कोरोना र आत्मचिन्तन- विचार - कान्तिपुर समाचार

कोरोना र आत्मचिन्तन

राजनीतिक लोकप्रियतावादको आयु कति छोटो हुँदो रहेछ, खड्गप्रसाद शर्मा ओलीको राजनीतिले सिद्ध गरेको छ ।
लोकराज बराल

कोरोना महामारी सबैको सोचभन्दा बाहिरको विषय थियो । यसबाट विकसित या शक्तिशाली भनिनेदेखि कम विकसित भनिएका देशका जनतासम्म एकैनासले प्रभावित भए । रोग र मृत्युले धनी, गरिब, शक्तिशाली र निर्बल भनी भेद गर्दो रहेनछ । आफूले चिने–जानेका धेरै मित्रको मृत्युको कारक कोरोना बनेको खबरले केही समय दुःखित बनाए पनि त्यसले मानिसको दिनचर्यामा फरक पारिरहने गर्दो रहेनछ ।

आफूलाई पर्दा सबैको सहानुभूति चाहनेहरू पनि अर्काको दुःख र पीडा आफैंलाई परेसरह नठान्ने रहेछन्, जुन मानिसको स्वार्थी स्वभावलाई दर्साउने एउटा उदाहरण हो । मानिस स्वार्थप्रेरित नभए त संसारमा आदिमकालदेखि रहँदै आएको आर्थिक–सामाजिक विषमता, जातीय भेद या छुत–अछुत, गरिब–धनी नभई विश्वव्यवस्था समानतामा अडेको हुने थियो । कविशिरोमणि लेखनाथ पौड्यालले ‘तरुण तपस्वी’ मा वर्णन गरेको मानिसको स्वभाव यथार्थपरक छ । कवि लेख्छन्, ‘म खाऊँ मै लाऊँ, सुखसयल वा मोज म गरूँ / म नाचूँ मै गाऊँ अरू सब मरून् दुर्बलहरू / भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी / चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।’ कोरोना खोपको वितरणमा समेत आफ्ना र पराईको भेद गरी आफ्ना नातागोता र निकटस्थलाई खोप सुलभ गराउने र अरू सर्वसाधारणचाहिँ सरकारी नियमअनुसार चल्नुपर्ने यो कस्तो समाजवाद हो ?

कोरोनाले नेपाल बन्द हुन थालेपछि हामी सबैको दिनचर्या बदलिन थाल्यो । हुनेले घरमा दिनकटनीका लागि खानपिनदेखि उठबससम्ममा बदलाव ल्याउन थाले भने नहुने गरिबलाई खाने, सुत्ने र बच्ने समस्याले पिरोल्न थाल्यो । जनसेवी संस्था र व्यक्तिहरूले रोजगारबिनाका त्यस्ता असहायहरूलाई खानाको व्यवस्था गरी भोकभोकै मर्नबाट बचाए भने अरूले आर्थिक सहयोगको हात बढाए । तर नारामा सीमित सरकार भने ‘भोकै मर्न कसैलाई दिँदैनौं’ भन्ने नारा लाउनबाहेक काममा सक्रिय भएको आभास कतै पाइएन । उल्टै विदेशबाट ल्याइने खोपमा समेत भ्रष्टाचार भएको आरोप लाग्दा सामान्य छानबिनसम्म नगरी कतै भ्रष्टाचार नभएको तर्क सरकार प्रमुखबाटै आउँदा जनता आक्रोशित हुनु स्वाभाविकै हो ।

कोरोनाले हामी सबैको जीवनमा ठूलो असर पारेको छ । मानिसले चाहेजसरी हिँडडुल गर्न पाएका छैनन् । बन्दीजस्तो भई व्यवहार गर्नुपर्ने बाध्यता छ । मुलुकहरूको आर्थिक अवस्था झन् जटिल बन्दै गएको छ । गरिबीको मात्रा बढ्ने र रोजगारी घट्ने अवस्थाले अभावग्रस्त बनेका जनताले राहत कसरी पाउलान्, भन्न सकिँदैन । रोजगारी सृजना गर्न सरकार असफल भइरहेछ । नेपालजस्तो देशका लागि त मानवीय समस्या विकराल हुने सम्भावना बढ्ने देखिन्छ । सरकारले मितव्ययिताको नीति राम्ररी अवलम्बन नगरी परम्परावादी शैलीमै शासन चलाए आउने दिनहरू झन् कठिन हुनेछन् । समाज परिवर्तन र आर्थिक समानताका लागि सरकार र अन्य राजनीतिक दल सक्रिय हुनुपर्छ । विशेष गरी दलित र अन्य असहाय वर्ग या जातिको सशक्तीकरण र समावेशीकरण गरी संविधानको यथार्थ रूपमा पालना गर्नुपर्छ । होइन भने लोकतन्त्र नक्कली अभ्यासमा मात्र सीमित रहनेछ ।

