नयाँ पुस्ताको नालायकी- विचार - कान्तिपुर समाचार

नयाँ पुस्ताको नालायकी

अधिकांश मुलुकमा नयाँले नेतृत्व जितेर अथवा बित्दो पुस्तालाई सम्झाएर, बुझाएर लिने हो, छोड्न लगाउने हो । माग्ने होइन । फेरि मागेर पाएको नेतृत्वले कार्य प्रदर्शन चाहेर पनि गर्दैन, गर्न सक्दैन । साथै बुढेसकालसम्म दयावश पाइएला भनेर पर्खेर बस्नेले त झनै काम गर्न सक्दैन ।
श्रीकृष्ण अनिरुद्ध गौतम

राजनीतिले अनौठो मोड लिएको छ । संसद्‌मा एकतिहाइभन्दा कम प्रतिनिधित्व भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । २०७४ सालको दुईतिहाइ २०७८ मा आइपुग्दा संसद्‌भित्रै एकतिहाइभन्दा पनि कममा ओर्लिएर सिंहदरबारबाट बिदा भएको छ ।

पाठकले पक्कै बुझ्नुभयो, प्रधानमन्त्रीमा झन्डै दुईतिहाइद्वारा समर्थित खड्गप्रसाद शर्मा ओली एकतिहाइभन्दा पनि कममा ओरालिएर/ओर्लिएर बालुवाटारको राजकीय आवासबाट उछिट्टिँदै बालकोट घर पुगेका छन् ।

अझ गजब त के भने, २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ अर्थात् एकतिहाइभन्दा अट्ठाइस अंक कम संख्या (हाल दुई गयल) भएको कांग्रेसका सभापति देउवा १६५ सदस्य–समर्थित प्रधानमन्त्री बन्न पुगे । देउवा यसपालासहित पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । यस्तो प्रतीत हुन्छ, उनी पटक–पटक प्रधानमन्त्री बन्न नै यस धराधाममा अवतरित भएका हुन्, र घटनाक्रमले, अरू कोही लायकै नभए जसरी उनी नै पुनः प्रधानमन्त्री बनेका छन् । कुनै बेला अक्षम भनिएका देउवालाई माधवकुमार नेपाल र पुष्पकमल दाहालले सक्षम भनेर नै त होला, कम्युनिस्ट ओली हटाएर कांग्रेस देउवालाई बालुवाटारमा विराजमान गराएका छन् । माओवादी द्वन्द्वकालमा देउवालाई निकृष्ट भन्नसम्म पछि नपरेका बाबुराम भट्टराई आफैं देउवालाई प्रधानमन्त्री बनाउन मरिमेटेर लागिपरेका हुन् ।

यति मात्र होइन, देउवाका ज्योतिषीले उनलाई अझै दुई पटक प्रधानमन्त्री बन्ने योग छ भनेको सार्वजनिक भएको र उनी पाँचौं पटक चन्द्रशमशेरको दरबारका प्राधिकारी बनेकाले ग्रहदशादिमा विश्वासै नगर्ने नास्तिकहरूको मन पनि खलबलिएको छ । यस विश्वमा एउटै व्यक्ति हट्दै फेरि दोहोरिँदै पाँच पटक प्रधानमन्त्री बनेको सायद यहीँ हो । यद्यपि कांग्रेसकै नेता गिरिजाप्रसाद कोइराला पनि चार पटक प्रधानमन्त्री बनेका थिए, कृष्णप्रसाद भट्टराई दुई पटक । त्यस्तै कम्युनिस्टमा पुष्पकमल दाहाल र ओली दुई पटक (‘त्यो पर्दैन’ शपथसहित तीन पटक) प्रधानमन्त्री बनेका हुन् । उही व्यक्ति पाँचौं पटक बनेको घटनाचाहिँ २०७८ असार २९ मा मात्र भएको हो र निष्कर्षमा यसरी देउवाले आफ्ना राजनीतिक गुरु र कुनै बेला पार्टीभित्रका प्रतिद्वन्द्वी गिरिजाप्रसाद कोइरालालाई उछिनेर सर्वाधिक धेरै पटक प्रधानमन्त्री बन्ने सुयोग प्राप्त गरेका छन् ।

