३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बलात्कारले महिलाको होइन, देशको इज्जत जान्छ

बलात्कारका घटनाले महिलाको नभएर समाजको इज्जत गएको छ, देशकै इज्जत गएको छ । यस्तो इज्जत बचाउन सम्पूर्ण समाज र देश लाग्ने कि नलाग्ने ?
अमृता अनमोल

गत आर्थिक वर्षमा मात्रै लुम्बिनी प्रदेशमा ५ सय ७५ बलात्कार अर्थात् जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भए । यसबाहेक ३२ बाल यौन दुराचार र ११ अप्राकृतिक मैथुनका घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । बलात्कार अर्थात् यौन हिंसामा पर्ने अधिकांश बालिका थिए ।

बलात्कारले महिलाको होइन, देशको इज्जत जान्छ

त्यसमा पनि १४ वर्षमुनिका धेरै थिए । कतिपय नाबालिका बलात्कारपछि ठूलो शारीरिक र मानसिक पीडा खेपिरहेका थिए । कोरोना महामारी र निषेधाज्ञा चलेका बेलामा पनि यति धेरै बलात्कार ! त्यो कसरी ? मैले प्रहरीको सहयोगमा बलात्कारमा परेका करिब एक सय परिवारसँग प्रत्यक्ष वा फोनमार्फत कुराकानी गरें । परिवारलाई बालिकाको उपचार र न्यायको चिन्ताभन्दा ‘इज्जत गुमेको’ कुराले बढी पिरोलेको रहेछ । उनीहरू आफ्नी छोरीको ‘अस्मिता लुटिएको’ र समाजमा बेइज्जत भएको चिन्ताले व्याकुल थिए । यसले मेरो मथिंगल हल्लियो । महिला बलात्कृत हुँदा उसको ‘इज्जत लुटिन्छ’ कि उसमाथि अन्याय गरिन्छ ? मनमा प्रश्नका बाढी आइरहे ।

बलात्कार शरीरसँग सम्बन्धित विषय हो, यसबाट शारीरिक शोषण हुन्छ । यौनसँग सम्बन्धित विषय हो, यसबाट यौन शोषण हुन्छ । कतिपयलाई मानसिक समस्या पनि निम्तन्छ । तर, बलात्कारबाट महिलाको इज्जत र अस्मिता कसरी लुटिन्छ ? के महिलाको इज्जत उसको शरीरमा मात्रै छ ? के महिला अस्मिता उसको योनिमा अडिएको छ ? जुन कुनै बेला यौन हिंसाको सिकार भयो कि गइहाल्छ । नत्र हाम्रो समाजले बलात्कृत महिलालाई इज्जत लुटिएको महिला भनेर किन चित्रण गर्छ ? कुनै बलात्कृत महिलामाथि भएको अन्यायले उसको इज्जत कसरी लुटियो ? यस्तो गलत चित्रणले महिलालाई कमजोर मात्र बनाएको छैन महिलाको अस्तित्वमाथि नै तीव्र प्रहार गरेको छ । बलात्कारलाई महिलामाथिको रिसइबी साध्ने माध्यम पनि बनाएको छ ।

बलात्कारबाट सबैभन्दा पहिला महिलाको मानव अधिकारको हनन हुन्छ । महिलालाई शारीरिक, मानसिक चोट पुग्छ । तर बलात्कार गर्ने व्यक्तिले त जघन्य अपराध गर्छ, देशको कानुनको उल्लंघन गर्छ । यस्तोमा त बलात्कारीको पो इज्जत र अस्मिता हराउनुपर्ने । समाजले बलात्कारी पुरुषलार्ई अस्मिता गुमाएको व्यक्तिका रूपमा किन हेर्दैन ? आफू शोषणमा पर्नुमा बलात्कृत महिलाको के दोष ? आफैं अन्यायमा परेकी महिलाले समाजको मान, मर्यादा र प्रतिष्ठामाथि के असर गर्छिन् र ? जब उनले समाजको मानमर्दन हुने केही काम गरेकी छैनन् भने उनको इज्जतमा कसरी दाग लाग्छ ? कसुर नै नगरीकन महिलाले मानसिक रूपमा सजायको भागी हुनुपर्ने मनोवैज्ञानिक स्थितिको कसरी अन्त्य हुन्छ ? यसको बहस जरुरी छ ।

बलात्कार व्यक्तिगत विषय मात्र होइन यो ठूलो सामाजिक समस्या हो र त्यसैअनुसार यसको बहस जरुरी छ । इतिहासमा महिलालाई मान्छे मान्ने चलन नै थिएन । राजा–महाराजाहरूले राम्रा युवती देख्यो कि आफ्नो दरबारमा ल्याउने त हाम्रै विगत छ । यौन प्रयोजनका लागि ल्याइएका उनीहरूलाई दरबारभित्र रखैल बनाएर राखिन्थ्यो । त्यसबेलाको सामाजिक मान्यताले त्यसको विरोध गर्दैनथ्यो, गर्न सक्दैनथ्यो । बलात्कार सामाजिक अर्थव्यवस्थासित पनि जोडिएको छ । पहिले–पहिले गाउँमा ठूला–ठालूहरूले कमजोर वर्गका महिलामाथि हातपात गर्नुलाई सामान्य मानिन्थ्यो । अहिले समय बदलिएको छ तापनि धनको आडमा बलात्कारीहरूले विभिन्न बहानामा उन्मुक्ति पाउने क्रम भने रोकिएको छैन । बलात्कारीहरू समाजबाट बहिष्कृत भएका छैनन् । कति त समाजमा मानप्रतिष्ठासहित नै बसेका छन् ।

