आफैंतिर कति फर्कने ?- विचार - कान्तिपुर समाचार

आफैंतिर कति फर्कने ?

कांग्रेसमा अब त्यस्ता नेता कति नै होलान् जसले आफूले विश्वास गरेको आदर्शका बारेमा कार्यकर्तालाई बाटो देखाउने नैतिक साहस राख्छन् ? सबैजसोको उद्देश्य ‘किन’ पार्टीमा रहने भन्नेबाट निर्देशित छैन, ‘कसरी’ त्यहाँ अडिने भन्नेबाट छ ।
विष्णु सापकोटा

वैचारिकता जे भए पनि माओवादी जनयुद्धदेखि २०६२–६३ को जनआन्दोलन, मधेसदेखि महिला र जनजाति आन्दोलनसम्म सबैको एउटा साझा लक्ष्य नेपाली राज्यको चरित्र फेर्नु थियो । इच्छा भएर होस् वा बाध्यता, राज्यको चरित्र फेर्ने विधिका रूपमा लोकतान्त्रिक गणतन्त्र र शासकीय स्वरूपका लागि संघीयता त्यति बेलाको निर्णायक आन्दोलन र राजनीतिक शक्ति सबैका वैधानिक कार्यसूची थिए ।

राज्यको चरित्र सामन्तवादी र असमावेशी छ, जसलाई नयाँ संविधानमार्फत फेर्नुपर्छ भन्ने विषय बृहत् शान्ति सम्झौताको मर्म थियो । नेपालको राजनीतिक उथलपुथलको यो प्रमुख अध्यायको निष्कर्ष नेपाली राष्ट्रियतालाई फराकिलो रूपमा परिभाषित गर्दै इतिहासलाई पुनर्लेखन गर्नु थियो । उत्तरपुस्तिका त्यति गतिलो त भएन तर पुनर्लेखनको काम प्राविधिक रूपमा सम्पन्न भएकै हो ।

आन्दोलनका नेतृत्वकर्तामा पछि देखिएको सांस्कृतिक पतनका कारणले अहिले प्रमुख रूपमा दुइटा प्रवृत्तिले आँखा चम्काउन थालेका छन्, जसको चरित्र र त्यसले पार्न सक्ने प्रभावबारे यस लेखले चर्चा गर्नेछ । पहिलो, ‘नेपाली’ इतिहास, संस्कृति र ज्ञानपरम्पराको ‘महानता’ को बाटो समाएर । किनकि यसो गर्नेबित्तिकै यसले धेरै अबोध मान्छेको मन खिचिहाल्छ । र यो विषय यति पपुलिस्ट छ, यसमा चित्त नबुझाउनेहरू पनि विवादमा जोडिन चाहँदैनन् । दोस्रो, नेपालको राजतन्त्र विदेशीको षड्यन्त्रले फालिएको हो भन्ने । किनकि, सैद्धान्तिक रूपमा राजतन्त्र किन ठीक छ भनेर रक्षा गर्न सजिलो छैन । राजा ज्ञानेन्ıका प्रजातन्त्र मार्ने हर्कत र कुशासनको प्रतिरक्षा गर्न त उनीहरूलाई झन् गाह्रो छ । त्यसैले, बाह्रबुँदे भारतले गराइदिएको हो र राजतन्त्र नेपालीको इच्छाले नभएर विदेशीको षड्यन्त्रका कारण फालिएको हो भन्ने झुटलाई उनीहरू नथाकीकन दोहोर्‍याउँछन् । ‘विदेशीको षड्यन्त्र’ भनिदिनेबित्तिकै यसले नेपाली जनमानसको केही अंशलाई यसरी उत्तेजित गराउँछ कि यदि कसैले यो लोकतन्त्र भन्ने चीज पनि विदेशीकै षड्यन्त्र हो भनिदियो भने यस्तो लोकतन्त्र चाहिँदैन भन्न पनि पछि नपर्न सक्छन् ।

माथिका दुई प्रवृत्तिलाई धेरै चर्चा नगरेर उपेक्षा गर्न पनि सकिन्थ्यो तर अहिले त नेपालको राजनीतिक कोर्सका लागि नै यी विषय महत्त्वपूर्ण भएका छन् । किनकि एकातिर सत्ताच्युत केपी ओलीले आफ्नो अन्य सम्पूर्ण राजनीतिक साख गुमाएर यस्तै मुद्दाको सहारामा जति सकिन्छ राजनीतिमा टिकिराख्ने उनको योजना अब प्रस्ट नै भएको छ । अर्कातर्फ, नेपाली कांग्रेसको महाधिवेशन अब त भदौमा हुने नै होला । त्यस महाधिवेशनमा, बीपी कोइरालाका कान्छा जैविक पुत्र शशांक कोइरालाले जानेको र मानेको त्योभन्दा अरू केही छैन । महाधिवेशनमा यो विषय उनले उचाल्ने पक्का छ । कांग्रेसमा अरू नेता जसले यो कुरामा विश्वास गर्दैनन्, तिनले यसको विरोध गरिहाल्न सक्नेछैनन् । कांग्रेसमा अब त्यस्ता नेता कति नै होलान् जसले आफूले विश्वास गरेको आदर्शका बारेमा कार्यकर्तालाई बाटो देखाउने नैतिक साहस राख्छन् ? सबैजसोको उद्देश्य ‘किन’ पार्टीमा रहने भन्नेबाट निर्देशित छैन, ‘कसरी’ त्यहाँ अडिने भन्नेबाट छ ।