निश्चय नै पाँचौं पटक प्रधानमन्त्री बनिरहँदा देउवाका भाग्यको धेरैले प्रशंसा गरिरहेका छन् तर म यहाँ भाग्यवादको पैरवी होइन, नेपाली लोकतन्त्रमा दोहोरिइरहने अस्थिरता र अस्थिरताले निम्त्याएका पात्रहरूको प्रवृत्ति, त्यही प्रवृत्ति दोहोरिँदा निम्तिने अवस्थाबारे विमर्श गर्न गइरहेको छु । निश्चय नै निर्वाचनमा झन्डै बढारिएकै भए पनि यसपाला कांग्रेस र देउवाले नचिताएको सत्ताको उपहार पाएका छन् र यो सत्ता पाउनमा विशेष योगदान ओलीको चरम अहंकार छ । साथै ओलीबाट असाध्यै इखिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको अनुग्रह छ । कांग्रेसले सत्ताको नेतृत्व पाउनामा एकातिर ओलीको असह्य अहंकार र दम्भ, अर्कातिर चरम उपेक्षा र अपमानसृजित पीडाको भूमिका छ । दुईतिहाइको थामिनसक्नु दम्भ र त्यही दम्भवश समवयी नेताको व्यक्तिगत प्रतिष्ठामाथि निरन्तर प्रहारका कारण परन्तुमा वाक्–द्वन्द्व उत्पन्न भयो । त्यही द्वन्द्वका कारण विषम परिस्थिति निम्तिन पुगेको हो । त्यही विषम परिस्थितिका कारण दुईतिहाइको सत्ता भित्रभित्रै आफैं दुर्गन्धित बन्न पुगेको थियो ।

यसर्थ वर्तमान अस्थिरताको मुख्य अपयश पूर्वप्रधानमन्त्री हुन पुगेका ओलीलाई जान्छ, त्यसपछि क्रमैसँग माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई जान्छ । दाहाल र नेपाललाई किन जान्छ भने, देशकै इतिहासमा दोस्रो पटक शक्तिशाली बहुमतसहित गठित प्रतिनिधिसभामा आफ्नो बहुमत कायमै राखेर उनीहरूले सत्ताधारी पार्टीको संसदीय दलको नेता बदल्नुपर्थ्यो । तर उनीहरूले पार्टीका संसद्इतर निकायहरूको प्रयोग गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उद्योग गरे । त्यो बाटो नै गलत थियो किनभने संसदीय प्रथामा प्रधानमन्त्री संसदीय दल र संसद्प्रति उत्तरदायी हुन्छ, संसद्इतर पार्टीका निकायहरूको आदेश मान्न प्रधानमन्त्री बाध्य हुँदैन । व्यक्तिविशेषलाई प्रधानमन्त्री पदबाट हटाउन कि संसदीय दलमा, कि भने सोझै संसद्मै पराजित गर्नुपर्छ ।

कम्युनिस्ट स्कुलिङका कारण ज्ञानै नभएर पनि हुन सक्छ, पार्टीका सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको प्राधिकार संसद्को सरहदभित्र चल्दैन भन्ने स्थापित मान्यता कसैले मान्नै चाहेन । फलस्वरूप ओलीले उल्टो जबर्जस्ती गर्ने मौका पाइरहे । असन्तुष्ट र सत्ता दुवै पक्षले पद्धतिमाथि प्रहार गरिरहे । त्यसको उत्कर्ष थियो— ओलीद्वारा २०७७ पुस ५ मा गरिएको प्रतिनिधिसभाको प्रथम विघटन । झनै उत्पात त फागुन ११ मा प्रतिनिधिसभाको पुनःस्थापनापछि भयो । वास्तवमा पुनःस्थापित प्रतिनिधिसभामा प्रधानमन्त्रीकै रूपमा ओली रहिरहने कुनै नैतिक आधारै थिएन । त्यति मात्र होइन, वैशाख २७ मा विश्वासको मत प्राप्त गर्न नसकेर पराजित भएका ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्थ्यो । दिएनन् । त्यति मात्र होइन, संसदीय दलको नेता बदल्नु त परै, उनले सबैभन्दा ठूलो दलको नेताका रूपमा पुनः प्रधानमन्त्री पदको नियुक्ति लिए ।

