१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिहानघारीको चीत्कार

घडी अब विजेता तालिबान लडाकुहरूको नाडीमा छ, दुई दशकमा २० खर्ब डलर खर्चेर खरिद गरेको ‘समय’ लाई भने बन्दी बनाएर अमेरिकीहरू घर फर्केपछि अफगानिस्तानका नृजातीय सरदारहरूलाई आफ्ना तरबारको धार कायम राख्न नयाँ शत्रु सिर्जना गर्नुपर्नेछ ।
सीके लाल

कमजोर देशहरूलाई आफ्नो चिन्ता सबभन्दा ठूलो लाग्ने रहेछ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले चारदिने अनौपचारिक भ्रमणका लागि नेपालमा छन् । उनी किन आए, क–कसलाई भेटे एवं उनले हिन्दु राष्ट्रको कार्यसूचीलाई कता पुर्‍याउलान् भन्ने कुराले नेपालको विद्वत्–विमर्शलाई केही दिनसम्म तताउनेछ । विभाजनोन्मुख एमालेको एकता प्रयाससम्बन्धी विस्तृत विवरणले छापाहरूमा निरन्तरता पाइरहनेछ ।

चिहानघारीको चीत्कार

नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीले एकदलीय अधिनायकवाद संस्थागत गर्न कुनै कसर बाँकी राखेका थिएनन् । उनलाई पदच्युत गर्ने एकसूत्रीय कार्यक्रमबाहेक अर्को कुनै सांस्कृतिक, आर्थिक, सामाजिक वा राजनीतिक एजेन्डा नरहेको गठबन्धनका नेता रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेशमार्फत बहुतायत दल बन्ने अवस्था (सर्फिट अफ पार्टिज) सिर्जना गरेर मात्र आफ्नो पद जोगाउन सक्छन् । त्यसपछि अदालत लगाएर वा संसद् तताएर त्यस अनावश्यक अध्यादेशलाई निष्कृय तुल्याइनेछ । अब त्यस्ता बाध्यात्मक राजनीतिक कदमहरूमा नैतिकताको प्रश्न कहाँबाट आयो ? उसै पनि सर्वश्री शर्मा ओली, देउवा, माधव नेपाल वा पुष्पकमल दाहालजस्ता राजनीतिकर्मीमध्ये कोही पनि कम्तीमा सन् १९९६ पछिको चौथाइ शताब्दीदेखि नैतिकताको राजनीति गरेर नाम कमाएका होइनन् । संक्रान्तिक (ट्रान्जिसनल) समाजमा मूल्य, मान्यता एवं नैतिकताका मापदण्डहरू तरल अवस्थामा रहनु अनौठो पनि होइन ।

अग्राधिकार गुमाएका, अपेक्षित अधिकार पाउन नसकेका एवं अद्यापि मानवोचित इज्जत पाउनबाट समेत वञ्चित समूहका नेपालीहरू आ–आफ्नै वेदनाको घाउ कन्याउने क्षणिक, कष्टदायक र हानिकारक तर आनन्ददायी व्यसनमा रमाइरहँदा संसारका मिडियाले भने आफ्नो ध्यान अफगानिस्तानमा केन्द्रित गरेका छन् । क्षेत्रफलमा झन्डै साढे चार गुणा ठूलो भए पनि अफगानिस्तानको जनसंख्या नेपालभन्दा जम्मा दस प्रतिशतजति मात्रै बढी छ । दुवै दक्षिण एसियाली देश कहिल्यै कुनै औपनिवेशिक शक्तिको अधीनस्थता स्वीकार नगरेको दाबी गर्छन् । भूभागको ठूलो हिस्सा पहाडी क्षेत्रले ओगटेका दुवै देशमा जनजातीय समूहहरूको बाहुल्य छ । दुवै देश भूपरिवेष्टित छन् । अफगानिस्तानका हिन्दु, शिख एवं इसाईहरूका तुलनामा नेपालका अल्पसंख्यक धर्मावलम्बीहरूको अवस्था नि:सन्देह केही राम्रो छ । नृजातीय वर्चस्वका मामिलामा भने दुवै देश उस्तै छन्— काबुलमा पश्तुनहरू राज गर्छन् भने काठमाडौंमा खस–आर्यको हालीमुहाली कायम छ । भाषिक सहिष्णुताको मापदण्डमा भने खस–आर्यभन्दा पश्तुनहरू केही उदार देखिएका छन् । वर्चस्वशाली समुदायको भाषा भएकाले नेपालीजस्तै पश्तोले प्राथमिकता पाए पनि ‘विदेशी’ भनिएको हिन्दीका तुलनामा इरानी मूलको फारसी भषाको दारी बोलीलाई अफगानिस्तानमा सम्पर्क भाषा (लिङ्गुवा फ्रङ्का)भनेर दोस्रो स्थान प्रदान गरिएको छ ।

