मातृत्व उत्सव : अश्लीलता या क्रान्ति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मातृत्व उत्सव : अश्लीलता या क्रान्ति

अंग देखाएर ठूलै क्रान्ति हुने पनि होइन र देखाउँदैमा समाजको मर्यादा खलबलिएर ठूलै अस्थिरता उत्पन्न भइहाल्ने पनि होइन । यी त केवल व्यक्तिका अत्यन्तै निजी कुराहरू हुन् ।
सुमिना

एकातिर ‘महिलामा पाठेघर हुनु’ र ‘सन्तानोत्पादनको विशिष्ट गुण’ हुनुलाई लिएर महिलाहरू विशेष हुन् भन्ने स्थापित भाष्य छ । अर्कातिर, योनि र पाठेघर जस्ता अंग भएकैले महिलाहरू हिंसाको सिकार बन्ने गरेको तथा सन्तानोत्पादनको क्षमता भएकै कारण सन्तानोत्पादनदेखि संरक्षकत्वसम्ममा जीवनको धेरैभन्दा धेरै समय व्यतीत गर्नुपर्ने हुनाले महिला पछि परिरहेका छन् भन्ने तर्क पनि हावी हुने गरेको छ । यी दुई विषयले मातृत्वमाथि एकै पटक प्रशंसा र वितृष्णा पैदा गर्ने गरेका छन् । 

मातृत्वलाई अस्तित्व भन्दै गर्दा, सन्तानोत्पादनकै कारण महिलालाई विशिष्टताको दर्जा दिँदै गर्दा, जो सन्तानोत्पादन गर्न सक्दैनन्, के ती महिला नै होइनन् त भन्ने प्रश्न पनि उठ्न सक्छ । यो मानकले आमा बन्न नसकेका र नसक्ने अधिकांश महिलामाथि अन्याय हुने गरेको छ । उनीहरू आज पनि सामाजिक तिरस्कार र विशेष महिलाको श्रेणीमा अस्वीकृत हुने तीतो अनुभूतिबाट गुज्रिन बाध्य हुनुपरिरहेको छ । नारी अस्तित्वसँग जोडेर मातृत्वको महिमामण्डन गर्दैगर्दा अर्थात् कसैलाई उत्कृष्ट सिद्ध गर्दैगर्दा कतै हामीले कसैका लागि अपमान र निकृष्टताको श्रेणी त निर्माण गरिरहेका छैनौँ ?

भनिन्छ, आमा सृष्टि हुन्, उर्वरा हुन् । सृष्टिकर्ता भएकै कारण महिलालाई हिन्दु धर्मले देवीको श्रेणीमा स्थापित गरेका भाष्यहरू हामी प्रशस्त पाउँछौँ । सन्तानोत्पादन गर्न सक्ने क्षमताकै कारण महिलालाई जयजयकार गर्ने जुन परम्परागत संस्कार र मान्यता छ, त्यही मान्यताको आडमा सन्तानोत्पादन गर्न नसकेका महिलाहरूलाई समाजले पूर्ण महिलाका रूपमा स्वीकार गर्न नसकेका घटनाहरू पनि प्रशस्तै छन् । बच्चा जन्माउन नसकेकै कारण कतिपय महिला दिनहुँ अपमान र तिरस्कारको सिकार बन्नुपरिरहेको छ ।

यद्यपि, अस्तित्ववादी लेखक सिमोन द बोउवारले सन्तानोत्पादनलाई महिलाको महान् कार्यसँग तुलना गर्दिनन् । बरु उनी यसलाई महिला दासताको मूल कारणसँग जोडेर व्याख्या गर्छिन् । उनका अनुसार, महिला शक्तिसम्पन्न भएरै उर्वर थिइन् । उनमा प्रजनन क्षमता थियो, जुन क्षमता पुरुषसँग थिएन । अन्ततः यो विशेषता नै महिलामाथि दासता लाद्ने मूल कारण बन्न पुग्यो ।

सिमोनले आफ्नो पुस्तक ‘द सेकेन्ड सेक्स’ मा यसबारे विस्तृत व्याख्या गरेकी छन् । रजस्वला, गर्भाधान, प्रसवकालजस्ता सारा जैविक घटनाले महिलाको काम गर्ने क्षमतामा ह्रास ल्याउने गर्छन् । यही कारण महिलामा रहेको प्रजनन क्षमतालाई ठूलो कमजोरीका रूपमा लिएर पितृसत्ताले महिलामाथि हैकम जमाउन थालेको उनको ठहर छ ।

