कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

साम्राज्यका स्वार्थ र तालिबान भेरियन्ट

जसरी कुनै तालिबानीले विपक्षीको गला काट्नु आतंकवादी कर्म हो, त्यसरी नै अन्य देशको गला काट्नु र जनतामाथि बमवर्षा गर्नु पनि आतंकवादी दुष्कर्म नै हो । कुनै सद्दाम हुसेन, कुनै ओसामा बिन लादेन वा कुनै मुअम्मर गद्दाफीको हिंस्रक अनुहार देखाएर आफ्नो रक्ताम्य हात पुछिँदैन ।
राजेन्द्र महर्जन

जो चुचुरोमा आसीन छन्, उनीहरू भन्छन्—
‘शान्ति र युद्धको सारतत्त्व अलगअलग छ !’
तर, उनीहरूका शान्ति र उनीहरूका युद्ध
हावा र हुरीजस्तै छन्
युद्ध जन्मिन्छन् उनीहरूकै शान्तिबाट
जसरी आमाको कोखबाट पुत्र
आमाकै भयानक रूपरंग सम्झाउँदै ।
उनीहरूका युद्धले समाप्त पार्छन्
उनीहरूकै शान्तिले जेजति बाँकी राखेका थिए ।
– बर्तोल्त ब्रेख्त

साम्राज्यका स्वार्थ र तालिबान भेरियन्ट

बेथिति, व्यथा र विरहले थिलथिलो भएको नेपाली मन वीरगाथा रुचाउँछ; युद्ध, बलिदान, शौर्य र सहादतका कथामा रमाउँछ । वीरगाथाले बनाएको नेपाली मन युद्धको क्षति, लडाइँको पीडा, मरणको बीभत्सतालाई बेवास्ता गर्छ । वीरगाथाले सिञ्चित नेपाली दिल–दिमागका लागि साम्राज्य र युद्धको अन्तरसम्बन्ध मतलबको विषय हुँदैन; साम्राज्य र युद्धले फैलाउने प्राकृतिक र मानवीय क्षति, पीडा र बीभत्सता नै वास्ताको मुद्दा बन्छ । यस्ता विषय र मुद्दाप्रति असंवेदनशीलता, अन्धता र बेवास्ताका लागि हामीकहाँ वीरगाथालाई मलजल गर्ने राष्ट्रिय विभूतिको महाभाष्य (ग्रयान्ड न्यारेटिभ) नै सर्वाधिक प्रचलित र प्रशंसित छ । यस्तै वीरगाथाको अफिम वा महाभाष्यको ‘एनेस्थेसिया’ले लट्ठिएकाले नै हुन सक्छ, साम्राज्यसँग युद्ध र युद्धसँग विध्वंस मात्रै जोडिएको हुँदैन, बेथिति, व्यथा र विरह पनि गाँसिएको कटु सत्यसमेत देखिँदैन ।

नेपाली इतिहासमा राष्ट्रिय विभूतिका रूपमा स्थापित वीर बलभद्र नेपालकै सम्भवत: पहिलो लाहुरे भएको र उनी पन्जाबका राजा रणजित सिंहको सेनामा भर्ती भई सिख–अफगान युद्धका क्रममा नौशेरामा पठानहरूसँगको लडाइँमा मारिएको तथ्यलाई बेवास्ता गरिएको छ । इतिहासकार प्रत्यूष वन्तका अनुसार, बलभद्रको बहादुरीको प्रशंसा गरी नथाक्ने महेन्द्रकालीन राष्ट्रिय विभूतिको महाभाष्यमा साम्राज्यले थोपरेको कुन युद्धमा उनको मृत्यु भयो, उनले स्वदेशका लागि ‘वीरगति’ पाए कि विदेशका लागि ‘मर्सिनरी’को मृत्यु भोगे, वीर नेपाली इतिहासबाट हटाइएको छ ।

