१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

हिन्दुत्व वैचारिकीको परीक्षण

केही महिनाअगाडि भारतको त्रिपुराका मुख्यमन्त्रीले गृहमन्त्री अमित शाहले आफूलाई भाजपाको विस्तार ‘नेपाल र श्रीलंका’ मा पनि गर्ने योजना सुनाएको दाबी गरेका थिए । त्यसको सुरुआत उत्तर प्रदेश एवं बिहारको निकटतम नेपाली छिमेकी तराई–मधेसबाट भयो भने आश्चर्य मान्नुपर्ने के छ र ?
सीके लाल

जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा सबभन्दा आदरात्मक तर रहस्यमय टिप्पणी राष्ट्रिय जनता पार्टीबाट प्रचण्ड बहुमतका साथ प्रतिनिधिसभामा निर्वाचित तर अहिले टीकापुर काण्डमा मुछिएकाले गर्दा कारागार सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीले गरेका छन् ।

हिन्दुत्व वैचारिकीको परीक्षण

उनले तत्कालीन ‘राष्ट्रिय जनता पार्टी’ एवं त्यसपछि ‘समाजवादी पार्टी, नेपाल’ सँगको एकीकरणपश्चात् नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष रहेका महन्थ ठाकुरलाई भीष्म पितामहको संज्ञा दिएका छन् । छद्म आलोचना मिसिएको प्रशंसालाई अंग्रेजीमा ‘ब्याकह्यान्डेड कम्प्लिमेन्ट’ अर्थात् बाङ्गो सराहना भन्ने चलन छ । निलम्बित सांसद चौधरीले ठाकुरलाई भीष्म पितामहसँग तुलना गरेर आफ्ना लागि उनी श्रद्धेय र आदरणीय रहेको त बताए, तर दलको आधिकारिकता विवादमा तटस्थ रहेर आफ्ना नेताको राजनीतिक निर्णयमा शंका अभिव्यक्त गर्न भने अलिकति पनि हच्किएनन् ।

भीष्म पितामह महाभारतका जटिल तर त्रासद पात्र हुन् । आफ्ना पिताको आसक्तिका कारण आजीवन अविवाहित रहन्छन् । प्रतिज्ञा जोगाउन प्रेमको तिरस्कार गर्छन् । सत्यभन्दा सत्ताप्रतिको निष्ठालाई प्राथमिकतामा राख्दै अनीतिका पक्षमा उभिन्छन् । अन्याय सहन्छन्, तर खुलेर बोल्दैनन् । खुला दरबारमा नारी अस्मितसँग खेलबाड हुँदा प्रतिरोध गर्नुको साटो आँखा चिम्लिन्छन् । युद्धमैदानमा दिनभरि लड्छन् तर रातभर आफ्नै नेतृत्वको पराजयका लागि प्रार्थना गर्छन् । र, अन्ततः आफ्नो असीम अन्तर्ज्ञानका बाबजुद वंशनाश तथा राष्ट्र–विच्छिन्नताको मूकदर्शक भएर शरशय्यामा आफ्नो मृत्युका लागि उत्तरायण सूर्यको प्रतीक्षा गर्छन् । महर्षि व्यासले महाभारतका पात्र भीष्ममार्फत सायद अति–निष्ठा एवं अतिरेक आत्मशुद्धताका त्रासदी चित्रित गर्न खोजेका हुन् कि ? मानव जीवनका बाध्यताहरूसंग मुकाबिला गर्न स्थापित मूल्य एवं मान्यताप्रतिको अविचल आस्थाले मात्र पुग्दैन रहेछ । महाभारतको युद्धमा विजय सुनिश्चित गर्न स्वयं भगवान् कृष्णलाई समेत सत्यवादी कहलिएका धर्मराज युधिष्ठिरको मुखबाट अर्ध–सत्य वा सम्भाव्य मिथ्या वचन— ‘अश्वत्थामा हतो, नरो वा कुञ्जरो वा’ — अभिव्यक्त गराउनुपर्ने हुने रहेछ । आधा शताब्दीसम्म अनवरत प्रजातान्त्रिक व्यवस्था एवं मानवीय न्यायका लागि संघर्ष गरेका अविचलित योद्धा ठाकुरको जीवनको उतरार्द्धमा उनलाई हिन्दुत्व वैचारिकीको भीष्म पितामह बनाइने जोखिम बढ्दै गएको छ ।

