बालबालिकासँग भर्चुअल छलफल- विचार - कान्तिपुर समाचार

बालबालिकासँग भर्चुअल छलफल

यमुना पराजुली अधिकारी

पहिलो चरणको लकडाउन अन्त्य हुनु थोरै अगाडि हामी स्कुले साथी मिलेर फेसबुक मेसेन्जरमा एउटा ग्रुप बनाएका थियौं । सो ग्रुपमा हामी स्कुलका मात्र नभई बाल्यकालदेखि सँगै हुर्के–बढेका साथी थियौं । कोही त एउटै थालमा भात खाएका साथी पनि थियौं । ग्रुपमा राम्रोसँग गफ जम्न नपाउँदै लकडाउन खुकुलो भयो । सबै आआफ्ना काममा लागियो । कहिलेकाहीँ हाई–हेलोसिबाय केही भएन । 

दोस्रो चरणको लकडाउनमा भने हाम्रो ग्रुप खुबै जम्यो । बाल्यकालका रमाइला किस्सा सुन्दा र सुनाउँदा भने कहिले लाज लाग्यो त कुनै बेला गर्व पनि महसुस भयो । केही कुरामा तारिफ पाइयो/गरियो भने केही कुरामा आफू रातो भइयो र अरूलाई पनि रातो पारियो । रुसी लेखक अलेक्ज्यान्डर रास्किनले भनेझैं, हामीले बालबालिकाका लागि लेख्ने कथा त साँच्चै हाम्रै बाल्यकालका कथा पो रहेछन् । साथीहरूसँग छलफल भइरहँदा मलाई महसुस भयो, मैले अगाडि लेखेका कतिपय बालकथा त आफ्नै कथा पो रहेछन् ।

अझ हामी गाउँघरमा हुर्के–बढेकाहरूका लागि त जताततै कथैकथा । खोलानाला, लेकबेंसी, घाँसदाउरा, मेलापात कतिकति । साथीहरूका छोराछोरी मोबाइल स्क्रिनमा झुलुकझुलुक देखिँदा बाल्यकालका आफ्नै साथी देखेझैं भइरहेको थियो । हरेक क्षण बाल्यकाल फर्केर आइरहेको थियो ।

सुरुसुरुमा गफ मात्र गरेर बिताउने हामी पछिल्लो समयमा भने दिनको एउटा विषयमा छलफल गर्न थाल्यौं । भगवद्गीतादेखि कुरान हुँदै बाइबलसम्म पुग्यौं । दिमाग खियाउने, साइनो पत्ता लगाउने हुँदै गाउँखाने कथाको दिन भने साथीहरूका छोराछोरी पनि केही उत्सुक भएर छेउमै सुनेर बस्थे र केही आफ्ना जिज्ञासा पनि राख्थे, जानेको भन्थे । मोबाइल मात्र चलाएर बस्न बाध्य छोराछोरी हामीसँग कुरा गर्न आएको र यसरी घुलमिल भएकामा हामी खुसी भइरहेका थियौं । नानीबाबुहरू यसरी उत्सुक हुन थालेपछि हामीले एक दिन बिराएर उनीहरूलाई केही विषयमा छलफल गर्न दिने सल्लाह गर्‍यौं । विषय उनीहरूले नै छान्ने भए ।

नभन्दै उनीहरू एउटा–एउटा विषयमा कुरा गर्न थाले । हामी श्रोता भयौं । उनीहरूका कुरा सुनिरहँदा लाग्यो, हामीभन्दा निकै अगाडि रहेछन् । सोचाइको दायरा कति फराकिलो ! उनीहरूको उमेरमा हाम्रो क्षमता कहाँ यस्तो हुनु !

उनीहरूको बहसले मलाई बाल्यकालको एउटा किस्सा सम्झाइदियो । स्कुलमा छँदा एउटा वादविवाद प्रतियोगितामा मैले भाग लिएकी थिएँ । विषय थियो— ‘धन ठूलो कि विद्या ?’ मञ्चमा पुगेपछि मलाई त काम छुट्यो, के–के बोलें आफैंले थाहा पाइनँ । तर अहिलेका बालबालिका हर कुरामा कति अगाडि ! कस्तो स्पष्ट !

अर्को एक दिन हाम्रा छोराछोरीको विषय थियो– ‘झुट’ । सबैजसोको भनाइ थियो, ‘झुटो बोल्न त हुँदै हुँदैन । हामीले कसैसँग झुटो बोले पनि आफूले आफ्नो आत्मालाई, आफूलाई कहिल्यै ढाँट्न सकिँदैन ।’ तर एउटी नानीको कुराले ध्यान बढी खिच्यो । उनी भन्दै थिइन्, ‘हामीले सधैं सत्य मात्र पनि बोल्नु हुँदैन । यदि सत्यले कसैको हानि–नोक्सानी गर्छ र चित्त दुख्छ भने त्यहाँ झुटो बोलेकै ठीक ।’ मैले सोधें, ‘भन त कस्तो अवस्थामा झुटो बोल्ने, कस्तो अवस्थामा नबोल्ने ?’

