एमालेको रामरमिता- विचार - कान्तिपुर समाचार

एमालेको रामरमिता

दम्भ, अहंकार, कुण्ठा, निरीहता, हुतिहारापन र अवसरवादी चरित्रजस्ता अनेक अराजनीतिक प्रवृत्तिका भारीले एमाले उठ्नै नसक्ने गरी थिचिएको छ । 
राजाराम गौतम

कम्युनिस्टहरू राजनीतिक पतनको डिलमा पुगेपछि प्राचीन पात्रहरूमा आफ्नो जीवन खोज्छन् । प्राचीन युनानी मिथका दुई पात्र नार्सिसस र फिनिक्स चरोको कथा नेपाली कम्युनिस्ट वृत्तमा चर्चित छ । 

नार्सिसस अपार सम्भावना बोकेको एउटा पात्र हो, जो आफ्नै सुन्दरताप्रति अधिक मोहित भएर मर्छ । आफ्नो अनुहारको प्रतिविम्ब हेर्न नहुने श्राप पाएको ऊ पानी खोज्दै एक दिन पोखरीको डिलमा पुग्छ । आफ्नो सुन्दर अनुहार देखेर ऊ यति मोहित हुन्छ, त्यहाँबाट आफूलाई हटाउनै सक्दैन र मर्छ । फिनिक्स चरो आफ्नो आयु सकिएपछि आगोमा जलेर खरानी हुन्छ र त्यही खरानीबाट ब्युँतेर नयाँ काया लिएर उड्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदै पार्टीमा अन्तरविरोध चुलिएपछि सैद्धान्तिक ‘डिस्कोर्स’ गर्न रुचाउने नेता घनश्याम भुसालले २०७५ मंसिर ४ मा कान्तिपुरमा ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टीर् ?’ शीर्षक लेखमा प्रश्न उठाएका थिए, ‘नेकपा आफ्नो रूप हेरीहेरी, आफैं हुन्छु दंग हुँदै नार्सिससजस्तो सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैं अगाडि बढ्छ ?’

यी दुई सम्भावनामध्ये नेपाली कम्युनिस्टहरू नार्सिससको बाटोतिर उन्मुख भएका छन् । पछिल्लो राजनीतिक कालखण्डमा नेकपासँग प्रचुर अनुकूलता थियो । जनताबाट अनुमोदित भएर सत्तामा पुगेको थियो । विरोध गर्ने प्रतिपक्ष कमजोर थियो । छिमेकहरूसँगको सम्बन्ध अनुकूलतामा बदलिएको थियो । अनेक उतारचढावपछि मुलुक अग्रगामी राजनीतिको बाटोमा थियो । रक्तरञ्जित इतिहासको जगमा नेपालको संविधान–२०७२ सहितका राजनीतिक उपलब्धि हासिल भएका थिए । मान्छेहरूले कम्युनिस्ट सत्तासँग आशा र अपेक्षा राख्न थालेका थिए । विडम्बना, आत्मरति र अहंकारको व्यूहबाट नेकपा निस्कनै सकेन । उसले जनअपेक्षामाथि निर्ममताका साथ कुठाराघात गर्‍यो, जनादेशको घोर अपमान गर्‍यो । र, आपसमै लडेर सिद्धिने बाटोतिर अग्रसर भयो ।