विनायक दामोदर सावरकरले सन् १९३२ तिर प्रतिपादन गरेको हिन्दुत्व वैचारिकीको सीमितता नैं के हो भने, त्यो विचारधारा भविष्यमुखी नभएर परिकल्पित विगतको स्खलित वैभव फर्काउने अवधारणामा आधारित छ । सावरकर हिन्दुत्व वैचारिकीका प्रवर्तक एवं सिद्धान्तकार थिए भने उनले केशव राव बलीराम हेडगेवारमा कुशल संगठनकर्ता भेट्टाए । हेडगेवारको अग्रसरतामा स्थापित राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सम्भवतः संसारको सबभन्दा ठूलो गैरसरकारी संस्था हो जसको सञ्चालन भने प्रजातान्त्रिक तवरले नभएर परम्परागत मठाधीश व्यवस्थाबाट हुन्छ । नागपुर मुख्यालयबाट सञ्चालित आरएसएसलाई हिन्दुत्व वैचारिकीको ‘कोर–संस्था’ मान्ने गरिन्छ । सन् २०२५ मा शताब्दी–महोत्सव मनाउने तयारी गरिरहेको आरएसएसलाई अहिलेसम्म जम्मा ६ जना सरसंघचालकले सञ्चालन गरेका रहेछन् ।

एक जना राजपुत कुलका राजेन्द्र सिंहबाहेक अहिलेसम्मका सबै सरसंघचालक ब्राह्मण जातिबाट छनोट भएका छन् । हिन्दुत्वको ‘कोर–संस्था’ भए पनि आरएसएस धार्मिकभन्दा पनि जन परिचालन गर्ने संगठनका रूपमा सञ्चालित छ । आरएसएसको राजनीतिक मोर्चा भारतीय जनसंघ हुँदै हाल आएर भारतीय जनता पार्टी (भाजपा) रहेको भए पनि संस्थाको बीज विचार— भारत हिन्दुहरूको पितृभूमि एवं पुण्यभूमि रहेकाले ‘अन्य’ धर्मावलम्बीले हिन्दु वर्चस्वलाई अंगीकार गर्नुपर्छ— सँग सहमत अरू राजनीतिक दलसँग सरसंघचालक एवं उनका प्रतिबद्ध कार्यकर्ताले परहेज भने राख्दैनन् । दिल्लीमा रामभक्त नरेन्द्र मोदीलाई हनुमानभक्त अरविन्द केजरीवालले पराजित गरेका थिए । बंगालमा ‘जय हनुमान ज्ञान गुण सागर’ पाठ गर्ने गेरू वस्त्रधारी अमित शाहका कार्यकर्तालाई ‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता’ जप्ने ममता बनर्जीका समर्थकहरूले असफल तुल्याइदिए । आरएसएस त्यस्तो मित्रवत् प्रतिस्पर्धाको अनपेक्षित परिणामले पनि प्रसन्न नै भएको हुनुपर्छ ।

