कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कालीगण्डकी–तिनाउ पथान्तरका मुद्दा

विश्वका अधिकांश नदी खानेपानी, यातायात, सिँचाइ र जलविद्युत् उत्पादनमा प्रयोग हुँदै आएका छन् । नदी वा पानीजस्तो प्राकृतिक स्रोतलाई अधिक उपयोग गरी नागरिकको जीवनस्तर माथि उठाउनु आजको आवश्यकता हो ।
जुद्धबहादुर गुरुङ

२०७८ असार १२ मा बुटवलमा कालीगण्डकी–तिनाउ नदी पथान्तर आयोजनाको कार्यालय खुलेपछि, लगभग डेढ दशकभन्दा अघिदेखि चर्चामा रहेको कालीगण्डकी नदी पथान्तर आयोजनालाई लिएर राजनीतिक, धार्मिक, सामाजिक तथा पर्यटन क्षेत्रका व्यक्तिहरूले सवाल उठाउने अवसर पाएका छन् ।

कालीगण्डकी–तिनाउ पथान्तरका मुद्दा

यस आयोजनाले पार्ने प्रभावबारे विभिन्न सञ्चार माध्यमबाट सरोकारवाला पक्षहरूले उठाएका विविध चासो वा सवालहरूलाई सरकार पक्षले सकारात्मक ढंगले लिनुपर्छ । यी चासोहरूलाई सकारात्मक तवरले सम्बोधन गरेमा आयोजनाले सहजताका साथ गति लिन सक्छ ।

सरकारको योजना

सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीका अनुसार, यो आयोजना रातारात आएको होइन । राष्ट्रिय जलस्रोत रणनीति, जलस्रोत योजना र सिँचाइ गुरुयोजनामा समावेश गरिएको योजना हो यो । यसको सर्भे, पूर्वसम्भाव्यता अध्ययनपछि विस्तृत सम्भाव्यता अध्ययन गरिसकिएको छ । यस आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन पुनरवलोकन, भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव अध्ययन र सिँचाइ क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बाँकी नै छ ।

पूर्वसम्भाव्यता अध्ययन अनुसार, सिद्धार्थ राजमार्गको राम्दी पुलबाट २.३ किलोमिटर तल रम्भा गाउँपालिका–३ पीपलडाँडामा बाँध रहनेछ । बाँधको सहायतामा लगभग ६.५ मिटर गोलाइ भएको २७ किलोमिटर लामो सुरुडमार्फत कालीगण्डकीमा बग्ने कुल १०२ घनमिटर प्रतिसेकेन्ड पानीमध्ये ८२ घनमिटर प्रतिसेकेन्ड पानी पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाको दोभानमा निर्माण गरिने विद्युत्गृहमा ५४ मेगावाट विद्युत् उत्पादन गरी तिनाउ नदीमा पथान्तर गरिनेछ ।

पथान्तरपश्चात् तिनाउ खोलाबाट लगभग ७ किलोमिटर सुरुङद्वारा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ बेलवासमा दोस्रो विद्युत्गृह निर्माण गरी लगभग ७२ मेगावाट विद्युत् उत्पादन गरिनेछ । अर्थात्, यस आयोजनाबाट कुल १२६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस सुरुडबाट दुई नहर हुँदै रूपन्देही जिल्लाको लगभग ५३ हजार हेक्टर र कपिलवस्तुको ५४ हजार हेक्टर गरी कुल १०७ हजार हेक्टर खेतीयोग्य तर सुक्खा जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ ।