मेरो व्यक्तिगत दिनचर्यामा कोरोनाले सकारात्मक नै प्रभाव पार्‍यो । मैले विश्वइतिहास फेरि एक पटक पढ्ने र बुझ्ने अवसर पाएँ । चीन र भारतको प्राचीन सभ्यताको व्यापकता र आपसी सद्भाव उल्लेख गर्न लायक छन् । चंगेज खाँले दिल्ली–चढाइ गरेपछि एकै चोटि सन् १९६२ मा छोटो समयका लागि सीमायुद्ध भएको र त्यसपछि छिटपुट घटनाबाहेक व्यापक युद्ध नभएकाले भविष्यमा पनि यी दुई एसियाली राष्ट्र शान्ति कायम गरिराख्न सक्षम हुनेछन् भन्न सकिन्छ ।

घरबसाइमा म नेपाल–भारत सम्बन्धका अनेक पक्षबारे अझ बढी जानकारी लिने प्रयासमा लागिरहेको छु । नेपालका लागि भौगोलिक परिवेशको आफ्नै स्थान भए पनि भूगोलले सामाजिक, आर्थिक, राजनीतिक र वैयक्तिक पक्षलाई धेरै प्रभाव पारेको हुन्छ । भारतको धर्म, संस्कृति, सामाजिक संरचना र व्यवहार, आहार, विहार धेरै नेपालीसित मिल्ने भएकाले दुई देशको सम्बन्ध गहिरो र व्यापक छ । शशि थरुर ‘ह्वाई आ’म अ हिन्दु’ पुस्तकमा हिन्दुत्व र हिन्दुवादको भेद उल्लेख गर्दै धार्मिक अतिवादका विपक्षमा उभिई धर्मलाई राजनीतिक हतकण्डा बनाउन नहुने तर्क गर्छन् । कर्ण सिंहले उपनिषद् र गीताको व्याख्या गर्दा भारतको संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षतामाथि प्रश्न गर्दैनन् । उनी सबै धर्मलाई समान ठान्छन् ।

गान्धीले ‘ईश्वर अल्लाह तेरो नाम’ भन्दा र अछुतलाई हरिजन भन्दा भारतलाई हिन्दु राष्ट्र घोषणा या जात प्रथाको वकालत गर्नुपरेन । उनी वास्तविक रूपमा धर्मनिरपेक्ष राज्यको प्रकृतिको वकालत गर्थे । राधाकृष्णन सत्यलाई ईश्वर मान्थे । सद्गुरुको प्रवचन या अन्तर्वार्ता होस् वा ओशोको व्याख्या, ती सबैमा नयाँपन पाइन्छ । सद्गुरुले शिवको व्याख्या आफ्नै किसिमले गरेका छन् । बुद्ध, गान्धी, विवेकानन्द, अरविन्दो आदिका विचारमा अतिरञ्जना पाइँदैन । नेपाली सभ्यतामा पनि अनौठो मिश्रण पाइन्छ, यो समन्वयकारी र फराकिलो छ ।