छनोटको आवश्यकता

आरएसएसको समर्थन–आधार नभए राजनीतिमा टिक्न नसकिने आत्मबोधसँगै त्यतिले मात्रै भविष्यका प्रतिस्पर्धाहरूमा नपुग्ने लागेर देशदुनियाँ देखेका भाजपाका भूराजनीतिक रणनीतिकारहरू हिन्दुत्वको धार्मिक राष्ट्रवादलाई जापानका ठूला व्यापारिक परिजन ‘जाईबात्सु’ वा दक्षिण कोरियाका ‘च्याबल’ भनिने परिवारिक व्यापार समूहजस्तै अम्बानी वा अडानीजस्ता धनाढ्य समर्थकहरूको नवव्यापार घराना क्रियाशील गर्न उद्यत छन् । निर्वाचन–लक्षित जातीय समूहहरूको लघु मोर्चा एवं सूक्ष्म समीकरणका साथै चुनावताका परिचालन गर्न मिल्ने ‘पन्ना प्रमुख’ मार्फत तल्लो तहसम्म पूर्णकालिक कार्यकर्ता–आधार तयार गरिरहेका छन् । प्रतिस्पर्धी दललाई फोड्ने एवं राज्यकेन्द्रित क्षेत्रीय दलहरूसँग गठजोड बनाउने कलामा भाजपाका योजनाकारहरू पोख्त छन् । कूटनीतिक, आर्थिक एवं भूराजनीतिक स्वार्थ गाँसिएको नेपालमा भाजपा फगत आरएसएसको परम्परागत समर्थन–आधारमा भर परेर ढुक्क हुन सक्ने स्थिति छैन । राजसंस्थाको उपयोगिता लगभग समाप्त भइसकेको छ । नेपालमा ‘हिन्दु राष्ट्र’ अवधारणालाई बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी वा नेपाली कांग्रेसका पुरातनपन्थीहरूको जनाधार खासै उत्साहवर्धक छैन । जनमतको कुरा बारम्बार उठाउनेहरू नयाँ समर्थक कमाउनभन्दा पनि भएको मताधार जोगाउन बेला–कुबेला उफ्रिने गरेका मात्रै हुन् ।

नेपालका धेरैजसो मुसलमानले हिन्दु वर्चस्व स्वीकार गरेकाले तिनको ‘अन्यीकरण’ भारतमा जस्तो राजनीतिक औजार बन्न सक्दैन । बेलायतसँग जोडिएको पुरानो इतिहास र नेपाली संभ्रान्तको अमेरिकी सम्बन्धले गर्दा ‘इसाईको दैत्यीकरण’ रणनीति पनि खासै काम लाग्दैन । भारतमा जस्तो मानवाधिकार, पत्रकार एवं गैरसरकारी संस्थालाई गाली गरेर राजनीति गर्न सम्भव छैन— सिसाको घरमा बस्नेहरूले ढुंगा टिप्न थाल्ने हो भने सबभन्दा पहिले तिनको आफ्नै ओत भत्किन्छ ! नेपालको अविच्छिन्न सार्वभौमिकताका लागि चिनियाँहरूको निरन्तर आवश्यकताले गर्दा भारतमा उचालिने ‘कम्युनिस्ट भय’ त काठमाडौंका पण्डित–पुजारीहरूमाझ पनि प्रत्युपादक नै ठहरिनेछ ।

आरएसएसको समर्थन–आधारबाट स्वतन्त्र शुभचिन्तकहरूको जमात तयार गर्न भाजपाका रणनीतिकारहरू सन् २०१५ देखि नै लागिपरेका छन् । लामो सहकार्यका बावजुद सन् २०१५ मा आरएसएसका परम्परागत सम्पर्कसूत्रहरू भाजपालाई काम लागेनन् । संविधान जारी गर्ने बेलामा नेपालको आन्तरिक मामिलामा भारतको प्रतिस्पर्धामा सक्रिय रहने गरेका शक्तिद्वय अमेरिका तथा चीनबीचको अव्यक्त सहकार्यलाई बेलैमा ठम्याउन नसक्दा भाजपाका रणनीतिकारहरूलाई अपमानित हुनुपरेको थियो । खड्गप्रसाद शर्मा ओली एवं पुष्पकमल दाहालका राजनीतिक मञ्चहरूको संलयन (फ्युजन) बाट आत्तिएका भाजपाका नेपाल मोर्चाका रणनीतिकारहरूलाई आफ्नो इज्जत जोगाउन अन्ततः भारतीय सुरक्षा संयन्त्रहरूलाई गुहार्नुपरेको थियो । भारतीय बाह्य गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको बहुप्रचारित भ्रमण एवं गोप्य बैठकहरूले समेत भाजपालाई नेपालमा सहयोगी राजनीतिक शक्ति पहिल्याउन खासै मद्दत गरेको जस्तो देखिँदैन ।

