कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

यसरी गरौं मेलम्ची विपत्‌को व्यवस्थापन

मेलम्चीको मुख्य भागमा बाढी बचाउका अन्य कामसहित ‘बायोडाइक’ को प्रयोग र सम्भावना हेरी ‘टेरेस फार्मिङ’ जस्ता काम गर्न सकिन्छ ।
सुबोध ढकाल

भ्रेमाथाङको भूबनोट तथा पहिरोजन्य सतही भौतिक प्रक्रिया, कुनै बेलाको पहिरोले खोला थुनेर बनाएको पोखरी र त्यसमा जम्मा भएको गेग्रान तथा पहिरोले जम्मा गरेको डेब्रिस फ्यान, खोलाले निरन्तर रूपमा झर्दै/गर्दै आइरहेको पहिरो र भीरको ‘टो’ कटिङ, भूस्खलन तथा यसले निम्त्याएका अन्य पहिरो, उपल्लो तटमा जलवायु परिवर्तनको असरले अहिले बढी सक्रिय देखिएका पेम्दाङ खोला र मेलम्ची खोलाका दायाँबायाँ बढेका सानाठूला पहिरो आदिको समग्र असरले गर्दा, आकलन गरिएजस्तै, मेलम्ची विपत्को सुरुआत भएको देखिन्छ ।

यसरी गरौं मेलम्ची विपत्‌को व्यवस्थापन

विपत्को पहिलो लहरमा त्यस्तै प्रक्रिया भ्रेमाथाङभन्दा तल पनि भएको हुन सक्छ । सुरुआती कारण यस्तै जे भए पनि अहिले मुख्य समस्या भ्रेमाथाङमा प्रस्टै देखिन्छ । कुनै पनि पहिरो तथा गेग्रान अनि डेब्रिस फ्यानमा हुने ‘डिस्प्लेसमेन्ट’ समयसँगै बढ्दै जाने प्रकृतिको हुन्छ । भ्रेमाथाङमा रहेका पहिरो, गेग्रानको ढिस्को अनि डेब्रिस फ्यानमा २०७२ सालको भूकम्पले हल्लाउँदा खुकुलोपना बढेको र तिनमा डिस्प्लेसमेन्ट बढ्दै गएको अनि अहिले त्यो चरम सीमामा पुगेको अनुमान गर्न गाह्रो छैन ।

यस्तो परिदृश्यले देखाउँछ, मेलम्चीको उपल्लो तटको पूरै क्षेत्रको एकीकृत अध्ययन र सोअनुसारको व्यवस्थापन नगरेसम्म त्यहाँको जोखिम सम्पूर्ण रूपमा घटाउन र विपत्को व्यवस्थापन गर्न सकिँदैन । तर अहिलेकै अध्ययनले केचाहिँ प्रस्ट हुन्छ भने, भ्रेमाथाङलाई छोडेर मेलम्चीको अबको व्यवस्थापन गर्न सकिँदैन । भ्रेमाथाङमा थुप्रेको थेग्रान हटाएर तल्लो तटमा जोखिम घटाउन सम्भव हुन्न । थेग्रान जम्मा भएको भ्रेमाथाङको मैदानलाई हराभरा र बलियो बनाउँदै असन्तुलित भागलाई सन्तुलित बनाउने र नदीको बहावलाई पनि अवरोध नगर्ने दिशामा हाम्रा कामहरू केन्द्रित हुनुपर्छ । समग्र र दीर्घकालीन व्यवस्थापनका लागि भ्रेमाथाङभन्दा उपल्लो तटको समस्याको प्रमुख जडकै उपचार खोज्नुपर्छ । भ्रेमाथाङमा रहेका पहिरो, टो कटिङ र भूस्खलनलाई व्यवस्थापन गर्नेबारे यहाँ सम्भावित उपायहरूबारे सुझाउने कोसिस गरेको छु, छनोट भने त्यहाँको वस्तुस्थिति हेरेर गर्न सकिन्छ ।