ओली आफैंले संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न सिफारिस गर्ने र १४९ प्रतिनिधिसभा सदस्यको हस्ताक्षरसहित शीतलनिवास पुगेका देउवालाई उछिन्दै आफैं प्रधानमन्त्री दाबी गर्न पुग्नेसम्मका विचित्र व्यवहार त गरे नै, जेठ ८ को मध्यरातमा पुनः प्रतिनिधिसभा विघटन गरेर जगत्लाई अरू चकित पारे । फलस्वरूप, असार २८ को फैसलामा सर्वोच्च अदालतले शेरबहादुर देउवालाई, अनौठै लाग्ने गरी, प्रधानमन्त्री बनाउनैपर्ने परमादेशसहित ओलीको विघटनलाई बदर गरिदियो ।

यसर्थ यसमा दुईमत छैन, देउवा यसपाला जनादेशबाट नभएर परमादेशबाटै प्रधानमन्त्री बनेका हुन् । किनभने निर्वाचनमा कांग्रेसले सत्ता सञ्चालन गर्ने जनादेश पाएकै होइन । वास्तवमा जनादेश जसले पाएको थियो, उसले र उसको दल र त्यस दलका नेताहरूले पद्धतिको बारम्बार उल्लंघन गरेकाले देउवाका ग्रहदशा सप्रेका र कम्युनिस्टहरू पुनः टुक्राटुक्रामा विभाजित भएका हुन् । तर यी हरफमा म यी घटनाको परिचित्रण यसै प्रयोजनले मात्र गरिरहेको छैन अपितु देशमा नेतृत्वको यस हदको खडेरी किन छ भनेर प्रश्न उठाउन गइरहेको छु ।

तीस वर्षयता देखिएकै पात्रहरू बारम्बार नेतृत्वमा किन दोहोरिन्छन्, यसको उत्तर खोजिरहेको छु । हो, सफल पात्रहरू दुई पटक, धेरै भए तीन पटक दोहोरिँदा ठीकै भन्न मिल्छ तर नेतृत्व क्षमतामाथि निरन्तर आलोचित देउवा पाँच पटक प्रधानमन्त्री बन्दा देशका दलहरूले, त्यसमा पनि कांग्रेसले आफ्नो पार्टी संरचनाले उत्तराधिकारी नेतृत्व दिन सकेको रहेनछ भनेर स्विकार्नैपर्छ । किनभने पाँच पटक प्रधानमन्त्री उनी कुनै ज्योतिषीका प्रतापले होइन, वास्तवमा कांग्रेसले उनलाई चुनौती दिने नेता पैदा नगरेकाले, गर्न नसकेकाले बनेका हुन् ।

त्यसैले यहाँ देउवा पाँच पटकसम्म किन दोहोरिए भन्नुभन्दा पनि दोहोर्‍याउने संरचनामाथि नै विमर्श गर्नुपर्ने हुन्छ । वृद्ध नेताहरूले नेतृत्वबाट अलग्गिएर परामर्शदात्री भूमिका निर्वाह गर्नुपर्छ भनिरहँदा नयाँ प्रत्याशीहरूले आफ्नै क्षमताद्वारा उनीहरूलाई विस्थापन गर्ने प्रणाली बन्नुपर्छ । बनाउन प्रत्याशी नेताहरू नै लागिपर्नुपर्छ । फेरि नेतृत्वबाट विस्थापित गरेर मात्र पुग्दैन, उनीहरूलाई कुनै न कुनै काममा संलग्न राख्नुपर्छ, नराखे उनीहरूले बाधा दिइरहन्छन् । केही न केही त भूमिका खोज्छ मान्छेले । त्यसैले विस्थापन प्रक्रियामै वृद्ध नेताहरूको भूमिका के हुन्छ, त्यसको अग्रिम प्रबन्ध गरिनुपर्छ । त्यस्तो प्रबन्ध गरिए कालान्तरमा आफू वृद्ध हुँदा त्यो व्यवस्था काम लाग्छ । नेपालका राजनीतिक दलहरूमा त्यस्तो प्रबन्ध नभएकाले सकी–नसकी दोहोरिइरहे पनि वृद्धहरूले नयाँका लागि मार्ग प्रशस्त नगरेका हुन् ।

