शिलान्यास र उद्घाटन मात्रै ?

आयोजनामा भ्रष्टाचार भएको र त्यसको छानबिन चलिरहेको रहेछ भने त्यस्तो बेला उद्घाटन गरिदिनाले उक्त छानबिन प्रभावित हुन जान्छ, गलत कामले वैधानिकता पाउँछ ।
किशोर थापा

सत्तासीन व्यक्तिहरूबाट भएका शिलान्यास र उद्घाटनका कार्यक्रमहरू प्रायः विवादित हुने गरेका छन् । कुनै पनि आयोजनाको पूर्वतयारीबिना गरिने शिलान्यास र काम नसकिँदै गरिने उद्घाटनले जनमानसमा ती कार्यक्रमहरूको औचित्य स्थापित गर्न गाह्रो परिरहेको छ ।

शिलान्यास र उद्घाटन मात्रै ?

एउटै कामको शिलान्यास वा उद्घाटन गर्न दुई–तीन जना मन्त्री पुग्नु, एउटा स्विच थिच्न तीन जनाले हात पसार्नु र एकै जनाले एकै दिन एकैचोटि तीन सयवटा आयोजनाको शिलान्यास गरिनु हास्यास्पद नै हो । अचेल न कुनै आयोजनाको शिलान्यास हुँदैमा त्यो सुरु हुन्छ भन्न सकिन्छ न त उद्घाटन हुँदैमा त्यसको काम पूरा भएको र सर्वसाधारणले लाभ लिन पाउँछन् नै भन्न सकिने अवस्था छ ।

जस्तो, काठमाडौंमा पानी खसालिसकिएको मेलम्ची अहिले ठप्प छ । परीक्षण थालिएको माथिल्लो तामाकोसीबाट पनि उत्पादन रोकिएको छ; असार १ को विनाशकारी बाढीबाट आयोजनाको निर्माणाधीन हेडवर्क्स पुरिएको छ र पुनर्निर्माणको काम कहिले सुरु हुन्छ, भन्न सकिन्न । त्यस्तै ४० प्रतिशत निर्माण कार्य बाँकी छँदै धरहराको उद्घाटन गरियो । राजनीतिकर्मी र विशेष गरी सत्तासीन नेताहरूले आफ्नो कार्यकालमा धेरैभन्दा धेरै आयोजना सुरु होऊन् र विगतमा सुरु गरिएका आयोजना सम्पन्न होऊन् भन्ने इच्छा राख्नु स्वाभाविक हो, र त्यसको जस लिन खोज्नुलाई पनि अन्यथा भन्न मिल्दैन । तर आवश्यक पूर्वतयारी नगरी, निर्माण कार्यको टुंगो नलाग्दै, जग्गाको ठेगान नलाग्दै शिलान्यासको हतारो गर्नुलाई कदापि जायज मान्न सकिन्न । यो केवल जनताको आँखामा छारो हाल्ने काम मात्र हो । विगतमा एउटै आयोजनाको तीन पटकसम्म शिलान्यास गरिएका तर निर्माण कार्य नै सुरु नभएका उदाहरण धेरै छन् । विकास–निर्माणका आयोजनाहरू पूर्वतयारीबिना नै ठेक्का लगाउने, ठेक्का लगाएका काममा बजेटको व्यवस्था नहुने, एउटा सरकारले सुरु गरेको आयोजनालाई अर्को सरकारले रद्द गर्ने वा त्यसको स्वरूपमा परिवर्तन गर्ने प्रवृत्ति हावी भएको अहिलेको अवस्थामा क्षणिक राजनीतिक लाभका लागि मञ्चन गरिने शिलान्यास र उद्घाटनको नाटकको अर्थ देखिँदैन ।

विकास–निर्माण कार्यमा शिलान्यास र उद्घाटनले के अर्थ लाग्छ ? यस्ता कार्यक्रम कुन बेला कसरी गरिनुपर्छ भन्नेबारे हालसम्म कुनै नीति वा निर्देशिका बन्न सकेको छैन । यस्ता अवसरमा राजनीतिक पक्ष बढी हावी हुँदै गएको छ, कार्यक्रमको प्राथमिकता र त्यसको महत्त्व ओझेलमा परेको छ र गर्नुपर्ने कामभन्दा अनावश्यक तडकभडक र तामझाम बढी हुन थालेको छ । यी कार्यक्रमहरूमा निर्माण कार्यमा लागेका कर्मचारी, निर्माणकर्मी वा प्राविधिकभन्दा राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी सक्रिय हुन्छन् । आयोजनासँग कुनै साइनो नभएका व्यक्तिहरूको चुरीफुरी बढी देखिन्छ । यसरी हेर्दा यस्ता कार्यक्रमहरू राजनीतिक प्रोपगान्डा मात्र भएको अनुभव हुन थालेको छ ।