‘आन्टी, म एउटा कथा सुनाउँछु है त ?’ भन्दै उनी सुरु भइन्, ‘राम भन्ने एउटा केटा थियो । उ सधैं झुटो बोल्थ्यो । एक दिन उसका बुबाले उसलाई बेस्सरी गाली गर्नुभयो र अबदेखि झुटो नबोल्न प्रण गराउनुभयो । उसले त्यस्तै प्रण गर्‍यो । ऊ सधैं सत्य बोल्न थाल्यो । परिवारका सदस्य सबै खुसी थिए । एक दिन घरमा पाहुना आउनुभयो । उहाँले रामलाई धेरै खानेकुरा ल्याइदिनुभएको थियो । उहाँले सोध्नुभयो— तिमीलाई यो खानेकुरा मन पर्छ ? उसले भन्यो— धेरै मीठो लाग्छ । उहाँले सोध्नुभयो— अनि तिमी मलाई मन पराउँछौ ? रामले भन्यो— अहँ, मन पराउँदिनँ; तपाईंको ओठ ठूलो छ; आँखा डरलाग्दा छन्; बोली पनि मीठो छैन । यो सुनेर ती पाहुना रातोपिरो हुनुभयो । रामले फेरि बेलुका बुबाको गाली खानुपर्‍यो । त्यसले अरूलाई असर पर्छ भने हामीले त्यहाँ सत्य बोल्नु हुँदैन, बरु मौन बसिदिनुपर्छ, हामी यदि झुट बोल्न चाहँदैनौं भने ।’

सबैलाई उनको कुरा चित्त बुझ्यो । अरू नानीबाबुले पनि भने– अबदेखि हामी यो कुरा ख्याल राख्छौं ।

yamunaadhikari127@gmail.com

प्रकाशित : श्रावण ८, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

ओलम्पिकमा लक्ष्यविहीन नेपाल

सम्पादकीय

विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ग्रीष्मकालीन ओलम्पिकको ३२ औं संस्करण टोकियोमा शुक्रबार सुरु हुँदै छ । कोरोना महामारीको त्रासबाट उत्रिँदै गरेको विश्वलाई खेलकुदबाट त्राण भर्न ११ हजारभन्दा बढी खेलाडी टोकियोमा भेला भएका छन् ।

केही खेलको स्पर्धा बुधबारदेखि नै सुरु भएको छ । कोभिड–१९ कै कारण १ वर्ष सारिएको ओलम्पिकमा जापानले पाहुनाहरूलाई संक्रमणबाट जोगाउन हरसम्भव प्रयास गरिरहेको छ । यद्यपि ओलम्पिक भिलेजभित्रै केही खेलाडी तथा अधिकारीहरूलाई संक्रमण देखिएको छ । असामान्य अवस्थामा पनि ओलम्पिकको विरासत अगाडि बढाउने प्रयास जापानले गरिरहेको छ ।

प्रायः अन्य मुलुकले ओलम्पिकको सफलतालाई आफ्नो समृद्धिसित जोडेका हुन्छन्, नेपाल भने ठीक त्यसको विपरीत धारमा उभिँदै आएको छ । खेलकुदको यो विश्वकुम्भमा नेपालको उपस्थिति अहिलेसम्म केवल सहभागितामै सीमित छ । यस पटक पनि नेपालले सहभागी हुनेभन्दा बढी लक्ष्य राखेको देखिँदैन । ओलम्पिकको नाममा जापान भ्रमण गर्ने पदाधिकारीको लर्को लागेको छ । नेपालबाट चार खेलका ५ खेलाडी सहभागी छन्, तर टोकियोमा ओलम्पिक मेला भर्न जाने नेपाली टोलीको संख्या २६ छ । जबकि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा विभिन्न चरणमा जापान पुगेको नेपाली टोलीका धेरैजसो अधिकारीले सम्भवतः उद्घाटन समारोह पनि होटलकै टेलिभिजनमा बसेर हेर्नुपर्नेछ । किनभने, कोभिडकै कारण यसपल्ट ओलम्पिक उद्घाटन समारोहमा एक हजारभन्दा कम मानिसको रंगशालामा उपस्थिति हुनेछ ।