नेपालमा भारतको नरम शक्ति — जसलाई जोसेफ ने ‘सफ्ट पावर’ भन्छन् — को प्रभाव धेरै छ । भारतीय सिनेमा, गीत र समान सभ्यताका अन्य आयामले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सधैं मद्दत गरेका छन् । नेपालमा कुनै सिनेमा नबन्दा र संगीत पनि त्यति विकसित नभएका बखत भारत एक मात्र मनोरञ्जनको स्रोत थियो र आजपर्यन्त छँदै छ । मैले दिलीप कुमारको भूमिका भएको ‘शहीद’ सिनेमा जोगबनीमा हेरेको सम्झना अझै ताजै छ । नेपालका हुनेखाने परिवारका कतिपय सदस्य या युवा ‘शोले’ हेर्न नेपाल वायुसेवा निगमको हवाइजहाजमा बेलुकी दिल्ली गई अर्को दिन फर्किन्थे । भाषा र अन्य कारणले भारतसितको सांस्कृतिक सम्बन्ध कायम गर्न सधैं मद्दत मिलेको छ । आज पनि भारतीय टेली सिरियल, सिनेमा, नृत्य र अन्य प्रोग्राम सधैं लोकप्रिय भएका छन् । ‘इन्डियन आइडल’ हेर्न धेरै नेपाली उत्सुक हुन्छन् । संगीतले सबैको मन छुने भएकाले संगीतप्रेमीहरू यस्ता कुरा छुटाउँदैनन् ।

मैले यसपल्टको ‘इन्डियन आइडल’ सुरुदेखि हेर्दै आएको छु । दिनमा दुई–तीन घण्टा यस्तै संगीत सुन्दै–हेर्दै आएको छु । यसपल्टको आइडलमा पवनदीप राजन र अरुणिता कान्जीलालको जोडी अति लोकप्रिय छ । म पवनदीपको ठूलो फ्यान भएको छु । उसको सादगी, स्वभाव र गायन सबै मिलेको छ । उसको बोलीलाई धर्मेन्द्रले रेशमी आवाज भनेका छन् भने भारतीय सिनेमाका धेरै हस्ती उसका प्रशंसक भएका छन् । पवनदीपका फ्यान त पवनदीप र अरुणिताको बिहे नै भएको हेर्न चाहन्छन् । उमेरले असी नाघिसकेको म जस्तालाई यस्तो गायनले जीवन रसिलो पार्न मद्दत गरेको छ । पवनदीपप्रति बढी झुकाव हुनुमा उसको नेपालसितको सामीप्य पनि हो । पवन उत्तराखण्डको चम्पावत जिल्लाको बासिन्दा हो र उसको कुमाउनी भाषा नेपालीसित धेरै मिल्छ । उसले नेपाली गीत पनि गाएको छ । आज पवनदीप धेरैको हृदयमा पुगेको छ ।

पहिले प्रशान्त तामाङलाई जिताउन नेपालीहरूले भोट हालेका थिए । यसपल्ट पवनदीप आफैं अति लोकप्रिय भएकाले जित्ने सम्भावना बढी छ । तर पवनदीपको बुझाइमा जित्नु मात्र ठूलो कुरा होइन । उसका लागि कोही प्रतिस्पर्धी नभई सबै साथी हुन् र भोलि सबै मिली अघि बढ्ने सोच बनाएका छन् । पवनदीपजस्तै सोचाइ गायिका शायली काम्बलेको पनि छ । पवनदीपले गजलको लाइन बिर्सिंदा उसले स्टेजबाहिरबाट गाएर उसको सहयोग गरेकी थिई । प्रतिस्पर्धीहरूमा यस्तो सहयोग विरलै पाइन्छ । राजनीतिमा यस्तै सहयोगात्मक भावना विकास भए कति राम्रो हुन्थ्यो !

लकडाउनका कारण घर बस्नुपर्दा मजस्तो चुलबुले स्वभावको मानिसलाई अप्ठ्यारो त पर्दो रहेछ तर साथसाथै जीवनलाई नयाँ किसिमले व्यवस्थापन गर्ने कलाको विकास पनि हुँदो रहेछ । पुस्तक पढ्ने र संगीतमा रमाउने बानी भएको म जस्तालाई एउटा युवकसरह रोमाञ्चित हुने मन बनाउन सक्ता पनि समय काट्न गाह्रो पर्दो रहेनछ । रमाउन सकिने अनेक पक्षलाई आत्मसात् गर्दा जीवन सधैं रसिलो हुन्छ । धैर्यले मानिसलाई अझ परिपक्व र चिन्तक बनाउँदो रहेछ र परिवर्तन आफैंभित्र विकसित हुँदो रहेछ । राजनीतिक उथलपुथल, दलहरूका नेताहरूको स्वार्थका लागि मारामार, संविधान र कानुनको आफ्नै स्वार्थअनुरूप व्याख्या र घात–प्रतिघातको सूक्ष्म अवलोकन र निष्कर्षका लागि स्वचिन्तन बढ्दो

