कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हाम्रो अनुसन्धान–वातावरण

युनेस्कोको सन् २०११ को तथ्यांकअनुसार, विश्वमा प्रति १० लाखमा औसत १०८० वैज्ञानिक छन् । सबैभन्दा धेरै फिनल्यान्डमा ७७०७, सिंगापुरमा ६०८८, अमेरिकामा ४६६३, चीनमा १०७१, पाकिस्तानमा १५७, भारतमा १३७, श्रीलंकामा १५७ छन् भने नेपालमा जम्मा ५९ जना ।
उत्तमबाबु श्रेष्ठ

१३ जुन २००८ को अंक (पूर्णांक ३२०) मा विश्वकै अग्रणी वैज्ञानिक जर्नल ‘साइन्स’ ले नेपालसम्बन्धी एउटा खबर छाप्यो । जर्नलको ‘न्युज अफ द विक’ स्तम्भमा छापिएको आधा पृष्ठको उक्त समाचारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर पनि थियो ।

हाम्रो अनुसन्धान–वातावरण

हाम्रोजस्तो विज्ञान, प्रविधि र अन्वेषणमा पिछडिएको देशका समाचार, यहाँ अनुसन्धानरत वैज्ञानिकहरूका अनुसन्धानात्मक लेख र भनाइहरू साइन्स जर्नलमा एकदम विरलै छापिन्छन् । साइन्स जर्नलमा लेख छापिनु प्राज्ञिक जगत्मा प्रतिष्ठाको विषय मानिन्छ । ‘संघर्षरत नेपालको मुहार फेर्न विज्ञानमाथिको भरोसा’ शीर्षकको ५६४ शब्दको उक्त समाचारमा भनिएको थियो— नेपालका नयाँ नेताहरूले शिशु गणतन्त्रलाई सफलतामा पुर्‍याउन विज्ञानमा लगानी बढाउने आश्चर्यजनक रणनीति सार्वजनिक गरेका छन् ।

सफल अर्थमन्त्रीको जस पाएका डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटमा तत्कालीन विज्ञान, प्रविधि र वातावरण मन्त्रालयलाई दिइने बजेट अघिल्लो वर्षका तुलनामा बाह्र गुणाले वृद्घि गरिएको थियो । सधैंजस्तो उपेक्षित विज्ञान क्षेत्रमा जनयुद्घ लडेर आएका राज्यका नयाँ सञ्चालकहरूले एक्कासि बजेट बढाउँदा उक्त कुरा ‘साइन्स’ मा छापिनयोग्य समाचार बनेको थियो । विज्ञानलाई प्राथमिकतामा राख्नुका पछाडि प्रचण्डको कृषि विज्ञानको शैक्षिक पृष्ठभूमिले काम गरेको भन्दै समाचारमा तत्कालीन माओवादीको चुनावी घोषणापत्रमा उल्लिखित अंशलाई यसरी उद्धृत गरिएको थियो, ‘विज्ञानको विकासबिना देशको विकास असम्भव छ ।’

अनुसन्धान–वातावरण

वैज्ञानिक अनुसन्धानमा लगानी बढाएर यस क्षेत्रको विकासका लागि गरिएको प्रचण्ड–पहल राम्रो भए पनि अनुसन्धानका लागि लगानी मात्रैले पुग्दैन । विज्ञानमा फड्को मार्न समग्र अनुसन्धान–वातावरण (रिसर्च इकोसिस्टम) लाई राम्रो बनाउनुपर्छ । मोटामोटी रूपमा अनुसन्धानको वातावरणअन्तर्गत चार कुराहरू पर्छन् । (क) वैज्ञानिक संस्कार जसले नयाँ विचार र सोच पैदा गर्छ, (ख) मानव संसाधन जसले अनुसन्धानात्मक कार्य गर्छ अनि ज्ञान उत्पादन र प्रसारमा भूमिका खेल्छ, (ग) आर्थिक स्रोत जसले अनुसन्धानका लागि आवश्यक पैसाको व्यवस्थापन गर्छ, र (घ) ज्ञान उत्पादन र संश्लेषण जुन वैज्ञानिक लेख, पेटेन्ट, सिद्घान्तका रूपमा सूचीकृत हुन्छन् र जसलाई समाजले आवश्यकताअनुसार उपयोग गर्छ । यो लेख नेपालको वर्तमान अनुसन्धान–वातावरणमा केन्द्रित छ ।

