३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खानेकुराको चेत

आमकिसान र खाना संस्कृतिको सीमान्तीकरणसँगै कतिपय मौलिक ज्ञान, सीप र अभ्यास ओझेलमा परेका छन्, कति त लोप नै भइसके । खानेकुराका कारण उत्पन्न स्वास्थ्य जटिलताको सामना गरिरहँदा यो वास्तविकताले झनै पिरोलेको छ । 
कृष्णप्रसाद पौडेल

हर्मोन ग्रन्थिहरूले पाचनक्रिया, शारीरिक तथा मानसिक वृद्धिलगायत गतिविधिलाई व्यवस्थित गर्न हर्मोन उत्पादन गर्छन् । हर्मोनको गडबढीले कोलेस्ट्रोल, इन्सुलिन, पित्त, रक्तचापमा घटीबढी हुन्छ ।

खानेकुराको चेत

साथै मुटु, कलेजो, पेट, मिर्गौला, नशा र रक्तनलीजस्ता अति महत्त्वपूर्ण अंगमा समस्या आउन सक्छ । हर्मोनमा हुने फेरबदलले चिनी रोग, क्यान्सर, मिर्गौला–कलेजोले काम नगर्ने, मस्तिष्काघात र हृदयाघात हुन सक्छ । यी सबैमा खानेकुरा प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । शारीरिक र मानसिक स्वास्थ्यको हेक्का राख्न खानाको परम्परागत ज्ञान, सीप र सोचलाई व्यवहारमा उतार्नुपर्छ । तर, हाम्रो खाना प्रणाली परचक्री भएका कारण हामी झनै यस मामलामा निरीह र असुरक्षित बनिरहेका छौं ।

बिराएको बाटो

विविधतापूर्ण सन्तुलित खानाले मात्र स्वस्थ भइरहन सम्भव छ । तर, अहिले स्वास्थ्यका लागिभन्दा पनि नाफाका लागि खानेकुराको व्यापार गरिन्छ, आकर्षक विज्ञापनको आडमा । कस्ता खानेकुरा किन खाने जस्ता सामान्य ज्ञानको पनि बेवास्ता भइरहेको छ । यो विवेकशून्यताको परिणामस्वरूप अहिले पोषणयुक्त खानेकुरा खान नपाएर बिरामी हुनेभन्दा पनि धेरै खाएर कुपोषित हुने समस्या बढ्दो छ । यसको समाधान गर्न भन्दै उपचारका विभिन्न प्रविधिको विकास र औषधिको उत्पादन गर्न ठुल्ठूला उद्योग सञ्चालनमा छन् । रोगले भन्दा यिनै उपचार र औषधिका जटिलता र प्रभावले अकालमै ज्यान गुमाउन, अपांग हुन र दीर्घरोगको गलगाँड बोकेर हिँड्न बाध्य भएकाहरू दिनदिनै थपिँदै छन् । खानेकुरा उत्पादन गर्न र उन्नत बनाउनभन्दा यिनै जटिलताको उपचार गर्न धेरै श्रम र खर्च लाग्ने गरेको छ ।

सच्याउने प्रयास

बिराएको बाटो सच्याउन हाम्रो समाजमा धेरै पहिलेदेखि विभिन्न काम भइरहेका छन् । खाद्य प्रणालीलाई दिगो र स्वास्थ्यवर्द्धक बनाउन अनि यसैका आधारमा स्वास्थ्य जटिलता सम्बोधन गर्न गरिएका प्रयास नै हाम्रो परम्परागत खाने संस्कृतिका आधारहरू हुन् । यो संस्कृति खाना र खेतीपातीसँग जोडिएका हाम्रा सबै व्यवहारमा झल्कन्छ । चाडबाड र सामाजिक संस्कारमा पनि यसलाई सजिलै देख्न सकिन्छ । सन्तुलित र विविध खानाको संस्कृति बसाउने पूर्वजको सम्मान र यस्तो मौलिक ज्ञानको खोज र प्रवर्द्धन गर्नुपर्छ । सबै समुदायमा हरेक दिन यस्ता कर्म आत्मसात् गरेका अभ्यास भेटिन्छन् ।

यी सबैले हाम्रो जीवनमा खाना र खेतीपातीका बारेमा हाम्रा पूर्वजको दूरदर्शिता र बुद्धिमत्ता देखाउँछन् । आदिवासी जनजाति समुदायका खाने संस्कृति र वर्षैभरिका चाडपर्वका खानेकुराका परिकारले समाजमा रहेको खानेकुराको विविधता देखाउँछन् । आमकिसान र खाना संस्कृतिको सीमान्तीकरणसँगै कतिपय मौलिक ज्ञान, सीप र अभ्यास ओझेलमा परेका छन्, कति त लोप नै भइसके । खानेकुराका कारण उत्पन्न स्वास्थ्य जटिलताको सामना गरिरहँदा यो वास्तविकताले झनै पिरोलेको छ ।