यसपाला नै हेर्नुहोस् त के भयो ! कम्युनिस्टहरू बाझाबाझ गरेर जब कांग्रेसबाट प्रधानमन्त्री खोजिरहेका थिए, त्यतिखेर ३५–४० वर्षको प्रत्याशी नदेखिएर के भनेर ७६ वर्षका देउवा नै फेला परे ? यसको दोष गगनकुमार थापाको पुस्तालाई लगाउने कि वृद्ध पुस्तामा पुगेका देउवा र रामचन्द्र पौडेललाई ? राजनीतिमा ‘आऊ बाबु, नेतृत्व लिइदेऊ’ भन्ने उदारता साह्रै उच्च कोटिको राजनीतिक चेतना भएका समाज, दलमा मात्र हुन्छ भन्ने यथार्थ यहाँ किमार्थ बिर्सन मिल्दैन । पद्धतिगत ढंगले नेतृत्व विकास गर्ने त्याग र धैर्य नभएको परिवेशमा प्राधिकार हस्तान्तरण गर्ने चित्त नै हुँदैन ।

अधिकांश मुलुकमा नयाँले नेतृत्व जितेर अथवा बित्दो पुस्तालाई सम्झाएर बुझाएर लिने हो, छोड्न लगाउने हो । माग्ने होइन । फेरि मागेर पाएको नेतृत्वले कार्यप्रदर्शन चाहेर पनि गर्दैन, गर्न सक्दैन । साथै बुढेसकालसम्म दयावश पाइएला भनेर पर्खेर बस्नेले त झनै काम गर्न सक्दैन । मौकै नपाई यदि कोही बिदा हुँदै छ भने उसैले नसकेको हो भनी बुझ्नुपर्छ । जस्तै, देउवा पाँच पटक प्रधानमन्त्री बन्दा अतिरिक्त चार, नभए पनि अन्य तीनले उनलाई उछिन्न नसकेका स्विकार्नुपर्छ र ती नसक्नेकै पंक्तिमा अग्रज पुस्तामा पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वयं पनि पर्छन् । त्यसैले कांग्रेसजनले पाँचौं पटक प्रधानमन्त्री भए आफ्ना नेता भनेर रमाउने होइन, बरु आत्मनिरीक्षण गर्नुपर्छ । किनभने, एउटै पदमा उही व्यक्ति बारम्बार दोहोरिइरहनु असल राजनीतिक अभ्यास त होइन नै, दलभित्र जोखिम मोल्ने प्रवृत्ति नै नभएको एवं आन्तरिक प्रतिस्पर्धाको अभाव हो । कांग्रेसपंक्तिको नालायकीको परिचायक हो ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

प्राविधिक तालिमको उपलब्धि खोइ ?

सीटीईभीटीले हजारौं विद्यार्थीलाई सीपमूलक तालिम दिने गरे पनि नेपालीहरू काम खोज्न बिदेसिने र यहाँ दक्ष कामदार भने छिमेकी देशबाट लिनुपर्ने अवस्था कायम छ । 
ऋषि तिवारी

सन् २०१९ को संयुक्त राष्ट्रसंघको विकास प्रतिवेदनले मानव विकास सूचकांकका आधारमा नर्वेलाई पहिलो स्थानमा राखेको छ, जुन देश व्यावसायिक शिक्षालाई महत्त्व दिनेमध्येमा अग्रपंक्तिमा पर्छ । नर्वेको विकासका लागि उसले अपनाएको शिक्षा नीति एउटा प्रमुख आधार हो । त्यसमा पनि व्यावसायिक शिक्षा मेरुदण्ड हो ।

व्यावसायिक शिक्षाले नै विभिन्न सीपमूलक प्रशिक्षण दिएर रोजगारीका लागि दक्ष जनशक्ति तयार पार्छ । जबसम्म कुनै देशले आफ्ना प्राकृतिक स्रोत र साधनलाई पहिचान गरेर, यसको उच्चतम प्रयोग गरी आन्तरिक रूपमा उद्योग तथा कलकारखाना सञ्चालन गरेर उत्पादन गरी निर्यातमा वृद्धि गर्दैन, तबसम्म त्यस देशले आर्थिक उन्नति गर्न सक्दैन । हाम्रो देशका सन्दर्भमा जल, जमिन, जंगल र सुन्दर प्राकृतिक दृश्यहरूका साथै मौलिक संस्कृतिलाई राज्यले मुख्य प्राथमिकता दिनुपर्छ । नेपालमा उद्योगहरूलाई वर्गीकरण गरी पहिलो, कृषिमा आधारित उद्योग तथा व्यवसायहरू विभिन्न प्रकारका खेतीपाती, पशुपालन, माछापालन आदि; दोस्रो, सांस्कृतिक विभिन्नता र देशको सुन्दर प्राकृतिक स्वरूपमा आधारित व्यवसायहरू पर्यटन तथा होटल व्यवसायहरू; र तेस्रो, वनजंगलमा आधारित व्यवसायहरू जस्तै— जडीबुटी उत्पादन र विभिन्न घरेलु उद्योग सञ्चालन गर्न सकिन्छ ।