यदुवंशीझैं नेपालका कम्युनिस्टहरू पतनको बाटोमा छन् । विनाशको प्रतिस्पर्धामा नेकपा एमाले सबैभन्दा अगाडि छ । धेरै जनताले पत्याएको, जुझारु र तेजिला कार्यकर्ता भएको, केन्द्रदेखि तलैसम्म बलियो संगठन भएको पार्टीको छवि थियो एमालेको । एमाले र माओवादी केन्द्र मिलेपछि गठन भएको नेकपा झन् शक्तिशाली भएको थियो । चुनावी एकता हुँदै पार्टी एकता नै भएपछि मुलुकमा कम्युनिस्टहरूको दबदबा नै कायम भयो । कतिसम्म भने, त्यो दबदबामा चेपिएर कांग्रेस कमजोर प्रतिपक्षको हैसियतमा एउटा कुनामा निरीहझैं थन्किएको थियो । शक्ति–उन्मादले नेकपालाई छिन्नभिन्न पारेको छ भने किनारामा बसेर कम्युनिस्टहरूको ‘ताण्डव’ हेर्दै गरेको कांग्रेस सत्तामा पुगेको छ । र, तिनै कम्युनिस्टहरूले कांग्रेसलाई किस्तीमा सजाएर सत्ता सुम्पेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै २२ सहित १ सय ६५ सांसदले विश्वासको मत दिएपछि आवधिक निर्वाचन नहुँदासम्म उनले सरकारको नेतृत्व गर्ने भएका छन् । सरकारको नेतृत्व पाएर कांग्रेस उत्साहित छ । तर, आमरूपमा देउवाप्रति आकर्षण र उत्साह छैन । देउवा साख गुमेका नेता हुन् । पार्टीकै नेतृत्वको कुरा होस् वा यसअघिका प्रधानमन्त्रीय कार्यकालहरू होऊन्, उनी खरो उत्रन सकेका छैनन् । उनका लागि यो अर्को परीक्षा हो । फेरि उनले आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् ।

देउवाको पाँचौं आगमनले उत्साह नभरे पनि ‘डिरेल’ हुँदै गरेको राजनीतिलाई पुनः लिकमा ल्यएको छ । पूर्वप्रधानमन्त्री केपी ओलीले सत्तामोहमा फसेर अन्धाधुन्ध विधि मिच्दै संविधान र समग्र राजनीतिमाथि नै आघात पुर्‍याएका थिए, देउवाले त्यो घाउमा मल्हम लगाउने अवसर पाएका छन् । कोमाबाट ब्युँतेको राजनीतिलाई देउवाले के–कति मल्हमपट्टी गर्लान् ? त्यो आगामी दिनमा उनले लिने नीति र कार्यशैलीले तय गर्नेछ ।

अहिले भने सबैको ध्यान एमालेतिर छ, जो मरणासन्न भएर छटपटिएको छ । गम्भीर राजनीतिक उपचारको खोजीमा छ । एमालेको यो हबिगत किन र कसरी भयो ? के फिनिक्स चरोझैं खरानीबाट ब्युँतेर एमालेले नयाँ काया फेर्ला ? यी प्रश्नको सेरोफेरोमा यो विश्लेषण केन्द्रित रहनेछ ।

एक थरी एमालेहरू अहिले अदालतसँग रुष्ट छन् । फेरिएको राजनीतिक परिदृश्य र समीकरणमा अदालतको प्रभाव देख्छन् उनीहरू । अर्का थरीलाई लाग्छ, विदेशी शक्तिकेन्द्रहरूको प्रभावमा परेर एमाले छिन्नभिन्न भयो । तेस्रो थरीको धारणा छ— कांग्रेस, माओवादी लगायतका दलहरूले खेलेका कारण एमालेको अन्तर्द्वन्द्व चुलियो । देउवा, प्रचण्ड आदिले बोकेका कारण माधव नेपाल ‘फ्लोर क्रस’ गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनतिर लागे । यी तर्कहरू पूर्ण असत्य होइनन् । खेल्ने ठाउँ दिएपछि विपक्षीले पनि खेल्छ, विदेशी स्वार्थ शक्तिहरूले पनि खेल्छन् । तर मूलतः एमाले आफ्नै कारणले पछारिएको हो । एमाले पछारिनुमा, यसले काया फेर्न नसक्नुमा केन्द्रदेखि वडासम्म हुर्केका केही प्रवृत्ति जिम्मेवार छन् ।

केही वर्षअघि ‘लिङ्ग नछुट्टिएको पार्टी’ भनेर नेकपा एमालेको आलोचना हुन्थ्यो । एउटा गुट कांग्रेसतिर ढल्कने, अर्को माओवादीतिर लहसिने गरेपछि राष्ट्रिय राजनीतिमा यो ढुलमुले चरित्र बोकेको दलमा दर्ज थियो । केही वर्षकै अन्तरालमा एमालेको राजनीति यति विधि खस्कियो, अहिले मान्छेहरू प्रश्न गर्न थालेका छन्— एमाले कुनै राजनीतिक दल नै हो ? यो प्रश्न किन पनि उठेको छ भने, एमालेमा अब कुनै दलीय चरित्र बाँकी रहेन । दम्भ, अहंकार, कुण्ठा, निरीहता, हुतिहारापन र अवसरवादी चरित्रजस्ता अनेक अराजनीतिक प्रवृत्तिको भारीले एमाले उठ्नै नसक्ने गरी थिचिएको छ ।