रहेछ । राजनीतिक लोकप्रियतावादको आयु कति छोटो हुँदो रहेछ भन्ने पनि खड्गप्रसाद शर्मा ओलीको राजनीतिले सिद्ध गरेको छ । अबको राजनीति कता जाला र लोकतन्त्रको भविष्य के होला भन्ने प्रश्न आउनु स्वाभाविकै हो तर जनता सचेत र लोकतन्त्रप्रति प्रतिबद्ध छन् भन्ने आधार पनि विकसित घटनाले प्रमाणित गर्दै लगेका छन् । कस्तो लोकतन्त्र भन्ने प्रश्नको चाहिँ अब सही जवाफ चाहिएको छ । चुनिएका जनप्रतिनिधिहरू, खास गरी सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली, क्षमता; जनता रिझाउन सक्ने कार्यक्रमको सही कार्यान्वयन; सर्वसाधारणले स्वच्छ शासनको अनुभव गर्न सक्ने तन्त्रको विकास हुने भयो कि भएन भन्ने पक्षहरू लोकतन्त्रका मापदण्ड हुन् ।

लोकतन्त्रका केही आधारभूत मान्यता परिपालन भए शासकीय स्वरूपको ग्राह्यता स्वतः सिद्ध हुन्छ । जनताले सोझै छानेको राष्ट्रपति या आज नेपालले तय गरेको व्यवस्थामा अन्तर रहनेछैन, चुनिएको नेताले संविधानको अक्षर र भावनाको पालना गरेदेखि । पूर्ण वा अर्ध राष्ट्रपतीय प्रणालीले स्थापित संस्था कसरी भताभुंग पार्न र लोकतन्त्रको उपहास गर्न सक्छ, ट्रम्पको सन्दर्भ ताजै छ । त्यसैले पात्र र व्यवस्थाबीच गहिरो सम्बन्ध छ । देशको राजनीतिक–सामाजिक पृष्ठभूमि, राजनीतिकर्मीको अभिमुखीकरण र न्यूनतम मूल्यमान्यताप्रतिको समर्पण एवं अठोटले मात्र लोकतन्त्रलाई सही अर्थ दिन सक्छ । मैले यस दौरान आफ्ना केही पूर्वधारणा बदली परिवर्तन र लोकतन्त्रका सन्दर्भमा व्यवस्थाभन्दा पनि पात्रहरू बढी सार्थक हुन्छन् भन्ने निष्कर्ष निकालेको छु ।

कोरोनाले आतंकित नहुने तर नयाँ किसिमले बाँच्ने उपाय सिक्नुपर्ने पाठ पढाएको छ । अब आफैंले आफ्नो रक्षा गर्न सिक्नुपर्ने, लापरबाही गर्न नहुने ज्ञान पनि दिएको छ । कोरोनाकै कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ, साना र कम विकसित देशका जनतालाई रोजीरोटीको समस्या चर्किन थालेको छ । नेपाल–भारत सीमामा देखिने नेपालीहरूको ताँती र घरभित्रको बेरोजगारीले हताश बनाएको छ । भनिएको दुईतिहाइ र बलियो सरकारका नेता आफ्नै गुणगानमा रमाई जनताका आधारभूत समस्यालाई बेवास्ता गरिएको पाइँदा लोकतन्त्रको उपहास भएको पाइयो । अब देउवा सरकार कसरी प्रस्तुत हुन्छ, हेर्न बाँकी छ ।

प्रकाशित : श्रावण १७, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लाबाट विश्वलाई नयाँ वनस्पति

सौसुरिया टालुंगेन्सिस ढुंग्यानी भिरालोमा, समुद्र सतहबाट ४३ सय मिटर उचाइमा भेटिएको थियो । यो जुलाईदेखि सेप्टेम्बरसम्म फुल्ने–फल्ने रहेछ ।
कमल मादेन