महिला शरीरको निषेधीकरण र बजारीकरण

सामन्ती समाजले अनुशासन र मर्यादाका नाममा महिलाको शरीरलाई सधैँ निषेधित घोषणा गरी शिरदेखि पाउसम्म ढाकछोप गर्नुपर्ने प्रावधान स्थापित गर्‍यो । फेरि पुँजीवादले स्वतन्त्रताको ‘स्याम्पल’ देखाएर विशेष महत्त्वका साथ नाङ्गिन प्रोत्साहित गर्न थाल्यो । पितृसत्तात्मक संरचनामा आधारित जुनसुकै युग पनि महिलामाथि आफ्ना नीति, नियम र निर्देशनहरूको लगाम लगाउन कतै चुकेको छैन ।

के नाङ्गिनु नै स्वतन्त्र हुनु हो ? के स्वतन्त्रताको परिभाषा शारीरिक नग्नतामा सीमित हुनु हो ? या, शिरदेखि पाउसम्म ढाकछोप गर्नु साँचो अर्थमा असल र सज्जन महिला हुनु हो ? जुनसुकै युगमा पनि पितृसत्ताले यसै गरी महिलाको लवाइखवाइलाई आफूअनुकूल परिभाषित गर्दै महिलाको शरीरमाथि हस्तक्षेप गरिरहेको छ । मानौं महिलाको शरीर फगत एउटा वस्तु हो । यो गुडियालाई कहिले नंग्याएर त कहिले ‘निषेधित क्षेत्र’ घोषणा गरेर महिलाको शरीर र स्वाधीनतामाथि पितृसत्ताले आजसम्म वर्चस्व लादिरहेकै छ । त्यसैले पोसाकसँग संस्कार, परम्परा र मर्यादालाई जोडेर महिलाको शरीरमाथि घृणित टिप्पणी गर्नेहरू पुँजीवादी युगमा बाँचिरहेका सामन्ती चेतका अवशेष हुन् भने, नाङ्गिन प्रोत्साहित गर्नेहरू महिलालाई वस्तुकरण गर्दै दलाल पुँजीवादी व्यवस्थालाई मलजल गरिरहने झुन्ड हुन् ।

हाम्रो समाजको संकीर्ण सोचबारे थाहा पाउन धेरै टाढा गइराख्नु पर्दैन । दिनहुँ यति सतही कुराहरूमा विवाद चुलिन्छ, जसमा विवादको कुनै आवश्यकतै छैन । कसले के खायो, के लायो, को कहाँ गयो, कसले कुन अंग कति देखायो भन्ने जस्ता अत्यन्तै अनावश्यक विषयमा विवाद हुनुले भनेको समाजको संकीर्ण सोचकै उपज हो ।

पछिल्लो समय नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले सार्वजनिक गरेका गर्भावस्थाका कारण ठूलो भएको पेटका तस्बिरहरूले सामाजिक सञ्जालमा ठूलै बहस निम्त्याए, जसमा सर्वसाधारणदेखि राजनीतिमा आबद्ध व्यक्तिहरूसम्म संलग्न देखिए । एकैसाथ दुई अतिवादी खेमाले समर्थन र विरोध एवं प्रशंसा र आलोचनाको शिखर ठड्याए ।

एउटा मानव अंगभन्दा पृथक् आखिर त्यस्तो के छ महिलाको कुनै अंगमा, जो देखिनु र नदेखिनुले समाजको मर्यादा जोगाउने र भत्काउने तय गर्छ ? कि समाजको मर्यादा केवल महिलाको शरीरमै अडिएको हो ? अनि फेरि, एउटी महिलाले जोगाएर जोगिने र नष्ट गरेर नष्ट हुने यो कस्तो सामाजिक मर्यादा हो ? एउटी महिलाले अझै कतिन्जेल आफ्नो अंगमा यो कथित मर्यादाको भार बोकेर हिँडिरहनुपर्ने हो ?

एउटी ‘हिरोइन’ ले अरू बेला शरीर प्रदर्शन गरिरहँदा ‘ग्ल्यामर’ भन्दै मन पराएर हेर्ने र फ्यान हुनेहरूले नै अहिले उनको गर्भावस्थाको शरीर हेर्न सकिरहेका छैनन् । अरू बेला त्यही शरीरलाई सुन्दर देख्नेहरूले गर्भावस्थामा कुरूप देखिरहेका छन् । वास्तवमा यो पितृसत्तात्मक दृष्टिकोण हो जसले महिलालाई फगत एउटा वस्तु देख्ने गर्छ ।

