कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

किन दोहोरिँदै छ मेलम्चीमा विपत् ?

मेलम्चीका साथै इन्द्रावतीको उपल्लो तट पहिरो प्रकोपका लागि अति सम्भावित क्षेत्र मानिन्छ । यी क्षेत्रहरूमा पहिलेदेखि नै रहेका अनगिन्ती पहिरो र सतही भूक्षय जस्ता भौतिक क्रियाकलापहरुले यी कुरालाई इंगित गरिरहेका थिए ।
खोलानजिकै रहेका पुराना बस्तीहरू, खोलानजिकै गरिएका खेतीपाती, उपल्लो तटमा सम्भावित प्रकोपलाई सही तरिकाले विश्लेषण नगरिकन बनाइएका ठूलठूला आयोजना तथा सडक निर्माण आदिले विपद्‌बाट हुन सक्ने क्षतिको जोखिम बढेको छ । 
सुबोध ढकाल

प्रत्येक वर्षायाममा बाढीपहिरोको चपेटामा परी धेरै जनधनको क्षतिको नियति भोग्दै आएका हामीलाई यो वर्षको मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकको मेलम्चीमा भएको मानवीय र भौतिक क्षतिले निकै चिन्तित बनाएको छ ।

किन दोहोरिँदै छ मेलम्चीमा विपत् ?

मनाङ, मुस्ताङ जस्ता हिमाली क्षेत्रमा समेत ठूलो बाढी आई भएको क्षतिले अझै बढी सोचमग्न तुल्याएको छ । बाढीको यो परिमाणको कहर र क्षति पूरै अनपेक्षित नभए पनि धेरै अपेक्षित पनि थिएन । अझै बढी चिन्ताको विषय के हो भने मेलम्ची लगायतका धेरै स्थानमा यस्ता विपत्का घटनाहरू दोहोरिइरहेका छन् । जस्तो कि, साउन १८ गते मात्रै मेलम्चीमा अर्को ठूलो बाढी आयो र उल्लेख्य मात्रामा पूर्वाधार तथा अन्य क्षेत्रमा भौतिक क्षति गरायो ।

मेलम्ची, मनाङ र मुस्ताङका साथै देशका धेरैजसो पहाडी भागमा पछिल्लो समय भइरहेका बाढीपहिरोका घटनाहरूमा सबैतिर देखिएको समान प्रकृति के हो भने विपत्को स्वरूप परिवर्तन गराउने मुख्य कारक र विपत्को सुरुवाती कारक सानाठूला पहिरो र भूक्षय नै छन् । कमजोर भौगर्भिक बनोट, भौगोलिक परिस्थिति, २०७२ सालको भूकम्प, बस्ती विकास, पूर्वाधार विकास, अन्य मानवीय क्रियाकलाप, जोखिम घटाउने हाम्रा तौरतरिका र आकाशे पानीले गर्दा बाढीपहिरो बढेका हुन् । अहिलेको समयमा पहिरो आउनु अति गम्भीर विषय हो । अहिलेको समयमा जसरी पहिरोहरू गइरहेका छन् र जसरी तिनले मानिसहरूको ज्यान लिइरहेका छन्, त्यो पहिलेको भन्दा अलि बढी नै आक्रामक देखिन्छ । खासमा विपत्का लागि आवश्यक पहिलो सर्त भनेको प्रकोपको उच्च सम्भावना छ कि छैन र छ भने त्यसको प्रकृति कस्तो छ भन्ने नै हो ।

मेलम्चीकै कुरा गर्दा, यसको र इन्द्रावतीको उपल्लो तट पहिरो प्रकोपका लागि अत्यन्तै सम्भावित क्षेत्र मानिन्छ । यी क्षेत्रहरूमा पहिलेदेखि नै रहेका अनगिन्ती पहिरो र सतही भूक्षय जस्ता भौतिक क्रियाकलापहरूले यो कुरालाई इंगित गरिरहेका थिए । मेलम्चीको उपल्लो तटीय क्षेत्रमा प्रमुख दुइटै नदीका छेउछाउमा समेत ठूलो संख्यामा रहेका यस्ता पहिरो र भूक्षय, धेरै स्थानमा दायाँबायाँको बढी भिरालो जमिनमा साँघुरिएर बगिरहेका नदीहरू, खोलाहरूले निरन्तर रूपमा गरिरहेको पुराना पहिरोको खुट्टाको कटान (टो कटिङ), धेरै स्थानमा खोलानजिकै पुरानो पहिरोले जम्मा गरेका तर राम्ररी नखाँदिएका डेब्रिस फ्यानका थुम्काहरू रहनु जस्ता पक्षहरूले यस्ता कमजोर स्थानमा कुनै पनि बेला पहिरो जान सक्ने र तिनले खोला थुन्न सक्ने सम्भावना अधिक रहेको पनि देखाइरहेका थिए । तर हामीले प्रकोपका यस्ता इन्डिकेटरहरूलाई चिन्न सकेनौं अथवा वास्ता गरेनौं ।