भूपरिवेष्टित नै भए पनि नेपाल र अफगानिस्तानका छिमेकीहरू भने फरक छन् । दूरस्थ बेइजिङ एवं समीपवर्ती नयाँदिल्लीले कहिले प्रतिस्पर्धा त कहिले सहकार्यद्वारा काठमाडौंको सीमाबद्ध सार्वभौमिकतालाई एक हदभन्दा बढी संकुचित हुनबाट जोगाउने गरेका छन् । पूर्वसोभियत संघका तुर्कमेनिस्तान, उज्बेकिस्तान, तजाकिस्तानजस्ता जनजातिबहुल राज्यहरू; चीनका उइगुर मुसलमानहरूको बसोबास रहेको सिन्जियाङ स्वायत्त क्षेत्र; पन्जाबी एवं सिन्धीहरूको बोलबालाले गर्दा मूलधारबाट अलग्गिएका पाकिस्तानका बलुचिस्तान एवं खैबर पखतुनवा प्रान्त तथा इरानको अस्थिर पूर्वी सिमानाको अप्रत्यक्ष असरले गर्दा अफगानिस्तानको सत्ता भने निरन्तर चलायमान रहँदै आएको छ । पहिलो विश्वयुद्धबाट पस्त बेलायतले ८ अगस्त १९१९ मै एङ्लो–अफगान सन्धिमार्फत औपचारिक रूपमा अफगानिस्तानको सार्वभौमसत्ता र स्वतन्त्रतालाई मान्यता दिएको थियो । त्यसपछि एक शताब्दी बितिसकेको भए पनि अद्यापि आधुनिक परिभाषाको ‘राज्य’ बन्न नसकेको अफगानिस्तान पटक–पटक स्वाधीनता जोगाउनमै आफ्नो सबै ऊर्जा खर्चिरहेको छ ।

विश्व साहित्यको अनमोल निधि मानिने लियो टोल्सटोयको ‘अन्ना करेनिना’ उपन्यासको सुरुवातको पंक्तिले भन्छ, ‘सबै सुखी परिवार उस्तै हुन्छन्, प्रत्येक दु:खी परिवार आ–आफ्नै किसिमले दु:खी हुन्छन् ।’ त्यस कालजयी उक्तिलाई केही अध्येताहरूले ‘अन्ना करेनिना सिद्धान्त’ नामले रूपान्तरण गरेर विविध विधामा प्रयोग गर्न सकिने सूत्र प्रस्ताव गरेका छन्— असफल हुने धेरै बाटा हुन सक्छन्, सफल ठहरिन भने त्यस्ता असफलताको प्रत्येक मार्गलाई परित्याग गर्न सक्नुपर्छ । तालिबानको कब्जामा रहेको अफगानिस्तानबाट नेपाली कामदारहरूको उद्धार गर्नु तात्कालिक प्राथमिकताको कार्य त हुँदै हो, तर त्यससँगै त्यस निरन्तर निर्माणाधीन राज्यमा बारम्बार दोहोरिइरहेको राज्य–असफलताका पाठहरू नेपालजस्ता कहिल्यै कसैको उपनिवेश नरहेका तर लगातार संक्रान्तिक सत्ताको अभिशाप भोग्न बाध्य राष्ट्रहरूका लागि उपयोगी ठहरिन सक्छन् । इतिहासलाई सच्याउन सकिँदैन । भूगोल बाध्यता र सम्भावनाको संयोजन हो । सामूहिक प्रयत्नद्वारा बदल्न सकिने एवं रूपान्तरण गर्नुपर्ने तत्त्व त राजनीति न हो ।