अनुसन्धानको उचित वातावरण निर्माणका लागि समाजमा वैज्ञानिक संस्कार र भविष्यका वैज्ञानिकहरूमा कल्पनाशीलता र सिर्जनशीलताको लेप जरुरी छ । ‘थिंक लाइक अ फ्रिक’ पुस्तकमा स्टिवन लेभिट र स्टेफेन डब्नर भन्छन्, ‘ठूला समस्या समाधान गर्न बच्चाको जस्तो — जिज्ञासु, पूर्वाग्रहविहीन र भयरहित — सोचाइ चाहिन्छ ।’ वैज्ञानिक अनुसन्धानका लागि अत्यावश्यक गुण हुन् यी । तर हाम्रो औपचारिक शिक्षाको विधि र पढाउने शैलीले बच्चाहरूमा विद्यमान त्यो जन्मजात गुणलाई निखार्नुको साटो कलिलै अवस्थामा निमोठिदिन्छ । त्यसैले हामीले वैज्ञानिक संस्कार बसाल्नका लागि प्राथमिक तहदेखिको सिकाइ प्रक्रियामा अवलोकन गर्ने, प्रश्न सोध्ने, अनुमान लगाउने, नयाँ सोचलाई परीक्षण गर्ने, तथ्यांक संकलन गर्नेजस्ता आधारभूत सीपहरू सिकाउन र त्यस्ता गुण भएका बच्चाहरूलाई थप उत्प्रेरणा दिन जरुरी छ ।

हाल नेपालको विज्ञान–प्रविधि क्षेत्रमा मानव संसाधनको संख्यात्मक र गुणात्मक अवस्था निकै कमजोर छ । नेपालमा सुचारु र प्रस्तावित गरी चौधवटा विश्वविद्यालय भइसकेका छन् तर विश्व–उत्कृष्टताको कसीमा ती सबै पुछारमा छन् । सन् २०२० मा टाइम्स हायर एडुकेसनले निकालेको विश्वका १५०० विश्वविद्यालयको सूचीमा नेपालको एक मात्र विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय उत्कृष्ट ८०० देखि १००० औं श्रेणीमा परेको थियो । विश्वविद्यालयको उत्कृष्टताको श्रेणीमा मात्रै होइन, वैज्ञानिक संख्यामा पनि हामी दक्षिण एसियामै सबैभन्दा पुछारमा छौं । युनेस्कोको सन् २०११ को तथ्यांकअनुसार, विश्वमा प्रति १० लाखमा औसत १०८० वैज्ञानिक छन् । सबैभन्दा धेरै फिनल्यान्डमा ७७०७, सिंगापुरमा ६०८८, अमेरिकामा ४६६३, चीनमा १०७१, पाकिस्तानमा १५७, भारतमा १३७, श्रीलंकामा १५७ छन् भने नेपालमा जम्मा ५९ जना ।

अन्यत्रका तुलनामा देशमा वैज्ञानिक जनशक्ति कम त छँदै छ, भएकाहरू पनि अनुसन्धान संस्थाहरूबाट घट्दै छन् । उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार अनुसन्धान केन्द्र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा पनि अनुसन्धानकर्ताहरू खाली छन् । कुनै बेला ८० भन्दा बढी कर्मचारी हुने सेडा अहिले तीन जनामा खुम्चिएको छ । त्यसै गरी कुनै बेला १०० भन्दा बढी अनुसन्धानकर्ताहरूले भरिभराउ हुने रिकास्टमा हाल करिब ४० जनाजति मात्रै कर्मचारी छन्, त्यसको पनि दुईतिहाइ त प्रशासनिक कर्मचारी हुन् । त्यसै गरी कुनै बेला ९० भन्दा बढी अध्येताहरूले अनुसन्धान गर्ने सिनास अहिले एक दर्जनभन्दा कम अनुसन्धानकर्तामै सीमित हुन पुगेको छ ।