दम्भ र अहंकारका अगुवा ओली नै हुन् । छुद्र बोल्ने, जालझेलमा विश्वास गर्दै आफूलाई पछ्याउने ‘छोटे’ हरूको दस्ता उनले पार्टीपंक्तिमा निर्माण गरेका छन् । शक्तिशाली प्रधानमन्त्री हुन माओवादीलाई भित्र्याएयता चलेको अन्तरपार्टी संघर्षमा उनको अहं निरन्तर प्रकट भइरह्यो । पार्टी विधान, संविधान केही वास्ता गरेनन् उनले । निरन्तर मिच्दै जसरी पनि शक्तिमा रहिरहने प्रपञ्च मात्रै गरिरहे ।

ओलीले शक्तिको अभ्यास बढाउँदै लाँदा उनीनजिक रहेको, आश गरिएको नेतृत्व पंक्तिमा चाकर प्रवृत्ति विकास भयो । सहीलाई सही र गलतलाई गलत भन्ने आँट तिनले देखाउन सकेनन् । सार्वजनिक छवि ध्वस्त हुँदै जाँदा पनि ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङजस्तो समाजले आश गरेको नेतृत्व वर्गले ओलीको दासत्व स्वीकार गर्‍यो ।

माधव नेपाल ‘इगो’ बाट निर्देशित भए । ओलीले प्रचण्डसँग ‘पावर सेयरिङ’ गरेपछि तत्कालीन नेकपामा नेपाल किनाराका साक्षी बन्न पुगेका थिए । ओली र प्रचण्डबीच टकराव हुँदा मात्रै उनी निर्णायक हुन सक्थे । अन्यथा उनी निरीह बनेका थिए । जब ओली–प्रचण्ड टकराव बढ्यो, नेपालले मध्यमार्गी भूमिका निर्वाह गरेर नेकपाभित्र सल्केको अन्तर्द्वन्द्व व्यवस्थापनमा भूमिका खेल्नुपर्थ्यो । तर, ओलीले उनलाई यति धेरै प्रताडित गरेका थिए, उनी प्रचण्डतिर उभिए । शीर्ष तहमा हुर्केको प्रतिष्ठाको लडाइँ बढ्दै जाँदा नेकपा त रहेन नै, एमाले पनि रहने/नरहने अवस्थामा आयो । संविधान पटक–पटक मिचेपछि नेपालले जे राजनीतिक बाटो हिँड्नुपर्थ्यो, त्यो हिँडे । त्यो सही छ । तर, अन्तर्द्वन्द्व बढेका सुरुआती दिनमा उनले आफ्नो स्वभावअनुसार समन्वयकारी भूमिका खेलेका भए, सायद आजको दिन नआउन पनि सक्थ्यो ।

यो अवस्थाको जिम्मेवार दोस्रो पुस्ताका ‘मूर्धन्य’ हरू पनि हुन्, जसको हुतिहारापन र अवसरवादी चरित्र एमालेको काया फेर्ने कुरामा बाधक भएको छ । घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भीम रावल, गोकर्ण विष्टलगायतले पार्टी एकताको नाममा खेलेको भूमिका निराशाजनक छ । यो पुस्ताले नेतृत्व आफूले लिनुपर्छ भन्ने आँट नै गर्न सकेन । ओली र माधवलाई मिलाउन हिँडेको यो पुस्ताले कम्तीमा पार्टीले गरेको व्यवस्थाअनुसार, सत्तरी कटेका नेताले विश्राम लिनुपर्छ भन्नसम्म सकेको छैन ।

न मिल्न सक्ने, न विभाजित हुन सक्ने अवस्थामा छ एमाले । ओलीले माधव नेपालबिनाको एमाले बनाउने सोचेका छन् । बालुवाटारबाट बहिर्गमन भएपछि बालकोटको बार्दलीबाट उनले त्यही उद्घोष गरे । यसअघि नै कुनै बेला नेपालनिकट तर हाल ओली कित्तामा पुगेका शेरबहादुर तामाङले ‘विपक्षीलाई सत्ताको श्रीपेच पहिर्‍याउनेहरूलाई पार्टीमा स्वागत गर्न नसकिने’ बताइसकेका थिए । गोकुल बाँस्कोटालगायत ओली समूहका नेता–कार्यकर्ताहरू नेपालबिनाको एमालेको पक्षमा धारणा सार्वजनिक गरिरहेका छन् ।