साम्राज्यको सेवामा हाजिर ज्यान

बलभद्र कुँवरको मृत्यु सिख साम्राज्यको भूमि विस्तार र इस्ट इन्डिया कम्पनी (ब्रिटिस साम्राज्य)को रणनीतिक स्वार्थ जोडिएको लडाइँमा भएको थियो । सिख साम्राज्यको राजधानी लाहौर (लाहोर) गएर सिख खालसा सेनामा भर्ती हुने र आकर्षक जीविका कमाउने क्रममै ‘लाहुरे’ शब्दको निर्माण भएको थियो, जुन दुई सय वर्षपछि पनि भारतदेखि अफगानिस्तानसम्म जारी छ । जुनसुकै स्वरूपमा कायम रहे पनि लाहुरेकरणको एउटा आयाम हो— कुनै न कुनै साम्राज्य वा विदेशी शक्तिका लागि आफ्नो श्रम मात्रै बेच्नु होइन, धेरैजसो ज्यान पनि हत्केलामा राख्नु । दुई शताब्दीअघि दैनिक १०–१५ रुपैयाँको आकर्षक तलबमा लाहुरे भएका बलभद्र कुँवरले अर्काको साम्राज्य विस्तारका लागि जसरी अफगान भूमिमा आफ्नो लडाकु श्रम–सीप बेचे, ज्यानै अर्पे, पत्रकार पिटर गिलका अनुसार आज पनि चन्द्रबहादुर पुनमगरहरूले ‘काबुलमा सस्तो मृत्यु’ भोग्दै छन् ।

दुई दशकको इतिहास मात्रै हेर्दा पनि अफगानिस्तानमा मात्रै विदेशी सैनिक र गैरसैनिक क्षेत्रमा करिब ५० हजार नेपाली कार्यरत रहेको अवस्थामा कति जना नेपाली लाहुरे ‘बलभद्र’ भए, कति ‘चन्द्रबहादुर’ हुँदैछन्, नेपाली राज्यसँग कुनै लेखाजोखा छैन । मानवशास्त्री मेरी डेसेनका अनुसार, नेपाली राज्यका लागि त उनीहरू विश्वको पुँजीवादी बजारमा बेचिने र सट्टापट्टा गरिने शरीर मात्रै न हुन्, विदेशी विनिमयका लागि नेपाली रुपैयाँ नचले पनि गोर्खालीहरू अन्तर्राष्ट्रिय कूटनीतिमा प्रयोग हुने मूल्यवान् सिक्का हुन् । यसै क्रममा नेपाली राज्यका सञ्चालकहरूले लाहुरे श्रम, गोर्खाली वीरता र नेपाली रगतसँग कहिले आफ्नो राजका लागि जरुरी ‘सार्वभौमिकता’ साट्छन्, कहिले नयाँ–पुराना दरबार मोटाउने गरी रकम थुपार्छन्, नजराना र रेमिट्यान्सका रूपमा । यसरी विभिन्न साम्राज्यसँग संसर्ग र शरीरको विनिमयलाई बेवास्ता गर्ने गरी नेपाली दिल–दिमागलाई अँध्यारोमा राख्ने क्रम जारी छ, राज्य चलाउने भनेकै यस्तै विनिमयबाट उठ्ने रेमिट्यान्सको भरमा हो भन्ने कथ्य प्रचार गर्दै ।

शासककै भाष्य कथ्दै

ब्रिटिस साम्राज्य र त्यसअन्तर्गतका भारत, ब्रुनाई, मलेसिया र हङकङलगायतसँग गरिएको नेपाली श्रमिक र रेमिट्यान्सको विनिमय अचेल त विश्वबजारमा फैलिएको छ, विशेषत: अमेरिकी साम्राज्यका कारण युद्धग्रस्त क्षेत्र र कठोर श्रमको माग हुने भूभागमा । ती श्रम बजारबाट चुसिएका बलभद्र कुँवरहरूका लास कुन देशको भूमिमा फ्याँकिन्छन् ? चन्द्रबहादुर पुनमगर र कृष्णबहादुर थापाहरूका शव कफिनबाट कति स्वदेश भित्रिन्छन् ? कति सियाराम महतोहरूले आफ्नै छोराछोरीको अस्तु बोक्छन् ? कति जयसिंह धामीहरू बिदेसिने क्रममा महाकालीहरूमा बग्छन्–बगाइन्छन् ? सस्तो भाउमा कच्चा श्रम निर्यात गर्ने तथा तिनको नजराना र रेमिट्यान्समा तर मार्ने नेपालको राज्य र राज्य सञ्चालकहरूले नेपाली मनमस्तिष्कलाई बताउँदैनन् । त्यसको सट्टा शासकहरूले जनतालाई वीरगाथाको अफिम खुवाउने र राष्ट्रिय गौरव–गानमा भुलाउने तथा शासकीय मूल्यमान्यता, भाष्य र भाव आत्मसात् गराउने सांस्कृतिक उद्योग चलाइरहेका छन्, जसलाई अन्तोनियो ग्राम्सीको भाषामा ‘हेजिमोनी’ (वर्चस्व) वा मिसेल फुकोको शब्दमा ‘गभर्मेन्टालिटी’ (शासकीयता) भन्न सकिन्छ ।