प्रहरीका अनुसार आर्थिक रूपमा कमजोर माहिलामाथि बलात्कारका घटना बढी भएका छन् । यौनलाई पुरुषको मामिलामा बहादुरी र महिलाको मामिलामा कमजोरी ठान्ने प्रवृत्तिले धेरै पुरुष निर्देशित छन् । यही धारणाले कतिपय पुरुषमा आपराधिक मनोवृत्तिको विकास गरेको छ । शिक्षित, बौद्धिक र समाजमा मान–प्रतिष्ठा प्राप्त गरेका व्यक्तिहरू पनि यौन दुर्व्यवहारमा मुछिएका घटना हुनुका कारण यो पनि हो । खासमा यौन दुर्व्यवहारका कारण यस्ता व्यक्तिको इज्जत जानुपर्ने होइन ? प्रताडित महिलाको सट्टामा यिनीहरूले पीडा भोग्नुपर्ने होइन ? अब यस्तो बहस पनि हुनुपर्छ ।

पछिल्लो समय देशमा धेरै राजनीतिक परिवर्तन भएको छ । महिला सशक्तीकरण र जागरणजस्ता कार्यक्रमबाट लैंगिक समानता र सामाजिक संचनामा फरक ल्याउन खोजिएको छ । त्यसका निम्ति कतिपय नीति र कानुन बनेका छन् । तर सोचमा खासै फरक आएको छैन । समाजमा रहेको लैंगिक विभेदको गलत मूल्य–मान्यता हटिसकेको छैन, छोरालाई प्राथमिकतामा राख्ने चलन उस्तै छ । जस्तोसुकै नराम्रो काम गरे पनि छोरालाई छुट दिने र बचाउने कोसिस गरिन्छ । छोराको गल्तीलाई ढाकछोप र नजरअन्दाज गरिन्छ । छोरीबाट भने हरेक कुरामा अनुशासन र इज्जत खोजिन्छ । यही डरले कतिपय छोरीले आफू हिंसामा परेको पनि बताउन सक्दैनन् । यही संरचनाले छोरालार्ई हिंसक बनाएको छ भने छोरीलाई पीडित । यौन हिंसामा पनि त्यसको बाछिटा देखिन्छ । धेरै छोरी आफन्त, शिक्षक, छिमेकी र प्रेमीबाट बलात्कृत भएका छन् । घर–घरमा बलात्कार भएको छ । टोल–टोलमा बलात्कार भएको छ । दूधे बालिकादेखि ९० वर्षीया आमाहरू बलात्कारमा परेका छन् ।

अझै सबै घटना प्रहरीमा पुगेकै छैनन्, कति लुकाइएका छन् । बलात्कारका घटनालाई बाहिर आउन रोक्दा पीडकको मनोबल बढेको छ । यसले बलात्कारका घटनासमेत बढाएको छ । यसरी हेर्दा बलात्कार बढ्नुमा समाज दोषी छ । पितृसत्ता दोषी छ । बलात्कारका घटनाले महिलाको नभएर समाजको इज्जत गएको छ, देशको इज्जत गएको छ । यस्तो इज्जत बचाउन सम्पूर्ण समाज र देश लाग्ने कि नलाग्ने ?

बलात्कारीलाई संरक्षणको संस्कृति समाजभित्रै हुर्किरहेको छ । शिक्षामा पहुँच कम हुनु, बलात्कारसम्बन्धी कानुन कार्यान्वयन फितलो हुनुजस्ता कारणले बलात्कारका घटनालाई मलजल गरेका छन् । त्यसो त, बलात्कार कानुनी कारबाहीले मात्र रोकिँदैन । बलात्कारी मानसिकता बनाउने कारणको खोजी हुनुपर्छ । महिला आफैं बलात्कृत हुने र आफैं सामाजिक र मानसिक रूपमा सजायभागी हुनुपर्ने मनोवैज्ञानिक स्थितिको अन्त्य हुनुपर्छ, नत्र यौन हिंसा घटाउन सकिन्न । बलात्कार पीडितको नियन्त्रणभन्दा बाहिरको विषय हो । त्यसैले पीडितलाई इज्जत र सामाजिक न्याय दिनुपर्छ । पीडित महिलालाई तिरस्कार होइन, उसको जीवनयापनलाई सामान्य बनाउने कुरामा ध्यान दिनुपर्छ । महिलाको इज्जत शरीर र योनिमा हुन्न भन्ने बोध गर्नुपर्छ । अनि मात्रै पुरुषप्रधान समाज, वंशाणुगत सोच र सामाजिक धरातल भत्काएर महिलाप्रति सम्मान गर्ने धारणाको विकास हुन सक्छ ।

प्रकाशित : श्रावण २५, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?