‘कुरा बुझ्न पर्च’

नमिता पौडेल

पछिल्लो समय गायक प्रकाश सपूतले सामाजिक विषयवस्तुलाई गीतमा समेटिरहेका छन् । हालै आएको उनको ‘कुरा बुझ्न पर्च’ गीतले सामाजिक सञ्जालमा निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

‘कुरा बुझ्न पर्च’

गीतमा नेपाली समाजको वर्ग र विवाहको अन्तरसम्बन्ध तथा महिला सशक्तीकरणको विषय समेटिएको छ । समाजमा भइरहेको बहसलाई सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न गीत सफल भएको छ ।

गीतको सुरआतै विवाह संस्था र वर्ग सम्बन्धबाट हुन्छ । अझै पनि नेपाली समाज, छोरीको विवाह गरिदिनु आमाबुबाको अनिवार्य काम ठानिन्छ । पढे–लेखेको र सक्षम छोरी भए पनि विवाहका लागि उच्च वर्ग नै हेर्ने गरिन्छ । कार्ल मार्क्सले उहिल्यै भनेका थिए— सामाजिक प्रतिष्ठा, पद र महत्त्वको आधार नै सम्पत्तिलाई मान्ने गरिन्छ । जोसँग प्रशस्त चल तथा अचल सम्पत्ति हुन्छ ऊ समाजको नजरमा राम्रो मानिन्छ । आर्थिक हैसियतले समाजको अरू ‘सुपर स्ट्रक्चर’ लाई निर्धारित गर्ने कार्ल मार्क्सको विचारधारा नेपाली समाजमा अझै सान्दर्भिक छ । अझै पनि आफ्नो रोजाइमा जीवनसाथी छाने पनि, कुल घरान कस्तो छ, धनसम्पत्ति कति छ जस्ता प्रश्नको सामना हरेक छोरीले गर्नैपर्छ । आर्थिक संस्थाले विवाह संस्थालाई प्रत्यक्ष असर गरिरहेको छ । सपूतले यो पक्षलाई राम्रोसँग गीतमा ल्याएका छन् ।

गीतको ‘धनसम्पत्ति हेर्ने हैन, हेर्ने हैन पीआर, बूढो उठोस् चिया पकाओस् भनोस् उठ डियर’ पंक्तिले परम्परागत सोचाइलाई चुनौती दिन्छ । त्यस्तै ‘दुई जनाले जागिर खाने टक्क टेन टु फाइभ, बिहान–बेलुका घरमा सँगै आनन्दको लाइफ’ पंक्तिले श्रीमान्–श्रीमती सक्षम हुँदा घर चल्न सहज हुने पक्षलाई जोड दिएको छ । प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनका अनुसार सामर्थ्य, क्षमतामा अभिवृद्धि गर्न सकेमा मानव विकास हुन्छ । लैंगिक समानतामा महिलाको क्षमता अभिवृद्धिले ठूलो भूमिका खेल्छ । दुवै जना सक्षम हुँदा घर मात्र नभएर समाज नै सक्षम बन्ने सन्देश गीतले दिएको छ । अनि जाँड–रक्सी पुरुष एक्लैले खाने होइन, जीवनसाथीलाई पनि खुवाउनुपर्छ भन्छ गीतले । परिवारको अर्थतन्त्रमा पनि महिलाको योगदान हुनुपर्छ भन्ने विषय उठाएर लैंगिक समानताको वकालत गर्न खोजेका छन्, सपूतले ।