यही वर्चस्व वा शासकीयताको परिणामस्वरूप नेपाली दिल–दिमाग र जिब्रोले शासकीय भाव र भाषा नै बोल्ने गरेको पाइन्छ । पञ्चायत–प्रायोजित राष्ट्रवादको निर्माण र विस्तारमा प्रयोग गरिएका वीर इतिहासहरूले जसरी निश्चित व्यक्तिको वीरगाथा मात्रै गाएका छन्, त्यसरी एकल इतिहास–दृष्टि मात्रै दिएका छन् । यही कारण हामी अझै पनि देश, देशको सार्वभौमिकता र त्यसको अस्मितालाई मर्दवादी जोड–कोणबाट मात्रै व्याख्या–विश्लेषण गर्छौं; देश भनेकै जनता हुन्, जनता नै सार्वभौम हुन्, उनीहरू स्वतन्त्र र स्वायत्त भएमा मात्रै देशको सार्वभौमिकताको सार्थकता हुन्छ भन्नेमा हाम्रो कमै ध्यान जान्छ । इतिहासमा कसैको पनि उपनिवेश नभएको देशका रूपमा नेपाल र अफगानिस्तानको गुणगान गर्ने बुद्धिजीवीहरूले पनि आन्तरिक उपनिवेशका कारण जनताको स्वायत्तता र देशको सार्वभौमिकता कसरी कमजोर हुन्छन्, उनीहरू अनेक साम्राज्यका मोहरा र पुँजीवादी बजारका सिक्का बन्न किन विवश हुन्छन् भन्ने पक्षलाई वास्ता गर्दैनन् । अमेरिका र अमेरिकी नेतृत्वको नेटो फौजले सन् २००१ देखि लादेको आतंकवादविरोधी हमलाका कारण अफगानिस्तानमा सृजना भएको नेपालीहरूको रोजगार अहिले जसरी हठात् गुमेको छ, त्यसको बाह्य र भित्री कारण खोतल्ने तथा चुसाहा नेपाली राज्यको पुन:संरचना गर्ने जरुरतलाई नजरअन्दाज गर्दै अब शासकीयतामा मात्रै रमाउन सकिँदैन ।

‘मुक्ति’मा दंग नेपाली मन

कुनै साम्राज्यका पक्षमा बलभद्रले वीरतापूर्वक लडेको अफगानिस्तानले ब्रिटिस, सोभियत र अमेरिकी साम्राज्यबाट ‘मुक्ति’पछि अब अफगान जनताले स्वायत्तता र सार्वभौमिकता अभ्यास गर्न पाउँछन् कि पाउँदैनन्, कुनै निश्चितता छैन, बरु आशंका बेसी छ । नेपालको संकीर्ण कोणबाट हेर्दा, अरूको देश र जनताको स्वायत्तता र सार्वभौमिकताको कुरै छाडौं, हाम्रै देशका जनताले तालिबान शासनमा जीउज्यान बचाउन सक्छन् ? अफगानिस्तानमा कार्यरत नेपालीहरू सहजै स्वदेश फिर्ता हुन सक्छन् ? अब उनीहरूको श्रमिक अधिकार कसरी रक्षा हुन सक्छ ? सरकारी प्रतिबन्धका बावजुद अफगानी श्रम बजारमा पसेका नेपाली श्रमिकको अवकाश वा स्थानान्तरणमा उनीहरूको तलब, निवृत्ति र भरणपोषण सुरक्षित हुन सक्छ ? साम्राज्यको आवश्यकताअनुसार उनीहरूलाई अवैध रूपमा भर्ती गराउने सैनिक, अर्धसैनिक र गैरसैनिक ठेकेदार कम्पनीहरूलाई जिम्मेवार बनाउन सकिन्छ ? यी र यस्ता श्रमिक जनताका हक–अधिकार र स्वायत्तताबारे मौन रहन रुचाउनेहरू पनि अफगानिस्तानको ‘मुक्ति’मा दंग छन् ।