करिब ७० प्रतिशत जनता कृषिमा निर्भर रहेको देशमा शिक्षालाई कृषि उत्पादनसँग जोड्न सके मात्र दोहोरो अंकको आर्थिक वृद्धिको कल्पना गर्न सकिन्छ । विदेशमा निर्मित गाडी तथा सामानहरू आयात गरी नेपालीहरूबाट उठाएको राजस्वले आर्थिक वृद्धिको कल्पना गर्नुको अर्थ छैन । यसकारण आर्थिक समृद्घिका लागि राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिनु आवश्यक हुन्छ ।

नेपालमा व्यावसायिक शिक्षा

प्राविधिक र व्यावसायिक शिक्षाको अभिवृद्घि गर्ने उद्देश्यले २०४५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्थापना भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायको अनुदान सहयोगमा सीटीईभीटीले सीपमूलक जनशक्ति उत्पादन गर्ने उद्देश्य राखी विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अहिलेसम्मका नीति तथा कार्यक्रमहरूले देशका लागि आवश्यक सीपमूलक जनशक्ति उत्पादन गरीे तिनलाई उत्पादनका क्षेत्रमा लगाएर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ त ? सीटीईभीटीको आंगिक तथा सम्बन्धन प्राप्त निजी र सार्वजनिक/सामुदायिक प्रतिष्ठानजस्ता संस्थाहरूले प्रत्येक वर्ष दातृ निकायहरूको सहयोगमा हजारौं विद्यार्थीलाई निःशुल्क सीपमूलक तालिम दिने गरे पनि इलेक्ट्रिसियन, प्लम्बर, डकर्मी, सिकर्मी, कृषि तथा पशुपालनका क्षेत्रलगायत मध्यम वर्गका प्राविधिकहरूको अहिले पनि अभाव छ । यस किसिमका कामका लागि छिमेकी देशहरूबाट आएका जनशक्तिहरूले स्थान लिइरहेका छन् ।

आधुनिक तथा वैज्ञानिक तरिकाबाट कृषि तथा पशुपालन कार्यमा लागेका केही व्यवसायी पनि खाडी मुलुक तथा अन्य वैदेशिक रोजगारीबाट सीप र अनुभव लिएर फर्केका मानिसहरू नै छन् । यसले गर्दा व्यावसायिक शिक्षा तथा सीप अभिवृद्धिका लागि सञ्चालन गरिएका तालिम कार्यक्रमहरूको लक्षित नीति र उत्पादित जनशक्तिहरूको गुणस्तरमै प्रश्नहरू उब्जिएका छन् । सेवाप्रदायक संस्थाले यसको अनुसन्धान गरी अविलम्ब नीति तथा कार्यक्रम र व्यवस्थापकीय पक्षमा पुनरवलोकन गर्नु आवश्यक छ ।

सीटीईभीटीको संरचनागत सुधार

हालको परिस्थितिमा सीटीईभीटीको नीति तथा कार्यक्रम निर्माण तथा सञ्चालनका लागि एउटै सीटीईभीटी परिषद् छ । यसले एकातर्फ प्राज्ञिक मान्यताप्राप्त डिप्लोमा तहजस्ता प्राविधिक विषयहरूको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ भने अर्कातर्फ व्यावसायिक जनशक्ति उत्पादनलाई पनि सँगसँगै लगेको छ । व्यावसायिक शिक्षा र प्राविधिक शिक्षाको दायरालाई फराकिलो पार्ने हो भने प्राविधिक परिषद् र व्यावसायिक परिषद् छुट्टाछुट्टै बनाउनु जरुरी छ । प्राविधिक परिषद्ले दातृ निकायहरूसँग सम्बन्ध राखेर सरकारको समन्वयमा प्राविधिक कलेज र विश्वविद्यालयको संरचना निर्माण गर्नु आवश्यक छ ।