तसर्थ, विरोध नै गर्नु छ भने महिला शरीरलाई माल (वस्तु) बनाएर मुनाफा आर्जन गर्ने पुँजीवादी बजारको विरोध गरौँ । महिलाको चेतना र विचारलाई ओझेलमा पारेर अनुहार र शारीरिक सुन्दरतालाई प्राथमिकता दिँदै महिला–महिलाबीचमै उत्कृष्टता र निकृष्टताको प्रतिस्पर्धा गराउने तथाकथित सुन्दरी प्रतियोगिताहरूको विरोध गरौँ । महिलालाई ‘ग्ल्यामर’ का नाममा ‘सो पिस’ को वस्तु बनाएर मनोरञ्जन लिनेहरूलाई निजी अधिकारको सदुपयोग गर्दै कुनै महिलाले आफ्नो मातृत्व उत्सव भन्दै प्रदर्शन गरेको तस्बिरविरुद्ध बोल्ने कुनै अधिकार छैन । यस्तो प्रवृत्तिको पनि विरोध गरौँ ।

निजत्व र स्वतन्त्रताको समग्र भाष्य

समाज बहुआयामिक छ । स्वझावैले व्यक्तिका रचिहरू पनि बहुआयामिक छन् । सम्पूर्ण मान्छेको इच्छालाई एक व्यक्तिको इच्छाले प्रतिनिधित्व गर्न सक्दैन । कसैले मातृत्वलाई खुसीका रूपमा लिएर प्रदर्शन गर्न मन पराउँछ र यसो गर्दा उसलाई खुसी मिल्छ भने यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । निजी जिन्दगीमा व्यक्तिले आफ्नो सापेक्षिक स्वतन्त्रताको उपभोग गर्न चाहन्छ भने त्यसो गर्ने अधिकार उसलाई हुनुपर्छ । पेट देखाउनु व्यक्तिको निजी इच्छा र वैयक्तिक स्वतन्त्रताको कुरा हो ।

‘आफ्नो शरीरमाथि आफ्नो अधिकार’ भन्ने शब्दावलीको मर्मलाई यसले पक्कै पनि सुनिश्चित गर्छ । तर, समग्र उन्मुक्ति र स्वतन्त्रतासँग यसलाई जोडेर हेर्नु त्यति सार्थक हुँदैन । किनकि, अंग प्रदर्शन गरेर ठूलै क्रान्ति हुन्छ भन्ने ठान्नु भ्रम मात्रै हो । मान्छे वैचारिक रूपमै परिवर्तन र क्रान्तिका मूल्यमान्यता र सिद्धान्तहरूलाई आत्मसात् गर्छ भने शरीर देखाउने–नदेखाउने, के लगाउने, के खाने भन्नेजस्ता कुराहरू अत्यन्तै गौण हुन् । विचार परिवर्तनशील छ र परिवर्तनप्रति प्रतिबद्ध छ भने पेट नदेखाए पनि देखाए पनि र छोटो कपडा लगाए पनि वा पूरै जीउ ढाके पनि ऊ क्रान्तिकारी नै हुन्छ, प्रगतिशील नै हुन्छ ।

स्वतन्त्रताको परिभाषालाई आवरणमा देखिने परिवर्तनभन्दा अलिकति बाहिर निस्केर वैचारिक परिवर्तन र मजबुतीसँग जोडेर हेर्नुपर्छ । समस्या पेट देखाउनु या नदेखाउनु र यसमा बहस गर्नु होइन; बरु पुरातन संस्कार, संस्कृति, रूढि, अन्धविश्वास र दासतामाथि वैचारिक रूपमै विद्रोहचेत सिर्जना गर्नु हो । हिंसा र शोषणमाथि प्रतिकारका नयाँ शृङ्खलाहरू निर्माण गर्नु हो ।

खासमा अंग देखाएर ठूलै क्रान्ति हुने पनि होइन र देखाउँदैमा समाजको मर्यादा खलबलिएर ठूलै अस्थिरता उत्पन्न भइहाल्ने पनि होइन । यी त केवल व्यक्तिका अत्यन्तै निजी कुराहरू हुन् । फेरि, महिला मुक्ति र स्वतन्त्रताको समग्र भाष्य व्यक्तिका यस्ता सीमित स्वतन्त्रताभन्दा अलि परकै कुरा हो ।

त्यसैले, महिलाले शरीर देखाए समाजै भाँडिन्छ, अनिष्ट हुन्छ भन्ने तथा महिलाका अंगहरूप्रति घृणित दृष्टि राख्ने अत्यन्तै संकीर्ण तप्का अनि महिलाले शरीर देखाएरै ठूलै क्रान्ति हुन्छ र समाज रातारात बदलिन्छ भनेर निजी इच्छा र व्यक्तिगत स्वतन्त्रताको सवाललाई समग्रतामा जोडेर वादविवाद, विरोध र आलोचना गर्ने सबै जना अब यस्ता सामान्य कुराहरूबाट अलि माथि उठ्नु जरुरी छ ।