अफगानिस्तानको ‘मुक्ति’मा दंग हुने नेपालीहरूमा अमेरिकी साम्राज्य भियतनामबाट जस्तै अफगानिस्तानबाट भागेको देखेर खुसी हुने एकथरी छन्, जो कुनै पनि विदेशी आधिपत्य र साम्राज्यवादी हस्तक्षेप स्वीकार गर्न चाहँदैनन्, जो तालिबानको इस्लामी शासन पनि स्विकार्दैनन् । अर्काेथरी अमेरिकी साम्राज्यको विस्थापनसँगै तालिबानको सत्तारोहणमा पनि खुसियाली मनाउनेहरू छन्, जसलाई अमेरिकी साम्राज्यविरोधीहरू सबै जनमुखी र प्रगतिशील हुने तथा शत्रुको शत्रु सधैं मित्र हुने भ्रम छ । अर्काे एक भेरियन्ट हो, ब्रिटेन, रुस र अमेरिकालगायत साम्राज्यलाई पछार्ने अफगानमध्ये तालिबानलाई बधाई नै दिने पक्ष । त्यसकै विस्तारित रूप हो— तालिबानको लडाकुपना, वीरता र सांस्कृतिक राष्ट्रवादको प्रशंसा गर्ने हिन्दु तालिबानको पक्ष । सामान्यत: भिन्न धर्म, पन्थ, मत र समुदायप्रति असहिष्णुता र आफ्नो धर्म, पन्थ, मत र समुदायप्रति कट्टरतासँगै जुझारुपन र अन्धताको एउटा रूप मात्रै हो— इस्लामी धर्म मान्ने तालिबान (विद्यार्थी) ।

तालिबानका हिन्दु, बौद्ध, इसाई भेरियन्ट भएजस्तै जात, जाति, भाषा र क्षेत्रसँगै लिंगका आधारमा देखिने कट्टरपन्थी प्रकारको पनि कुरा गरी साध्य छैन, जो धर्म–पन्थ–समुदायसापेक्ष राज्य, समाज र परिवार बनाउन चाहन्छन् । उनीहरूमध्ये अधिकांशका लागि आआफ्ना धर्म, पन्थ, मत र समुदाय पहिलो प्राथमिकतामा पर्छन् भने आम जनताका हक–अधिकार र स्वायत्तता अन्तिम प्राथमिकतामा † महिला र अल्पसंख्यक समुदायका नैसर्गिक हक हननको सर्तमा पनि सरिया कानुन वा धर्मसापेक्ष राज्य लागू गर्न नहिचकिचाउने तालिबानहरूका लागि सर्वप्रिय तत्त्व भनेको साम्प्रदायिक सत्तास्वार्थ हो । यस स्वार्थपूर्तिका लागि स्वदेशी सामन्ती तत्त्व, लागूपदार्थका व्यापारी, छिमेकी पाकिस्तानी सेना र जासुसी जालो (आईएसआई) वा खाडी क्षेत्रका तेल राष्ट्रदेखि विदेशी साम्राज्यसँग सहकार्य गर्न पनि कुनै आपत्ति छैन ।

स्वार्थहरूको रक्ताम्य खेल

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरका सुरक्षा सल्लाहकार ज्बिग्नेव ब्रेजिंस्की र सीआईएका निर्देशक रोबर्ट गेट्सले धेरै पहिले सकारेका छन्, तालिबान सोभियत संघले सन् १९७९ मा अफगानिस्तानमाथि गरेको सैनिक हस्तक्षेपविरुद्ध प्रतिकार गर्न सक्रिय भएका मुजाहिद्दिन छापामारहरूको हाँगाका रूपमा अमेरिका र पाकिस्तानबाट विकास गरिएको कट्टरपन्थी समूह हो । आज अफगान भूमिमा अमेरिकी साम्राज्यको एउटा चिहान खन्न सफल भएको त्यही समूहले नै आर्थिक महाशक्ति चीन, पाकिस्तान, साउदी अरब र युरोपेली देश वा अरू स्वार्थ–समूहसँग सहकार्य गर्न कुनै असजिलो मान्दैन । भनिन्छ, खेल र राजनीतिमा न कुनै पनि स्थायी शत्रु हुन्छ, न कुनै स्थायी मित्र नै; हुन्छ त केवल स्थायी स्वार्थ मात्रै †