न माधव नेपालबिनाको एमाले यति बेला सम्भव देखिन्छ, न ओलीबिनाकै । बरु पार्टी र सरकार दुवैमा असफल, शक्तिशाली पार्टीलाई छिन्नभिन्न पार्ने ओलीबिनाको एमाले बौरिन सक्ला । तर, पार्टीमा पकड अझै राख्न सकेका र सत्ताच्युत हुँदा पनि उस्तै तुजुक देखाउन सकेका ओलीको विकल्प त्यो समूहले सोच्दैन ।

अधिकांश एमाले नेता–कार्यकर्ता ओली–नेपालसहितको एमाले नै चाहन्छन् । तर, जुन स्तरको आवेश, गालीगलौजमा यी दुई समूह ओर्लेका छन्, तत्कालका लागि त्यो पनि सम्भव देखिँदैन । दुवै समूहका दोस्रो पुस्ताका नेता एक ठाउँमा आउने हो भने बरु नेपाल र ओलीबिनाको एमाले चाहिँ बन्न सक्छ । दोस्रो पुस्ताका दुवै गुटका नेता एक ठाउँमा आएर शीर्ष तहलाई बिदा दिने गरी राजनीतिक हस्तक्षेप गर्न सक्ने हो भने यो एमाले पुनर्गठनको नयाँ शिरा हुन सक्छ । यो परिवेश बनाउन पनि एमालेको यो पुस्ता तयार छैन । उमेर समूह, पार्टीमा लगानी, क्षमता उस्तैउस्तै भएका दोस्रो पुस्ताका समकक्षीले कसलाई नेता मान्ने ? यी अवस्थाहरूले गर्दा एमाले न बेग्लाबेग्लै हुन सक्ने, न त मिलेर अघि बढ्न सक्ने अप्ठेरो अवस्थामा छ । तल्लो तहसम्म विभाजित कार्यकर्ता पंक्ति या त गुटको तावेदारी गर्छ या निरीह र निराश छ ।

कुनै बेला प्रगतिशील राष्ट्रवादको कुरा गर्ने, जनजीविकाको मुद्दा उठाउने एमालेको राजनीति आज व्यक्तिप्रधान भएको छ । यसका नेताहरूलाई अराजनीतिक बाटो हिँडेकामा चिन्ता छैन । बरु नेताहरूको व्यवस्थापन कहाँ कसरी गर्ने, कसरी एकता गरेर ‘एमाले नामक कम्पनी’ जीवित राखिराख्ने र त्यसमार्फत शक्ति आर्जन गर्ने अनि त्यसको स्वाद चाख्ने भन्ने नै ध्याउन्न छ । एमाले नेतृत्वले जनताका नाममा जति नै भाषणवाजी गरे पनि उनीहरूको मुख्य स्वार्थ शक्ति र सत्ता नै हो, अग्रगामी राजनीति होइन ।

एमालेको राजनीति फेर्न दोस्रो पुस्ता किन तयार छैन ? किनभने यो पुस्ता जोखिम लिन चाहँदैन । यसको वर्ग फेरिएको छ । जोखिम त्यसले लिन्छ, जोसँग गुमाउने केही हुँदैन । हिजो निरंकुशकालमा यी नेताहरूसँग गुमाउने केही थिएन । जिते ‘हस्तिनापुरको राज’ भन्ने थियो, हारे गुम्ने केही थिएन । आज गुम्यो भने सानसौकत, सत्ता, पद र प्रतिष्ठा, फेरि शून्यबाट संघर्ष थाल्ने आँट र चाहना यो पंक्तिमा छैन । त्यसैले राजनीतिका नाममा प्रहसन र रमिता हुँदा पनि दोस्रो पुस्ताका नेताहरू त्यसलाई बदल्ने बाटोमा छैनन् । यो अवस्थामा एमालेरूपी फिनिक्स चरोले नयाँ काया कसरी पाऊला ?