सिँचाइ विभागको प्रतिवेदनअनुसार, कालीगण्डकीमा हिउँद वा सुक्खायाममा १०२ र वर्षायाममा ३,३१८ घनमिटर प्रतिसेकेन्ड पानी बग्छ । हिउँद तथा वर्षा दुवै समयमा सुरुडमा लगिने पानी बाह्रैमासका लागि ८२ घनमिटर प्रतिसेकेन्ड हो । कथंकदाचित् सुक्खायाममा ५० घनमिटर प्रतिसेकेन्ड पानी बगे पनि न्यूनतम २५ घनमिटर पानी कालीगण्डकीमा बग्नेछ । कालीगण्डकीको बाँधदेखि तल्लो तटीय क्षेत्रमा बग्ने अन्य खोलाबाट ५ घनमिटर प्रतिसेकेन्ड पानी मिसिने भएकाले नदीमा न्यूनतम २५ घनमिटर प्रतिसेकेन्ड पानी बग्छ, जुन २५ हजार लिटर बराबर हुन आउँछ । अर्को अध्ययनअनुसार, कालीगण्डकीमा लगभग २८८ घनमिटर प्रतिसेकेन्ड पानी रहने तथ्य पनि बाहिर आएको छ । यदि यो तथ्य सही भएमा पथान्तरपछि पनि कालीगण्डकीमा लगभग ७२ प्रतिशत पानी कायमै रहनेछ ।

कालीगण्डकीको नालीबेली

चीनको तिब्बत र नेपालको सिमानामा पर्ने उपल्लो मुस्ताङको उच्च स्थानमा अवस्थित न्हिविनी हिमाल (६,२६८ मिटर) को काखमा रहेको हिमताललाई कालीगण्डकी नदीको वास्तविक उद्गमविन्दु मानिन्छ । न्हिविनी हिमतालबाट उत्पत्ति भएको खोलाले छोसेर गाउँनजिक आइपुग्दा न्हेचुङ नाम पाउँछ । उपल्लो मुस्ताङमा उत्पत्ति भएको अर्को खोलालाई लोमान्थाडनजिक आइपुग्दा किमलिङ भनिन्छ । यी दुवै खोला लोमान्थाङ गाउँभन्दा केही दूरी तल मिसिएपछि नाम हुन्छ— मुस्ताङ खोला । यस खोलामा चराङ, घमी, घिलिङ, या, डिच्याङ र चिप्रिङ खोलाहरू मिसिएपछि चैले आइपुग्छ ।

चैले गाउँपछि मुस्ताङ खोला कालीगण्डकीको नामले चिनिन थाल्छ । अझ तल झरेपछि अर्थात् मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमदेखि घाँसासम्मको दूरीमा यस नदीलाई बोलीचालीको भाषामा थाक खोला पनि भनिन्छ । तर सामान्यतया चैलेदेखि नारायणी नदीमा नमिसिएसम्म यस नदीलाई कालीगण्डकी नै भन्ने गरिन्छ । यो नदी उत्पत्तिको विन्दु न्हिविनीदेखि तनहुँको देवघाटसम्म लगभग ३४८ किलोमिटर लामो छ । यसबीच मुस्ताङ जिल्लाका ५, म्याग्दी जिल्लाका ३, बागलुड जिल्लाका २, पर्वतका ४, गुल्मीका ३, स्याङ्जाका ३, तनहुँका ३, पाल्पाका ३ र नवलपुर जिल्लाका ३ गरी कुल ९ जिल्लाका २९ पालिकालाई कालीगण्डकीले छोएको छ ।

विश्वका कतिपय नदी मानव समाजले आर्थिक विकासका लािग सामान्यतया खानेपानी, सिँचाइ, यातायात, जलविहार, जलविद्युत्जस्ता विभिन्न प्रयोजनमा उपयोग गर्दै आएका थुप्रै उदाहरण पाइन्छन् । तर कालीगण्डकी नदीको फरक पहिचान छ, जुन हो— पाञ्चायन देवताको प्रतीकका रूपमा पाइने शालिग्रामका कारण सृजित धार्मिक महत्त्व । नेपालका ६ हजार नदीनालामध्ये एक कालीगण्डकीमा दामोदर कुण्डदेखि देवघाटसम्मको लगभग ३४८ किलोमिटर दूरीमा मुस्ताङ जिल्लाका दामोदर कुण्ड, कागबेनी र मुक्तिनाथ; म्याग्दी जिल्लाको गलेश्वरधाम, पर्वत जिल्लाका मोदीबेनी र सेतीबेनी; गुल्मी जिल्लाको रुरु, स्याङ्जा जिल्लाका केलादी घाट र राम्दीका साथै तनहुँ जिल्लाको देवघाट गरी १० वटा बहुचर्चित धार्मिक गन्तव्यहरू छन् । यस नदीलाई हिन्दु धर्म, संस्कृति तथा सभ्यताको प्रतीकका रूपमा लिइन्छ । यसको प्रमुख कारण हो— शालिग्राम शिला, जुन विश्वका विरलै नदीहरूमा पाइने जीवाश्म (जीवावशेष) हो ।