पक्कै पनि ज्याद्रो र जुझारु स्वभावका तालिबानको प्रतिरोधका कारण एकल सैनिक र आर्थिक महाशक्तिको अहंकार प्रदर्शनसँगै साम्राज्यवादी स्वार्थपूर्तिका लागि गरिएको कथित आतंकवादविरोधी हमलाले दस बल्ड्याङ खाएको छ । दुई दशकको गोप्य हस्तक्षेप र दुई दशकको सैनिक हमलापछि अमेरिकी साम्राज्यले अहिले ‘दोस्रो भियतनाम’को पीडा सुमसुम्याउँदै होला । शीतयुद्धकालमा अफगानिस्तानलाई सोभियत संघको ‘भियतनाम’ बनाउने रणनीतिका साथ पासो थापेको अमेरिकाले केही ‘रणनीतिक उपलब्धि’ प्राप्त गरेको थियो । ब्रेजिंस्कीकै शब्दमा, इस्लामी कट्टरपन्थी मुजाहिद्दिनहरू, भावी आतंकवादी तालिबानीहरूलाई हतियार, डलर, सल्लाह र रणनीतिक सेवा दिँदा उनीहरूले तुलनात्मक लाभ हेरेका थिए । उनी प्रतिप्रश्न गर्छन्, ‘विश्वइतिहासमा कुन कुरा महत्त्वपूर्ण छ— तालिबानको उदय कि सोभियत साम्राज्यको अस्त ? केही उत्तेजित मुस्लिम कि मध्ययुरोपको मुक्ति र शीतयुद्धको समाप्ति ?’

यति धेरै फाइदाजनक ठानिएको पासोमा आफैं परेपछि अमेरिकी रणनीतिकारहरू कसरी आत्ममन्थन र आत्ममूल्यांकन गर्दै होलान्, समयले जवाफ दिने नै छ । ११ सेप्टेम्बर २००१ मा आफूमाथि आतंकवादी हमला भएको र तीन हजार मानिस मारिएको निहुँमा अफगानिस्तानदेखि इराकसम्म बहुलट्ठीपूर्ण हमला गर्दै लाखौं अफगान र इराकी जनताको संहारसँगै तिनको सार्वभौमसत्तालाई कुल्चने दुष्कर्मलाई माफी दिन सकिँदैन, न त त्यसको कुनै क्षतिपूर्ति नै हुन सक्छ । जसरी कुनै तालिबानीले विपक्षीको गला काट्नु आतंकवादी कर्म हो, त्यसरी नै अन्य देशको गला काट्नु र जनतामाथि बमवर्षा गर्नु पनि आतंकवादी दुष्कर्म नै हो । कुनै सद्दाम हुसेन, कुनै ओसामा बिन लादेन वा कुनै मुअम्मर गद्दाफीको हिंस्रक अनुहार देखाएर आफ्नो रक्ताम्य हात पुछिँदैन ।

अमेरिकी विद्वान् नोम चोम्स्कीको भाषामा भन्दा, संसारकै सबैभन्दा ठूलो आतंकवादी राज्य अमेरिकाले भियतनामपछि अफगानिस्तानबाट अलिकति पाठ सिक्यो भने विदेशको युद्धबाट स्वदेशी अर्थतन्त्र र बहुराष्ट्रिय निगमहरूको अक्सिजन भर्ने काम केही कम हुन्छ कि ? सद्दाम हुसेनदेखि ओसामा बिन लादेनहरू जन्माउँदै मार्दै, जन्माउँदै मार्दै हिँड्ने घृणित अन्तर्राष्ट्रिय खेल कम खेले पुग्छ कि ? हाम्रो देशका बलभद्र कुँवरदेखि चन्द्रबहादुर पुनमगर र कृष्णबहादुर थापाहरूसम्मको ज्यान अनाहकमा खर्च हुँदैन कि ?

प्रकाशित : भाद्र ७, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?