प्रकाशित : श्रावण ६, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

गगन र विश्वप्रकाशको काँध

गुटगत लेनदेन र सम्झौताहरूबाट नेतृत्वमा पुग्ने कि वैचारिक–राजनीतिक हस्तक्षेप गरेर ? गगन/विश्वप्रकाशहरूले कांग्रेसको राजनीतिक विरासत बोक्न काँध दरिलो बनाउनुपर्ने बेला आएको छ । 
राजाराम गौतम

अब नेपाली कांग्रेसको भारी कसले बोक्ने ? चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा सर्वाधिक चासोको प्रश्न हो यो । 


रामचन्द्र पौडेललाई लाग्छ, अब काँध फेर्ने पालो उनको । ‘सभापति शेरबहादुर देउवाको काँध थाकिसक्यो, उनले विश्राम लिनुपर्छ ।’

तर, देउवा विश्रामको मुडमा छैनन् । उनी थप एक कार्यकाल नेतृत्वमा दोहोरिन चाहन्छन् । त्यसको उनले तयारी नै थालिसके ।

देउवा र पौडेलपछिका पुस्ताका नेताहरूचाहिँ यी दुवैले विश्राम लिनुपर्ने तर्क गर्दै छन् । शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायत नेतृत्वमा पुग्ने दौडधुपमा छन् । शेखर र निधिले सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।

नेतृत्वको दाबी यीभन्दा पछिको पुस्ताले पनि गरेको छ । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, कल्याण गुरुङ आदि यो पुस्ताका प्रतिनिधि हुन् । यो पुस्ताको निष्कर्ष छ, अब पुरानो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ ।

महाधिवेशन हुने लगभग पक्का भएपछि कांग्रेस वडादेखि केन्द्रसम्म चलायमान भएको छ । केन्द्रमा नेताहरू ‘लन्च मिटिङ’ मा व्यस्त छन् भने गाउँ–टोलमा चियापसलमा । तलदेखि माथिसम्मैको चासो नेतृत्व परिवर्तनमा छ । देउवा नै दोहोरिने हुन् कि दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन्छ ? त्यसो भएमा को ? शेखर, निधि, सिंह वा शशांक ? नयाँ पुस्ताका गगन, विश्वप्रकाश, प्रदीप, कल्याण आदिको भूमिका के हुने ? महामन्त्रीलगायत पदाधिकारीस्तरमा यिनको बढोत्तरी होला ? जति पनि यस्ता छलफल र चर्चा भएका छन्, ती मूलतः पदीय भूमिका र भागबन्डाकै कुरामा केन्द्रित छन् । राजनीतिक–वैचारिक मुद्दा ओझेलमा परेको छ ।

पार्टी बलियो हुन त्यसको नेता को भन्ने कुराले निश्चय पनि अर्थ राख्छ । यद्यपि राजनीतिक कार्यदिशाबिना एउटा सुदृढ पार्टीको कल्पना गर्न सकिँदैन । विचार, सिद्धान्त कुनै पनि दलको अस्त्र हो । यो अस्त्रबिना दल अपुरो हुन जान्छ । कांग्रेसको यो महाधिवेशनको मुद्दा के हो ? नेतृत्वमा पुग्ने होड चलिरहँदा यो प्रश्न कहीँकतै गौण छ, हराएको छ । कांग्रेसको दीर्घकालीन स्वास्थ्यका लागि यो प्रवृत्ति हानिकारक छ ।

कांग्रेसमा दोस्रो पुस्ता र त्यसपछिको नयाँ पुस्ता नेतृत्वका लागि जुर्मुराउनु सुखद पक्ष हो । जति पनि उम्मेदवारीका घोषणा भएका छन्, त्यसबाट भावी परिदृश्यहरू अनुमान गर्न नसकिए पनि कांग्रेसमा देउवालाई विस्थापन गर्न खोजिएको प्रस्टै बुझिन्छ । गुटगत राजनीतिका हिसाबले देउवा बलियो नेता हुन् । यद्यपि चार पटक प्रधानमन्त्री र पार्टी सभापतिको भूमिकामा रहिसकेका देउवाप्रति कार्यकर्ता पंक्ति र जनस्तर दुवैतिर आम अविश्वास छ ।