नेपालका आस्थाच्युत (ल्याप्स्ड) कम्युनिस्ट पनि कसैभन्दा कम ‘राष्ट्रवादी’ नहुने रहेछन् । आफ्नो विरोध मत्थर गर्ने कर्मलाई तिनले भारतको समर्थनका रूपमा अर्थ्याएर भजाउन खोज्ने रहेछन् । कूटनीतिज्ञ एवं सुरक्षा निकायहरूलाई त्यति भए पुग्छ । भाजपा भने राजनीतिक दल भएकाले आफ्ना सम्भाव्य समर्थकबाट त्यसभन्दा बढी संलिप्तताको अपेक्षा राख्छ । पश्चिमाहरूसँगको परम्परागत निकटताले गर्दा नेपाली कांग्रेस भाजपाको असल मित्र त हुन सक्छ, सहयोगी भने कदापि हुन सक्दैन । सर्वहाराको अधिनायकवादमा दीक्षित नेपालका कम्युनिस्टहरू जस्तोसुकै गाढा गेरू रंगको रामनामी ओढे पनि ‘हिमालयात् समारभ्य यावत् इन्दु सरोवरम् / तं देवनिर्मितं देशं हिन्दुस्थानं प्रचक्षते’ मान्यताअन्तर्गत सरसंघचालकको सत्ता स्वीकार गर्न तिनको नृजातीय राष्ट्रवादले दिँदैन । भाजपालाई नेपालमा ‘भ्रातृ दल’ नै नभए पनि कम्तीमा भरोसायोग्य ‘मित्रशक्ति’ नभई नहुने भएको छ । केही महिनाअगाडि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले गृहमन्त्री अमित शाहले आफूलाई भाजपाको विस्तार ‘नेपाल र श्रीलंका’ मा पनि गर्ने योजना सुनाएको दाबी सार्वजनिक कार्यक्रममा गरेका थिए । त्यस्तो दीर्घकालीन कार्यक्रमको सुरुआत सत्ता राजनीतिको आधारशिला मानिने उत्तर प्रदेश एवं बिहारको निकटतम नेपाली छिमेकी तराई–मधेसबाट भयो भने त्यसमा आश्चर्य मान्नुपर्ने के नै छ र ? यदि त्यस्तो पूर्वानुमान सही हो भने नेपालको प्रजातान्त्रिक आन्दोलनका भीष्म पितामहले सेतो वा नीलो पहिरन परित्याग गरेर गेरू वस्त्र अंगीकार गरेको यथार्थ स्वाभाविक हुन जान्छ ।

परिस्थितिजन्य बाध्यता

अन्य जुनसुकै राजनीतिकर्मीहरूमा जस्तै महन्थ ठाकुरमा पनि अनगिन्ती कमजोरी छन् । नेपाली कांग्रेसको ‘स्कुलिङ’ ले गर्दा होला, जटिल समस्याको सहज समाधानले उनलाई आकर्षित गर्दैन । आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाजस्तै निपुण सहयोगीहरूमाथि आवश्यकताभन्दा बढी भरोसा गर्छन् । विश्वास टुटेपछि कुनै वैरभाव नराखी आफैं अलग्गिन्छन् । कृष्णप्रसाद भट्टराईजस्तै कुनै निर्णय नलिनु पनि एउटा निर्णय हो भन्ने सिद्धान्तअनुसार लामो कालसम्म अलमल गरिबस्छन् । तर, प्रखर आलोचकहरूले समेत ठाकुरमाथि राजनीतिक बेइमानीको आरोप भने लगाउन सक्दैनन् । नाम महन्थ भए पनि उनी गद्दी चलाउने मठाधीश होइनन्; व्यावहारिक राजनीतिकर्मी हुन्, अडानबाट पछि हटेर सम्झौता गर्न डराउँदैनन् ।