त्यस्तै, योभन्दा पहिले पनि उपल्लो तटीय क्षेत्रमा पहिरो गई खोला थुनिएको, यसरी थुनिएको खोलामा जम्मा भएको डेब्रिसलाई पानीले भित्रभित्रै कटान गर्दै र खोल्दै तलतिर बग्ने बाटो बनाएको, पछि दायाँबायाँ जम्मा भएको गेग्रानलाई पनि कटान गर्दै पहिरोका रूपमा झार्दै आफूसँगै लिएर हिँड्दा डेब्रिस फ्लोको रूप लिएको देखिन्छ । अर्को महत्त्वपूर्ण कुरा, भिरालोपन बढी भएका स्थानहरूमा रहेका चट्टानहरू धेरै जोर्नीयुक्त हुनुका साथै धेरै ठाउँमा टुक्राटुक्रा परेको र पहिले नै आपसी घर्षणका कारण डिफर्मेसन भइसकेको देखिएको छ, जसले पहिरोको सम्भावनालाई बढाउने गर्छ । कुन ठाउँमा कस्तो असर गर्‍यो, पर्याप्त अध्ययन र अनुसन्धानको अभावमा ठ्याक्कै भन्न सकिने अवस्था नभए पनि २०७२ को भूकम्पका कारण जमिन बढी हल्लिने क्रममा चट्टान र माटोमा फ्याक्चर बढाइदिएको र खुकुलो बनाएको अनुमान गर्न कत्ति गाह्रो छैन । भूकम्पले धेरै ठाउँमा जमिनमा चिरा पार्नुका साथै भ्वाङ पनि बनाएको हुन सक्छ । यस्तो अवस्थामा पानी अलिक धेरै पर्दा र समय बित्दै जाँदा पहिरो ल्याउने प्रिपारेटरी फोर्सहरूले पहिरो जान नदिने बललाई जित्ने हुँदा प्रकोपको सम्भावना ह्वात्तै बढाइदिन सक्छन् । यस्ता चिरा र भ्वाङहरूबाट पानी सजिलै जमिनमुनि छिर्ने र जमिनलाई गलाई पहिरोको रूप लिने हुन सक्छ ।

साथै खहरे खोलाहरूले धेरै मात्रामा गेग्रान ल्याई मुख्य नदीको आसपास छोड्दै गएको देखिएको छ । कतिपय स्थानमा जमिनमुनिको पानीको बहावको दिशामा समेत परिवर्तन भएको हुन सक्छ, जसले पहिरो ल्याउन सहयोगी भूमिका खेलेको सम्भावना छ । भौगर्भिक विचित्रता भएको हाम्रो जस्तो देशमा भौगर्भिक तथा सतही भौतिक प्रक्रियामा अझै विषम रहेको सिन्धुपाल्चोक जस्तो ठाउँमा भौगर्भिक हेटेरोजिनिटी पनि रहेका कारण जहाँ–जहाँ यस्ता भौगर्भिक सिमानाहरू हुन्छन्, ती–ती स्थान अझै कमजोर हुने कारणले आकाशे पानी जमिनमुनि छिर्ने गर्छ र पहिरो निम्त्याउँछ ।

अर्कोतिर, मेलम्ची भएर बग्ने मुख्य दुइटै नदीहरूको उद्गमस्थल हिमाली क्षेत्रमा पर्छन् । ती स्थानहरूमा पनि जलवायु परिवर्तनको असरका रूपमा रहेको सतही जमिनको तापक्रम बढ्दै गएको छ । हिउँहरू पग्लिने क्रम बढ्दो रहेकाले हिमतालको संख्या विस्तार हुँदै गएको यथार्थ अध्ययनहरूले देखाइरहेको अहिलेको अवस्थामा हिउँ पग्लिने र ग्लेसिएर रिट्रिट हुँदै गएका कारण जमिनको सन्तुलनमा भिन्नता देखिँदै जानु स्वाभाविकै छ । हिउँ हुँदाको र नहुँदाको जमिन अथवा हिउँ तथा बरफको मोटाइ अनि परिमाणमा आएको परिवर्तनले जमिनको सन्तुलनमा भिन्नता ल्याउने तथा पग्लिएको पानी र हिउँको माटोढुंगा खियाउने प्रक्रियासँगै जमिनको सन्तुलनमा पनि सोहीअनुसार फरक पर्दै जाँदा यी हिमाली क्षेत्रमा समेत पहिरो जान सक्ने सम्भावना बढ्दै गएको छ ।