व्यावसायिक शिक्षाको व्यवस्थापन

व्यावसायिक शिक्षाको व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन नयाँ कार्यक्रम आवश्यक छ । स्थानीय सरकारसँग समन्वय गरी उक्त स्थानमा कस्तो प्रकारको तालिम सञ्चालन गर्ने हो, त्यसबारेमा आवश्यक अनुसन्धान गर्नुपर्छ । यसो गर्दा त्यस ठाउँमा भएको मुख्य प्राकृतिक साधन तथा स्रोतको पहिचान गरेर मात्र तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय प्राकृतिक साधन र स्रोतलाई आधार नमानी सञ्चालन गरिएको तालिमको औचित्य रहँदैन । उदाहरणका लागि, जुम्ला तथा मुस्ताङका विभिन्न स्थानीय क्षेत्रमा स्याउ खेती बढी हुन्छ भने त्यहाँ स्याउ उत्पादन, भण्डारण र यसको प्रयोगबाट बनाउन सकिने उपभोग्य वस्तुसम्बन्धी व्यावसायिक तालिमहरू सञ्चालन गर्न सकिन्छ । यसका लागि नमुना एकीकृत कृषि फर्म एउटा महत्त्वपूर्ण कार्यक्रम हुन सक्छ ।

नमुना एकीकृत कृषि फर्म

यस्तो फर्मको प्रमुख आकर्षण भनेको मानिसले रोजगार, सीप र आर्थिक मुनाफा एकैचोटि पाउन सक्छन् । नमुना एकीकृत कृषि फर्मको परिकल्पना गर्दा सीप प्रशिक्षण दिने कार्यलाई रोजगारीसँग जोडेर व्यावसायिक उत्पादन गर्ने आवश्यक संरचना तयार गर्नुपर्छ । यसमा पशुपालन, घाँसबाली, फलफूल र तरकारी खेती तथा अन्य कृषिकार्यहरू पर्छन् । यी सबै कार्यहरू एकीकृत रूपमा गरिन्छ । पशुहरूको गोबर र मूत्रबाट बायोग्यास र बिजुलीसँगै जैविक मल पनि उत्पादन गर्न सकिन्छ । यसको प्रयोग गरेर जैविक बाली तथा फलफूल र तरकारी खेती गर्न सकिन्छ ।

कुखुरा वा माछा तथा खसी, बोकाको मासु व्यवसाय, गाई–भैंसी तथा बाख्राको दूधबाट डेरी उद्योग र उत्पादन भएका जैविक र अन्य फलफूल तथा तरकारीबाट जैविक ग्रोसरी सञ्चालन गर्न सकिन्छ । उत्पादन भएका वस्तुहरूलाई बजारमा बिक्री गर्न सकिन्छ । व्यावसायिक तालिमका लागि भर्ना हुने सबै परीक्षार्थीलाई प्रशिक्षणका साथै रोजगारीमा पनि लगाइने हुँदा उनीहरूले सीप र अर्थोपार्जन दुवै पाउन सक्छन् । यस्ता फर्महरू एक स्थानीय तह एक तालिम कार्यक्रम सञ्चालन गर्ने हो भने देशमा विद्यमान बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ ।

कामको महत्त्वका बारेमा सचेतना

युवा जनशक्तिहरू प्रतिदिन बाँझो जमिन वित्तीय संस्थाहरूमा धितो राखेर वैदेशिक व्यावसायिक कम्पनीहरूलाई रकम बुझाई रोजगारीको खोजीमा विदेश गइरहेका छन् । देशमा भने कृषि, पशुपालन, निर्माण तथा व्यापार व्यवसायका लागि आवश्यक सबै प्रकारका प्राविधिक, अप्राविधिक र व्यावसायिक जनशक्ति भारतलगायतका छिमेकी देशबाट आपूर्ति भैरहेका छन् । विश्व बैंकको तथ्यांक अनुसार नेपालमा काम गर्ने भारतीय मजदुरबाट भारतले प्राप्त गर्ने रेमिट्यान्स ३ अर्ब डलर भए पनि भारतबाट नेपाली मजदुरले नेपाल पठाउने रकम त्यसको आधा