नृजातीयताको बेडी

अफगानिस्तानबारे गरिने प्रत्येकजसो अन्तर्राष्ट्रिय चर्चामा तीन थरी प्रसंग नटुटाई उल्लेख गर्ने गरिन्छ । पहिलो दाबीअनुसार, अफगान सम्भ्रान्तहरू गौरवसाथ भन्छन् अरे— हाम्रा आधुनिक प्रतिद्वन्द्वीहरूसँग घडी छ, तर हामीसँग समय छ । त्यस दम्भपूर्ण उक्तिले लुकाउन नसकेको तथ्य के हो भने घडी नहुनेहरूलाई समय मापन गर्न कठिन हुन्छ । संसारको सबभन्दा अपर्याप्त स्रोत समय हो । घडी हुनेहरूको लक्ष्य, प्रक्रिया एवं समयसीमा पूर्वनिर्दिष्ट हुन्छ । हामीसँग समय छ भन्नेहरू आफू निरुद्देश्य रहिरहनुलाई नै उपलब्धि मानेर अवश्यम्भावी मृत्युको प्रतीक्षा गर्न अभिशप्त हुन्छन् । अफगान अभिजातलाई लाग्दो हो, तिनले समयलाई कैद गरेका छन् । निरन्तर चौकीदारीबाहेक केही गर्न नसकेका त्यहाँका नृजातीय सम्भ्रान्तहरू पनि अलिक आरामदायक तर कैदीसरह जीवन बिताउन बाध्य छन् । जर्मन दार्शनिक जर्ज हेगेलको बहु–उद्धृत उक्ति छ— इतिहासबाट सिकिने एक मात्र कुरा के हो भने, इतिहासबाट कसैले केही सिक्दैनन् । त्यसको कारण के हो भने, अनुभवले समाधानको संकेत दिने हो, सोझो पाठ त

पाठ्यपुस्तकहरूमा मात्र भेटिन्छ । समयको संकेत ठम्याउन नसक्नेहरू कहिल्यै कतै नपुगिने रोटेपिङमा सधैंभर रमाइरहन्छन् । नृजातीय सरदारहरूले सामान्यजनलाई बाँधेर राखेको स्वाभिमानको जन्जिर जोगाउन लडाकाहरू मर्न तयार हुन्छन् । मर्नलाई युद्धमा होमिने देशलाई कसैले हराउन सक्दैन । जति पटक अफगानिस्तानका सम्भ्रान्तहरू बाहिरियाहरूसँग गरिने युद्धमा जित्छन्, सामान्य अफगान त्यति पटक नै हार्छ र आफ्नो अदृश्य बेडी अझ मजबुत हुँदै गएको पाउँछ ।