अर्कातर्फ, कालीगण्डकीको उत्पत्ति भएको विन्दु उपल्लो मुस्ताङदेखि नारायणी नदीमा मिसिएको विन्दुसम्मको क्षेत्रमा कहीँ पनि कुलो वा नहरबाट सिँचाइ भएको पाइँदैन । अपवादस्वरूप उपल्लो मुस्ताङ जिल्लाको लो घेकार दामोदर कुण्ड गाउँपालिका–४ डी गाउँमा १८ परिवारले मुस्ताङ खोलाको पानी सिँचाइमा प्रयोग गरेका छन् । कालीगण्डकीको भौगोलिक अवस्थिति भिन्न तथा अनौठो छ । यो नदी उत्पत्तिको विन्दुदेखि देवघाटसम्म गहिरिएर बगेको छ ।

अन्नपूर्ण र धौलागिरि हिमालका बीचमा पर्ने गहिरो अन्धागल्छी पनि यही नदीमा पर्छ । यस नदीको आसपास केही स्थानमा लिफ्टिङ सिँचाइ गरिए पनि यसको खासै सिँचाइमा प्रयोग भएको पाइँदैनन् । पाल्पाको रामपुर क्षेत्रमा आइपुग्दा केही समथर मैदान भए पनि कालीगण्डकीको पानीको सतह गहिरो भएकाले सिँचाइमा प्रयोग भएको छैन । तर पर्वतको मालढुंगादेखि मिर्मीसम्म तीन दिनको कार्यक्रम तयार गरी जलविहार गरिएको देखिन्छ । यसले पर्यटकीय महत्त्व दर्साउँछ भने जलविद्युत्का लागि स्याङ्जा जिल्लाको मिर्मी भनिने स्थानमा जलाशय निर्माण गरी गल्याङ नगरपालिका–३ मा नेपालको दोस्रो ठूलो जलविद्युत् आयोजना (१४४ मेगावाट) को विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिएको छ । यही नै यस नदीलाई उपयोग गरी बनाइएको पहिलो जलविद्युत् आयोजना हो ।

कालीगण्डकीको पानी अत्यधिक मसिनो बालुवा मिसिएर धमिलो भएकाले खानेपानीका लागि प्रयोग गरिँदैन । यो पानीले कृषियोग्य जमिन बिगारेका कारण किसानहरू पनि सिँचाइमा प्रयोग गर्न अरुचि देखाउँछन् ।

शालिग्रामबारे वैज्ञानिक तथ्य

कालीगण्डकी जलाधार क्षेत्रको मुस्ताङस्थित डिच्याङ खोलामा प्रशस्तै शालिग्राम पाइन्छ । यो शालिग्राम, जीवशास्त्रका अनुसार, प्राणी जगत्को चिप्लेकीरा वर्गको जीवाश्म हो । जीव वैज्ञानिकहरूले आजभन्दा ४० करोडदेखि ६ करोड ६० लाख वर्षअघिको अवधिलाई डाइनोसर युग भन्छन् । यस युगमा पृथ्वीको स्थलमण्डलमा डाइनोसर वा सरीसृप वा घस्रने जीव, कोणधारी वनस्पतिलगायत चिप्लेकीरा वर्गका जीवहरूको बाहुल्य थियो ।