पनि छैन । यसको कारण खोज्न आवश्यक छ । साइकलमा फलफूल बेच्ने छिमेकी देशबाट आएको श्रमिकले प्रतिमहिना ५०–६० हजार रुपैयाँसम्म, लुगा सिउनेले ७५ हजार रुपैयाँसम्म र सिकर्मीले १ लाखसम्म कमाइ गर्ने कुरा अनौपचारिक संवादमा थाहा पाइन्छ । त्यसैले हामीले केही प्रश्नको उत्तर खोज्नु जरुरी छ । किन हाम्रा युवाहरू स्वदेशमा कृषि तथा पशुपालनको व्यवसायको मालिक बनेर आर्थिक आम्दानी नगरी मजदुरीका लागि बिदेसिन विवश छन् ? यसको कारण हाम्रो समाजमा रहेको कामप्रतिको संकीर्ण सोचाइ हो वा अरू कारण छ ? कतै यो राज्यका निकायहरूबाट दिइने सीपमूलक तालिमहरूको दक्षतामाथिको प्रश्न त होइन ? तसर्थ, यी प्रश्नहरूलाई मध्यनजर गर्ने हो भने देशकै रोजगार व्यवसायप्रति उत्साहित र आकर्षित गर्न युवा सचेतनाको खाँचो छ ।

तथ्यांक संकलन र रोजगारीमा व्यवस्थापन

सीटीईभीटीको कमजोर पक्ष भनेको तालिमप्राप्त गरेकाहरू रोजगारीमा छन् वा छैनन् भन्नेबारेमा कुनै चासो नराख्नु हो । डकर्मी, सिकर्मी, इलेक्ट्रिसियन प्लम्बर, कृषि–प्राविधिक, कपाल काट्नेजस्ता सीपमूलक जनशक्ति उत्पादन गर्ने तर जग्गा बाँझो नै रहने, निर्माण कार्यका लागि सिकर्मी, डकर्मी, प्लम्बर, इलेक्ट्रिसियन आदि छिमेकी देशको जनशक्तिमै निर्भर रहने हो भने तालिमको प्रमाणपत्र दिनुको कुनै अर्थ रहँदैन । तब मात्र मानिसले पाएको व्यावसायिक ज्ञानले मूल्य र मान्यता राख्छ, जब त्यो ज्ञान राष्ट्रिय उत्पादनमा प्रयोग भएर आर्थिक वृद्धिमा सहयोग पुर्‍याउँछ ।

यसकारण स्थानीय, प्रदेश तथा संघीय सरकार, सेवाप्रदायक उद्योग, व्यवसाय र गैरसरकारी निकायहरूसँग समन्वय गरी सीप आर्जन गरेका व्यक्तिहरूलाई सम्बन्धित काममा लगाउनुपर्छ । करोडौंको फूलमाला, अर्बौंको खसी, बोका, भेडा, च्याङ्ग्रा आदि विदेशबाट आयात गरी चाडपर्वमा उपयोग गरिन्छ भने व्यावसायिक शिक्षा दिनुको औचित्य के भयो ?

व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच

एकातर्फ राज्यको नीति व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिने भन्ने छ । अर्कातर्फ पैसा तिरेर प्राविधिक शिक्षा पढ्छु भन्दा पनि नपाएर ठूलो संख्यामा विद्यार्थीहरू छिमेकी देशमा अध्ययनरत छन् । यसबाट धेरै राष्ट्रिय पुँजी पलायन भैरहेछ । अनि हामीले कसरी देशको आर्थिक समृद्धिको कल्पना गर्ने ? साँच्चै व्यावसायिक र प्राविधिक शिक्षामा राज्यले लिएको नीतिअनुरूप क्रान्ति ल्याउने हो भने सीटीईभीटीले सामुदायिक, प्रतिष्ठान, गुठी र निजी संस्थाहरूमा व्यावसायिक तथा प्राविधिक विद्यालयलाई आवश्यक पूर्वाधार निर्माण गर्न लगाई धेरैभन्दा धेरै कार्यक्रमको सम्बन्धन दिनुपर्छ । सक्नेले पैसा खर्च गरेर पढ्छन्, नसक्नेलाई राज्यले निःशुल्क पढ्ने व्यवस्था गर्नुपर्छ वा शैक्षिक ऋण दिएर पढाइपछि स्वदेशमा रोजगारीको व्यवस्था गरी ऋण असुल गर्ने नीति बनाउनुपर्छ ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×