हिप्पोक्रेटिसले आजभन्दा २५०० वर्ष पहिले भनेका थिए, ‘औषधि नै खाना हो र खानामै औषधि छ ।’ तर, यसको मर्म अझै हामीले बुझ्न सकेका छैनौं । विडम्बना, हाम्रा खानासम्बन्धी मौलिक ज्ञान र सीपलाई परचक्री व्यापारीले क्षति पुर्‍याइरहेका छन् । व्यापार प्रवर्द्धनका लागि राज्यले नै नीतिगत रूपमै व्यापारीहरूलाई सहयोग गर्नाले, हाम्रो भान्साका मौलिक खाना विस्थापित भइरहेका छन् ।

अब मौलिक खानाको पुनर्जीवनको प्रयास निरन्तर अगाडि बढाउनुपर्छ । यसका बारे विश्वभरि नै अनुसन्धान हुने गरेको छ । ती अध्ययनको निचोड हुने गर्छ— ‘खाना नै ओखती ।’ नेपालले पनि यस्ता अध्ययन–अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ । खाना, पाचनप्रक्रिया र स्वस्थ शरीरका विविध आयाममा तथ्यगत आधारहरूको खोजी आवश्यक छ ।

विविधतायुक्त खानाको मर्म

सामान्यतः अन्न, गेडागुडी, फलफूल, हरियो सागपात, अन्डा, माछामासु र दूध हाम्रो मुख्य खाना हुन् । पहिला यस्ता खानेकुराको स्थानीय खाने परम्परा र संस्कृतिअनुसार सामान्य प्रशोधन गर्ने र परिकार बनाउने चलन थियो । मौसमी विविधतायुक्त खानेकुरालाई गुण, प्रभाव, शारीरिक अवस्थाका आधारमा सन्तुलित आहार बनाउने परम्परा अझै कतिपय समुदायमा चलनचल्तीमै छ । परम्परागत खानेकुरामा, खासगरी ढुसी र ब्याक्टेरियाजस्ता सूक्ष्म जीव हुर्काउने र खाने चलन पुरानै हो । गालेको अचार तथा गाउँघरमा मर्चा राखेर बनाएको जाँड यस्ता सूक्ष्म जीवको प्रवर्द्धन गरिएका खानेकुरा हुन् । यही ज्ञानका आधारमा अमिल्याइएका अचार, गुन्द्रुक, किनेमा, जाँड, दहीजस्ता सूक्ष्म जीव हुने खाना खाने चलन बसेको हो ।

यस्ता खानेकुरा खाँदा मुख्यतः सूक्ष्म जीवाणुका लागि चाहिने खानयोग्य कुरामा ध्यान दिनुपर्छ । किनकि हाम्रो पेटमा भएका यस्ता जीवले नै खानाबाट हाम्रो शरीरलाई स्वस्थ बनाउन रातदिन काम गर्छन् । उदाहरणका लागि, हाम्रो शरीरमा रहेको लाभकारी सूक्ष्म जीवहरूले रेसादार खाना मन पराउँछन् । सम्बद्ध अध्येताहरूका अनुसार यस्तो रेसादार खानाबिना यी हाम्रो पेटमा बस्न सक्दैनन् । किनकि यस्ता रेसादार खाना नै यस्ता जीवहरूका लागि उपयुक्त आश्रयस्थल हुन् । सँगै हामीले सकेसम्म खनिज, प्रोटिन, भिटामिन र कार्बोहाइड्रेट भएको सन्तुलित खानेकुरा खानुपर्छ, जसबाट हामीलाई चाहिने सबै तत्त्व उपलब्ध हुन सकोस् । सकेसम्म विविधतायुक्त खानेकुरामा जोड दिनुपर्छ । जति धेरै विविध खानेकुरा खायो, त्यति नै रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यस अर्थमा हाम्रो पेट प्रकृतिजस्तै विविध सूक्ष्म जीवको बासस्थानसमेत हो ।

हावा र पानीपछि खानेकुरा हाम्रो दैनिकीमा नभई नहुने चिज हो । विडम्बना, खानेकुराको मूलस्रोत खेतीपाती र स्वस्थ खानाका सबै व्यवहार उपेक्षित हुँदै गइरहेका छन् । हामी यी सबैको मर्म बिर्सेर परचक्रीका विषाक्त खेतीपाती र खाद्य संस्कृतिमा अभ्यस्त भइरहेका छौं । आधुनिक विज्ञानको व्यापारिक दुरुपयोगसँगै, फाइदाका लागि मात्र खेतीपाती गर्ने चलन बढेको छ । एकातिर, पोषण बढाउने नाममा धेरै नाफा सजिलै बनाउन सकिने खेतीपाती प्रविधिको विस्तार भएको छ, अर्कातिर पोषणको अभाव हुने जिकिर गर्दै यिनैमा कृत्रिम रासायनको मिसावटबाट पत्रु खानाका ठूला व्यापार सञ्चालनमा छन् ।

विकृत खानेकुराको बजार र विषाक्त खेतीलाई परिवर्तन नगरी स्वच्छ खेतीबाट स्वस्थ खानेकुरा उत्पादन गरी सन्तुलित र पोषणयुक्त खाना खान सम्भव छैन । अहिले देखिरहेका स्वास्थ्य समस्याको पनि समाधान हुँदैन । यसतर्फ समयमै सचेत नहुने हो भने, भावी पुस्ताले अहिलेको भन्दा थप जटिल र कष्टकर जीवन बिताउनुपर्नेछ ।

प्रकाशित : भाद्र ९, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?