राजतन्त्र र राष्ट्रियताका बारेमा बीपीलाई कांग्रेसभित्र र बाहिरका राजावादीहरूले जसरी उद्ध्रृत गर्छन्, तिनका लागि चार पंक्ति खर्च गरेरै बाँकी कुरा अगाडि बढाऔं । नेपालमा प्रजातन्त्रका लागि क्रान्ति गर्नुपर्छ भन्ने मनमा लागेपछि, २००५ देखि २०३९ मा आफ्नो देहान्त नहुन्जेल, ती ३४ वर्षमा बीपीले राजनीतिका कति सिद्धान्त र व्यावहारिक विषयमा के–के बोले/लेखे होलान् ? उनी कार्यकर्तासँग तर्क गर्न रुचाउँथे, आफ्ना मान्यताका बारेमा सविस्तार बताउँथे । मानौं औसतमा हप्ताको दुई पटक मात्र उनी कार्यकर्तासँग छलफल गर्थे र आफ्ना कुरा भन्थे । मानौं एक पटकमा ५,००० शब्दजति बोल्थे भने, यसो सोचौं त ३४ वर्षमा उनले को–कोसँग कति लाख शब्द बोले होलान् ?

घटनाक्रमका विशिष्ट सन्दर्भमा लेखेकै र औपचारिक रूपमा बोलेकै कुरा सम्झे पनि भयो । तर कांग्रेसका राजावादीहरूले पटकपटक के गर्छन्, थाहा छ ? एउटा निश्चित सन्दर्भमा, भारतबाट अति पेलिएपछि नेपालमा आएर लड्ने योजनाअनुसार, रणनीतिक रूपमा राजतन्त्रका पक्षमा बोलेको कुरामार्फत मात्र बीपीलाई परिभाषित गराउन चाहन्छन् । ल त्यो पनि ठीकै छ, बीपी राजावादी नै थिए रे । त्यसो भए अहिलेको कांग्रेसले ती राजावादी बीपीलाई नै छाड्न सक्नुपर्छ । र जसलाई राजतन्त्र मन पर्छ (त्यसो गर्न पाइन्छ), तिनले राजतन्त्र किन चाहिन्छ भनेर सोझै तर्क गर्नुपर्छ । आफ्ना बा–हजुरबाका इतिहासका अनगिन्ती सन्दर्भमध्येबाट, आफ्नो निजी मानसिक प्रवृत्तिले चित्त खाएको एउटा सन्दर्भलाई रोजेर प्रयोग गर्नु भनेको आफ्नो वर्तमानको बौद्धिक टाटपल्टाइलाई पटकपटक उजागर गर्नु मात्र हो ।

अब एकै छिन नेपाली ज्ञानपरम्परा र इतिहास–संस्कृतिको गौरवका बारेमा । इतिहासका घटना उनै होलान् तर तिनीहरूको व्याख्या (जसलाई इतिहास भनिन्छ) र बुझाइ एउटा भन्ने हुँदैन । सक्नेले आफ्नो झुकावअनुसार निरन्तर पुनर्लेखन गरिराख्ने विषय हो यो । कतिपय राजनीतिकर्मीले अरू मुद्दामा वैधानिकता गुमाएपछि राष्ट्रवादलाई उचाल्ने प्रवृत्ति संसारभर देखिएकै हो । सरकारको कामगराइबाट केही नपाएर झोंक्किएका जनतालाई राष्ट्रवादको खुराक दियो भने यसले जनताको रिस अरू ‘शत्रु’ तिर सारिदिन्छ र शासकलाई सजिलो हुन्छ । सत्ताका पछिल्ला महिनामा ओलीको मुख्य अस्त्रमध्ये यो पनि थियो । प्रतिपक्षी भएपछि पनि चुनाव जित्न काम लागिहाल्ला । साना दललाई ठूलो बन्न पनि यो सहयोगी हुन सक्छ । हामी महान् हौं, हाम्रा पुर्खा सबैभन्दा महान् थिए, अरूले नमानिदिएर मात्र हो भन्ने भाष्य खडा गर्‍यो भने सम्बन्धित समुदायका मानिसले आफ्नो आलोचनात्मक चेत प्रयोग नगरी पत्याइहाल्छन्, मक्ख परिहाल्छन् ।