भूगर्भविद्हरूका अनुसार, लगभग ६ करोड वर्षअघि इन्डो–अस्ट्रेलियन प्लेटहरूमा ठूलो हलचलका कारण पूर्वमा बर्माको सिमाना नाम्चे बार्वदेखि पश्चिममा अफगानिस्तानको सिमाना, अझ विस्तृतमा नागा पर्वतसम्म लगभग २,४०० किलोमिटर लामो हिमालय शृंखला तयार भयो । हाल हिमालय भएको स्थानमा त्यस बेला टेथिस सागर थियो, जसको पीँध उठेर हिमालय पर्वत बनेको हो । टेथिस सागरको पीँधमा थुप्रिएका चिप्लेकीराका जीवाश्महरू जीव रसायन प्रक्रियाद्वारा शालिग्राममा परिणत भए । यसपछि हिन्दु धर्मग्रन्थहरूमा शालिग्रामलाई विष्णु भगवान्को अवतारका रूपमा चित्रण गरियो । मानिसले यसलाई पवित्र धार्मिक वस्तु मानी पूजा गर्न थाले । यसकारण कालीगण्डकी अन्य पौराणिक कथाहरूले सजिएर धार्मिक महत्त्वको नदी बन्न पुगेको हो । नेपालका नदीहरूमध्ये कालीगण्डकी नै सबभन्दा बढी धार्मिक महत्त्व बोकेको नदी हो किनभने सरदर ३४.८ किलोमिटरको दूरीमा यहाँ एउटा धार्मिक स्थल भएको मानिन्छ ।

कुनै पनि सरकारले देश विकासका लागि स्वदेशमा उपलब्ध प्राकृतिक स्रोतको उचित उपयोग गर्ने गर्छ । यस सन्दर्भमा नेपालका जलस्रोतसहित अन्य प्राकृतिक स्रोतहरूको उचित उपयोग गर्नुपर्ने समय आएको छ । नेपालका नदीहरू सिँचाइ र जलविद्युत्मा अधिक प्रयोग भएका छन् । हाल प्रस्ताव गरिएको कालीगण्डकी नदी पथान्तर आयोजनाले पनि सिँचाइ र जलविद्युत् जस्ता बृहत् क्षेत्रलाई लक्षित गरेको छ । यस आयोजनाका कारण विद्युत् उत्पादनले बुटवल तथा भैरहवा क्षेत्रको औद्योगिकीकरणमा थप भूमिका खेल्ने विश्वास गर्न सकिन्छ । यसबाट लुम्बिनी प्रदेशको आर्थिक विकासमा मात्र नभई नेपाल राष्ट्रकै सर्वांगीण विकासमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।

प्रभावित पालिकाहरू

यस आयोजनाका कारण गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ र नवलपुर गरी ३ जिल्लाका ८ पालिका र लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका ३ पालिका गरी कुल ११ पालिकाको कालीगण्डकी नदीतर्फका जलाधार क्षेत्रहरू प्रत्यक्ष प्रभावित हुनेछन् । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३ पीपलडाँडामा अवस्थित बाँधस्थलदेखि देवघाटसम्मको लगभग ११९ किलोमिटर लम्बाइमा साबिकको भन्दा ८२ घनमिटर प्रतिसेकेन्ड पानी कम भई जलचर र धार्मिक क्षेत्रहरू प्रभावित हुनेछन् । परिणामस्वरूप नदीमा माछा मारेर जीवन निर्वाह गर्ने समुदाय पनि प्रभावित हुने अनुमान गर्न सकिन्छ । कालीगण्डकी उत्पत्तिविन्दुदेखि अधिकांश स्थानमा गहिरिएर बगेकाले राम्दीदेखि देवघाटसम्म नदीकिनारमा अवस्थित टारहरू, लगभग ३८४१.६ हेक्टर भए पनि, यसको पानी सिँचाइमा खासै उपयोग नभएकाले प्रभावित नहुने देखिन्छ ।