नकारात्मक मानसिकता बोकेर अब महिलाको शरीरप्रति घृणा व्यक्त गर्न र महिलाको शरीरलाई केन्द्रमा राखेर आफ्नो बौद्धिकताको गफ लडाउन बन्द गरौँ । महिलाको शरीरलाई आधार बनाएर आलोचना एवं प्रशंसाको जुहारी खेल्ने कामलाई अन्त्य गरौँ र महिला मुक्तिबारे सार्थक बहस गरौँ ।

प्रकाशित : श्रावण २०, २०७८ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

स्वर्ण पिँजडा

सुमिना

बाटोमा एकसुरले हिँडिरहेकी तिमी भोलि अचानक छाउन सक्छौ कर्पोरेट मिडियाहरुमा छाउन सक्छौ देशका शीर्ष अखबारका पाना र टेलिभिजनका पर्दाहरुमा बनेर सनसनीपूर्ण खबर

एकाएक भाइरल हुन सक्छ

सामाजिक सञ्जालमा

तिमीले लेखिरहेको ‘स्ट्याटस’

एकाएक चर्चित हुन सक्छ

कतै सेमिनारहरुमा

तिमीले बोलिरहेको सतही वाक्य

लगाइन सक्छन् बाटाघाटाका विद्युतीय पोलहरुमा

तिम्रा ठूलठूला पोस्टरहरु

चारैतिर तिम्रो अनुहार र व्यक्तित्वको

अतिशय बखान हुन सक्छ


त्यतिबेला

आफ्नो अतिशय चर्चाको खुसी मनाउँदै गर्दा

एक पटक अवश्य सन्देह गर्नु

यो कृत्रिम प्रसिद्धि

कतै आफ्नै पतनको कारक पनि त हुन सक्छ

अनि आशंका गर्नु

तिम्रो प्रसिद्धिमा भूमिका खेलिरहने

आफ्नै प्रचारकहरुप्रति

आशंका गर्नु

तिम्रो बखान गर्ने

आफ्नै शुभचिन्तक या प्रशंसकहरुमाथि

आशंका गर्नु

माइक्रोफोन बोकेर तिमीलाई पछ्याइरहने

भीडमाथि पनि

आशंका गर्नु

हातहातमा उपलब्ध मोबाइल फोनहरुमाथि

र आशंका गर्नु

तिमीतिर सोझिएका डिजिटल क्यामेराहरुमाथि

होसियार हुनु

हुन सक्छ

प्रोपोगान्डा या बजार ‘मास एटेन्सन’ को सिकार बनाएर

लैजान सक्छ तिमीलाई तिमीभन्दा पर

एक पृथक् दुनियाँमा

जहाा तिमी फुर्सदमा एक पटक

अवश्य झस्किनेछौ आफ्नै आवृत्तिसँग


अलिकति गाजल र गुलाबी लिप्स्टिकको सहारामा

तिम्रो अस्तित्व निमिट्यान्न पारी

तिमीलाई कैद गर्न सक्छ

मानवताभाव, संवेदना र चेतना निचोरेर

आधुनिक युवतीजस्तै देखिने एउटा निर्जीव स्केचमा

जोसाग मानवीय आकृति त छ

तर, कतै दबिएको छ मानवीय संवेदना

जो हरबखत बजारको तालमा आफूलाई प्रस्तुत गर्छे

कहिले विज्ञापनको साधन बनेर

त कहिले नर्तकी बनेर

कतै यौनकर्मी बनेर

त कतै सेवा प्रदायक वस्तु बनेर


याद गर

यतिबेला युगको आँगनमा

मडारिइरहेको छ पुँजीवाद

जो तिम्रो अस्तित्वका निम्ति सबैभन्दा घातक छ


हे स्त्री,

युगको आँगनमा मडारिइरहेको पुँजीवादको साङ्लो

थाहै नपाई बेरिन सक्छ तिम्रो गर्धनमा

जो अति उदारताको ‘स्याम्पल’ देखाएर

सिद्ध हुन सक्छ तिमीमाथि अनुदार

दूर क्षितिजतर्फ लक्षित गर्दै

स्वतन्त्र उडानको सपना देखाएर

काटिदिन सक्छ सधैंका लागि

तिम्रो हौसलाको पंख

र कैद गरिदिन सक्छ स्वर्ण पिँजडाभित्र

एउटा रंगीन दुनियााको

सुसज्जित सुन्दर र रंगीन पन्छी बनाएर...!!

प्रकाशित : असार २६, २०७८ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×