देउवाको उदय गुटगत राजनीतिकै परिणति थियो । कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको अन्तद्वन्द्र्वका ‘बाइप्रोडक्ट’ हुन् उनी । विद्यार्थी राजनीति गर्दा कार्यकर्ता पंक्तिमा उनीप्रति आकर्षण नै थियो । तर, पटक–पटक सत्ता राजनीतिको स्वाद चाख्दै गएपछि उनको छवि स्खलित अनि विवादित हुँदै गयो । अहिले गतिशील कांग्रेसको बाधक बनेका छन् उनी । त्यस हिसाबले कांग्रेसको नेतृत्वमा देउवाको विकल्पको खोजी आवश्यक हो । तर, नेतृत्वको अनुहार मात्रै फेरेर कांग्रेसले गतिशीलता पाउनेछैन । पदीय भूमिका खोज्दै नेतृत्वको आकांक्षा राख्नेहरूले आगामी राजनीतिक रोडम्याप कोर्न सक्नुपर्छ ।

कांग्रेसको स्थापना जनउत्तरदायी शासन व्यवस्थाको वकालत गर्दै भएको थियो । २००६ सालमा कांग्रेस जन्मिँदा यो पार्टीले स्वेच्छाचारी होइन, संवैधानिक राजाको वकालत गर्‍यो । र, निर्वाचित जनउत्तरदायी शासन व्यवस्थाको पक्षमा उभियो । संवैधानिक राजा र प्रजातन्त्र कांग्रेसले अनवरत अघि बढाएको विचार थियो । अझ यसमा बीपीको समाजवादको सपना पनि जोडिएको थियो । सारमा बीपीको समाजवाद थियो, ‘एक हल गोरु, एउटा गाई र सानो घर ।’

२०४६ पछि पटक–पटक सत्तामा पुगेका कांग्रेसी नेताहरूले बीपीको सपनाको सानो घर होइन, काठमाडौंमै महल ठड्याए । महँगा, विलासी गाडीतिर आकर्षित भए । बीपीको समाजवादको सपना कांग्रेसीहरूका लागि उनको स्मृतिका दिन ‘गाउने गीत’ मा सीमित भएको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि कांग्रेसका मुद्दा थिएनन् । तर, दरबार र संसदीय दलबीच द्वन्द्व बढ्दै जाँदा कांग्रेस गणतन्त्रको कित्तामा उभिन पुग्यो । आफ्नै नयाँ पुस्ता गणतन्त्रको पक्षमा उभिएपछि कांग्रेसले बाध्य भएर संवैधानिक राजतन्त्रको बाटो त्याग्यो । यद्यपि कांग्रेसभित्र अहिले पनि यी विषयलाई लिएर मतभेद छन् । महामन्त्री शशांक कोइरालाले खुलेरै हिन्दु राष्ट्रका पक्षमा मत जाहेर गरेका छन् भने, संघीयताका विषयमा पनि कतिपय नेताका फरक–फरक मत सुनिन्छन् । यो सन्दर्भमा कांग्रेसले नीतिगत प्रस्टता खोज्नु आवश्यक छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । संवैधानिक राजतन्त्र पनि इतिहास भइसक्यो । यो परिवशेमा आफ्ना राजनीतिक–आर्थिक मुद्दाहरू परिष्कृत गर्दै लैजाने कांग्रेसको कार्यभार बाँकी नै छ । महाधिवेशन यस्तो विमर्शका लागि उपयुक्त थलो हुन सक्छ ।

मूलतः कांग्रेस यी तीनवटा परिचयले चिनिन्छ । एक, बीपीले सिञ्चित गरेको पार्टी । दुई, लोकतान्त्रिक आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गरेको पार्टी । तीन, जीवित र सक्रियमध्ये सबैभन्दा पुरानो पार्टी । यही परिचयको सीमामा कैद भएर अब कांग्रेस अघि बढ्न सक्दैन । महाधिवेशनलाई नेतृत्वका आकांक्षीहरूले पदप्राप्तिको होडबाट निस्केर वैचारिक मन्थन गर्ने एउटा महत्वपूर्ण अवसर बनाउन सक्नुपर्छ ।