विश्वविद्यालयभित्रका कुनै जमानाका अब्बल ज्ञान उत्पादनका थलो मानिने संस्थानहरूको जस्तै गएगुज्रेको अवस्था देशका अन्य अनुसन्धान संस्थानहरूको पनि छ । जस्तै— कृषि क्षेत्रको अनुसन्धान र ज्ञान प्रसार गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक जनशक्ति स्थापनाकालताकाको भन्दा घटेर लगभग एकतिहाइ मात्रै बाँकी छ । नार्कमा घटेको जनशक्ति परिपूर्ति गर्न नयाँ नियुक्तिको आह्वान गर्दासमेत त्यहाँ वैज्ञानिक नपाउने अवस्था छ । पाँच वर्षअघि नार्कमा उपसचिवस्तरको एस ३ वैज्ञानिकका लागि २५ पदमा आवेदन माग हुँदा मात्र ८ जना छनोट भएका थिए । नार्कको जस्तै अवस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को छ । विगत छ वर्षदेखि नास्टमा नयाँ वैज्ञानिकहरू भर्ती हुन पाएका छैनन्, जसका कारण देशको सबैभन्दा उपल्लो वैज्ञानिक अनुसन्धान गर्ने भनिएको संस्थामा वैज्ञानिकभन्दा दोब्बर प्रशासनिक कर्मचारी थुप्रिएका छन् ।

वैज्ञानिक मानवजस्तै कमजोर अवस्था नेपालको विज्ञान क्षेत्रमा गरिने आर्थिक लगानीको पनि छ । केपी आचार्यलगायतको समूहले गरेको एउटा अनुसन्धानअनुसार, अनुसन्धान र विकासमा नेपालको सरदर लगानी कुल गार्हस्थ्य उत्पादनको मात्रै ०.३ प्रतिशत छ, जुन विकसित देशका तुलनामा निकै कम हो । सानो देश भए पनि विश्व नवप्रवर्तन सूचकांकमा ७ औं नम्बरमा पर्ने इजरायलले कुल गार्हस्थ्य उत्पादनको ४.९ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्च गर्छ । इजरायलपछि दक्षिण कोरियाले ४.६ प्रतिशत, ताइवानले ३.५ प्रतिशत, अमेरिकाले ३.१ प्रतिशत, चीनले २.२ प्रतिशत, भारतले ०.७ प्रतिशत, पाकिस्तानले ०.३ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्चेका छन् । सामान्यतया देशको कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्च गर्ने प्रचलन छ । नेपालमा अनुसन्धान र विकासमा निकै कम खर्च गरिने मात्रै होइन, खर्च गरिएको भनिएको रकम पनि कोर अनुसन्धानमा भन्दा संस्थानहरूको प्रशासनिक खर्चमै ज्यादा सकिने गरेको हुन्छ ।

वैज्ञानिक अनुसन्धानका लागि सरकारबाट मात्रै होइन, निजी क्षेत्रबाट समेत उल्लेख्य रकम खर्च गरिएको हुन्छ । अमेरिकालगायतका विकसित देशहरूमा विश्वविद्यालय र अन्य अनुसन्धानशालाहरूले गर्ने अनुसन्धानमा सहायताको उल्लेख्य हिस्सा निजी व्यापारिक प्रतिष्ठानहरूबाट आउँछ । जस्तै— सन् २०१७ मा अमेरिकामा निजी दाताहरूले ४६ विश्वविद्यालयलाई दिएको सहायता रकम २.३ बिलियन डलर बराबरको थियो । भारतमा पनि निजी सहयोगले विज्ञानको विकास र अनुसन्धानमा गर्ने खर्च बढ्दो छ । अजिम प्रेमजी, नन्दन निलकानीजस्ता उदीयमान खर्बपतिहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा वैज्ञानिक अनुसन्धान र उच्च शिक्षामा दान दिने गरेका छन् । तर नेपालमा निजी क्षेत्रबाट विज्ञानको विकासका लागि अनुसन्धान सहायता उपलब्ध गराउने गरिएको खासै पाइँदैन ।

