३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इजरायलको पानी, नेपालको खोप

दीप्स शाह

इजरायली भाषामा ‘परदेस’ को अर्थ फलफूलको बगैंचा हुन्छ । कुनै बेला म दक्षिण–पश्चिम इजरायलको सुन्दर गाउँ ‘परदेस हाना’ मा काम गर्थें, जसलाई कागती–सुन्तलाको बगैंचा मानिन्छ । अलिक नयाँनयाँ नै थिएँ म । इजरायलबारे खासै धेरै कुरा जानिसकेको पनि थिइनँ । मैले स्याहार्ने बूढीआमा एक दिन आफ्नो परिवारसँग कतै गएकी थिइन् ।

इजरायलको पानी, नेपालको खोप

त्यस बेला एउटा सानो गाडी गल्ली–गल्ली डुल्दै हिब्रु भाषामा माइकिङ गर्दै गाउँ परिक्रमा गरेर गयो । त्यसताका म हिब्रु भाषा केही शब्दबाहेक बुझ्दिनथें । त्यसमाथि बाटोमा माइकमा फतफताएको कुरामा मलाई चासो पनि भएन । म आफ्नै सुरमा काम गर्दै थिएँ, बाहिर गएकी आमै घर फर्किछन् । हातमुख धुन बाथरुम पसेपछि कराइन्— ला ! धारोमा पानी छैन के भयो ? यति भन्नेबित्तिकै उनले तुरुन्तै कतै फोन घुमाइन् र पानी नहुनुको कारण सोधिन् । उताबाट आकस्मिक चुहावटका कारण पाइप मर्मत गर्नुपर्ने भएकाले पानी बन्द गर्नुपरेको जानकारी गराउँदै, त्यसले पर्न गएको असुविधाप्रति माफी पनि मागिएछ । तर आमै त झन् पो कराइन्, त्यस्तो आकस्मिक कारण परेपछि केही पहिले जानकारी किन नगराएको भन्दै । फेरि उताबाट जवाफ आएछ— केही घण्टा पहिल्यै माइकिङ गर्दै आवश्यक पानी जोहो गर्न अनुरोध गरिएको थियो । त्यसपछि आमै गोलभेंडाजत्रा आँखा पारेर मलाई हेर्दै जंगिइन्, ‘माइकिङ भएपछि भाँडामा पानी भर्नुपर्दैन ?’

इजरायलमा चौबीसै घण्टा धारामा पानी आउने भएपछि हाम्रोमा जस्तो रिजर्भ ट्यांकीमा पानी जोहो गरिराख्नु पर्दैन । आकस्मिक समस्या आउँदा सम्बन्धित निकायले पूर्वजानकारी गराएरै मात्र सीमित समयका लागि आपूर्ति बन्द गर्दो रहेछ । नागरिकसँग सरोकार राख्ने मसिनाभन्दा मसिना विषयमा राज्य संवेदनशील हुनुले कुनै पनि देशको समृद्धि र सफलताको मापन गर्छ ।

हाम्रोमा भने अस्तव्यस्तताको फेहरिस्त लामै छ । केही दिनअघि मेरो चिनजानकै हजुरबुबाले खोप लगाउँदा भोग्नुपरेको सास्ती सम्झिसक्नु छैन । उहाँ भेरोसेलको दोस्रो मात्रा आयो कि आएन भनेर जानकारी लिन थुप्रै पटक वडा कार्यालय धाउनुभएछ । बल्लबल्ल खोप आएपछि वडाका कुनै कर्मचारीले भनेछन्— अघिल्लो दिन नाम टिपाउनुस्, भोलिपल्ट खोप लगाउन आउनुस् । त्यसैअनुरूप उहाँ नामै टिपाउने त हो भन्दै अलिक ढिलै गरेर वडा कार्यालय पुग्दा मान्छेको निकै लामो लाइन देख्नुभएछ । हताश हुँदै, किन यति भीड भनेर सोध्दा, जवाफ पाउनुभएछ— वडाले नाम नटिपाई सोझै खोप लगाइदिन्छ । चर्को गर्मीमा लामो लाइन छिचोलेर खोप लगाउन नसक्ने देखी उहाँ फर्किनुभएछ । भन्दै हुनुहुन्थ्यो— बरु नाम नटिपी सोझै खोप लगाउने भनिदिएको भए त सबेरै आएर लाइनमा उभिन्थें नि ! यति भनिसकेपछि उहाँका आँखा रसाए । हजुरबाले भोग्नुभएको यस्तो सास्तीले हाम्रो सरकारी प्रणालीको अस्तव्यस्ततालाई देखाउँछ ।

मलाई हजुरबाको पीडाले इजरायलको त्यही पुरानो कुरा सम्झायो । यो हजुरबाको पीडा मात्र होइन, हाम्रो सरकारी प्रणालीको असफलता र अस्तव्यस्तताको प्रतिविम्ब पनि हो । यसको जिम्मेवार को हो भन्ने प्रश्नको एउटै आमजवाफ छ— ‘सिस्टम’ । ल ठीक छ, हाम्रो सिस्टमै खराब छ, यसैका कारण खोप कसरी, कति र कहिले वडामा पुग्छ भनेर सम्बन्धित कर्मचारीलाई पूर्वजानकारी थिएन/हुँदैन; तर जब आइपुग्छ, वडाका कर्मचारीले एकाध घण्टा माइकिङ गरेर वडावासीलाई खोप कति बजेदेखि कति बजेसम्म कुन–कुन उमेर समूहकालाई लगाइने भन्नेबारे सामान्य जानकारी गराउन त सिस्टमले छेक्दैन थियो होला नि ! यति सानो व्यवस्थापनले पनि त हजुरबाहरूका आँखा रसाउनबाट रोक्न सकिन्थ्यो । आमनागरिकको सास्ती कम गर्न सकिन्थ्यो । सर्वत्र लथालिंग, अस्तव्यस्त हाम्रो दैनिकीमा यस्तो सानो कुराको व्यवस्थापनले चामत्कारिक सुधार आई त नहाल्ला तर हरेक ठूलो योजनाको थालनी सानै विन्दुबाटै हुने हो ।

विकसित भनिएका मुलुकहरू फराकिला सडक, अग्ला महल वा अनगिन्ती कलाकारखाना मात्रै बनाएर सम्पन्नशालीको पंक्तिमा उभिएका होइन रहेछन् । यी र यस्ता, हेर्दा अति सामान्य लाग्ने कुराहरूलाई पनि अत्यन्तै महत्त्व दिएर सकेसम्म सहज बनाउन ध्यान दिँदा रहेछन् र पो ती विकसित, हामी सधैं अविकसित !

प्रकाशित : भाद्र ७, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?