इतिहासको संयोगलाई ‘साम्राज्यहरूको समाधिस्थल’ संकथन निर्माण गरेर पश्चिमा भाष्यकारहरूले सामान्य अफगानका वेदनालाई आफ्नोविद्वत्ताको बोझले थिचिदिने गरेका छन् । पहिलो विश्वयुद्धपछि अमेरिका विश्वशक्तिका रूपमा उदाएपछि बेलायतको प्रभाव क्षीण हुन लागिसकेको थियो । बेलायत औपनिवेशिक शक्ति भएकाले लन्डनको मुख्य रुचि प्राकृतिक स्रोतको दोहन एवं उत्पादित सामान खपत हुने बजार निर्माणमा केन्द्रित रहने नै भयो । दुवै दृष्टिकोणले कमजोर अफगानिस्तानको महत्त्व बेलायतका लागि आफ्नो भारतीय उपनिवेशलाई रुस साम्राज्यको सम्भाव्य आक्रमणबाट जोगाउनमा सीमित थियो । नृजातीय युद्ध सरदारहरूले त्यस कुराको प्रत्याभूति गरेपछि बेलायत हात पखालेर काबुलबाट सुइँकुच्चा ठोकेको हो । तत्कालीन सोभियत संघलाई अफगान मुजाहिद्दिनले युद्धमा परास्त गरेको आंशिक सत्य हो । त्यस यथार्थको अर्को पाटो के हो भने, वार्सा सन्धिले बाँधिएका पूर्वी युरोपका अधीनस्थ राज्यहरूको उकुसमुकुस एवं आंगिक राष्ट्रहरूको बेचैनीले व्याकुल भएको क्रेमलिन सत्ता पनि क्षमताको अभावभन्दा पनि इच्छाशक्तिको कमीले गर्दा हतास भएर मस्को फर्केको हो । सन् २०११ मा अल कायदाका हर्ताकर्ता ओसामा बिन लादेनको पाकिस्तानमा हत्या एवं काबुलमा हामिद कारजाईको शासनावधि सुनिश्चित गरिसकेपछि चीनसँग ऋण लिँदै सन् २००८ पछि आर्थिक मन्दीसँग जुझिरहेको अमेरिकासँग अफगानिस्तानमा पैसा खन्याइराख्ने कुनै कारण थिएन । पहिलो विश्वयुद्धदेखि नै स्वेच्छाले संसारको बोझ थामेर बसेको अमेरिकाको काँध थाकिसकेको छ । सन् १९९० अमेरिकी वर्चस्वरूपी सूर्यको मध्याह्न बेला थियो । अस्ताचल अतिशक्ति (हाइपर पावर) अब आफ्नो प्रत्यक्ष हित नजोडिएका संघर्षहरूमा अल्झिन चाहँदैन । असमान युद्धमा निर्धा मर्छन्, बलिया बाँच्छन् र मोलमोलाइ गर्नेहरूले अन्तत: जित्छन् । तालिबानले अहिले घाट कुरेर मुर्दा पाएको हो । चिहानघारीमा लाखौं सामान्य अफगान गाडिएका छन् । अफगानिस्तान साम्राज्यहरूको होइन, सम्भावनाहरूको समाधिस्थल बन्न पुगेको छ ।