कतिपयलाई लाग्न सक्छ, आफ्नो इतिहास महान् भन्दा कसैलाई किन टाउको दुख्न पर्‍यो ? किनभने, आफ्नो ज्ञानपरम्परा र संस्कृति महान् थियो भनेर प्रतिरक्षामा खटिनेमध्ये धेरैको एउटा समस्या छ । इतिहासको कुनै संस्कृति वा कर्मकाण्डको बचाउ गर्ने सन्दर्भमा उनीहरूले वर्तमानले छाड्नुपर्ने कुरीतिहरूको पनि बचाउ गरेका हुन्छन् । जब वर्तमानमा गर्व गर्ने कुरा हुँदैन, तब उहिले कहिले के थियो भनेर सम्झन चाहनु मानवीय स्वभाव नै हो । तर त्यो जब वर्तमानमा हीनताभावको तहमा पुग्छ, त्यसपछि उसले ‘आफ्नो’ भन्नेबित्तिकै जे पनि महान् थियो भन्ने मानसिक भाष्य बनाउँछ । यसरी आफ्नो लागेको कुराको बचाउ गर्दागर्दै ऊ जातीय/वर्णव्यवस्थाको समेत पक्षधर हुन बेर लाग्दैन । महिलाका समान हकका बारेमा ऊ अझै पनि नैतिक शिक्षा दिने ठाउँमै भएको ठान्छ । र त्यस्तो गर्नेमा महिला स्वयं पनि हुन सक्छन् किनकि माथिको पुरुष भाष्यले आफ्नो चेतनालाई नै वशीभूत गरेको कसैले ठम्याउन सक्दैनन् । ज्ञानपरम्पराको प्रतिरक्षा गर्ने लहरोमा उनीहरू अहिलेको नजरमा हेर्दा सामाजिक कुरीति देखिने विषयको समेत पक्षधर भएका हुन्छन् ।

यसो सोचौं त, जसले विगतको इतिहासका चाहिने–नचाहिने सबै कुरामा त्यसै गर्व गरिरहेका हुन्छन्, किन प्रायः तिनीहरू नै वर्तमानका सबै सामजिक न्यायका मुद्दामा सीमान्तकृत समुदायको पक्षमा हुँदैनन् ? नेपाल धर्मनिरपेक्ष भएको उनीहरूलाई मन पर्दैन । जबकि हिन्दु स्वयं त यसै पनि ठूलो बहुमतमा छन् र उनीहरूको पहिचानलाई कतैबाट केही समस्या छैन । तर जो धार्मिक–सांस्कृतिक रूपमा अल्पसंख्यक छन्, ती सबैले आफ्नो संस्कृतिका लागि सम्मानित महसुस गरून्, देशप्रति सबैको अपनत्वभाव बढोस् भन्ने पो हो त । यस्ता विषयमा जनमतसंग्रह गर्‍यो भने जो पहिले नै ठूलो बहुमतमा छ, उसले त त्यसै जितिहाल्छ नि । यो त अल्पमतमा भएकालाई बहुसंख्यकवालाले ‘दिएको’ न हो । तर त्यसैमा पनि धेरैको चित्त नबुझेको त्यसै देखिन्छ । देश धर्म निरपेक्ष भएर वा सापेक्ष, आफूले व्यक्तिगत जीवनमा के पाउँछु, आफूलाई के फरक पर्छ भन्नेमा उनीहरूलाई चासो छैन । बस, आफ्नो ‘संस्कृति’ मात्र हुनुपर्‍यो । किन हुनुपर्‍यो भन्नेमा पनि गतिलो सैद्धान्तिक तर्क छैन । किनकि यो विदेशीले थोपरेको षड्यन्त्र हो । किनकि यो सबै परिवर्तनको जग मानिएको बाह्रबुँदे सहमति नै विदेशीको षड्यन्त्र हो ।

बाह्रबुँदेतिर पुगिहालियो । रोचक के छ भने, दोस्रो आन्दोलन उत्कर्षमा पुग्दासमेत भारतले करन सिंहलाई उच्च स्तरको दूत बनाएर काठमाडौं पठाएको थियो, राजतन्त्र जोगाउने अन्तिम प्रयास गर्न । तर पनि, नेपालमा राजतन्त्र गएपछि आफ्नो वर्चस्व गुमाएको जुन वर्ग छ, त्यसले रट्न अझै छोडेको छैन— नेपालको राजतन्त्र भारतले फालिदिएको हो । उनीहरू किन त्यसो भन्छन् भने, राजतन्त्र किन राख्नुपर्थ्यो भनेर ज्ञानेन्द्रको बचाउ गर्ने उनीहरूसँग न तर्क छ, न साहस । विदेशीको षड्यन्त्र भनिदिएपछि मान्छेलाई उचाल्न अलिक सजिलो हुन्छ ।