हरेक वर्ष विश्वभर वनस्पतिका करिब २ हजार नयाँ प्रजाति पत्ता लाग्ने गरेका छन् । यो तथ्यांक ब्याक्टेरिया र फन्जाईबाहेक अन्य वर्गका वनस्पतिको हो । सन् २०१६ मा, प्रसिद्ध जर्नल ‘फाइटोट्याक्सा’ मा प्रकाशित ‘द नम्बर अफ नोन प्लान्ट्स स्पेसिस इन द वर्ल्ड एन्ड इट्स एनुअल इन्क्रिज’ शीर्षक लेखअनुसार, विश्वभर फूल फुल्ने वनस्पतिका २ लाख ९५ हजार ३ सय ८३ प्रजातिको पहिचान भएको रहेछ । 

रोयल बोटानिक गार्डेन्स, लन्डनले सन् २०२० मा प्रकाशित गरेको ‘स्टेट अफ द वर्ल्डस् प्लान्ट्स एन्ड फन्जी’ शीर्षक पुस्तकअनुसार एसिया, दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट अहिलेसम्म क्रमशः ३६, ३४, १२, ८, ५ र ५ प्रतिशत वनस्पति पहिचान भएको जनाइएको छ । फन्जाई अर्थात् ढुसी वर्गको वनस्पति एसियाबाट ४१ प्रतिशत पहिचान भएको रहेछ ।

एसियामा वनस्पति प्रजाति सबैभन्दा बढी हुने १० देशमा चीन, इन्डोनेसिया, म्यान्मार, भारत, मलेसिया, पपुवा न्युगिनी, फिलिपिन्स, भियतनाम, इरान, थाइल्यान्ड छन् । नेपाल ११ औं स्थानमा पर्छ । विश्वमा भने ब्राजिल, चीन, भारत र नेपाल क्रमशः १, २, १३ र ३५ औं स्थानमा छन् । लाओस, पाकिस्तान, भुटान, अफगानिस्तान क्रमशः ३६, ३८, ४४ औं स्थानमा छन् ।

नेपालबाट केही वर्षयता फूल फुल्ने वनस्पति प्रतिवर्ष दुई–तीन प्रजाति पत्ता लागिरहेका छन् । यो वर्ष अप्रिल र जुलाईमा एक–एक प्रजाति भेटिइसकेका छन् । ती दुईमध्ये अप्रिलमा पत्ता लागेको नयाँ प्रजातिबारे चर्चा यहाँ गरिँदै छ । त्यो जानकारी सुरेशकुमार घिमिरे र हुमकला रानाले पत्ता लगाएको सम्बन्धी लेख ‘फाइटोट्याक्सा’ को १६ अप्रिलको संस्करणमा प्रकाशित छ । लेख भने सात जनाले लेखेका हुन्; हुमकला, सन्तोषकुमार राना, लक्ष्मीराज जोशी, सुरेशकुमारसहित दुई चिनियाँ र एक जापानी अनुसन्धानकर्ताले ।

सौसुरिया टालुंगेन्सिस

नयाँ वनस्पतिको वर्गीकरण प्रणाली ‘द एन्जिओस्पर्म्स फाइलोजेनी ग्र्रुप’ (चौथो संस्करण, सन् २०१६) अनुसार, फूल फुल्ने वनस्पतिका जम्मा ४ सय १६ परिवार छन् । तीमध्ये सूर्यमुखीको परिवार अर्थात् एस्टेरेसीअन्तर्गत सबैभन्दा बढी करिब १९ सय जाति र ३२ हजार प्रजाति छन् । सौसुरिया यही परिवारको एउटा जाति हो, जसमा मात्रै ५ सयजति प्रजाति छन् ।

नेपालमा पाइएका सौसुरियाका ४५ मध्ये ६ प्रजाति रैथाने छन् । तीमध्ये एक सुरेशकुमार घिमिरे र हुमकला रानाले नै सन् २०१८ मा हुम्लामै भेटेका हुन् । त्यसको नमुना सन् २०१२ मा संकलन गरिएको थियो ।