अफगानहरूबारे तेस्रो लोकप्रिय किंवदन्ति भने तिनको प्रख्यात लडाकु स्वभावसँग सम्बन्धित छ । सामान्य अफगान भन्छन् अरे— अरू कोही नपाएका बेला हामी दाजुभाइमा झगडा गरेर तरबारको धार तिखार्छौं । त्यसपछि काका र मामाका छोराहरूसँग भिड्ने हो । अनि अर्को नृजातीय गुटसँग लड्न गइन्छ । बाहिरिया कोही देखा पर्‍यो भने तुरुन्तै सबै मिलेर त्यसमाथि जाई लाग्छौं ! सुन्दा रमाइलो लागे पनि यस कथाका त्रासद असरहरू उपेक्षा गर्नै नसकिने किसिमका छन् । संकलक र सिकारी समाजहरूमा यौद्धिक संस्कृतिका फाइदाहरू थिए होलान् । कृषि सभ्यताको सुरुवात योजनाबद्ध सिँचाइ व्यवस्थाको शान्तिपूर्ण सञ्चालनबाट भएको हो । विधिको सर्वोच्चता स्वीकार गरेर हुने राज्य व्यवस्थाले मात्र औद्योगिकीकरणका लागि नभई नहुने स्रोत संकलन, परिचालन एवं नवप्रवर्तनलाई प्रवद्र्धन गर्न सक्छ । भूपरिवेष्टितबाट भूजडित (ल्यान्ड लिंक्ड) भएर व्यापार बढाउन बाहिरियासँग भिड्ने होइन, तिनलाई अँगालो हालेर स्वागत गर्न सक्नुपर्छ । कम्तीमा एक शताब्दीदेखि अफगान लडाकाहरू दुनियाँलाई पराजित गरेर आफ्नै नृजातीय सरदारहरूसँग हार्दै आएका छन् । आफ्नो अनुसन्धान क्षमताका लागि प्रतिष्ठित ब्राउन युनिभर्सिटीको ‘कस्ट अफ वार’ अध्ययनले गरेको आकलन अनुसार अमेरिकाले अफगानिस्तानको युद्धमा २० खर्ब (२ ट्रिलियन) डलरभन्दा बढी खर्च गरिसकेको छ । त्यस खर्चमा अफगान सेनालाई तालिम दिन लगानी गरिएको ८३ अर्ब डलर एवं ८ सय अर्ब डलरको प्रत्यक्ष सैनिक लागत सामेल छ । बाँकी रकम युद्धक सामग्री खरिद, सुरक्षा ठेकेदारहरूको भुक्तानी एवं अफगानिस्तानका सम्भ्रान्तहरूको खर्चबर्च बेहोर्न लागेको हुन सक्छ । सामान्य अफगानको मानवाधिकार, प्रजातन्त्रीकरण एवं नारी सशक्तीकरणका नाउँमा बर्सेनि १ खर्ब डलर खर्च गरिएको भए पनि काबुलबाहिरका पहाड एवं घाँटीहरूको अवस्थामा उल्लेख्य परिवर्तन आएजस्तो देखिँदैन । शान्ति प्रयास हारेपछि युद्ध जित्नेहरू पनि सुस्तरी हार स्वीकार गर्न बाध्य हुन्छन् । घडी अब विजेता तालिबान लडाकुहरूको नाडीमा छ, दुई दशकमा २० खर्ब डलर खर्चेर खरिद गरेको ‘समय’ लाई भने बन्दी बनाएर अमेरिकीहरू घर फर्केपछि अफगानिस्तानका नृजातीय सरदारहरूलाई आफ्ना तरबारको धार कायम राख्न नयाँ शत्रु सिर्जना गर्नुपर्नेछ ।

धर्मान्धताको हतकडी

सामान्यत: जनजातिहरू धर्माधिकारीहरूभन्दा आफ्ना समूहका अग्रजहरूको बढी सम्मान गर्ने गर्छन् । पश्चिम एसियासँग जोडिएर रहेको भए पनि इस्लामका खलिफा एवं उलेमाहरूको धर्माधिकार अफगानिस्तानमा हाबी हुन सकेको थिएन । अमीर अमानुल्लाह खानले इस्लामी अमिरातलाई आधुनिक राजतन्त्रमा रूपान्तरित गर्न खोज्दा भने ‘लोया जिर्गा’ समूहका नृजातीय सरदारहरूले आफ्नो प्रभाव कम हुने डरले धर्मलाई ढाल बनाएर उनलाई अपदस्थ गरिदिए । काबुलमा शासन गर्न स्वीकार गरेर देशको बाँकी भागमा स्थानीय सामन्तहरूको वर्चस्व स्वीकार गरेका राजा जहीर शाहले चालीस वर्षसम्म राज गरेर स्थिरताको आभास दिए पनि सामान्य अफगानमा राजनीतिक ऐक्यबद्धताको भाव भने जगाउन सकेनन् । राजनीतिले सामान्यजनलाई उद्वेलित गर्न सकेन भने धार्मिक अतिवादतिर बहकाउने शक्तिहरू क्रियाशील हुन्छन् । कतिसम्म भने स्वयंलाई प्रगतिशील मान्नेहरू पनि सजिलोसँग शासन गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगारी एवं सम्मानको साटो धर्म एवं राष्ट्रवादको उन्मादक शक्तिमा विश्वास गर्न थाल्दा रहेछन् भन्ने प्रवृत्तिका उदाहरण समाजवाद एवं राष्ट्रवादसँग इस्लामलाई जोड्ने अफगानिस्तानको राष्ट्रिय क्रान्तिकारी पार्टीका प्रणेता दाउद खान भए । उनी त मारिए, तर उनले तयार गरेको ‘सामान्यजनको अफिम’ त्यसपछि झनै् लठ्याउने प्रकृतिको बन्न गएको छ ।