वैकल्पिक केही अवधारणा

बागलुड जिल्लाको ढोरपाटन सिकार आरक्षको उत्तरगंगा नदीबाट ८२८ मेगावाट जलविद्युत् उत्पादन गर्न लगभग ७८ घनमिटर प्रतिसेकेन्ड पानी पथान्तर गरी निस्सी खोला गाउँपालिका भई बडिगाड खोलामा खसाल्ने योजना छ । यस आयोजनाले पनि कालीगण्डकीमा पानीको परिमाण कम हुन नदिन सहयोग गर्छ भने आँधीखोला जलाशय जलविद्युत् आयोजना पनि यसमा सहयोगी हुन सक्छ ।

नेपाल–भारतबीच ४ डिसेम्बर १९५९ मा भएको गण्डक सम्झौतामा नारायणी नदीको जलधार क्षेत्रमा सिँचाइका लागि पानी प्रयोग गर्न पाइने व्यवस्था छ । तर नदीको पानी सिँचाइमा ल्याउनु कालीगण्डकी नदी पथान्तरको नयाँ अवधारणा हो । यो आयोजनाबाट गण्डक जलाधार क्षेत्रबाहिर पानी जाने भएकाले भारतसित नयाँ सम्झौता गर्नुपर्छ । नयाँ सम्झौता नगरिएमा यो आयोजना कार्यान्वयनमा आउने सम्भावना कम देखिन्छ ।

यस आयोजनाको प्रारम्भिक लागत अनुमान लगभग ६४ अर्ब रुपैयाँ छ एवं सिँचाइ संरचना निर्माण गर्न र सिँचाइ क्षेत्र विस्तार गर्न अर्को ७४ अर्ब लाग्ने आकलन छ । यसरी हेर्दा कुल १ खर्ब ३८ अर्ब लाग्ने अनुमान छ । लागत घटाउनका लागि कालीगण्डकी जलविद्युत् गृहभन्दा केही किलोमिटर तल र सिद्धार्थ राजमार्गको राम्दी पुलभन्दा केही किलोमिटरमाथि अर्गलेमा सुरुडको बाँध निर्माण गर्ने वैकल्पिक योजना बनाए सुरुङको दूरी लगभग ४ किलोमिटर घटी २३ किलोमिटर मात्र हुने प्रारम्भिक अनुमान पनि छ ।

निष्कर्ष

विश्वका अधिकांश नदी खानेपानी, यातायात, सिँचाइ र जलविद्युत् उत्पादनमा प्रयोग हुँदै आएका छन् । नदी वा पानीजस्तो प्राकृतिक स्रोतलाई अधिक उपयोग गरी नागरिकको जीवनस्तर माथि उठाउनु आजको आवश्यकता हो । यही कारण संघीय सरकारले कालीगण्डकी–तिनाउ पथान्तर आयोजनाको थालनी गरेको हो । यो आयोजनाप्रति सरोकारवालाहरूको व्यापक चासो, गहिरो चिन्ता र जायज सवालहरू विभिन्न सञ्चार माध्यमबाट अभिव्यक्त भइरहेका छन् । राम्रो कामको थालनीको संकेत हो यो । यस्ता चासोहरूले आयोजना निर्माण गर्नका लागि सकारात्मक भूमिका खेल्नेछन् ।

यसका लागि यसै आर्थिक वर्षमा तयार हुुँदै गरेको वातावरणीय प्रभाव अध्ययनले आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, वातावरणीय लगायतका सवालहरूलाई समेट्नुपर्छ । आयोजनाको सफल कार्यान्वयनका लागि वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन कोसेढुंगा साबित हुनेछ । देशका प्राकृतिक स्रोतहरू बर्सेनि खेर गइरहेको परिप्रेक्ष्यमा सरकारले यिनको बुद्धिमत्तापूर्वक प्रयोग गर्नुपर्छ ।

(गुरुङ वातावरणविद् हुन् ।)

प्रकाशित : श्रावण १७, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?