नेपाली परोपकारिता मन्दिर र धर्मशाला बनाउने, रूख रोप्ने, अनाथलाई खाना खुवाउनेजस्ता कार्यमै सीमित छ । अमेरिकी स्टिल बादशाह एन्ड्र्यु कार्नेगीले विश्वविद्यालय खोले, सूचना प्रविधिका हस्ती बिल गेट्सले विश्व जनस्वास्थ्य र कृषिको अनुसन्धानमा ठूलो रकम खर्चे, भारतीय महिन्द्रा गाडी उत्पादकले विश्वविद्यालयलाई ठूलो रकम चन्दा दिए तर हाम्रोमा शिक्षा क्षेत्रबाट प्रशस्त कमाएकाहरूले समेत शैक्षिक क्षेत्रमै परापकारी काम गर्नभन्दा अन्य नाफाका क्षेत्रमा लगानी गरेका उदाहरण प्रशस्त भेटिन्छन् । शैक्षिक क्षेत्रबाट अर्बपति बनेका शेष घलेले १ अर्ब रुपैयाँको शैक्षिक कोष बनाउने घोषणा त गरे, तर चार वर्षसम्म पनि उक्त काम थालिएको सुनिएको छैन् । नबिल बैंकले नास्टको सहकार्यमा वैज्ञानिक पुरस्कार दिने कार्य पनि यतिखेर बन्द छ ।

विज्ञानमा लगानीजस्तै अवस्था वैज्ञानिक ज्ञान उत्पादनमा छ, विशेषतः नवप्रर्वतनको प्रमाण मानिने पेटेन्ट अधिकार र ज्ञान उत्पादनको आधार मानिने पियर रिभ्यु प्रकाशनमा । वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी डेटाबेसका अनुसार, सन् २०१९ मा विश्वभर २७५९०० पेटेन्ट दर्ता गरिएका थिए, जसमध्ये सबैभन्दा धेरै चीनले ६८७२०, अमेरिकाले ५९२३०, त्यसपछि जापानले ५०५२० पेटेन्ट दर्ता गरे । नेपालबाट सन् २०१७ मा जम्मा २० वटा मात्रै पेटेन्ट दर्ता गरिएका थिए । पेटेन्ट अधिकारको आवेदन दिने नेपालीमा अधिकांश नेपालबाहिर बस्नेहरू थिए ।

नेपालमा अन्य देशका तुलनामा पियर रिभ्यु वैज्ञानिक प्रकाशनहरूको अवस्था पनि कमजोर छ । साइमागो डेटाबेसका अनुसार, सन् १९९६ देखि २०२० सम्ममा २४० देशका वैज्ञानिकहरूले प्रकाशन गरेका जर्नल लेखका आधारमा नेपाल ९१ औं नम्बरमा थियो । उक्त अवधिमा अमेरिकाले १ करोड ३८ लाख, चीनले ७४ लाख, भारतले २१ लाख र पाकिस्तानले २ लाख, बंगलादेशले ६७ हजार, श्रीलंकाले २६ हजार लेख प्रकाशन गरेका थिए भने नेपालका वैज्ञानिकहरूले जम्मा २० हजार लेख अन्तर्राष्ट्रिय इन्डेक्स जर्नलमा प्रकाशित गरेका थिए । गत वर्ष नेपालबाट २५ सय हाराहारी त्यस्ता वैज्ञानिक लेखहरू छापिएका थिए । अन्तर्राष्ट्रिय प्रकाशनको संख्याजस्तै छ, देशभरका अनुसन्धान जर्नलहरूको गुणस्तरको अवस्था पनि । नेपालबाट प्रकाशित हुने जर्नलहरूको अनलाइन डेटाबेस नेप्जोलमा हाल २२९ जर्नल सूचीकृत छन् तर तीमध्ये जम्मा चार जर्नल मात्रै अन्तर्राष्ट्रिय इन्डेक्समा समावेश छन् । तीमध्ये पनि क्वार्टाइल ४ (सबैभन्दा कमसल) मा तीन र क्वार्टाइल ३ मा एउटा नेपाली जर्नल परेका छन् । यसले हाम्रो वैज्ञानिक ज्ञान उत्पादन र प्रसारको अवस्था देखाउँछ ।

समग्रमा देशको आर्थिक–सामाजिक प्रगतिको छाप अनुसन्धान–वातावरणका चारै अवयवमा परेको देख्न सकिन्छ । नेपालको अर्थतन्त्रको आकार अन्य देशसँग तुलना गर्ने हो भने हाम्रो श्रेणी लगभग ९०–१०० औं स्थानतिर परेजस्तै नेपालको अनुसन्धानको विश्व–अवस्था पनि लगभग त्यस्तै छ । त्यसलाई फेर्नका लागि माओवादी सरकारले जसरी एक्कासि बजेट मात्रै बढाएर हुँदैन, यसको सम्पूर्ण वातावरण नै सुधार्न जरुरी छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?