महिला अधिकार संविधानले सुरक्षित गरे पनि नलडी नपाइने भएकाले महिला सशक्तीकरणलाई प्रोत्साहन गर्नुपर्छ । ‘हाम्रो जीवन, हाम्रो विचार हाम्रै हुन्छ राइट’ निकै ‘बोल्ड’ सन्देश हो । आफ्नो अधिकारका लागि लड्नुपर्ने कुरालाई पनि यसले इंगित गर्छ । साथै विवाह गर्दैमा ‘जीवन सुखी हुन्छ’ र ‘विवाह गर्नैपर्छ’ भन्ने नेपाली समाजको मान्यतालाई गीतले भत्काउन खोजेको छ । त्यस्तै अविवाहित रहनु बाध्यता नभएर रोजाइ पनि हुनुपर्छ भन्ने वकालत पनि गर्छ । महिलाले सम्बन्ध सुधार गर्ने नाममा घरायसी हिंसा सहेर बसिरहनुपर्ने बाध्यतालाई गीतमा देखाइएको छ ।

गीतको अन्तिम भागमा विश्वकर्मा र क्षत्रीबीचको मित्रता देखाएर जातीय विभेदलाई निरुत्साहित गर्न खोजिएको छ । समाज परिवर्तनका लागि जातीय विभेदको अन्त्य जरुरी छ । फ्रान्सका मानवशास्त्री लुई डुमोन्टेले भारतमा गरेको अनुसन्धानका आधारमा, जातलाई भारतीय समाजले शुद्ध–अशुद्धको अवधारणामा राखेर हेर्छ भनेका छन् । नेपाली समाजमा पनि उनको अनुसन्धानको निचोड मिल्छ । विश्वकर्मा–क्षत्रीको मित्रता देखाएर यस अवधारणालाई हटाउनुपर्छ भन्छ, गीतले ।

महिला सशक्तीकरणमा पेसाको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । गीतकी पात्र मनमाया क्षत्रीले आर्मी पेसा रोज्नुले यो क्षेत्र पुरुषको मात्र पेवा होइन भन्ने बताउँछ । त्यस्तै अर्की पात्र फूलमाया विश्वकर्माले डाक्टर बन्छु भन्नुले यो भन्नेबित्तिकै दिमागमा पुरुषको मात्र चित्र आउने हाम्रो यथार्थलाई मेटाउन खोजेको छ । लैंगिक समानताका लागि महत्त्वपूर्ण कदम पेसाप्रतिको एकल अधिकार हटाउनु पनि हो । नेपाली समाजमा केही पेसा बाध्यकारी र केही रहरमा सीमित छ । सबैखाले पेसामा महिला–पुरुषको समान समावेशिता हुनु जरुरी छ । महिलाको पर्यायवाची पेसा सधैं भान्सा बन्यो (जुन बाध्यकारी हो), पुरुषहरू पनि नर्स भएको हेर्न चाहन्छ समाज ।

गीतले सामाजलाई बाटो देखाउन खोजे पनि केही कुरामा चुकेको छ, जस्तो— महिला भन्नेबित्तिकै भान्सामा, धारामा हुन्छिन् भन्ने आममान्यतालाई यसले तोड्न सकेको छैन । मनमाया फूलमायालाई खोज्दै धारामा किन पुगिन् ? धारामा नगएर बन्चरो लिएर दाउरा चिर्दै गरेको ठाउँमा गएको भए पनि हुन्थ्यो । त्यस्तै गीतले ‘पढे–लेखेकी छोरीले, जीवनसाथी आफैं रोज्छे’ भन्ने खालको सन्देश दिएको भए राम्रो हुन्थ्यो ।

गीत–संगीतले समाजको यथार्थ प्रस्तुत गर्नु आफैंमा एउटा सशक्त सन्देश हो, जुन पछिल्लो समय हाम्रा सृजनाहरूमा पाइन्न । गीतले समाजको ठूलो हिस्सालाई प्रभाव पार्छ, सिकाउँछ । यस अर्थमा सपूतको यो गीतले दिन खोजेको सन्देश समाज परिवर्तनका लागि सहायक हुन सक्छ । समाजको पुरानै मान्यतालाई मलजल गर्ने सन्देश बोकेका गीतहरूमाझ यस्तो गीत निकै दुर्लभ भइरहेको छ ।

[email protected]

प्रकाशित : भाद्र ८, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?