अचम्मलाग्दो त, ओलम्पिक खेल्ने खेल संघका एक जना पनि पदाधिकारी जापान गएको नेपाली टोलीमा छैनन् । त्यसको स्थानमा अर्कै खेल संघका अध्यक्षहरू टोली व्यवस्थापनको सामान्य जिम्मेवारी लिएर जापान सयर गरिरहेका छन् । कवड्डी संघको अध्यक्ष र बहालवाला एक संघीय सांसद पदीय मर्यादा र गरिमा बिर्संदै जुडो टिमको व्यवस्थापकका रूपमा ओलम्पिक जानु चरम विदेश यात्रा मोह मात्र होइन, राष्ट्रिय बेइज्जती र पद तथा स्रोतको दुरुपयोग पनि हो । एक खेलाडी समावेश जुडोमा दुई जना व्यवस्थापक छन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष पनि जुडोको व्यवस्थापक भएर गएका छन् । फेन्सिङ संघका अध्यक्ष सुटिङको व्यवस्थापकको रूपमा गएका छन् । राखेपका पूर्वउपाध्यक्ष भइसकेका पीताम्बर तिम्सिना एथलेटिक्सको व्यवस्थापक बनेका छन् । बक्सिङ संघका अध्यक्ष पौडीको व्यवस्थापक भएका छन् ।

टेबलटेनिस संघका अध्यक्षलाई कोभिड लाइसेन्स अफिसरको जिम्मा दिइएको छ भने खेलकुद मन्त्रालयका सचिव नेपाल ओलम्पिक कमिटी (एनओसी) को अट्याची बनेका छन् । राष्ट्रिय खेलकुद परिषद्का दुई बोर्ड सदस्य एनओसीको प्रशासनिक कर्मचारीका रूपमा जापान पुगेका छन् । यसरी खेल संघको नेतृत्व लिएका, राखेपको बोर्डमा प्रतिनिधित्व गरेका र संघीय सांसदसम्म भइसकेका व्यक्तिहरूलाई सामान्य कर्मचारीको भूमिकामा जापान लाने बन्दोबस्त मिलाएको नेपाल ओलम्पिक कमिटीले एक जना पनि फिजियोथेरापिस्ट लान भने आवश्यक ठानेन । बरु शक्तिकेन्द्रलाई खुसी पार्नुमै आफ्नो भलाइ देख्यो । ओलम्पिककै नेतृत्व पनि संघीय सांसदले गरेकाले पनि यस्तो भएको हुन सक्छ । कारण जे भए पनि यो दृश्य लज्जास्पद छ ।

खेलाडी सहभागितासम्बन्धी प्रश्नमा पनि टोकियो यात्रा विवादमुक्त छैन । धावक गोपीचन्द्र पार्कीलाई छनोटको आश्वासन देखाएर अन्तिम समयमा वञ्चित गर्नुलाई उचित मान्न सकिन्न । सामान्यतः खेलकुदका आम विषयमा परस्परविरोधी व्यवहार देखाउने तीन निकाय एनओसी, राखेप र एथलेटिक्स संघ, एउटा खेलाडीलाई ओलम्पिक सपना देखाएर बीचमै फिर्ता ल्याउन एकै ठाउँमा उभिए । यसबारे छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्ने जिम्मेवारीमा रहेका राखेप सदस्यसचिव सिलवाल आफैं यसको मतियारजस्तो देखिनु विडम्बनापूर्ण छ ।

नेपालले सन् १९६४ मा जापानमै भएको ग्रीष्मकालीन ओलम्पिकदेखि सहभागिता जनाउन थालेको हो । साढे पाँच दशकको इतिहासमा सन् १९६८ बाहेक सबै ओलम्पिकमा प्रतिनिधित्व गरेको छ । नेपालबाट यो संस्करणको समेत जोडेर ८९ जनाले ओलम्पिक खेलेका छन् । तीमध्ये सबैभन्दा धेरै एथलेटिक्सका छन् । एथलेटिक्सका ३० जना ओलम्पियन छन् । तापनि अहिलेसम्मको सहभागिता उपलब्धिविहीन छ । सन् १९८८ को सियोल ओलम्पिकमा विधान लामाले तेक्वान्दोबाट कांस्य जिते पनि प्रदर्शनी खेल भएका कारण पदकले आधिकारिक मान्यता पाएन । कतिपय खेलाडी त मिनेट होइन केही सेकेन्डमै पराजित भएका उदाहरण धेरै छन् ।

कतिपय देशमा पदकलाई लक्ष्य बनाएर दसौं वर्षअघिदेखि ओलम्पिक तयारी गरिन्छ । नेपालमा भने १० दिनअघिसम्म पनि ओलम्पिक खेल्ने खेलाडी निश्चित हुँदैन । त्यसैले म्याच एक्स्पोजर, प्रशिक्षण, पूर्वाधार सबैमा पछाडि परेको नेपालले तत्कालका लागि पदकको आशा गर्नु बेकार हुन्छ । आजको समयमा पनि उही परम्परागत खेलकुद प्रणालीले हाम्रो देशलाई अझै पछाडि धकेलेको छ । राजनीतीकरण, दोहोरो पदको लोभ, विदेशमोहले जबसम्म यसरी खेलको विकास ओझेलमा परिरहन्छ, तबसम्म ठूला प्रतियोगितामा सफलता हात पर्न सक्दैन । त्यसैले यो प्रवृत्तिमा सुधार अत्यावश्यक छ ।

प्रकाशित : श्रावण ८, २०७८ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×