घिमिरे र रानाले सन् २०१२ मै सौसुरिया जातिअन्तर्गत नयाँजस्तो देखिने अर्को प्रजाति हुम्लाकै टालुङ उपत्यकामा फेला पारेका थिए । तिनले सुरुको अवस्थामा त्यो वनस्पतिलाई सौसुरिया रोयलिई हो कि भन्ठाने । अझ, त्यो त सौसुरिया लानाटाजस्तो पनि देखिन्थ्यो । पछि थप अध्ययन गर्दै जाँदा त्यसको स्वरूप उल्लिखित दुवैभन्दा केही भिन्न हो कि जस्तो पाए । अनुसन्धानकर्ताले ती तीनबीच के–कति फरक छ भनेर ११–११ बुँदामा विवरण तुलना गरे; जस्तो— काण्डको गोलाइ, पातको भेट्नु, पातको आकारप्रकारसहित फूलका विभिन्न भाग । बाहिर देखिने ११ वटै बुँदामा फरक नै देखियो ।

पहिले बाहिरी स्वरूपका आधारमा नयाँ प्रजाति ‘डिस्कभर्ड’ गर्ने चलन थियो । हिजोआज सम्भव भएसम्म आन्तरिक संरचना अर्थात् डीएनए तहको अध्ययन पनि गरिन्छ । डीएनए अध्ययनलाई अन्य प्रजातिका डेटा बैंकसँग तुलना गरिन्छ । फरक देखिए, वनस्पति नयाँ नै हो भनेर नामकरण गर्ने चलन छ ।

रानाले चीनमा त्यो वनस्पतिको क्लोरोप्लास्ट जिन सिक्वेन्स अध्ययन गरिन् । यसका निम्ति प्रयोगशालामा नेस्ट–जेनरेसन सिक्वेन्सिङ टेक्नोलोजी अपनाइयो । अन्ततः, यो अध्ययनले पनि अहिलेसम्म जानकारीमा नभएको प्रजाति भन्ने देखायो । घिमिरे र रानाले यसको नामकरण, टालुङ उपत्यकामा पाइएको हुनाले, ‘सौसुरिया टालुंगेन्सिस’ गरे ।

सौसुरिया टालुंगेन्सिस ढुंग्यानी भिरालोमा, समुद्र सतहबाट ४३ सय मिटर उचाइमा भेटिएको थियो । यो जुलाईदेखि सेप्टेम्बरसम्म फुल्ने–फल्ने रहेछ । २२ देखि ५० सेन्टिमिटरसम्म अग्लो हुने यो वनस्पतिको नमुना नेसनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटोरी गोदावरी (होलोटाइप), केन्द्रीय वनस्पति विभाग (सिनटाइप) र हर्बेरियम अफ कन्मिङ इन्स्टिच्युट अफ बोटनी/द चाइनिज एकेडेमी अफ साइन्स (सिनटाइप) मा संग्रह गरिएको छ । लेखकहरूमध्ये काजुमी फुजिकावाले नेपालबाट यसअघि निकैवटा सौसुरिया प्रजाति पत्ता लगाइसकेकी छन् ।

अवस्थिति

हिजोआज विश्वका निम्ति नयाँ वनस्पति फेला पार्नु कठिन काम हो । पहिले पनि भेटिएको तर त्यसको सूक्ष्म अध्ययन हुन नसकेको अवस्थामा नयाँ वनस्पति अक्सर पत्तो लाग्छ । अर्थात्, तिनीहरूको नमुना पहिल्यै संकलन भएको हुन्छ, तर पहिचान गलत भइरहेको हुन्छ । यस्तै, कुनै ठाउँमा दुर्लभ अवस्थामा छ र अनुसन्धानकर्ताले अहिलेसम्म संकलन गर्न छुटाइरहेको भए त्यसबाट स्वाभाविक रूपमा नयाँ प्रजाति फेला पर्छ । पछिल्लो अवस्थामा नयाँ ‘डिस्कोभर्ड’ वनस्पतिको संख्या बासस्थानमा कमै हुने सम्भावना हुन्छ । किनभने दुर्लभ भएर नै संकलन नभई रहेको हुन्छ । अर्को कुरा, नेपाललगायत कतिपय देशमा ठाउँविशेषका वनस्पतिबारे बृहत् अध्ययन अझै भएको छैन । हुम्ला, जुम्ला, मुगु, बाजुराका कतिपय विकट ठाउँमा वनस्पतिविज्ञ अझै पुग्न सकेका छैनन् ।