व्यक्तिगत लाभको लोभ परित्याग गरिसकेका भए पनि इतिहासबोध भने अझै तीक्ष्ण छ । नेपालमा मधेसीहरूको हित सुरक्षित गर्ने मुद्दामा उनी आफ्ना कुनै पनि कनिष्ठ राजनीतिकर्मीहरूभन्दा कम क्रान्तिकारी छैनन् । भारतपरस्त भएको मिथ्या आरोप सहेर नेपाली कांग्रेसमा रहेर पनि उनी राष्ट्रवादी कहलिन मधेसको समग्र हित परित्याग गर्न तयार भएनन् । मधेसको हित सम्वर्द्धन गर्न मातृदल त्याग गर्नेुपर्ने बाध्यात्मक परिस्थितिजस्तै उनका लागि अहिले भाजपाको ‘समग्र हिन्दुत्व’ अवधारणालाई नेपालमा कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी आइलागेजस्तो छ । राजनीतिका महन्थ भए पनि उनमा सन्त देखिने लालसा छैन । त्यसैले अलोकप्रिय तर आवश्यक लागेको काम गर्न पछि पर्दैनन् ।

भाजपाको ‘समग्र हिन्दुत्व’ अवधारणाले ब्राह्मणवादले गर्दा हिन्दुत्व राष्ट्रवादबाट बाहिर परेका पिछडा एवं अति पिछडा भनिने जातिहरूलाई धर्मको राजनीतिका लागि परिचालित गर्नुपर्ने आवश्यकतालाई महत्त्व दिन्छ । जनजातिहरूको ‘हिन्दु पहिचान’ भाष्य निर्माणलाई अगाडि बढाउँछ । अम्बेडकर एवं काशीरामले संगठित गरेका जागरुक दलित समूहभन्दा बाहिर पारिएका तथाकथित महादलितलाई ऐक्यबद्ध गर्छ । अशराफ सम्भ्रान्त बाहिरका पसमन्दा मुसलमानहरूको सहवरण गर्छ । भारतको ‘गोबरपट्टी’ भनिने हिन्दीभाषी क्षेत्रलाई भाजपाले यस्तै सूत्रद्वारा कब्जामा लिएको हो । त्यस्तो समीकरण तराई–मधेसमा पनि प्रभावी नै हुन्छ भने त छैन तर अनिश्चितता एवं जोखिम चुनावी राजनीतिका अविभाज्य अंग हुन् ।

परम्परागत वैमनस्यले गर्दा बाहुबली यादव एवं धनले समर्थ वैश्य एउटै छाप र छातामुनि बसेर राजनीति गर्न कठिन हुन्थ्यो । वैश्य वर्चस्व भए बिच्किएका यादव नेपाली कांग्रेसतिर जान्थे । यादव वर्चस्वले वैश्यलाई एमालेतिर घचेट्थ्यो । पहाडमा खस–आर्यको हालीमुहाली भएजस्तो मधेसमा तथाकथित ठूला जातका राजनीतिकर्मीहरूको चुरीफुरी अब बाँकी छैन । तिनले आफ्नो आवश्यकता सावित गर्न उपयोगी बन्नुपर्नेछ । महन्थ ठाकुरमा रहेको सैद्धान्तिक अडान एवं व्यावहारिक लचकता मधेसमा जातीय गठजोड बनाउने बेला उपयोगी ठहरिन सक्छ ।

