कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालबालिकाका दाँत र मुटु

दूधेदाँत अस्वस्थ भएपछि त्यसपछि आउने दाँत पनि खराब नै हुन्छ । दाँत अस्वस्थ भएपछि सम्पूर्ण स्वास्थ्यमा असर पर्छ ।

१७ वर्षका पूर्णको उचाइ ५ फुट ८ इन्च छ भने तौल ११० किलो । तर उनका चारवटा दाँतमा कीरा लागिसकेको छ । ती किशोर केक र चाउचाउ नभईकन बस्नै मान्दैनन् । चाउचाउको विज्ञापनले उनलाई उत्साहित तुल्याउँछ । 

बालबालिकाका दाँत र मुटु

हामीले आफ्ना छोराछोरीलाई चिनी हालिएका धेरै गुलिया पदार्थ त दिन्छौं, तर त्यस्ता खानेकुराले उनीहरू जीवनभरका लागि बिस्तारै अस्वस्थ हुँदै जाने यथार्थलाई हेक्का गर्दैनौं । हाम्रो खानामा कुल क्यालोरीमा गुलियो पदार्थको मात्रा कम हुनुपर्छ । स्वास्थ्यकर खानामा शरीरलाई आवश्यक पर्नेर् प्रोटिन, कार्बोहाइड्रेट, मिनरल, फाइबर हुन्छन् । चिनी, चिल्लो र नुनको मात्रा बढी भएको खाना ‘पत्रु’ मा दरिन्छ । त्यस्तो खानामा माथि उल्लेख गरेजस्तो प्रोटिन, खनिज आदि हुँदैनन् ।

तर यो समस्या नेपालमा मात्र होइन, अमेरिकाजस्तो देशमा पनि छ । शिक्षित आमाबाबुले समेत बालबालिकालाई धेरै मात्रामा चिनी भएका खानेकुरा दिन्छन् र मोटो बनाउँछन् । त्यसले गर्दा किशोरावस्थामा उनीहरूलाई मोटोपन र मुटुको रोगसँगै मधुमेह र मृगौलामा समस्या भइसक्छ ।

चिनीले स्वास्थ्यमा पार्ने समस्या थाहा पाउन बालबालिकाका दाँत हेरे पुग्छ । पहिलेपहिले नेपालका पहाडी भागहरूमा बालबालिकाका दाँतमा कहिले कीरा लाग्ने आदि समस्या देखिँदैनथे किनभने बालबालिकाले चकलेट, मिठाई र आइसक्रिम खान पाउँदैनथे । तर अहिले त बालबालिकालाई खुसी पार्न वा उपहारका रूपमा यस्तै वस्तुहरू दिने गरिन्छ । परिणामस्वरूप सानै उमेरदेखि दाँतमा कीरा लाग्न थालेको छ । तर कमै अभिभावकले मात्र यस्ता गुलिया र चिनी भएका पदार्थले सन्तानको दाँत बिगारिरहेको छ भनेर थाहा पाउँछन् । र यस्तो ‘माया’ ले बालबालिकाको दन्त स्वास्थ्यमा नराम्रो असर पार्छ । दूधेदाँत अस्वस्थ भएपछि त्यसपछि आउने दाँत पनि खराब नै हुन्छ । दाँत अस्वस्थ भएपछि सम्पूर्ण स्वास्थ्यमा असर पर्छ ।

विडम्बना, दाँत बिगार्ने तिनै गुलिया र पत्रु खानेकुराहरू नै बालबालिकाले सबैभन्दा बढी मन पराउँछन् । गुलियोको मात्रा धेरै भएको खानेकुरा पाएपछि प्रायः बालबालिकाले अन्य स्वस्थ खाना खाँदैनन् । यसरी खानालाई बालबालिकाको प्रिय बनाउन गुलियोको मात्रा थप्ने व्यावसायिक चलनले जनस्वास्थ्यमा ठूलो नकारात्मक प्रभाव पार्ने गरेको छ । बालबालिकाले घरेलु खाना छोडेर गुलिया बिस्कुट, कुकिज, केक, चकलेट, आइसक्रिम, तयारी जुस, पेय पदार्थ मात्र दिन किन रुचाउँछन् ? त्यस्ता कुरा खान बालबालिकाले कसरी सिके ? कसले खान सिकायो ? कसरी घरमा सधैं उपलब्ध हुने गर्छ ? यस्ता प्रश्नबारे धेरै अभिभावकले ध्यान दिँदैनन् वा आधुनिक अभिभावक बन्ने होडमा बालबालिकालाई त्यस्ता पत्रु खाना खुवाइरहेको हेक्का रहन्न ।

अस्वास्थ्यकर खानाकै कारण बाल्यकालदेखि नै मुटुरोगको बीजारोपण हुने गर्छ । बालबालिका अवस्थामा बढी चिनी र नुन भएका पत्रु खाना लिनाले भविष्यमा मुटुसम्बन्धी रोग लाग्न सक्ने जोखिम बढ्छ । मुटुरोगलाई पहिले नेपालको सहरिया र सम्भ्रान्त परिवारको मात्र समस्याका रूपमा बुझिन्थ्यो । तर अहिले गाउँ–सहर र मध्यम तथा निम्नवर्गका समुदायमा पनि यो समस्या बढ्दो छ ।