केही महिनाअघि भारतको उत्तराखण्डमा हिमाली क्षेत्रमा गएको पहिरोका कारण ठूलो मात्रामा हिउँ पग्लिएर तल्लो तटमा भयंकर बाढी आई धेरै जनधनको क्षति भएको थियो । मेलम्चीमा यस्तै प्रक्रियाले विपत् निम्तिएको हो भनी ठोकुवा गर्न नसके पनि विस्तृत अध्ययन नभइसकेको अहिलेको अवस्थामा यो सम्भावनालाई पूरै नकार्न भने सकिन्न । मुख्य कारण यो नहुँदा पनि हिमाली क्षेत्रमा भइरहेका सतही भौतिक प्रक्रिया र ससाना भूक्षयका कारण जम्मा भएको गेग्रान पानी बढी परेर बग्दै तलतिर आइपुग्दा कटानको क्षमता र क्युमिलेटिभ इफेक्टका कारण बाढीको तीव्रता बढाउन सक्ने हुन्छ । यस्तो प्रक्रियाले भिरालो जमिनमा बगेको नदीको दायाँबायाँ कटान गर्ने क्षमता बढाउनुका साथै अघि नै भनिए जस्तै पुरानो पहिरो, डिफर्मेसन भइसकेका चट्टान, पहिलेको डेब्रिस फ्यानलाई कटान गर्ने र हल्लिएको जमिनलाई गलाउँदै पहिरो ल्याउने प्रक्रियामा बल पुर्‍याउने गर्छ ।

उपल्लो तटमा पहिरोको यस्तो प्रचुर सम्भावना रहेको मेलम्चीमा विपत्को मुख्य कारक दुइटै नदीका उपल्लो तट नै हुन् भनी बुझ्न अब गाह्रो नहोला । तर यति धेरै क्षति हुनुमा भने अर्को अवस्थाबारे, जसलाई भल्नराबिलिटी पनि भनिन्छ, जान्नु जरुरी छ । खोलानजिकै रहेका पुराना बस्तीहरू, खोलानजिकै गरिएका खेतीपाती, उपल्लो तटमा सम्भावित प्रकोपलाई सही तरिकाले विश्लेषण नगरिकन बनाइएका ठूलठूला आयोजना तथा सडक निर्माण आदिले विपत्बाट हुन सक्ने क्षतिको जोखिम बढेको छ । हाम्रो अध्ययनमा सन् २०१५ पछि यो क्षेत्रमा विपत्को जोखिम बढेको देखिएको छ । व्यवस्थित भूउपयोग नीति लागू गर्न नसक्नु विपद्‌बाट क्षति बढ्नुको अर्को कारक हो ।

मेलम्ची त एउटा प्रतिनिधि घटना मात्र हो, नेपालका अन्य धेरै पहाडी भाग पनि मेलम्चीकै अवस्थामा छन् । यस्तै घटना दोहोरिन सक्ने उत्तिकै सम्भावना रहेका यस्ता स्थानको पहिचान, प्रकोप व्यवस्थापन र समग्रमा विपत्को जोखिम न्यूनीकरणमा ढिलो नगरी लागिहाल्नुपर्ने देखिन्छ । हुन त वर्षा सुरु भएर मानिसहरूको ज्यान जान थालेपछि मात्र यसको कारण, रोकथाम र जोखिम घटाउने उपायबारे चासो राख्नु हाम्रो परम्परा नै बनिसकेको छ, तैपनि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत काम थालिसकेकाले अहिलेको समयमा सकारात्मक परिवर्तन खोजिरहेका हामीले भविष्यमा यसका कामहरू कस्ता होलान् भन्नेमा बढी चासो राख्नु स्वाभाविक नै हुन्छ । मेलम्चीबाहेक पनि यो वर्षका पहिरोहरूबाट किन छिटोछिटो बढी मानवीय क्षति भइरहेको छ भन्नेबारे अध्ययन र विश्लेषण हुन सके देशभरि यस्तै प्रकृतिका भौगर्भिक बनोट, प्राकृतिक धरातल र मानवीय क्रियाकलापमा रहेका स्थानहरूलाई सुरक्षित राख्न मार्गनिर्देश हुन सक्छ । कमीकमजोरीबाट पाठ सिक्दै जानुको विकल्प छैन । त्यसमा पनि विपत् व्यवस्थापन मानिसको जीउधनसँग गाँसिएको अति नै संवेदनशील क्षेत्र भएका कारण यसलाई भविष्यका लागि ठूलो पाठका रूपमा लिन सकियो भने सम्भावित क्षतिलाई अवश्य कम गर्न सकिन्छ ।

(ढकाल इन्जिनियरिङ भूगर्भविद् हुन् ।)

प्रकाशित : श्रावण २०, २०७८ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?