झर्न ठिक्क परेका (ह्यांगिङ) भाग काटेर फाल्ने

भ्रेमाथाङको मुख्य समस्या रहेको स्थानमा पहिले बनेको पोखरीमा जम्मा भएको थेग्रान खोलाले मुनिमुनि काट्दै जाँदा दायाँबायाँका ढिस्का र थेग्रान जम्मा भएको भागमा झर्न ठिक्क परेका अनि झर्दै गरेका डेब्रिसहरू सक्रिय देखिएका छन् । साथै मुनिमुनिबाट खोलाले काट्दै जाँदाको असरले टेन्सन क्य्राकहरू फैलँदै गएका छन् । समय बित्दै जाँदा यिनको दायरा बढ्दै जाने र प्रक्रिया निरन्तर हुने देखिन्छ । त्यसैले यस्ता भागलाई नियन्त्रित हिसाबले हामीले नै काटेर फाल्नुपर्छ । त्यस्तै सोही ठाउँको एकापट्टि भित्तामा समेत पहिलेका पहिरो अहिले पुनः सक्रिय बन्दा र खोलाले टो कटिङ गरिरहँदा पहिरोको डेब्रिस पनि निरन्तर झरिरहेको छ । यसलाई पनि भीरको ज्यामिति मिलाएर उपयुक्त कोणमा काटी पहिलेकै प्रक्रियाले झर्न ठिक्क परेको भागलाई फाल्नुपर्छ । ज्यामिति उक्त स्थानको चट्टान र माटोको प्रकृतिअनुसार मिलाउनुपर्ने हुन्छ तर अहिले सन्तुलित रहेका भागहरूलाई भने काट्नु हुँदैन । यसो गर्दा कति बेला झरेर समस्या ल्याउने हो भन्ने अहिलेको अन्योल घटाउनेछ । यो काममा उपयुक्त प्रविधि, मेसिन र सावधानी भने जरुरी हुन्छ ।

बैसाखीका लागि रिटेनिङ संरचना बनाउने

ह्यांगिङ भागलाई काटेर फालेपछि पनि यदि भीर, ढिस्को र डेब्रिस फ्यानहरूलाई थामेर राख्ने बैसाखी दिइएन भने समयसँगै अरू भागलाई पनि खोलाको भित्रभित्रको कटानले जोखिमयुक्त बनाउन सक्छ । त्यसैले त्यस्ता भागमा कृत्रिम खुट्टा लगाई भीरलाई थामिराख्नुपर्ने हुन्छ । यसलाई रिटेनिङ स्ट्रक्चर भनिन्छ । यसका लागि अहिले अस्थायी संरचना बनाई बर्खा सकिएपछि स्थायी संरचनामा जान सकिन्छ । अस्थायी रूपमा बाँसका नाला, काठका स्ल्याब, बालुवा भरिएका बोरा, ढुंगा भरिएका ड्रम आदिको वैज्ञानिक प्रयोग गर्न सकिन्छ । तत्कालका लागि प्रयोग गर्न सकिने यस्ता प्रविधिलाई बिस्तारै दीर्घकालीन बनाउँदै लानुपर्छ । यी सबैको डिजाइन भने पहिरो विशेषज्ञ र इन्जिनियर लगाएर गर्नुपर्छ ।

दायाँबायाँबाट आउने पानीको व्यवस्थित निकास

पहिलेको पहिरोले बनाएको प्रमुख पोखरी र यसछेउका दायाँबायाँका भीरहरूबाट आउने पानीलाई मुख्य कटान बढी भएको भाग र भूस्खलन बढी सक्रिय रहेको स्थानमा आउन नदिने गरी तर्काउनुपर्छ । यसो गर्दा मुख्य समस्या रहेको भागमा पानीको मात्रा घट्ने, थपिने गेग्रान कम हुने र कटान गर्ने क्षमता पनि घट्न सक्ने हुन्छ । त्यस्तै डेब्रिसका ढिस्काहरूको यत्रतत्र छरिएर बगेको आकाशे पानीलाई एकीकृत गरी नियन्त्रित बहाव र क्यास्केड ड्रेनेजमा ल्याउनुपर्छ । पहिलेको पहिरोले थुनेर बनाएको लामो पोखरीमा जम्मा भएको थेग्रानबाट पानीका च्यानलहरू जथाभावी बगेका भए तिनीहरूलाई पनि एकीकृत गर्न सकिन्छ ।

जमिनमा परेका चिरा र भ्वाङ पुरी सिल गर्ने

२०७२ सालको भूकम्पको असर र त्यसयता अहिलेसम्मको वर्षा र अन्य भौतिक प्रक्रियाका कारण पनि अन्यत्रजस्तै यो ठाउँमा यत्रतत्र जमिनमा चिरा र भ्वाङहरूसमेत परेको हुन सक्ने सम्भावना बढी नै छ । यस्ता चिरा र भ्वाङहरूको पहिचान गरी तिनको गहिराइसम्म पुग्ने गरी सानाठूला ढुंगा र माटो सक्दो खाँदेर उपल्लो सतहमा सिल गर्नुपर्छ । यसो गर्दा पानी त्यो जमिनमुनि छिर्न पाउँदैन, जमिन अझै गलाउने र बगाउने प्रक्रिया घटाउन सकिन्छ अनि भविष्यमा जान सक्ने पहिरो र भूस्खलनलाई कम गर्न सकिन्छ ।