आफ्नो निजी जीवनमा होस् कि सामूहिक, आफूतिर त हामी त्यसै फर्किरहेकै हुन्छौं । यसका लागि कसैले सिकाउनुपर्दैन । सिक्नुपर्ने त आफू कसरी बाहिर विस्तारित हुने, अरूतिर कसरी फर्कने भनेर हो । बुझ्नुपर्ने के हो भने, ‘आफ्नो’ देशको फलानो भाषा, संस्कृति, इतिहास, ज्ञान मात्र महान् भन्दा त्यही आफ्नै देशका ‘अन्य’ समुदायका त्यस्तै परम्परालाई हेप्न आफूले त्यो ‘महानता’ लाई प्रयोग गरेको त होइन ? आफ्ना निजी राजनीतिक र सामाजिक न्यायका दृष्टिले प्रतिगामी सोचलाई अघि सार्न आफ्नो समुदायको इतिहास र परम्पराको महानताको गाथा गाएको त होइन ? देशभित्रकै आफूबाहेकका ‘अरू’ समुदायका इतिहास र सभ्यता कमसल थिए भन्नका लागि आफ्नो ज्ञानपरम्परालाई महान् भनिएको त होइन ? आफूतिर त फर्कने तर कति फर्कने भन्ने मात्रा मिलेन र केका लागि फर्किएको छु भन्ने हेक्का रहेन भने — मान्छे होस् या समुदाय — आफ्नो महानताको कुवाबाट बाँकी संसारको विविधताको ‘महानता’ परख गर्ने क्षमता दिनदिनै क्षीण हुँदै जान्छ ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीका आधा दर्जन बस्ती बाढीको जोखिममा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको मध्यभाग भएर बग्ने लखन्देही खोलामा आएको बाढीले जिल्लाका तीन स्थानको बाँध भत्काएको छ । चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित खोलाले बाँध भत्काएको हो । जग्गा कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा छ भने आधा दर्जन बस्ती उच्च जोखिममा छन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ शिवनगरस्थित लखन्देही खोलामा भत्काएको बाँध । तस्बिर : ओमप्रकाश ठाकुर/कान्तिपुर

लखन्देहीको कटानले शिवनगरसहित बिनगरा, मदनपुर र पडरियालगायतका बस्ती उच्च जोखिममा छ । यस्तै, कौडेना गाउँपालिका–७ सक्रौल र मलंगवा नगरपालिका–५ भाँडसरमा पनि लखन्देहीले बाँध भत्काएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । बाँध भत्काएको ठाउँमा प्रजिअसहित टोल बिहीबार स्थलगत निरीक्षणमा पुगेको थियो ।

बाँध भत्किएको ठाउँमा खोलाको तीव्र कटान गरिरहेकाले जोखिम बढ्दै गएको शिवनगरका पूर्वगाविस अध्यक्ष राजगिर रायले बताए । गत वर्ष पनि बाँध भत्किएपछि जनताको तटबन्ध कार्यालयले रोकथामको प्रयास गरेको थियो ।

यहाँका स्थानीय चार दिनयता निदाउन पाएका छैनन् । ‘दिउँसो त खोला हेरेर फर्किन्छौं, राति खोलाको गर्जनले सुत्न दिँदैन,’ स्थानीय राजकिशोर यादवले भने, ‘हामी एकदम जोखिममा छौं, हाम्रो बस्ती जोगाइदिनुपर्‍यो ।’ बाँध कटान गरेको क्षेत्रमा लगाइएको रूख स्थानीयले काटेर घर लान थालेपछि झन् समस्या थपिएको हो । गत वर्ष त्यही क्षेत्रमा बाँस लगाएर परकोपाइन विधिबाट खोलामा अस्थायी तटबन्ध निर्माण गरिएको थियो ।

चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव भने जनताको तटबन्ध कार्यालयको लापरबाहीले यो समस्या निम्तिएको दाबी गर्छन् । उनले पटक–पटक कार्यालयलाई जानकारी गराउँदा पनि बेवास्ता भएको आरोप लगाए । तर, कार्यालयले भने बजेट नै नभएका कारण यो क्षेत्रमा काम गर्न नसकिएको जनाएको छ ।

‘बोरासहितको प्राविधिक टोली मर्मतको काममा खटाउन तयार छौं,’ जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र शर्माले भने । कटान भएको क्षेत्रमा अस्थायी बाँध निर्माण गर्न स्थानीय तह, जलस्रोत र सिँचाइ विभागसँग समन्वय भइरहेको प्रजिअ महतोले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×