उपेन्द्रसँगको जातीय ऐक्यबद्धताले गर्दा उत्तर प्रदेश एवं बिहारका एकताकाका समाजवादीहरू नेपाली कांग्रेसबाट पनि टाढिइसकेका छन् । भारतीय कांग्रेसका अन्य कार्यक्रमजस्तै नेपालनीति पनि अस्पष्ट छ एवं तिनको परम्परागत सामीप्य खस–आर्य सम्भ्रान्तसँग छ । यताका होऊन् वा उताका, घरभित्र जति बाझे पनि वैदेशिक मुद्दामा परेका बेला कम्युनिस्टहरू एकअर्कालाई काँध थाप्न हच्किँदैनन् । महन्थ ठाकुर वा राजेन्द्र महतोका लागि भरतमा भाजपाबाहेक अर्को कुनै ‘मित्रशक्ति’ हुन सक्दैन ।

भूराजनीतिको त्रिकोणमा पञ्चायतको विघटनपछि अमेरिकीहरूको वरदहस्त नेपाली कांग्रेसतिर सरेको छ । कम्युनिस्टहरूलाई जुटाएर होस् वा फुटाएर चाहेको बखत परिचालन गर्न सक्ने चिनियाँहरूको प्रभाव भविष्यमा बढ्दै जाने निश्चित छ । तराई–मधेसलाई आधारक्षेत्र बनाउने राजनीतिकर्मीहरूले नयाँदिल्लीको मुख नताकी धरै छैन । र, उत्तर प्रदेशको आसन्न निर्वाचनले उथलपुथलको संकेत गरेन भने आरएसएसको शताब्दी महोत्सव भाजपा सरकारकै अगुवाइमा हुनेछ । व्यक्तिगत तवरले भाजपाको घृणा–उत्प्रेरित राजनीति मन नपराए पनि महन्थ ठाकुरले नेपालमा ‘गेरुवा राजनीति’ को अभ्यास तराई–मधेसबाट सुरु गरे भने अचम्भ नमाने हुन्छ । मधेसको दीर्घकालीन हितका लागि उनी कांग्रेस छाडेर अवसरवादी कहलिए, नाकाकस्सीको स्वामित्व लिएर गद्दार संज्ञा पाए, ओलीको समर्थनमा उभिएर लोभी ठहर्‍याइए र पार्टी फुटाउने प्रक्रियामा सामेल भएर विभाजक पनि बनिसकेका छन् । सके केही पाइएला, नभए गुमाउने प्रकृतिको ‘नाम’ समेत बाँकी नरहेका महन्थ ठाकुर नेपालमा ‘समग्र हिन्दुत्व’ को गेरुवा राजनीतिका संवाहक ठहरिन सक्छन् । त्यस्तो अभ्यासले अन्ततः देश र मधेसको हित सुनिश्चित नहुने पक्का छ । अल्पकालीन असर भने नेपाली राजनीतिको सकारात्मक उथलपुथल एवं नयाँ ध्रुवीकरणमा देखिन सक्छ ।

सन् १९९० को दशकसम्म पाकिस्तानमा ‘अल्लाह, आर्मी और अमेरिका’ भनिने तीनथरी ‘अ’ ले सत्ता चलाउँछन् भन्ने गरिन्थ्यो । अन्तिम ‘अ’ लाई चीनको ‘च’ ले विस्थापित गरिसकेको छ । नेपालमा भने ‘आर्मी, अदालत र अमेरिका’ मिलेर राजनीतिक दिशा परिवर्तन (कोर्स करेक्सन) गर्न सक्ने तीन ‘अ’ को अग्रसरताले सन् १९९० पछि गति लिएको हो । महन्थ ठाकुरको छनोट अदालतमा विचाराधीन रहेको मुद्दाको फैसलापछि मात्र उजागर हुनेछ । तर, भीष्म पितामह न हुन्, उनि पराजित भएर वाण शय्यामा पल्टिँदासम्म पनि मधेसीको हितका लागि असत्यको सत्तासँग सम्झौता गर्नुपरेको बाध्यतालाई सही ठहर्‍याउन छाड्ने छैनन् ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?