चिनीका कारण स्वास्थ्यमा हुने खराबीबारे विश्व स्वास्थ्य संगठनले नै औपचारिक धारणा राखिसकेको छ । पछिल्ला दस वर्षदेखि धेरै जनस्वास्थ्य विशेषज्ञ, पोषणविद् र दन्त चिकित्सकहरूले चिनीले स्वास्थ्यलाई असर गर्छ भनिरहे पनि विश्व स्वास्थ्य संगठनले त्यसमा बल्ल मोहर लगाएको हो । उसले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञहरूले भनेका छन्, ‘सन् २००२ मै विश्व स्वास्थ्य संगठनले खानेकुरामा चिनीको मात्रा निकै कम हुनुपर्छ भनेर निष्कर्ष निकालिसकेको थियो । उसले यो अध्ययनलाई किन यति ढिलो सार्वजनिक गरेको होला !’ सायद ठूला व्यापारीहरूको दबाबले ।

ब्रिटिस मेडिकल जर्नल जनस्वास्थ्यका क्षेत्रमा एउटा प्रतिष्ठित नाम हो, जसले लेखेको छ, ‘सीधै चिनी खानाले मात्र होइन कि चिनी हालेका मिठाई, फलफूलका रस, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा कीरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’

विभिन्न तथ्यांकले देखाएका छन्— विकसित देशहरूमा ज्यादा खाना, व्यायामको कमीले मोटोपनसँगै मुटुरोग मृत्युको कारण बनिरहेको छ । मोटोपनका कारण क्यान्सर पनि हुन सक्छ । खुट्टाको रगतका नसाहरू सुन्निने, घुँडा दुख्ने, ढाड दुख्नेजस्ता समस्याहरू त मोटोपनसँगै बढ्दै जान्छन् । कमै मानिसले मात्रै ढाड वा घुँडा दुख्ने समस्यालाई मोटोपनसँग जोड्छन् । ऐया–आत्था भन्दै अनेक किसिमका मालिस लगाएर उनीहरू ढाडको पीडा कम गर्न खोज्छन्, तर केक, मिठाई, आइसक्रिम भने त्याग्न सक्दैनन् ।

अहिले अमेरिकाका स्वास्थ्यकर्मीहरू बालबालिकाको स्वास्थ्यमा पत्रु खानाको असरलाई लिएर चिन्तित छन् । भविष्यका कर्णधारहरूलाई पर्ने स्वास्थ्य समस्या, यसले उत्पन्न गर्ने आर्थिक–सामाजिक समस्याहरूबारे पनि धेरै छलफल गरिरहेका छन् ।नेपालका दन्त चिकित्सकहरूले बालबालिकाका दाँतमा कीरा लाग्नुको सम्पूर्ण दोष अभिभावकहरूलाई दिन्छन् । दाँतमा कीरा लाग्नुको सोझो सम्बन्ध गुलियो र पत्रु खानाको बढी सेवन अनि घरमा बालबालिकाको मुख स्वास्थ्यमा ध्यान नदिनु हो । बालबालिकाका दाँतमा कीरा लाग्नुले प्रायः सम्बन्धित घरपरिवारको दन्त स्वास्थ्यप्रतिको हेलचेक्र्याइँलाई इंगित गरिरहेको हुन्छ । कुनै पनि अभिभावकले आफ्ना बालबालिकालाई फोहोरी अवस्थामै स्कुल पठाउँदैनन्Ù घरमा पनि सफा नै राख्छन् । त्यस्ता अभिभावकले दन्त स्वास्थ्यबारे चाहिँ बेवास्ता नै गरिरहेका हुन्छन् । परिवारको गरिबीका कारण बालबालिकामा हुने स्वास्थ्य समस्या अर्को पाटो हो, तर पत्रु खाना, गुलियो र पेय पदार्थ खाएर बालबालिकाका दाँत बिग्रनुमा अभिभावककै दोष हुन्छ ।

खुसी पार्ने नाममा वा आफूले नभ्याएको बहानामा कति अभिभावकले बालबालिकालाई बिगार्छन् भन्ने जान्न एउटा सानो सर्वेक्षण गरिहेरौं । बालबालिकालाई नजिकको खाद्य पसलमा लगेर एक सय दिँदै ‘ल, मन लागेको खानेकुरा किन’ भनियो भने तिनले के छान्छन् ? केक, कुकिज, बिस्कुट, आइसक्रिम, बदाम जुस, घरको फ्रिज वा दराजमा बालबालिकालाई मन पर्छ भनेर पत्रु खाना राखिन्छ कि राखिन्न ? तिनलाई फकाउन बिस्कुट, आइसक्रिम आदि दिइन्छ कि दिइन्न ? यस्ता प्रश्नका उत्तरहरू अभिभावकले खोजे भने पनि भविष्यमा दाँत र मुटुको स्वास्थ्य राम्रो पार्न मद्दत पुग्छ ।

हामीलाई पत्रु खानाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भनी थाहा नभएको भने होइन । ‘के गर्ने, यसको बानी परिसक्यो ! अब हटाउनै गाह्रो छ’ भनेर टार्ने गर्छौं । तर, बालबालिकालाई रक्सी र चुरोट दिइन्न भने पत्रु खानाचाहिँ किन दिने त ? बानी सुधार्न नसकिने होइन, खाँचो छ त अठोटको । अभिभावकले अठोट नगरी परिवारमा कसैको पनि खाने बानी सुध्रिन सक्दैन । त्यसैले आजैदेखि बालबालिकालाई पत्रु खाना नदिई स्वस्थ भई बाँच्ने वातावरण बनाइदिए भविष्यमा उनीहरूले अभिभावकलाई धन्यवाद दिनेछन् ।

(कोइराला दन्त चिकित्सक र उप्रेती जनस्वास्थ्य विज्ञ हुन् ।)

प्रकाशित : श्रावण ११, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?