भीर र डेब्रिसको भिरालोपन घटाउने

भिरालोपन बढी भएको स्थानमा भीरलाई बग्नबाट बचाउने बल कम र बगाउन खोज्ने बल बढी प्रभावकारी हुने हुनाले पहिरो र भूस्खलन बढ्दै जान्छ । भिरालोपन नघटाएसम्म त्यस्ता भीर र डेब्रिसका ढिस्काहरूलाई बग्नबाट रोक्न गाह्रो हुन्छ । त्यसैले भ्रेमाथाङको मुख्य समस्याग्रस्त स्थान र नजिकका यस्ता भीरहरूको पहिचान गरेर अवस्था अनि सम्भावना हेरी तिनलाई सम्भव भए ट्रिमिङ वा बेन्चिङ गर्नु उपयुक्त हुन्छ । यो काममा पनि साइटको परिस्थिति मूल्यांकन गरी निर्णय लिनु र सावधानी अपनाउनुचाहिँ जरुरी हुन्छ । जहाँजहाँ खोलाको भिरालोपन अत्यधिक बढी छ, त्यहाँत्यहाँ खोलाको वेग घटाउने संरचना पनि बनाउन सकिन्छ ।

बायोइन्जिनियरिङ प्रविधिको प्रयोग

भ्रेमाथाङ र मेलम्ची खोलाका दायाँबायाँ पुराना पहिरो प्रशस्तै रहेको अनि डेब्रिस फ्यान पनि बढी नै देखिएको परिप्रेक्ष्यमा त्यहाँ रूखबिरुवा उम्रिन आवश्यक माटो प्रचुर मात्रामा रहेको प्रस्टै छ । कडा चट्टानी भागमा बाहेक अन्यत्र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरी भीर, पहाड र ढिस्काहरूलाई बग्नबाट बचाउन सकिन्छ । यसो गर्न सकिने स्थानहरूमा, माथि भनिएझैं, पानीको व्यवस्थापन, रिटेनिङ संरचनाबाट बैसाखीको प्रयोग र माटो सुहाउँदो वृक्षरोपणका उपाय एकैचोटि अपनाई भीरहरूको व्यवस्थापन गर्न सकिन्छ । यसको पनि डिजाइन र प्रयोग भने पहिरो विशेषज्ञ अनि सम्बन्धित इन्जिनियरको निगरानी र निर्णयमा गर्नुपर्ने हुन्छ ।

मेलम्चीको बस्ती र पूर्वाधार व्यवस्थापन

भ्रेमाथाङभन्दा माथि र तलको अवस्थाबारे पनि एकीकृत रूपमा अध्ययन र मूल्यांकन गरी बढी जोखिमयुक्त स्थानहरूमा यहाँ सुझाइएकै पक्षहरूमा ध्यान दिई दीर्घकालीन रूपमा जोखिम घटाउने काम गर्नु जरुरी हुन्छ । उपल्लो तटमा रहेको विपत्को मुख्य कारणको निदान गरिसकेपछि अहिले बढी असर परेको र भविष्यमा पनि पर्न सक्ने स्थितिको मूल्यांकन गर्दै तल्लो तटका मेलम्चीलगायतका स्थानहरूको व्यवस्थापन गर्नेबारे पनि उपाय निकाल्नुपर्छ । यो विपत् आउनुभन्दा पहिले खोलानजिकै बसाइएका बस्तीहरू, यस्तो प्रकोपको सही विश्लेषण नगरी बनाइएका मेलम्ची खानेपानी आयोजनाजस्ता ठूला आयोजना तथा पुल र सडकहरूको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसका लागि खोला र बसाइने बस्तीबीचको जमिनको उचाइ अनि दूरीको थ्रेसहोल्ड, बाढीपहिरोलगायत सम्भावित सबै प्रकोपको एकीकृत मूल्यांकन, समुदायको आवश्यकता र आकांक्षा आदि पक्षको विश्लेषण गरी कम जोखिमयुक्त स्थान पहिचान गरेर त्यस्ता स्थानमा एकीकृत बस्ती बसाउनु उत्तम देखिन्छ । यसका साथै अहिलेको विपत्ले ध्वस्त पारेको मेलम्चीको मुख्य भागमा बाढी बचाउका अन्य कामसहित ‘बायोडाइक’ को प्रयोग र सम्भावना हेरी ‘टेरेस फार्मिङ’ जस्ता कामलाई प्रोत्साहन दिन सकिन्छ ।

अहिलेको बाढीको ताण्डवपछि ‘हाइएस्ट फ्लड

लेभल’ को समेत विश्लेषण गरी पुलहरूको डिजाइन र सडक निर्माणमा ध्यान दिनुपर्छ । पुलहरू क्षतिग्रस्त भएर सडक सञ्जाल नै अवरुद्ध भएको अहिलेको अवस्थामा तत्कालका लागि छिट्टै जोड्न सकिने बेली ब्रिजहरूको प्रयोग गरी यसलाई सुचारु गर्न सकिन्छ । मेलम्ची खानेपानी आयोजनाले अहिलेको कमजोरीबाट पाठ सिकी बृहत् रूपमा बहुप्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका कामलाई ढिलो नगरी अघि बढाउनु जरुरी देखिन्छ ।

सहप्राध्यापक ढकाल इन्जिनियरिङ भूगर्भविद् हुन् ।

प्रकाशित : भाद्र ६, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?