सोभियत संघको पतनपछि अमेरिकाका लागि मुजाहिद्दिन लडाका प्रयोजनविहीन भइसकेका थिए । जति नै लगानी गरेको भए पनि इरानका शाहलाई त ‘मरेको मुसा’ जसरी परित्याग गर्ने अमेरिकाले सन् १९९१ पछि मुजाहिद्दिनहरूलाई त के पालेर राख्थ्यो होला र ! भनिन्छ, अमेरिकालाई आफ्नो स्वार्थअनुसार परिचालन गर्न सक्ने कूटनीतिक कुशलता भएको राज्य संसारमा इजरायलबाहेक पाकिस्तान मात्रै हो । पाकिस्तानको डिजाइन, साउदी अरबको लगानी एवं मध्य एसियाका विपन्न लडाकाहरूको विस्फोटक सम्मिश्रण रहेको तालिबान अत्याधुनिक अमेरिकी हतियारले सुसज्जित छ । बेलायत औपनिवेशिक एवं रुस साम्राज्यवादी महाशक्ति थियो । तीन दशकदेखि अमेरिका वर्चस्ववादी अतिशक्ति कायम थियो । चीन कस्तो खाले शक्ति बन्ने हो भन्ने बेइजिङको इच्छाशक्तिको परीक्षा हिन्दुकुश पहाडका कुनाकन्दरामा हुनेछ । बेइजिङका रणनीतिकारहरू काबुललाई प्योङयाङ बनाउनतिर लागे भने मध्य र दक्षिण एसियाको राजनीति पुन: गिजोलिन सक्छ ।

राष्ट्रिय स्वाधीनताको खोक्रोपन, धार्मिक राज्यको विध्वंसकता एवं कथित लडाकु स्वभावको आत्मघाती प्रवृत्तिसँगसँगै अफगानिस्तानबाट सिक्नुपर्ने र हिँड्न नहुने बाटो खुट्याउनुपर्ने भनेको प्रविशासकीय सत्ता (टेक्नोक्रयाटिक रेजिम) भनिने संयन्त्रको निरर्थकताको हो । राजनीतिको बहुआयामिक चुनौतीलाई क्षमतावान् प्रविशासकले समेत ठम्याउन सक्दैनन् । गफ हाँक्न पोख्त अशरफ घानी अमेरिकाले आफ्नो नियन्त्रणका देशहरूमा काज खटाउने गरेका अन्य प्रविशासकजस्तै अवकाशको समय आफ्नो ‘सफलताको कथा’ लेखन र वाचन गरेर बिताउनेछन् । विश्व बैंक, दातृ निकाय वा कुनै गैरसरकारी संस्थाको निमन्त्रणामा फेरि एक पटक काठमाडौंमा ओर्लेर उनले नेपालका स्वनामधन्य परामर्शदाताहरूलाई राजनीतिक विवाद निरूपण वा त्यस्तै कुनै चल्तीको विषयमा अभिभाषण दिए भने अनौठो मान्नुपर्दैन । प्रविशासकहरू विकासवादका गुरु–पुरोहित जो हुन् !

प्रकाशित : भाद्र ८, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?