शिलान्यासको अर्थ

विकास–निर्माण आयोजना शिलान्यासको अवस्थासम्म आइपुग्नुअघि त्यसको सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण, डिजाइन तथा इस्टिमेट, वातावरणीय प्रभाव मूल्यांकन, बजेट तथा कार्यक्रम स्वीकृति, जग्गाप्राप्ति, ठेक्कापट्टा र ठेकेदार कम्पनीको परिचालनजस्ता विभिन्न चरण पार गरिसक्नुपर्छ । ती सबै चरण पार गरेर स्थलविशेषमा निर्माण सामग्री र जनशक्तिको व्यवस्था हुन थालेपछि काम सुरु गरिने अन्तर्राष्ट्रिय प्रचलन छ ।

राजनीतिकर्मीका लागि शिलान्यास ख्यालठट्टा वा धाक–रवाफको विषय होला तर त्यसमा खटिएका ठेकेदार कम्पनी, प्राविधिक, श्रमिक र कर्मचारी एवं स्थानीय बासिन्दाका लागि यो जीवन–मरणको विषय हुन सक्छ । किनकि आयोजनास्थलमा हुन सक्ने कुनै मानवीय वा प्राकृतिक विपद्, अनिष्ट वा कामको ढिलाइबाट सबभन्दा बढी पीडित तिनीहरू नै हुन्छन् ।

उद्घाटनको अर्थ

लामो समयको अनवरत प्रयासपछि निर्माण कार्य सकिँदा त्यहाँ कार्यरत कामदार, व्यवस्थापक र सरोकारवाला सबैलाई खुसी लाग्छ नै । आयोजनाको स्वरूप हेरी आठ–दस वर्षको कठोर परिश्रमपछि निर्माण कार्य सकिन्छ । अझ नेपालका सन्दर्भमा कतिपय आयोजनाले निर्माण कार्यसँग असम्बन्धित मुद्दामा धेरै समय खेर फालिरहेका हुन्छन् । कुन अवस्थामा काम सकिएला भनी आम मानिसमा द्विविधा रहने गर्छ । निर्माण कार्य सकिँदैमा आयोजना सम्पन्न भएको मानिँदैन । निर्माण कार्य सकिएपछि त्यसमा देखिएका कमीकमजोरी सच्याउनका लागि ठेक्कापट्टा गर्दाखेरि नै एक वर्षको अवधि थपिएको हुन्छ जसलाई प्राविधिक भाषामा ‘डिफेक्ट लायबिलिटी पिरियड’ भनिन्छ । सो अवधिमा आयोजनाका संरचनाहरूको परीक्षण सञ्चालन गरी तोकिएको गुणस्तरको छ कि छैन भनेर हेरिन्छ र कुनै त्रुटि भएमा निर्माण कम्पनीको आफ्नै खर्चमा सुधार गरिन्छ । आयोजना त्यतिन्जेल निर्माण कम्पनीकै जिम्मामा रहन्छ र अवधि सकिएपछि मात्र सम्बन्धित निकायलाई विधिवत् हस्तान्तरण गरिन्छ ।

तर, नेपालमा आयोजनाको हस्तान्तरण त परै जाओस्, निर्माण कार्य आधाआधी बाँकी छँदै उद्घाटन गर्ने चलन सुरु भएको छ जसलाई देशमा मौलाइरहेको विकृतिका रूपमा लिन सकिन्छ । राजनीतिकर्मीहरूले त आफ्नो स्वार्थ वा लोकप्रियताका लागि त्यसो गरे भनौंला तर आयोजनाका जिम्मेवार पदाधिकारीहरू, निर्माण कम्पनी, आयोजनालाई अनुगमन गर्ने निकायहरूले पनि यसमा कुनै प्रतिक्रिया नजनाएको देख्दा अचम्म लाग्छ ।

सामान्यतया आयोजनाका संरचनाहरूको सञ्चालन र सफल परीक्षण भएपछि मात्र उद्घाटन गर्ने गरिन्छ । यसो गर्दा कुनै कमीकमजोरी देखिएमा उद्घाटनअघि नै त्यसको सुधार हुन्छ र उद्घाटन गर्ने व्यक्ति अपजसबाट जोगिन्छ । हतारमा उद्घाटन गरेमा संरचनामा देखिएका त्रुटिहरूलाई सुधार्न कठिन हुन्छ किनकि उद्घाटनले गर्दा त्यहाँ देखिएका सम्पूर्ण कमीकमजोरी ढाकछोप हुने खतरा हुन्छ ।

कुबेलाको शिलान्यास र उद्घाटनबाट हुने नोक्सानी

कुबेलामा शिलान्यास गर्दा आयोजनाले निर्माण कार्य सुरु हुनुअघि गर्नुपर्ने तयारी ओझेलमा पर्ने सम्भावना हुन्छ । राजनीतिक दाउपेचका कारण आयोजनामा अनावश्यक बखेडा खडा गर्न त्यसले विपक्षी दलका कार्यकर्ताहरूलाई उक्साएको जस्तो पनि देखिन्छ । कतिपय अवस्थामा संरचनाको डिजाइन नै नभई वा निर्माण कम्पनीको उपस्थितिबिना गरिने शिलान्यास फोस्रो आडम्बर मात्र देखिन्छ । कतिपय अवस्थामा निर्माणस्थलको सिमाना स्पष्ट नभई वा जग्गाप्राप्तिका प्रक्रिया नटुंग्याई शिलान्यास गर्दा जग्गाधनीहरूबाट अवरोध हुने अवस्था आउँछ ।