विगतका अभ्यास हेर्दा महाधिवेशनमा वैचारिक ‘डिस्कोर्स’ निकै कम हुने गरेका छन् । नरहरि आचार्य, प्रदीप गिरी आदि नेताले बेलाबखत सैद्धान्तिक ‘डिस्कोर्स’ नगरेका होइनन् । पछिल्लो सयम गगन थापाले पनि छलफल अघि बढाउने प्रयत्न गरेका थिए । तेह्रौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हँुदा उनले कांग्रेसको संरचनागत सुधारसहित राजनीतिक प्रस्ताव अघि सारेका थिए, जसमा खासै बहस भएन । त्यसयता पनि उनीलगायत नयाँ पुस्ताका नेताहरूले कांग्रेस सुधारका पक्षमा बेलाबखत आफ्ना प्रस्तावनाहरू अघि सारेका एकाध दृष्टान्त छन् । यद्यपि जुन स्तरमा बहसहरू हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । नेतृत्वमा अग्रसरता देखाउँदै गरेको नयाँ पुस्ताले पार्टीमा राजनीतिक–वैचारिक हस्तक्षेप नै गर्न सक्नुपर्छ ।

कांग्रेसलाई गणतन्त्रको पक्षमा उभ्याउन नयाँ पुस्ताको भूमिका रह्यो । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछिको दृष्टान्त नै हेरौं न । ओलीले संसद् विघटन गरेपछि कांग्रेस सुरुमा द्विविधाग्रस्त थियो । आन्दोलन गर्ने कि चुनावमा होमिने ? उसले चुनावमुखी आन्दोलन अघि बढायो । तर, ओलीविरुद्ध उभिन आनाकानी गरिरहेका देउवा पार्टीभित्र हस्तक्षेप बढाउँदै लगेपछि ‘पोजिसन’ लिने ठाउँमा आए । कांग्रेसले ‘पोजिसन’ लिएपछिका राजनीतिक परिदृश्यहरू फेरिएका छन् ।

यो पछिल्लो सन्दर्भबाट कांग्रेसमा झन् स्पष्ट र दृढ नेतृत्व आवश्यक रहेको देखिएको छ । अनेक स्वार्थका लाभहानि हेर्ने, ढुलमुले, द्विविधाग्रस्त र प्रतिक्रियाको राजनीतिमा सीमित नेतृत्व होइन, कांग्रेसले नीतिगत रूपमा पुनर्जागृत गर्न सक्ने ‘डाइनामिक लिडरसिप’ चाहिएको छ ।

कांग्रेसको सात दशक लामो राजनीतिक यात्रा सधैं सुखद रहेन । लोकतान्त्रिक संघर्षको मोर्चामा अग्रपंक्तिमा रहे पनि यसले पार्टी र सरकार सञ्चालनमा कौशल देखाउन सकेन । समग्रतामा लोकतन्त्रको पहरेदार तर आन्तरिक लोकतन्त्रमा अति नै गरिब कांग्रेसमा अस्वस्थ प्रतिस्पर्धा, सत्ताप्राप्ति र पदप्राप्तिका भद्दा खेलहरू पटक–पटक दोहोरिए । जीवनको उत्तराद्र्धमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता हस्तीहरूले पार्टी नै परित्याग गर्नुपर्ने अवस्था आयो । सारमा, अस्वस्थ गुटबन्दी, राजनीतिक चिन्तनको अभाव, व्यवहारमा लोकतान्त्रिक नहुनु आदि कारणले कांग्रेस खस्किएको हो । नूर गिरेको कांग्रेसको साख फर्काउने नेतृत्व यो महाधिवेशनले दिन सक्ला ?

एकथरी कांग्रेसीको विश्वास छ— देउवाको विकल्पमा शेखर, निधि वा जोकोही आए पनि कांग्रेसले पुनर्जीवन पाउनेछ । गगन र विश्वप्रकाश महामन्त्रीमा चुनिएर मुख्य नेतृत्वको सारथि भए भने कांग्रेसले काँचुली फेर्नेछ । अर्काथरीको कथन छ— व्यक्ति परिवर्तन गौण हो, पार्टी जीवनमा मूल कुरा विचार हो । कांग्रेसले कस्तो विचार अघि सार्न सक्छ, त्यो विचार बोक्ने नेता त्यसअनुकूल छ÷छैन भन्ने पक्षले मात्रै कांग्रेसको आगामी दिन निर्धारण गर्नेछ ।

कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस चल्दै गर्दा गगन र विश्वप्रकाश रूपान्तरणका ‘विम्ब’ बनेका छन् । देउवा दोहोरिए वा दोस्रो पुस्ताका अरू कोही नेता सभापति भए पनि तिनले महामन्त्रीमा गगन र विश्वप्रकाशको साथ खोजेका छन् । गगन र विश्वप्रकाश दुवैका लागि यो अवसर र चुनौती दुवै हो । यी दुवै नेताप्रति कांग्रेसले मात्रै होइन, देशले नै आशा गरेको छ । अनुहार बदलेर नेतृत्वमा पुगून् भन्ने शुभेच्छा होइन, पार्टीमा जबर्जस्त वैचारिक हस्तक्षेप गरून् भन्ने अपेक्षा गर्ने जमात ठूलो छ ।

२०४६ को जनआन्दोलनका बेला स्कुल पढिरहेका गगनको राजनीतिप्रति रुचि त्यही बेलादेखि जागेको हो । नेपाल विद्यार्थी संघमा संगठित भएर विद्यार्थी राजनीतिमा होमिएका उनी सडक आन्दोलनबाट राष्ट्रिय परिदृश्यमा देखिए । २०६३ को आन्दोलन, त्यसपछि कांग्रेसलाई गणतन्त्रको पक्षमा उभ्याउन भूमिका खेले । सांसद भए, संसदीय समितिमा काम गरे, स्वास्थ्यमन्त्री भएर काम गरे । यी परीक्षणमा उनी तुलनात्मक रूपमा सफल देखिए, जसले गर्दा उनीप्रति अहिले पनि आमरूपमा अपेक्षा कायमै छ । विश्वप्रकाशको पृष्ठभूमि पनि विद्यार्थी राजनीतिमै थियो । शालीन ढंगले बोल्न सक्ने र पेचिलो लेख्न सक्ने उनी अहिले कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा छन् । र, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । सन्देह के मात्रै छ भने, गुटगत नेताको छहारी छोडेर पार्टीलाई वैचारिक–राजनीतिक दिशानिर्देश गर्न यी दुई नेता सक्षम होलान् ?

दुवै नेता गुटका प्रतिनिधि हुन् । विश्वप्रकाश शेरबहादुर गुटका नेता हुन् भने गगन कृष्णप्रसाद सिटौला समूहका नेता । कांग्रेसमा गुट र नेताको फेर समातेर नेतृत्वमा पुग्ने होड छ । सबैजसो अवसरको खोजीमा छन् । गुटको फेरो समातेर नेता बन्ने कि विचारको ? आशा गरिएका दुवै नेता यसबारे प्रस्ट हुनुपर्ने देखिन्छ ।

तेह्रौं महाधिवेशनमा गगन महामन्त्रीमा ५८४ मत ल्याएर पराजित हुँदा धेरैले ४० नकट्दै साहस गरेको भनेर टिप्पणी गरेका थिए । कतिले गुटको प्रतिनिधि भएर लड्दा पराजित हुनुपरेको विश्लेषण गरे । जे भए पनि तेह्रौं महाधिवेशनले उनलाई नेतृत्वमा अग्रसर हुने जग बनाइदिएको थियो । आज उनलाई सबैजसो सभापतिका उम्मेदवारले महामन्त्रीका रूपमा आफ्नो टिममा आउन आमन्त्रण गर्नुले कांग्रेसमा उनको आकर्षण सिद्ध हुन्छ । तर, उनले नेतृत्वको दाबासँगै वैचारिक–राजनीतिक मुद्दालाई पनि बोक्न सक्नुपर्छ । कुनै पनि नेतालाई राजनीतिक कार्यक्रम र मुद्दाले स्थापित गर्छ । गुटगत लेनदेन र सम्झौताहरूबाट नेतृत्वमा पुग्ने कि वैचारिक–राजनीतिक हस्तक्षेप गरेर ? गगन÷विश्वप्रकाशहरूले कांग्रेसको राजनीतिक विरासत बोक्न काँध दरिलो बनाउनुपर्ने बेला आएको छ ।

@Rajaramgautam









प्रकाशित : असार २२, २०७८ २२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×