उक्त लेखमा उल्लेख भएअनुसार, टालुङको अन्दाजी ५ सय वर्गमिटर क्षेत्रमा सौसुरिया टालुंगेन्सिसका ५० वटाजति वयस्क बोट थिए । यो निकै थोरै संख्या हो । पाउने भूगोलको क्षेत्रफल पनि थोरै हो । तर, यो प्रजाति टालुङ उपत्यकामा मात्र नभई अन्यत्र पनि हुन सक्छ ।

सौसुरिया टालुंगेन्सिस भेडा, चौरी चर्ने ठाउँमा भेटिएको थियो । यदि संख्या थोरै नै हो भने, चाँडै विनाश हुन पनि सक्छ । त्यस्तै, त्यो ठाउँमा यार्सागुम्बासहित अन्य औषधिजन्य वनस्पतिको संकलन गरिँदो रहेछ । यी दुवै कारणले, संकलित क्षेत्रमा यो वनस्पति त्यति सुरक्षित देखिन्न । त्यो त्यही मात्रै हो भने स्थिति अत्यन्त खराब मान्नुपर्छ । यस्तो प्रजातिलाई इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरले अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) मान्छ । यस्ता प्रजातिलाई तत्काल संरक्षण नगरिए लोप हुने सम्भावना बढी हुन्छ ।

फ्लोरा अफ पान–हिमालय

चीनले अफगानिस्तानको उत्तरपूर्वदेखि म्यान्मारसम्मको हिमालय क्षेत्रका वनस्पतिबारे अध्ययन–अनुसन्धान गरिरहेको छ । यसको नतिजा ‘फ्लोरा अफ पान–हिमालय’ शीर्षकमा ५० भोल्युमअन्तर्गत जम्मा ८० पुस्तकमा प्रकाशन हुने लक्ष्य सन् २०११ मा जानकारी गराइएको थियो । यसमा उन्यु, जिम्नोर्स्मस र फूल फुल्ने वनस्पति करिब २० हजार प्रजाति रहने अनुमान छ । फ्लोरा अफ पान–हिमालयको भोल्युम ४८ मा नेपालमा पाइने सौसुरिया जातिका वनस्पतिबारे सन् २०१६ मै प्रकाशित भइसकेको छ ।

फ्लोरा अफ पान–हिमालयका निम्ति बझाङ जिल्लामा वनस्पति संकलन भैसकेको छ । उक्त अभियान कैलालीबाटै सुरु गरिएको थियो । त्यस दौरान जम्मा ५ सय ३ प्रजातिका नमुनाको संकलन भएको थियो । संकलित नमुनाको नामावली तीर्थराज पाण्डेय र अरूहरूलिखित ‘नोट्स अन द फस्ट सिनो–नेपाल जोइन्ट बोटानिकल एक्सपिडिसन टु बझाङ, वेस्ट नेपाल’ (सन् २०२०) शीर्षक लेखमा छ । त्यो लेखमा सौसुरियाको चाहिँ एउटै प्रजाति पनि समावेश छैन ।

फ्लोरा अफ पान–हिमालय परियोजनामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा नेपाली सहभागी छन् । कैयन् नेपालीले चीनका विभिन्न अनुसन्धान केन्द्र तथा विश्वविद्यालय मातहतका प्रयोगशालामा हिमालयका वनस्पति अध्ययन गर्न जाने–आउने क्रम जारी छ । केही दशकयता नेपालीको गुरुकुल चीन भइरहेजस्तो अवस्था छ ।

सौसुरिया टालुंगेन्सिस हुम्लामा सौसुरिया रोयलिई वा सौसुरिया लानाटा वा अन्य कुनै प्रजातिबाट लाखौं वर्षअघि उद्विकास भएको हुनुपर्छ । यो प्रजाति फ्लोरा अफ पान–हिमालयको अनुसन्धानसँग जोडिनाले पत्ता लाग्यो । उल्लिखित परियोजनाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो हिमालयको वनस्पति अध्ययन–अनुसन्धानमा टेवा पुगेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×