कुबेलामा गरिने उद्घाटनबाट गलत सन्देशहरू जाने सम्भावना हुन्छ । जस्तै— आयोजनामा भ्रष्टाचार वा अनियमित काम भएको रहेछ र त्यसको छानबिन भइरहेको अवस्थामा उद्घाटन गरिदिनाले उक्त छानबिन प्रभावित हुन जान्छ अनि गलत वा अनियमित कामले वैधानिकता पाउँछ । निर्माण कार्यमा कमसल सामग्री प्रयोग भएको रहेछ भने, त्यसलाई सुधार गर्नुपर्ने रहेछ भने हतारमा उद्घाटन गरिदिँदा गुणस्तर वृद्धि वा सुधारको काम प्राथमिकतामा नपर्न सक्छ ।

आयोजनाका सबै काम सम्पन्न भई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्था भएपछि मात्र उपभोक्ताले सो संरचनाको जिम्मा लिनु उपयुक्त मानिन्छ । हाम्रो देशमा कतिपय आयोजना सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालक वा उपभोक्तालाई हस्तान्तरण हुन सकेका छैनन् जसको मूल कारण आयोजनाप्रति उपभोक्ताको विश्वास नहुनु र उनीहरूको क्षमता वृद्धि हुन नसक्नु हो ।

आयोजना र स्थानीय बासिन्दालाई जोड्ने अवसर

नेपालमा अचेल आयोजना र स्थानीय बासिन्दाबीच बेलाबेला असमझदारी, द्वन्द्व र भिडन्तको स्थिति पैदा हुने गरेको छ । आयोजनाबारे स्थानीय बासिन्दालाई पर्याप्त जानकारी नहुनु वा भ्रम हुनु, राजनीतिक दलका व्यक्तिहरूले आफ्नो स्वार्थका लागि स्थानीय बासिन्दालाई भड्काउनु यसका कारक हुन् । धेरैजसो आयोजनामा स्थानीय बासिन्दासँग तनावको स्थितिमा निर्माण कार्य भएको देखिन्छ र कुनै पनि बेला त्यसले हिंसात्मक रूप लिन सक्छ । आयोजनाको सम्भाव्यता अध्ययनका बेला स्थानीय बासिन्दालाई त्यो कार्यान्वयन हुने वा नहुने भन्नेमा शंका भइरहन्छ र उनीहरूले आयोजनाबारे त्यति चासो लिँदैनन् । तर जब निर्माण कार्य सुरु हुन्छ तब मात्र स्थानीय बासिन्दा प्रतिक्रियात्मक हुने गर्छन् ।

त्यस्तो स्थिति नआओस् भन्न शिलान्यास राम्रो अवसर हुन सक्छ । निर्माण कार्यमा खटिएका कर्मचारी, प्राविधिक र श्रमिकहरू र स्थानीय समुदायबीच चिनापर्ची गर्ने; आयोजनाका विविध पक्षबारे बुझ्ने–बुझाउने र स्थानीय बासिन्दाका पीरमर्का र अपेक्षाहरू बुझ्ने काम शिलान्यासका अवसरमा गर्न सकिन्छ । यसबाट निर्माण कार्यमा स्थानीय बासिन्दाको सहयोग र सहभागिता बढ्न गई अनावश्यक द्वन्द्व र अवरोध कम हुन्छ । निर्माण कार्यबाट स्थानीय रीतिथिति, धर्मसंस्कृति, वातावरण र जनजीवनमा पर्न सक्ने नकारात्मक प्रभावलाई कम गर्न पनि यसले सघाउ पुर्‍याउँछ । कुनै विपद् वा दुर्घटना हुन गएमा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि आयोजना र स्थानीय समुदायले सामूहिक रणनीति बनाउन सक्छन् । सामान्यतया निर्माण कार्यमा खटिने श्रमिक र कर्मचारीहरू बाहिरबाट आउने भएकाले उनीहरूलाई आयोजनास्थलमा सुरक्षित भएको महसुस हुन जरुरी छ र त्यो सुरक्षाको प्रत्याभूति गर्न स्थानीय बासिन्दासँगको समझदारी र सहकार्यको ठूलो महत्त्व छ ।

त्यस्तै, सामान्यतया ठेक्का सम्झौताबमोजिम परीक्षण र मर्मत–सम्भारको अवधि सकिएपछि आयोजना सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने बेला उद्घाटन गर्नु उपयुक्त हुन्छ । शिलालेख वा बोर्डमा आयोजना उद्घाटन गर्ने व्यक्तिको मात्र होइन, वास्तुकार, इन्जिनियर र निर्माण कम्पनीको नाम पनि उल्लेख गर्दा उनीहरू कामप्रति जिम्मेवार बन्नेछन् ।

(थापा नेपाल सरकारका पूर्वसचिव हुन् ।)

प्रकाशित : श्रावण ३२, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?