान्ति गर्नु छ जसका लागि नेतृत्वले त्यक्तिको ठाउँमा बस्नु औचित्यपूर्ण छ ।

आफ्ना कतिपय राम्रै चिनजानका मान्छेहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको अख्तियारले नदेखे पनि हामी धेरैले आफ्नै वरपर देखेकै हुनुपर्छ । तर तिनीहरूले आफू भ्रष्ट भएँ भन्ने आत्मस्वीकारोक्ति गरेका हुँदा रहेनछन् । सम्बन्धित पात्रले मात्र होइन, उसको परिवारका चरित्रवान् सदस्यले समेत आफ्नो मानिस भ्रष्ट भएको थाहै पाएको हुँदो रहेनछ । किनकि जे गरिएको छ त्यो भ्रष्टाचार होइन भन्ने एउटा पारिवारीक भाष्य बनाइएको हुन्छ । ‘कहाँ यस्तोलाई भ्रष्टाचार भन्नु † हेर त उसको, त्यो पो हो भ्रष्टाचार † मेरो त मिहिनेत गरेको, अलिकति यताउता लिन्नँ भन्दा पनि त्यसै आएको मात्र हो ।’ भ्रष्टाचारीको यो प्रसंग निकालेको पनि कामरेडहरूकै कुरा गर्नका लागि हो । कामरेड त समाज सुधार्ने जिम्मा बोक्ने हिम्मत भएको विशेष मान्छे, राष्ट्रियताको पहरेदार, कट्टरपन्थीलाई ठीक पार्ने प्रगतिशील भन्नेजस्ता विशेषणले यसरी आफैं आभूषित भएको हुन्छ कि विदेशी खुफियासँग रातभर जे वाचा गरे पनि बिहान उठ्दा उसलाई साँच्चै त्यो देशको हितका लागि गरेको जस्तो लाग्छ । महिलाका अधिकारका बारेमा पूर्वमण्डले र आफ्नो विचारमा केही फरक छैन तर पनि राष्ट्रियता जोगाउन नागरिकतामा कडा प्रावधान राख्नैपर्ने अडानलाई उसले प्रगतिशील नै मानेको हुन्छ । अर्थात्, कोही व्यक्ति पथभ्रष्ट त्यति बेला भएको हुन्छ जति बेला उसले आफू पथभ्रष्ट भएँ भन्ने थाहा पाउने क्षमता नै गुमाएको हुन्छ । ओलीलाई साँच्चै किञ्चित् भ्रम नहोला, चितवनको ठोरीमा राम जन्मभूमिको अजेन्डा जगाउनु माक्र्सवादसम्मत छैन भनेर । जो वाम आन्दोलनका लागि चौध वर्ष जेल बस्यो, उसले पनि यस्तो गल्ती गर्न सक्छ ? अहिलेको समयमा जडसूत्रवादी भएर हुन्छ ?

लामो समय माधव नेपालको साथमा रहेका दोस्रो पुस्ताका ‘नेता’ हरू, जो केही महिनापहिलेसम्म ओलीको कदमलाई प्रतिगामी भनेर नेपालले भन्दा चर्को भाषण गर्थे, किन ओलीकै शरणमा गएका होलान् ? मनोवैज्ञानिक कोणबाट हेरियो भने यसमा पनि अचम्म मान्नुपर्ने केही छैन । अहिले उनीहरूलाई ओलीका त्यति बेलाका कदम प्रतिगामी नै थिएनन् भन्ने लाग्न थालेको हुन सक्छ । राजनीतिमा यत्रो ‘लगानी’ गरे, अब करिअर असुरक्षित देखेर ओलीसँगै आत्मसमर्पण गरेका हुन् भन्ने त बाहिरकाले देख्ने न हो । उनीहरूलाई लागेको हुन सक्छ— जनताको मुक्तिका लागि त्यत्रो बलिदान गरेर आएको व्यक्तिले कसरी राजनीतिलाई पेसा ठान्न सक्छु ? कालो र सेतो छुट्याउने विवेकको दृष्टि नै बिस्तारै यसरी कमजोर भएको हुन्छ, माथि भनेजस्तै, भ्रष्टाचारीले पनि आफू भ्रष्ट छु भनेर विरलै स्विकार्छ ।

शान्ति प्रक्रियाका मर्मका आधारमा परिवर्तनका मुद्दा आत्मसात् गर्ने वाम बौद्धिक र नागरिक समाजको तप्काका धेरै धारणा समान छन् । नेपालको वर्तमानमा अग्रगमन र प्रगतिशीलता के हो भन्ने मूल भावनामा वाम बुद्धिजीवी र लोकतान्त्रिकबीच दृष्टिकोणमा खासै अन्तर छैन । तैपनि लोकतान्त्रिक कित्ताका सदस्यसँग बढी हिमचिम भएर आफू बिग्रेको हुँ कि भन्ने ग्रन्थि कतिपय वाम बौद्धिकमा अझै देखिन्छ । अहिले धेरै वाम बौद्घिकहरू बीपी कोइरालालाई पढेर भित्रभित्र उनको ठूलो प्रशंसक भएका छन् । तर तुरुन्तै सोच्छन् जस्तो लाग्छ— ‘शिव शिव (अर्थात् माक्र्स) † यो पाप अब कसरी स्विकार्नु कि आफूले जिन्दगीभर बोकेको (बोकाइएको) ‘सत्य’ फगत एउटा भ्रम थियो । कम्युनिस्ट नेतृत्वमा यतिका धेरै सरकार बने, ३० वर्षमा; कुनै कम्युनिस्ट सरकार त्यस्तो देखियो जुन बीपीको ६० वर्षपहिलेको डेढवर्षे सरकारजति समाजवादी थियो ? आफ्ना निजी इच्छा–आकांक्षा, जीवनशैली सबैमा ऊ कुनै नवउदारवादीभन्दा फरक छैन । संगत तिनैको छ । तर पनि आफू जे भइसकेको छ, मनोविज्ञानले यसरी थिचेको छ कि म त त्यो होइन भनेर आफूलाई सधैं इन्कार गर्नुपरेको छ । प्रश्न पूरै अस्तित्ववादी तहमा पुगेको छ— म छु किनकि म वामपन्थी हुँ । म वामपन्थी हुँ, तसर्थ म अस्तित्वमा छु । निष्कर्ष के हो भने, उनीहरू जे भइसके त्यो उनीहरूलाई नै थाहा छैन । थाहा हुनेवाला पनि छैन ।

प्रकाशित : भाद्र १२, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?